+
+

न्याय खोज्दै नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ असोज २२ गते १६:२९

२२ असोज, काठमाडौं । २८ वर्षीय माताप्रसाद धोबी राम्ररी बोल्न सक्ने अवस्थामा छैनन् । २२ दिनको धपेडीले उनी निकै गलेका छन् । उनीसँगै आएका अन्य १३ महिला र दुई पुरुषको हालत पनि उस्तै छ ।

नेपालगञ्जबाट २० दिन पैदल हिँडेर काठमाडौं आएको यो टोलीले काठमाडौंमा बाससमेत पाएको छैन । धूलाम्ये शरीर र खाली गोडामै काठमाडौंका सडकमा हिँडिरहेका छन् उनीहरू ।

थकित शरीर लिएर माइतीघरको चर्को घाममा यो टोली न्यायका लागि धर्ना बसिरहेको छ ।

‘पानीमा भिजेर बाटोमै बिरामी परेका छौं’ माताप्रसाद धोबीले भने, ‘तर हिम्मत नहारी काठमाडौंसम्म आइपुगेका छौं । यहाँबाट पनि काम भएन भने हाम्रो जाने ठाउँ छैन ।’

यो टोलीमा चारजना किशोरी पनि छन् । जसको स्वास्थ्य अवस्था निकै बिग्रिएको छ । बाटोमै महिनावारी हुँदासमेत आराम गर्न नपाएका यी किशोरी धर्ना बस्न माइतीघर आउँदा त्यहीँको सडकपेटीमा निदाए ।

अन्य महिलाको पीच सडकमा अनवरत हिँड्दा फुटेको पैताला सुन्निएको छ । कोहीको खुट्टाको औला रगडिएर बनेको आलो घाउ छ ।

२० दिनको पैदल यात्राले गर्दा गोडामा परेको फोका ।

‘हामी त जसोतसो हिँडेका छौं तर बहिनीहरूलाई धेरै गाह्रो भएको छ’ न्यायको लागि लडिरहेकी स्थानीय सकिना तेलीले भनिन्, ‘खानेबस्ने ठाउँको टुंगो नहुँदा स्वास्थ्य बिग्रिएको छ । उपचार गर्न जाउँ भने चिनेजानेको छैन ।’
समूहबाट छुट्टिँदा गाह्रो हुने भएकाले सबैजना सँगै बसिरहेको सकिना बताउँछिन् ।

यो टोली नेपालगञ्जदेखि जिउज्यानको जोखिम उठाउँदै काठमाडौं आउनुको पूर्वकथा निकै पीडादायी छ ।

घरेलु हिंसापीडित महिला नकुन्नी धोबीको हत्या र निर्मला कुर्मी बेपत्ता बनाउनेलाई कारबाहीको माग गर्दै उनीहरू काठमाडौंसम्म आएका हुन् । गत साउन ५ गते नकुन्नीको घरमै हत्या भएको थियो भने एकल महिला निर्मला कुर्मी अघिल्लो वर्ष बेपत्ता भएकी थिइन् ।

दुवै घटनाको जाहेरी दिएपनि प्रहरी, जिल्ला प्रशासन कार्यालय र सरकारी वकिल कार्यालयले नलिएको पीडितहरू बताउँछन् । १९ दिनसम्म जिल्ला प्रशासन कार्यालयको गेटबाहिर धर्ना बसे पनि जाहेरी लिइएन । त्यसपछि उनीहरु काठमाडौं आएका हुन् ।

‘गाउँको सरकारले नसुनेकाले काठमाडौं आएका हौं । यहाँ पनि हाम्रो कुरा सुन्न कोही मानिरहेको छैन’, माइतीघरको धुलाम्मे भुइँमा सुतिरहेकीले विष्टा धोबीले अनलाइनखबरलाई बताइन् ।

साउनदेखि न्यायको लडाइँमा होमिएका उनीहरूको पीडा शब्दमा उतार्न गाह्रो छ । राजमार्ग छेउछाउमा खाना र पानीको राहत मिलेपनि काठमाडौंमा उनीहरूले पानी पाउनसमेत गाह्रो छ । सबैका जुत्ता–चप्पल फाटेर लगाउन नमिल्ने भइसकेको छ ।

यही अवस्थालाई ख्याल राखी बहृत् नागरिक आन्दोलन तथा अधिकारकर्मीहरूले उनीहरूलाई माइतिघरमा पाल टाँगेर बस्न सहज हुने व्यवस्था गरिरहेको छ । उनीहरूको न्यायका लागि एक्येबद्धता जनाउँदै शुक्रबार अभियन्ताहरू माइतीघर पुगेर प्रदर्शनसमेत गरे ।

