+
+

देउवा सरकारका नवनियुक्त मन्त्री को कस्ता ?

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ असोज २२ गते १८:३८

२२ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्रीले विस्तार गरेको मन्त्रिपरिद्मा बालकृष्ण खाँडले गृह, ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय मामिला तथा सामान्य प्रशासन र विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी अर्थमा जनार्दन शर्मा, रक्षामा मिनेन्द्रप्रसाद रिजाल, खानेपानीमा उमाकान्त चौधरी, परराष्ट्रमा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमा रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रेमबहादुर आलेले जिम्मेवारी पाएका छन् ।

त्यसैगरी दिलेन्द्रप्रसाद बडुले कानुन, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि, महेन्द्र राय यादवले कृषि तथा पशुपन्छी विकास, उमा रेग्मीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री देउवाले उद्योग वाणिज्य तथा आपूर्तिमा गजेन्द्र बहादुर हमाल, वन तथा वातावरणमा रामसहाय प्रसाद यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कृष्णकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयमा महेश्वरजंग गहतराजलाई मन्त्री नियुक्त गरेका छन् । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएका छन् र

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रिमा बोधमाया कुमारी यादवलाई नियुक्त भएका छन् । शुक्रबार शपथ लिएका मन्त्रीहरु को कस्ता ? पढ्नुहोस्

राजेन्द्र श्रेष्ठ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

वामपन्थी पार्टीबाट राजनीतिक यात्रा शुरु गरेका राजेन्द्र श्रेष्ठ चार दशकदेखि राजनीतिमा छन् । २०३४ सालमा नेकपा चौम, २०३९ मा नेकपा माले हुँदै २०४९ मा नेकपा एमालेको केन्द्रीय सदस्य भएका श्रेष्ठले २०६९ सालमा एमाले छाडे ।

त्यतिबेला अशोक राईसहितका नेतासँग मिलेर उनीहरुले पहिचानको मुद्दा उठाउँदै संघीय समाजवादी पार्टी गठन गरेका थिए । त्यसपछि मधेसी जनाधिकार फोरमसँग एकतापछि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग एकीकरण भएपछि जनता समाजवादी पार्टी (जसपा) मा छन् ।

२०५१ सालको मध्यावधि निर्वाचन र २०५६ को आम निर्वाचन जितेका उनी २०७४ मा समानुपातिक निर्वाचन प्रणालीबाट संसदमा आएका थिए । यसअघि २०५५ सालमा आवास तथा भौतिक योजनामन्त्री बनेका उनी दोस्रो पटक मन्त्रिपरिषदमा पुगेका हुन् ।

विरोध खतिवडा- स्वास्थ्य तथा जनसंख्यामन्त्री

सांसद बिरोध खतिवडा संसदीय व्यवस्थाको लामो अनुभव भएका नेता हुन् । प्रजातन्त्र स्थापनापछिको पहिलो संसद (२०४८ त्यसपछिका संसदीय निर्वाचन २०५१ र २०५६ सालमा लगातार चुनाव जितेका खतिवडाको संसदमा त्यसबेलाको सक्रियताको अहिले पनि प्रशंसा हुने गर्छ ।

तर उनले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा उनले पार्टीबाटै उम्मेदवार बन्न टिकट पाएनन् । २०७४ मा पुनः निर्वाचित भएर आएका मकवानपुरका खतिवडाले मन्त्री बन्न पार्टी नै फुट्नुप¥यो । नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेपछि खतिवडाले मन्त्री बन्ने अवसर पाए ।

कानुनमा स्नातक गरेका उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

२०३५ सालमा अनेरास्ववियू काठमाडौं जिल्ला अध्यक्षबाट हुँदै राजनीतिमा लागेका उनी पञ्चायतविरुद्धको आन्दोलन र राजतन्त्र विरुद्धको आन्दोलनका क्रममा पटक–पटक जेल समेत परेका थिए ।

डा. मिनेन्द्र रिजाल – रक्षा मन्त्री

राजनीतिमा वौद्धिक नेताको छवि बनाएका डा. मिनेन्द्र रिजालको भूमिकाको कांग्रेस प्रतिपक्षमा रहेका बेला पनि प्रशंसा भएको थियो । तत्कालिन केपी शर्मा ओलीको तर्कपूर्ण आलोचना गर्न सक्ने कांग्रेसका केही सांसदमध्येमा उनको पनि नाम लिइन्थ्यो ।

अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधी गरेका उनले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा तीन वर्ष पढाएका थिए ।

२०२६ सालमा धरानको जनता हाइस्कुलको विद्यार्थी युनियनको निर्वाचनबाट विद्यार्थी राजनीतिमा सहभागी भएका मोरङका रिजाल २०६६ सालमा माधव कुमार नेपालको मन्त्रिपरिषदमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए । त्यस्तै २०७० सालमा सुशील कोइराला नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री भएका उनी तेस्रो पटक सरकारमा सहभागी भएका हुन् ।

गत चुनावमा उनी मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उमाकान्त चौधरी- खानेपानी मन्त्री

२०३६ सालबाट राजनीतिक जीवन शुरु गरेका उमाकान्त चौधरी नेपालको संसदीय अभ्यासमा नयाँ अनुहार होइनन् । २०५९ सालमा कृषि तथा सहकारी साहायकमन्त्री भएका उनी २०६४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए ।

२०५६ सालमा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित चौधरी २०६४ मा बारा क्षेत्र नम्बर ५ बाट, २०७४ मा बारा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा स्नातकोत्तर गरेका चौधरीको विशेष रुचि शिक्षा तथा विज्ञान सम्बन्धी विषयमा छ । सरकारले यसपटक उनलाई खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिएको छ ।

रेणु यादव – भौतिक पूर्वाधार तथा यातायातमन्त्री

भारतमा जन्मिएर वैवाहिक सम्बन्धपछि नेपाल आएकी रेणू यादव २०४७ सालदेखि नेपाली कांग्रेसमा आवद्ध भएर राजनीतिमा सक्रिय छिन् । कांग्रेसबाट राजनीतिक यात्रा शुरु गरेको भएपनि उनी राप्रपा हुँदै हाल जनता समाजवादी पार्टीमा छिन् ।

२०५६ को आम निर्वाचन र २०६४ र २०७४ को संविधानसभा निर्वाचनमा उनी सप्तरीबाट निर्वाचित भएकी थिइन् । २०६० सालमा महिला बालबालिका तथा समाज कल्याण र २०६५ सालमा शिक्षा मन्त्री भएकी उनले विज्ञान तथा वातावरण राज्यमन्त्री भएर पनि काम गरिसकेकी छन् ।

प्रेमबहादुर आले – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

 

प्रेम बहादुर आले गत निर्वाचनमा डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । २०७० मा पनि उनी डोटी २ बाट निर्वाचित भएका थिए । उनी दुई पटक मन्त्री बने ।

तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री बनेका उनलाई जनता समाजवादी पार्टीको एक पक्ष सरकारमा आउने भएपछि ओलीले हटाएका थिए ।

नेकपा एमाले विभाजनमा माधवकुमार नेपाललाई साथ दिएका आले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि मन्त्री भएका छन् ।

दिलेन्द्रप्रसाद बडु – कानुन न्याय तथा संसदीय मामिला मन्त्री

दिलेन्द्रप्रसाद बडु २०४८ सालदेखि निरन्तरजसो निर्वाचित हुँदै आएका छन् । २०४८ सालदेखि २०५१ सम्म आवास तथा भौतिक योजना सहायक मन्त्री भएका उनी २०५६ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री भएका थिए । २०६३ मा स्वर्गीय गिरिजाप्रसाद कोइराला नेतृत्वको सर्वदलीय सरकारमा बडु सञ्चारमन्त्री थिए ।

भूगोलमा एमए गरेका उनी संसदीय राजनीतिमा अभ्यस्त र परिपक्व विधायकका रुपमा चिनिन्छन् । दार्चुलाका बडु २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित भएका हुन् ।

देवेन्द्र पौडेल – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल पहिलो पटक मन्त्री भएका छन् ।

अखिल क्रान्तिकारीबाट राजनीति शुरु गरेका पौडेल तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा १० वर्ष भूमिगत भए । २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार थिए । भट्टराईले माओवादी छाडेर नयाँ शक्ति बनाउँदा उनले भट्टराईलाई साथ दिए । तर भदौ २०७४ मा माओवादी केन्द्रमै फर्किए ।

