+
+

काँठमा पनि दशै आयो !

आफ्नो इच्छाले देउतिर्थ त जान कठिन भएकाहरू राणा शासनको बेलामा विहान सात बजे टुँडिखेलमा घरबाट समयमै कवाज खेल्न पुग्नु कठिन काम हो भन्ने अनुभूत गरेको भए शायद सरदार भिमबहादुर पाँडेले काँठेहरू लुच्चा हुन्छन् भनेर लेख्दैनथे होलान् ।

विश्व कुइँकेल विश्व कुइँकेल
२०७८ असोज २८ गते ८:४५
फाइल तस्वीर

बर्सेनि आउने दशैं सधैं उस्तै हुँदैन । बाल्यकालको जस्तो दशैं जिम्मेवारी बढेपछि हुँदैन । तर भोगेको दशैंको याद भने उस्तै रहन्छ । धमिलो होला तर सधैं अर्थपूर्ण रहिरहन्छ ।

काठमाडौं शहरको वाहिरी वृत्तमा बस्नेहरूको दशैं भोगाइ अलिक फरक हुन्थ्यो । दशैंको छेको उपत्यका छोडेर जाने सुविधा नपाएका र शहरको सुविधाबाट पर रहेकाहरूको दशैं भोगाइ केही भिन्न नै हुन्थ्यो ।

काठमाडौंलाई प्रतिकात्मक रूपमा जोडिरहँदा, समस्याहरूसँग जोडिरहँदा कतै आफू हुर्केको काँठ हराएजस्तो लाग्छ । अवमूल्यन भएको हो कि जस्तो लाग्छ । यसका पृथक कुराहरू खोज्न मन लाग्छ । समानता र भिन्नतामा खेल्न मन लाग्छ । आफैंले भोगेको दशैं हिजो र आज, काँठको दशैं हिजो र आज, केही अक्षरहरूमा अभिव्यक्त गर्न मन लाग्छ ।

सोह्र श्राद्धका दिनहरू शुरू भएपछि नै दशैं आयो जस्तो लाग्ने उतिबेला । हल्काफुल्का कुहिरोको प्रवेश भयो भने त दशैंले छपक्कै छोप्यो जस्तो लाग्ने । बारीका मकै भाचिसकेको हुन्थ्यो त्यतिबेला । मकैका सुकेका केही ढोडमा बोडीका कोसाहरू लमतन्न झुण्डिएका हुन्थे । मकै नपाकिसक्दै लगाएका कोदोका बोटहरूलाई ड्याङ पारिसकिएको हुन्थ्यो । विहानीपख हलुका चिसो बढ्दै गर्दा बारीमा शित परेका कोदोको हरिया बोटहरू सुन्दर लाग्थे । खेतमा लहलह झुलेको धान काट्ने हतारो शुरू भैसक्थ्यो । लमतन्न सुतेको मनोहरा र वागमती फाँटमा टन्नै धान झुलेको देखिन्थ्यो । नगरकोटतर्फबाट चिहाउने पहेंलो घामको झुल्काले त्यसलाई सुन्दर बनाएको हुन्थ्यो । र शुरू हुन्थ्यो पर्म र खेताला खोज्ने मेलो ।

‘फलानाको मेला जानु छ,’ भन्नुहुन्थ्यो आमाहरू । दिदी बहिनीहरूको पनि स्कुल छुट्थ्यो मेला जाँदा असारमा । तर धान काट्ने मेला प्रायः दशैं छुट्टीमा नै पर्थ्यो ।

अब धान र मकैका बोटहरू त अलिअलि देखिन्छन् । कोदोका बोटहरू होइन । फाँटहरू चिहाउन नजिकै जानुपर्छ । वा भनौं नमूना हेर्नुपर्छ । पर्म, मेला जाने भन्ने शब्दहरू नै बुझ्न छोडियो । अब चोकमा बसेर मकै पोलेर बेच्नेहरूसँग किनेर खानु सामान्य भैसक्यो ।

दशैंसँग नयाँ लुगाको सम्वन्ध नहुने कुरै भएन । वर्षभरिका सपना साटेर ल्याइएका थान कपडाबाट बालीघरे प्रथाका दमाई दाइहरूले घरभरिका केटाकेटीहरूलाई सिलाइदिने उस्तै कपडा सधैं अपेक्षित हुन्थ्यो । दमाई दाइले यो गरेवापत ठेकिएको बालीबाहेक दशैं भागमा खसीको पुच्छर पनि पाउँथे । नाउ र कामी पनि कमाइएका हुन्थे । दशैंमा काटिएको खसीको करङ र गर्धन भाग उनीहरूले पनि पाउँथे ।

