+
+

कोभिड १९ को असर : बालबालिकामा मानसिक विक्षिप्तता

सागर बुढाथोकी सागर बुढाथोकी
२०७८ असोज २७ गते १८:३५

२७ असोज, काठमाडौं । कोभिड १९ महामारीकालमा धेरै बालबालिकामा मानसिक स्वास्थ्य समस्यामा देखिएको अध्ययनले देखाएका छन् । यस्तो असर लामो समय रहने मानसिक रोगका क्षेत्रमा काम गरिरहेका विज्ञहरू बताउँछन् ।

कोरोना महामारीका कारण बालबालिकाहरु करिब दुई वर्ष साथीसँगी, कक्षाकोठा, खेलकुदजस्ता बाल्यकालका मुख्य तत्वबाट टाढा रहे । यसबाट उनीहरूको समग्र वृद्धि–विकासमा असर गर्ने विज्ञहरूको चिन्ता छ ।

कान्ति बाल अस्पतालमा विगतमा भन्दा यसपटक धेरै अभिभावक मानसिक स्वास्थ्य समस्या भएका आप्mना बालबालिका लिएर आएका छन् । अस्पतालको मानसिक विभाग प्रमुख डा. अरुणराज कुँवर यसलाई अत्यन्तै चिन्ताजनक मान्छन् ।

महामारीकालमा घरमै थुनिएर टेलिभिजन र इन्टरनेटमा भुलिन बाध्य भएका धेरै बालबालिकामा कोरोनाको त्रासले गम्भीर असर परेको उनले बताए ।

युनिसेफले हालसालै जारी गरेको प्रतिवेदन अनुसार विश्वव्यापी रूपमा सातमध्ये एक जना बालबालिका लकडाउनबाट प्रत्यक्ष प्रभावित भएका छन् भने एक अर्ब ६० करोडभन्दा बढीले शिक्षाको अवसर गुमाएका छन् ।

अस्तव्यस्त भएको दिनचर्या, शिक्षा, मनोरञ्जनका साथै पारिवारिक आय र स्वास्थ्यको चिन्ताजस्ता बाधाहरुका कारण धेरै बालबालिका र किशोरकिशोरीले डर, क्रोध र भविष्यप्रति चिन्ता महसुस गरिरहेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

विश्वभर १० देखि १९ वर्ष उमेर समूहका सातमध्ये एक किशोरकिशोरी मानसिक समस्या लिएर बाँचिरहेको युनिसेफको अनुमान छ ।

विश्वमा हरेक वर्ष करिब ४६ हजार किशोरकिशोरीको मृत्यु आत्महत्याबाट हुन्छ । नेपालमा पनि बालबालिकाको आत्महत्याको तथ्यांक अत्यासलाग्दो छ । गत पाँच वर्षमा देशभर दुई हजार ४३७ बालबालिकाले आत्महत्या गरे । यसमा बालक ९६५ र बालिका एक हजार ४७२ छन् ।

गत वर्षमा ७६४ बालबालिकाले आत्महत्या गरे । नेपालमा हरेक दिन दुईभन्दा बढी बालबालिकाले आत्महत्या गर्ने गरेको यो तथ्यांकले देखाउँछ ।

युनिसेफका अनुसार अहिले बालबालिकामा ठूलो स्वास्थ्य समस्याको सानो भागमात्रै देखिएको हो । कोभिड १९ भन्दा पहिलेदेखि नै यो विषयमा धेरै चासो र गतिलो लगानी नभएकाले बालबालिका र किशोरकिशोरीले मानसिक स्वास्थ्य संकट भोग्नुपरेको प्रतिवेदनको निचोड छ ।

विश्वभर नै सरकारी स्वास्थ्य बजेटको करिब २ प्रतिशत मात्र मानसिक स्वास्थ्यमा खर्च गर्ने भनेर छुट्याउने गरिएको छ । ‘धनी, गरिब सबै देशमा बालबालिकाको क्षमता वृद्धिको एक महत्वपूर्ण तत्वप्रति असाध्यै थोरै लगानी भएको हामीले पाएका छौं । यसमा परिवर्तन आवश्यक छ’ युनिसेफले प्रतिवेदनले भनेको छ ।

दुई दशकदेखि किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचारमा सक्रिय डा. गंगा पाठक अहिले बालबालिकाको मानसिक समस्या प्रकार र संख्या दुवै तवरले अत्यासलाग्दो रहेको बताउँछिन् ।

‘महामारीकालमा मानसिक रोग भुसको आगो जस्तै भित्रभित्रै सल्कियो’, उनी भन्छिन्, ‘समाजमा दीर्घकालीन असर पार्ने तहको समस्या छ ।’

उनका अनुसार महामारीमा घरमै थुनिँदा इन्टरनेटको लत लागेका धेरै बालबालिकामा ध्यान केन्द्रित गर्न नसक्ने, चिन्ता लाग्ने, मन अशान्त हुने, अटिजम, बाइपोलर डिसअर्डर देखिएको छ । त्यसैगरी डिप्रेसन, खानपानमा विकार, बौद्धिक अपांगता र स्किजोफ्रिनिया जस्ता मानसिक समस्याहरू भेटिएका छन् ।

डा. पाठक भन्छिन्, ‘त्यसले गर्दा बालबालिका र किशोरकिशोरीहरुको स्वास्थ्य, शिक्षा, सोच र क्षमतालाई हानि पु¥याइरहेको छ ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले महामारीको बेला बालबालिकाको मानसिक स्वास्थ्य अवस्था सम्बन्धमा सातवटै प्रदेशमा गरेको सर्वेक्षणमा पनि १६ वर्ष उमेर समूहका ७ प्रतिशत र १७ वर्षका ६ प्रतिशतमा मानसिक समस्या देखिएको थियो ।

सर्वेक्षणले प्रदेश १ का किशोरकिशोरीमा बढी मानसिक समस्या देखाएको छ । लैङ्गिक हिसाबले किशोरीहरू बढी मानसिक समस्यामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?