शिक्षामन्त्री बनेका पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

महेन्द्र राय यादव – कृषि तथा पशुपन्छी विकासमन्त्री

पिछडिएको समुदाय र अल्पसंख्यकको अधिकारका लागि लडिरहने नेताका रुपमा आफूलाई चिनाउन रुचाउने महेन्द्रराय यादव २०३७ सालदेखि नेपाली राजनीतिमा सक्रिय छन् । वामपन्थी दलबाट राजनीतिक यात्रा शुरु गरेका यादव नेकपा एमाले हुँदै मधेस राजनीतिमा सक्रिय भएका थिए ।

२०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी २०५१ को मध्यावधि निर्वाचन, २०५६ सालको आम निर्वाचन, २०६४ को पहिलो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीबाट निर्वाचित भएका थिए ।

२०६२-०६३ को जनआन्दोलनपछि एमाले परित्याग गरी मधेश केन्द्रीत आन्दोलनमा लागेका उनी तीन पटक मन्त्री र एक पटक राज्यमन्त्री भइसकेका छन् । २०५४ सालमा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, ०६७ मा उद्योगमन्त्री र पछि सामान्य प्रशासन मन्त्री भएका थिए । देउवा नेतृत्वको सकरारमा भने उनी कृषि तथा पशुपंक्षी विकास मन्त्री बने ।

उमा रेग्मी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघ, दलित महिला संघ ‘फेडो’को नेतृत्व सम्हालिरहेकी रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी छन् ।

आफूलाई सामाजिक सद्भाव र एकताको पक्षधरका रुपमा परिचित गराउन रुचाउने उनी २०२८ सालमा चितवनको शारदानगर हाइस्कुलको नेविसंघ इकाइ उपसभापतिबाट विद्यार्थी राजनीतिमा संलग्न भएकी हुन् । २०३६ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष हुँदै नेपाली राजनीतिमा स्थापित भइन् ।

२०४८ सालमा पर्वत क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित उनी पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ मा समानुपातिक सांसद २०७४ को चुनावबाट पनि समानुपातिक सांसदमा निर्वाचित भइन् ।

उनका शिक्षा र महिला नेतृत्व विकास पुस्तक, महिलाहरुका लागि नेतृत्व विकास तालिम पुस्तिका, त्रुटि विश्लेषण लगायतका कृति सार्वजनिक छन् । राजनीतिक जीवन शुरु गरेदेखि महिलाको पक्षमा आवाज उठाउँदै आएकी उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जिम्मेवारी पाएकी छन् ।

शशी श्रेष्ठ – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री

०३४ सालमा विद्यार्थी संगठनबाट राजनीतिक जीवन शुरु गरेकी शशी श्रेष्ठ, छोरा र छोरीलाई पैत्रिक सम्पत्तिमा समान हक स्थापनाको आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा स्थापित भएकी नेतृ हुन् ।

श्रेष्ठसँग २०६४ सालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएर काम गरेको अनुभव छ । मन्त्री बन्नु अघि श्रेष्ठ संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारीमा थिइन् ।

रामकुमारी झाँक्री – शहरी विकासमन्त्री

 

वामपन्थी राजनीतिमा सक्रिय युवा नेतृ हुन्–रामकुमारी झाँक्री । खासगरी नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बन्दा माधव नेपाललाई निरन्तर दिएको साथले उनलाई परिचित गराएको छ ।

२०४७ सालमा पृथ्वी मावि गुल्मीबाट अनेरास्ववियूको प्रारम्भिक कमिटीमा आवद्ध भएर राजनीतिक यात्रा शुरु गरेकी उनले १९ औं सम्मेलनमा अनेरास्ववियूको अध्यक्ष भएर विद्यार्थी आन्दोलनको नेतृत्व गरिन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित उनी पहिलो पटक मन्त्री बनेकी हुन् ।

गजेन्द्र हमाल – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

गजेन्द्र हमाल संसद बाहिरबाट मन्त्री भएका हुन् । उनी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको ‘कोटा’मा मन्त्री बनेको आरोप लागेको छ ।