काँठको बालीघरे प्रथा हाल निमिट्यान्न भैसकेको छ भन्दा हुन्छ । धेरैले पेशा नै नयाँ रोजिसकेका पनि छन् । बाली छोड्यो भने दशा लाग्छ भन्ने विश्वासले पनि हावा खाइसकेको छ अब ।

प्रायः दशैंकै बेलामा धान काट्ने मेसो हुन्थ्यो । अष्टमी र दशमीको दिन मात्रै सकेसम्म धान काँटिदैनथ्यो । काटेको बाली घर भित्राउनै पर्यो । धान पाक्न लाग्यो भनेपछि आमाहरू हँसिया बोकेर र बाहरू कोदाली बोकेर खेततिर लाग्नुहुन्थ्यो, खाँद खोल्न अर्थात् खेतको पानी तर्काउन ।

काँठमा धान काट्ने चुट्ने तरिका अन्यत्रभन्दा केही फरक थियो । जुन दिन धान काटिन्थ्यो त्यही दिन ढुङ्गामा धान चुटिन्थ्यो, भाँती मिलाएर बनाइएका धानका खलाहरूमा । उसै दिन धान घर भित्रन्थ्यो र सिज्याउन भनेर केही दिन थुप्राएर राखिन्थ्यो । दाइँ नलगाइएका सग्ला धानका बोटहरूको कुन्यु लगाइन्थ्यो र केही दिनमा चुटेर नझरेको धान कुन्युबाट झिकेर झारिन्थ्यो । यो बन्थ्यो पठुवा धान । खेतका आलीहरूमा लगाइएका मासका बोटहरू भने धान काटेको केही दिनपछि मात्र काटिन्थ्यो ।

आजभोलि थोरैलाई मात्र धान काट्ने मेसो पर्छ । आलीमा मासका बुटा त भेट्नै मुस्किल भैसक्यो । उतिबेला पठुवा चामलको भात बाध्यता हुन्थ्यो । अहिले रहर भएको छ कसैलाई । कसैलाई अर्कै तरिकाले वाध्यता पनि ।

दशैंका सरसामान किन्न जाने ठाउँभेग हेरेर असन, इन्द्रचोक, पाटन, भक्तपुर र आक्कलझुक्कल कीर्तिपुर र साँखु पनि । शहर जाने भनिन्थ्यो त्यसबेला । शहरको परिभाषामा कीर्तिपुर, साँखु जस्ता साना शहर पर्दैनथे । अहिले पनि कसैकसैले शहर जाने नै भन्छन् । खसी, भेडा वा च्यांग्रा किन्न जाने ठाउँ टुँडीखेल वा टुकुचा । मिनिबसका छत वा बसभित्रै मान्छे र खसी टाँसिएर घर आउँथे । विरामी हुँदा नि चढ्न आँट नगर्ने ट्याक्सीमा धेरै जना मिलेर खसी हालेर पनि आउँथे कोही त । आजभोलिजस्तो झोलामा खसी अड्दैनथ्यो त्यसबेला ।

भेडा र च्यांग्रा लाइन लगाएर बेच्न पनि ल्याउँथे कहिले त । खुला चौरहरूमा राखेर तोलमोल गरिन्थ्यो । अहिलेजस्तो खुला चौरहरू व्यक्ति, सामुदायिक संस्था वा सरकारी निकायले कब्जा गर्दैनथे । ठूला ठूला विल्डिङ वा भाडा खाने नियतले बनाइएका संरचना हुने कुरै भएन त्यतिबेला ।

बाबुबाजेले नुन छरेर छोडेको जमिन भन्ने चलन थियो र त तिनै खुला चौरहरूमा लिङ्गे पिङ्ग ठडिन्थ्यो । चङ्गा उडाइन्थ्यो । गुच्चा खेलिन्थ्यो । काने पोखरीमा सञ्जोगले भेट भएका रातो र कालो साँढे जुधेको रमाइ–रमाइ हेरिन्थ्यो । किट्टी, फराँस, पप्लु आदि तास पनि खेलिन्थ्यो ।

