+
+

सात लाखभन्दा बढी घरको पुनर्निर्माण सम्पन्न

रासस रासस
२०७८ असोज २० गते १८:४१

२० असोज, काठमाडौं । भूकम्पमा क्षतिग्रस्त भएका सात लाखभन्दा बढी घरको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पको साढे सात वर्ष बित्दा कुल लाभग्राहीमध्ये झण्डै ८५ प्रतिशतले घर निर्माण सम्पन्न गरेर पूरा किस्ता लिइसकेका छन् ।

भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले गठन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सबैभन्दा पहिले निजी आवास निर्माणमा लागेको थियो । अरु सार्वजनिक संरचनाको पुनर्निर्माणभन्दा निजी आवासमा प्रगति बढी देखिएको छ ।

सरकारले भूकम्प प्रभावित भनी सूचीकृत गरेका ३२ जिल्लामा जम्मा लाभग्राही आठ लाख ६६ हजार १६० रहेका छन् । तीमध्ये आठ लाख २९ हजार ६६७ सँग अनुदान सम्झौता भएको थियो । प्राधिकरणले एक हजार १०२ सम्भावित बस्तीलाई जोखिमयुक्त बस्तीका रुपमा सूचीकृत गरेको थियो । तीमध्ये ६८ बस्तीका चार हजार ७२० घरका लागि जग्गा व्यवस्थापन गरिसकेको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

‘जोखिमयुक्त बस्ती स्थानान्तरणको काम सम्पन्न हुने चरणमा छ,’ ज्ञवालीले भने । यो अवधिमा १२ हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माणको सुनिश्चितता गरिएको छ । कुल १२० एकीकृत बस्ती निर्माण तथा सुधार गर्नुपर्नेमा जम्मा ६८ सम्पन्न भइसकेको छ भने ५२ निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।

सुरक्षित घर निर्माण सम्बन्धी प्रविधिको विकास र जनस्तरमा हस्तान्तरण भएको प्राधिकरणले जनाएको छ । स्थानीय निर्माण सामग्रीबाट बनेका घरका लागि समेत प्रबलीकरण प्रविधिको विकास र कार्यान्वयन भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । सुरक्षित निर्माणका लागि ठूलो जनशक्ति उत्पादन भएको उनको भनाइ छ ।

निर्देशक समितिको बैठकले पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्न कति जनशक्ति चाहिन्छ भनी निर्णय गरेको थियो । भूकम्पका समयमा धेरै संरचनामा एकै पटक क्षति पुगेपनि कुन पहिले गर्न आवश्यक छ भनी हेरेर प्राथमिकतामा छुट्टयाइएको प्रमुख कार्यकारी निर्देशक ज्ञवालीले बताए । उनका अनुसार कतिपय संरचना निर्माण बजेटकै कारणले ढिला भएको थियो ।

शिक्षण संस्थामध्ये सात हजार ५८३ विद्यालयको पुनर्निर्माण गर्नुपर्नेमा ६ हजार ६४७ सम्पन्न भइसकेको छ भने ९३६ निर्माणाधीन अवस्थामा छन् । विश्वविद्यालय तथा आंगिक क्याम्पसका ७० भवन पुनर्निर्माण गर्नुपर्नेमा १० सम्पन्न भइसकेको छ । अहिलेसम्म २१ निर्माणाधीन रहेको र ३३ निर्माण शुरु हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

भूकम्पका समयमा एक हजार १६४ स्वास्थ्य संस्था क्षतिग्रस्त भएका थिए । तीमध्ये अहिलेसम्म ७५१ निर्माण सम्पन्न भइसकेको छ भने ५९ निर्माणाधीन अवस्थामा छन् । अरु सरकारी भवनमा ४१४ भवन क्षतिग्रस्त रहेकामा ३८८ सम्पन्न भएको छ । अझैसम्म २० भवन निर्माणाधीन रहेको प्राधिकरणको तथ्यांक छ ।

सरकारी निकायका भवनमा २१६ मध्ये सबै सम्पन्न भइसकेको छ । पुरातात्विक सम्पदामध्ये ९२० पुनर्निर्माण गर्नुपर्नेमा ५८६ सम्पन्न भइसकेको छ । अहिलेसम्म १९५ निर्माणधीन रहेको र ११५ शुरु हुन बाँकी रहको प्राधिकरणको तथ्यांक छ । देशभरमा ७६४ किमी सडक र १५ पुल पुनर्निर्माण गर्नुपर्नेमा अहिलेसम्म ६५७ किमी सडक र नौवटा पुलको निर्माण सम्पन्न भइसकेको छ । १०७ किमी सडक र ६ पुल निर्माणाधीन अवस्थामा रहेका छन् । १०६ बस्तीमध्ये ६२ सम्पन्न भइसकेको र ४४ निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ । प्रमुख कार्यकारी निर्देशक ज्ञवलीले भने, ‘बाँकी निर्माणको जिम्मेवारी सम्बन्धित मन्त्रालय र विभागको नै हुन्छ ।’

पुनर्निर्माणमा अरु संरचनाभन्दा गुम्बामा प्रगति कम देखिएको छ । देशभरका एक हजार २९७ गुम्बामध्ये हालसम्म ३७३ गुम्बाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । अझै १०७ गुम्बा निर्माणाधीन अवस्थामा रहेको र ६५८ शुरु भइनसकेको जनाइएको छ ।

भूकम्पपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता ४१० अर्बको थियो । वास्तविक प्रतिबद्धता ३२१ अर्ब रहेकोमा ३१३ अर्बको सम्झौता भएको थियो । भारत सरकारको जम्मा १४० अर्बको प्रतिबद्धता रहेको थियो । एक्जिम बैंकको तर्फबाट ४९ अर्ब रुपैयाँ रकम अरु पूर्वाधारमा लैजाँदा भारत सरकारको पुनर्निर्माणको वास्तविक प्रतिबद्धता ५१ अर्ब रहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?