संविधानमा संसद बाहिरका व्यक्ति ६ महिनासम्म मन्त्री रहन सक्ने व्यवस्था अनुसार उनी मन्त्री बनेका हुन् । वर्तमान मन्त्रिपरिषदमा संसदबाहिरबाट मन्त्री बनेका उनी एक्ला हुन् ।

रामसहायप्रसाद यादव – वन तथा वातावरण

१७ वर्षको शिक्षण पेसा छोडेर राजनीतिमा आएका रामसहायप्रसाद यादव पहिलो पटक मन्त्री भएका छन् । २०६४ मा संविधानसभा सदस्यमा निर्वाचित उनी २०७४ मा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भए ।

जनता समाजवादी पार्टीका नेता यादवले गणित विषयमा बिएस्सी र बीएड गरेका छन् ।

कृष्णकुमार श्रेष्ठ ‘किसान’ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

गत निर्वाचनमा तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेर चर्चामा आएका कृष्णकुमार श्रेष्ठ ‘किसान’ कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वकै सरकारमा मन्त्री बन्न पुगेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ मा उनले पौडेललाई ६ हजार ४१४ मतान्तरले पराजित गरेका थिए ।

व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा सक्रिय भएका श्रेष्ठको राजनीतिक आवद्धता तीन दशकभन्दा बढी छ । उनी २०३८ सालमा अनेरास्ववियूमा आवद्ध भई राजनीतिमा संलग्न भएका थिए ।

तत्कालिन नेकपामा केपी शर्मा ओलीको निकट मानिएका श्रेष्ठ तत्कालिन संघीय समाजवादी पार्टी विभाजनका लागि सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट बलपूर्वक काठमाडौं ल्याएको घटनामा संलग्न थिए । ओली नेतृत्वको सरकारमा मन्त्री नपाएर असन्तुष्ट बनेका श्रेष्ठले पार्टी विभाजन हुँदा माधवकुमार नेपाललाई साथ दिए । त्यसैको फलस्वरुप उनी सरकारमा सहभागी हुन पाएका हुन् ।

महेश्वरजंग गहतराज – युवा तथा खेलकुदमन्त्री

महेश्वर गहतराज तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको १० बर्षे सशस्त्र विद्रोहबाट आएका नेता हुन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ को चुनावमा पार्टीमै रहेर भूमिका निर्वाह गरेका उनी २०७० को संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट पराजित भए । २०७४ मा भने उनी त्यही क्षेत्रबाट विजयी भएका थिए । र सांसद भएको पहिलो पटक नै उनले मन्त्री बन्ने अवसर पाएका छन् ।

१ फागुन २०५२ मा सशस्त्र विद्रोह थालेको दिन माओवादीले चार स्थानमा चौकी आक्रमण गरेको थियो, जसमध्ये रुकुमको राडीज्युला प्रहरी चौकीमा गरेको आक्रमणको नेतृत्व गहतराजले गरेका थिए ।

भवानी खापुङ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

२०३६ सालदेखि निरन्तर राजनीतिमा सक्रिय रहेका भावानी खापुङ पहिलो पटक मन्त्री भएका छन् । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा पराजित खापुङ २०७४ सालमा तेह्रथुमबाट निर्वाचित भए ।

२०४० सालपछि नेकपा एमालेको तेह्रथुम जिल्लामा दुई पटक जिल्ला सचिव, एक कार्यकाल अध्यक्ष हुँदै एमालेको केन्द्रीय अनुशासन आयोगको सदस्य पनि भए । हाल उनी नेकपा एमाले विभाजन भइ बनेको नेकपा एकीकृत समाजवादीमा छन् । १८ वर्ष शिक्षण गरेका उनी २०५४ सालमा तेह्रथुममै गाविस अध्यक्ष पनि भएका थिए ।

बोधमाया यादव – शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री

राज्यमन्त्री बोधमाया यादव शहीद रामवृक्ष यादवकी छोरी हुन् ।

नेकपा माओवादीले सशस्त्र विद्रोहको तयारी गरिरहेका बेला रामवृक्ष यादव (मास्टर साहब) को २ भदौ २०५१ मा हत्या भएको थियो । धनुषाकी उनी पनि सांसद भएको पहिलो पटकमै राज्यमन्त्री भएकी छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?