दशैंको विशेष तयारीमा हुन्थ्यो धान र चिउरा कुटाउने काम । धान त नजिकैका पानीकलमा पनि कुटिन्थ्यो तर चिउरा कुटाउन अलिक टाढै जानुपर्थ्यो हाम्रोतिरबाट चाहिँ । विवाहमा गोडा धोएको खड्कुलो दशैंको लागि चिउराको धान पकाउन प्रयोग हुन्थ्यो । आँगनमा बनाइएका ठूला ढुंगाका चम्कोहरूमा बेलुकीतिर खड्कुलोमा पकाइएको धानको बास्ना चल्दा बेग्लै आनन्द आउँथ्यो । पाकेको धान पानी तराएर भोलिपल्ट कलतिर लाग्नुहुन्थ्यो आमाहरू । अहिले पनि निमिट्यान्न भैसकेको छैन चिउरा कुटाउने चलन ।

ठूला टपरीमा जमरा उमार्न चोखो बालुवाको दुःख हुँदैनथ्यो । प्रशस्त खहरे, खोला र नदीहरू सफा पानी लिएर बगिरहेका हुन्थे । चाँदीजस्तो टल्कने बालुवा सहजै पाइन्थ्यो । सकेसम्म वागमतीकै बालुवा खोजिन्थ्यो । नभए अरू खोलानाला । सकेसम्म पाखोको बालुवा प्रयोग हुँदैनथ्यो ।

शहरभित्रै जन्मेर शहरभित्रै बिलाउने त टुकुचा मात्रै त हो नि, अरू त सबै काँठको बाटो हुँदै नै शहर छिर्थे । अहिलेजस्तो ह्यूम पाइपमा बन्द गरिएका नाली हुन्थेनन् खोलानाला । डोजरले पेलेर सम्याइएका हुँदैनथे पाखाहरू । सरकारी भवन वा मन्दिर बनाउन उतिसघारी फाँडिएको हुन्नथ्यो त्यतिबेला ।

गाउँमा महिलाहरूको शृङ्गारको कुरा पनि विशेष हुन्थ्यो दशैंमा । नाउहरू कपाल काट्थे भने नाउनीहरु नङ । नङ काट्न नाउनीहरू घर–घर नै आउँथे । नङ काट्ने मात्र होइन बुढी औंलामा रातो रङ्ग पोतेर चिटिक्कै बनाइदिन्थे आमा भाउजूहरूका खुट्टाहरू ।

दशैंको छेकोमा छड्के तिलहरी लगाएझैं कपडामा उनेको चुराको माला लगाएर गाउँ छिर्थे चुरौटिनीहरू । अघिपछि पनि आक्कलझुक्कल त्यसैगरी आउने भए पनि तिज, दशैं र तिहार विशेष हुन्थ्यो । जाली झोलामा टीका, पोते र फुर्के धागो पनि हुन्थ्यो । घरघरै डुलेर नगदमा नै बिक्री गरिन्थ्यो । अहिले नाउनी र चुरौटिनीहरू घर–घर आउँदैनन् वा यो पेशा नै गर्दैनन् ।

घर पोत्ने काम पनि विशेष हुन्थ्यो । काँचो इँटाले बनेका घरहरूमा भित्र निलो माटो, बाहिर पहेंलो र रातो माटो, झ्याल ढोकामा कालो रङ्ग लगाइन्थ्यो । यो काम घरका नै सदस्यले गर्थे । घरभित्र रङ्ग पोत्दा बाबियोको कुचो र कपडाको लुँडो प्रयोग हुन्थ्यो । विशेष गरी भुइँ र गाह्रोको तल्लो भाग रातो माटोले पोतारीमा भिजाइएका लुँडोले पोतिन्थ्यो ।

आमाहरू साङ्गामा माटो लिन गएको कुरा गर्नुहुन्थ्यो तर हामीले देख्दा गाउँमा नै ‘रातो माटो, रातो माटो’ भन्दै व्यापारीले बेच्न ल्याएको नै देख्यौं । पहेंलो र निलो माटो चाहिं पाखोमा नै पाइने । घर बाहिर भने बाल्टिनमा राखेर पहेंलो माटोको घोल भित्तामा छ्यापिन्थ्यो ।

चुन पाइने ठाउँतिर भने पहेंलोको सट्टा चुन पोत्ने चलन पनि हुन्थ्यो । काँचो माटोको घरलाई भित्र काँचो, बाहिर पाको इँटाको घरले विस्थापन गर्दासम्म रङ्ग लगाउने काम घरभित्र भए पनि चल्यो । अहिले के छ भन्नै पर्दैन ।