अभियन्ता तथा सञ्चारकर्मीसँग कुरा गर्दा निकै भक्कानिएका पीडितहरू काठमाडौंले न्याय दिने आशमा छन् ।

राज्यले नसुनेपछि हिँड्न बाध्य

घरमै भएको हत्याको छानबिन होस् भनेर २० दिनसम्म नकुन्नी धोबीको परिवार र आफन्तजन बाँके जिल्ला प्रशासन र अदालतअगाडि धर्ना बस्यो । तर मुद्दामा घुसपैठ गरेर आरोपी पक्षले प्रशासनलाई आफ्नो हातमा लिन खाजेपछि हिँडेरै काठमाडौं जाने निधो गरेको नकुन्नीका भाइ माताप्रसादले बताए ।

राजमार्गको लम्बाइ नै ५ सय किलोमिटर रहेको नेपालगञ्ज–काठमाडौं यात्रा सोच्दै अत्यासलाग्ने थियो । तर काठमाडौंमा सरकार भेटिने आशामा पीडितहरू निरन्तर २० दिनसम्म हिँडिरहे ।

दाङको बाटोमा निरन्तर ढुंगा लड्दासमेत यो टोली रोकिएनन् । मनसुन अन्त्य हुनेबखतको चर्को वर्षामा भिजेर बल्तल्ल काठमाडौं आइपुगे । ‘राष्ट्रिय महिला अधिकार मञ्च, बाँके’को सहकार्यमा गरिएको यो यात्रालाई उनीहरूले ‘न्यायको लागि मार्च’ नाम दिए ।

पैदल यात्रामा माताप्रसाद उनकी दिदी विष्टा र बहिनी शिला पनि साथमा छन् । न्यायका लागि घर छाडेर उनीहरू राजधानी आउन बाध्य छन् ।

अधिकांश ठाउँमा ब्यानर बोकेरै यात्रा गरेका उनीहरूको मुख्य दुईवटा माग रहेको छ :

१. नकुन्नी धोबी र विधवा महिला निर्मला कुन्नीका हत्याका दोषीलाई तुरुन्त पक्राउ गरी कारबाही गर्ने ।

२. हत्यारालाई बचाउन खोज्ने बाँके जिल्लाका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी र डिएसपि मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्ने ।

चुप बस्यो भने न्याय मर्छ : अर्चना थापा

हामी भन्छौं देशमा समावेशी संविधान बनेको छ । विकास र समृद्धिको काम शुरु भएको छ । तर पीडित व्यक्तिले न्याय पाउनुपर्छ भन्ने सामान्य कुरामा पनि हामी यसरी लडिरहनुपरेको छ । दोषीलाई न्यायालयले समातेर दण्ड दिनुपर्छ भन्ने कुराको लागि यति ठूलो संघर्ष गर्नुपरेको छ ।

सीमान्तकृत वर्ग र त्यसमाथि पनि महिलाले नै यो पीडा भोगेका छन् । महिलाकै हत्या भएको छ । उनीहरूमाथि नै हिंसा भएको छ र उनीहरू नै २० दिन हिँडेर काठमाडौं आउनुपरेको यो घटना साँच्चै दर्दनाक छ ।

अहिले स्थानीय सरकार बनेको छ, प्रदेश सरकार छ तैपनि काठमाडौं नै आउनुपरेको छ । यसैले यो घटनाले न्यायको मात्र होइन राज्यसंयन्त्रकै धज्जी उडाएको छ ।

अर्चना थापा, लेखक/अभियन्ता ।

अनि केही मानिसको लागि न्याय कति जटिल रहेछ भन्ने यहीँबाट थाहा हुन्छ । उहाँहरू (पीडितहरू) आएको दुई दिन भइसक्यो तर कुनै आधकिारिक निकायले सम्पर्क गरेको छैन । फेरि यस्तो राज्यले समयमै न्याय देला भन्ने पनि विश्वास छैन ।

तर हामी चुप बस्यौं भने झनै उनीहरूको आवाज तल पारिन्छ । यसैले हत्यारालाई कारबाही गर्नका लागि चारैतिरबाट दबाब दिनुपर्छ । यसका लागि आवाज उठाउन म सबै नेपालीहरुसँग आह्वान गर्छु ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?