फूलपातीको लागि केराको पात र उखु खोज्ने काम उति झण्झटिलो नभए पनि सात थरी फूल पुर्याउन हम्मेहम्मे पर्ने । रातो र पहेंलो सर्वदा, थुङ्गे भनिने सयपत्री, दूधकेमरा, चमेली, पारिजात, सोली वा खुर्सानी यिनै हुन्थ्यो पाइने फूल । भिमसेनपातीलाई पनि फूलकै दर्जामा राखिन्थ्यो । खुर्सानी फूल चाहिँ रामले बालीको बध गर्दा प्रयोग भएकाले देवतालाई चढ्दैन भन्ने पनि गर्थे ।

आफ्नो इच्छाले देउतिर्थ त जान कठिन भएकाहरू राणा शासनको बेलामा विहान सात बजे टुँडिखेलमा घरबाट समयमै कवाज खेल्न पुग्नु कठिन काम हो भन्ने अनुभूत गरेको भए शायद सरदार भिमबहादुर पाँडेले काँठेहरू लुच्चा हुन्छन् भनेर लेख्दैनथे होलान्

टुँडिखेलमा बढाइँ हानेको अधिकांश काँठमा प्रष्टै सुनिन्थ्यो । बढाइँको आवाज आएसँगै फूलपाती भित्राउने काम प्रायः छोराहरूले नै गर्दथे । नवदूर्गाको पूजा भएसम्म यो प्रचलन नहट्ला ।

घरमा खसी भित्राउने काम पनि यही दिन हुन्थ्यो अधिकांशतः । तर काटकुटका लागि चाहिने सबै फलामे हतियार पूजा गर्ने ठाउँमा राखिन्थ्यो ।धोई पखाली गरेर । देवी चढेको हुन्छ हतियारमा भन्ने चलन थियो । भोलिपल्ट खसी ढालेपछि चाहिने केही हतियार झिकिन्थ्यो । त्यसपछि आवश्यकता अनुसार झिकिँदै जान्थ्यो । अहिले नमूनाको रूपमा एक–दुई हतियार मात्र राखिन्छ ।

अष्टमीको दिन नै मार हानिन्थ्यो प्रायजसो । केही चुनिएका मान्छेहरू हुन्थे मार हान्नेहरू । लामो खुँडा वा ठूला खुकुरी कपडाले बेरेर हिँड्नेका अघिपछि मान्छेहरू लाग्थे आफ्नोमा मार हान्न लगाउन । खसी खुइल्याउन खड्कुलोमा पानी ठीक पारिएको हुन्थ्यो । ढोड वा गहुँको छ्वालीको मुठा बनाएर त्यसको दायाँबायाँ खुट्टा पारेर खसी ठीक पार्नु अघि नै जल राखेर खसी पर्साइन्थ्यो । खसी पर्सेको हो कि तर्सेको हो तर मान्छेहरू भन्थे ‘मान्यो खसीले’ । आफ्नै मृत्युलाई कसरी मान्थ्यो कसैले व्याख्या गर्न सक्दैनथ्यो । न खसीले बताउन सक्थ्यो ।

जे होस्, अगाडिबाट खसीको सिङ समाउने, पछाडिको दुई खुट्टा समाउने, मार हान्ने र मार हानेको हेर्नसक्ने सबैलाई आँटिलो मानिन्थ्यो । भ्वाक्क आवाजसँगै रगतका सिर्का छोड्ने र गिडिएको शरीर लिएर केहीबेर हात खुट्टा फाल्ने र केही बेरपछि थरर काम्दै आफ्नो अस्तित्व नामेट पार्ने खसीलाई आँटिलो भनिन्नथ्यो ।

मासुका परिकार धेरै थरी हुन्नथ्यो, रक्ति, भुँडीभित्रास, भुटेको र झोल हालेको मासु । खसीको टाउको हत्तपत्त जमरा राखेको ठाउँमा कुदाइन्थ्यो । दशैंको प्रसाद लगाउने दिनसम्म खसीको टाउकोको ट्वाल्ल परेको आँखाले पूजाकोठा नियालिरहन्थ्यो । भेडा र च्यांग्रा काट्नेहरूको घरमा पनि यस्तै नै हुन्थ्यो, गरिन्थ्यो ।

नजिकका शक्तिपीठहरूमा जाने क्रम घटस्थापनादेखि नै शुरू हुन्थ्यो । यातायात असुविधाले टाढाका पीठ त्यति गइँदैनथ्यो । यतिसम्म कि भद्रकाली, शोभा भगवती, गुह्वेश्वरी, दक्षिणकाली जस्ता शक्तिपीठमा पनि नजिकका मान्छे मात्र पुग्थे । दशैंमा धान र अरू घरायसी कामको चटारोले पनि यो भ्याउने कुरा हुँदैनथ्यो । आफ्नो इच्छाले देउतिर्थ त जान कठिन भएकाहरू राणा शासनको बेलामा विहान सात बजे टुँडिखेलमा घरबाट समयमै कवाज खेल्न पुग्नु कठिन काम हो भन्ने अनुभूत गरेको भए शायद सरदार भिमबहादुर पाँडेले काँठेहरू लुच्चा हुन्छन् भनेर लेख्दैनथे होलान् ।

घटस्थापनाको दिन दुना वा बोतामा राखिएको स–सानो जमरा नजिकका शक्तिपिठहरूमा लगेर चढाइन्थ्यो र पढ्न सक्नेहरू घण्टौं लगाएर चण्डी पाठ पनि गर्थे । घरमा भने अष्टमीको दिन चरूहोम गर्ने चलन पनि हुन्थ्यो । प्रसाद बनाइएको खीर खाएर मासु पाक्ने समय कुरिन्थ्यो । विहान मार हानेको खसी सबै तयारी गरी पाक्न कम्तिमा पनि एक बजिहाल्थ्यो ।

घटस्थापनादेखि नै शुरू भए पनि फूलपातीदेखि दशैं विशेष हुन्थ्यो लंगुरबुर्जाको खेल । खालेहरूले लंगुरबुर्जा थाप्ने विशेष ठाउँहरू हुन्थे । ठाउँठाउँमा ओखर र कौडा पनि खेलिन्थ्यो । साना मान्छेहरू भने हाँडेबेलको गेडा फुटाएर बनाएको पाएँचा खेल्थे । कौडाको खेल भने प्रायः बेलुकीतिर हुने । अघिपछि सधैंजसो खेलिने पच्चीस भन्ने खेल दशैंमा खासै खेलिदैनथ्यो । अहिले केही कुरा कानुनले छेक्यो । केही प्रवृत्तिले अनि केही अनुपलब्धताले ।

टीकाको दिन विशेष हुन्थ्यो । घरमा जतिसक्दो चाँडो टीका लगाएर अन्त टीका छोप्न दौडिने चलन हुन्थ्यो । उसै त काँठको सवारी सुविधा त्यसमाथि दशैं । ललितपुरका काँठहरूमा ड्राइभरसहित सात जना राखेर चलाइने ट्याक्सीको सुविधाले केही सहज हुन्थ्यो । मिनिबस र ढ्यांग्रो (कन्टेनर काटेर सीट, झ्याल हालेर बनाइएका गाडीलाई ढ्यांग्रो भन्ने चलन थियो ।) चल्ने ठाउँमा भने बाटोभरि मान्छेको ताँती चल्थ्यो । कुनै थुनछेक नभएमा त्रयोदशीसम्म लगाउने दशैं टीकाले गर्दा सबै ठाउँमा पुग्न सहज हुन्थ्यो ।

अहिले केही कुरा प्रविधिले फरक पार्यो । केही कुरा मान्छेको प्रवृत्तिले । खुला ठाउँहरूको अन्तसँगै केही कुराहरू ओझेलमा परे । आधुनिकीकरणको नाममा केही कुराहरू छोडिए । समय बदलियो । पात्रहरूको भूमिका पनि बदलियो । गाउँको सिंहदरबारले पनि संस्कृति जोगाउन खासै केही गरेजस्तो देखिँदैन । काँठ यस्तै छ आजकल ।

काँठको दशैंको बारेमा यतिका कुरा लेखिसक्दा फेरि पनि भन्नैपर्छ– यी निम्नमध्यम वर्गीय परिवारका कुरा हुन् । गरिवीको रंग पोतिएका विशेष गरी दलितहरूका कुरा धेरै गहिरा छन् । आकाशभन्दा विशाल छन् । निम्न मध्यमवर्गीय परिवारकै वरिपरि घुम्ने यिनका कथा यही सेरोफेरोमा घुम्छ पनि । तर अलिक फरक तरिकाले घुम्छ र पनि तिनका कुरा गरिएकै छैन यहाँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?