+
+

दशैंमा ‘थेरापी’का गहना 

नुनुता राई नुनुता राई
२०७८ असोज २८ गते १२:१८

२८ असोज, काठमाडौं । ‘दशैं अधिकांश नेपालीको लागि विशेष चाड हो । दशैंमा नयाँ कपडासँगै गहना लगाइन्छ । त्यसैले हाम्रो व्यापारको लागि पनि दशैं विशेष हो ।’ सुनको जलप लगाएका गरगहना व्यवसाय गरिरहेकी लुमन्ती शाक्यले आफ्नो व्यवसायका लागि पनि दशैं विशेष भएको बताउँछिन् ।

ललितपुर पाटनमा ‘थेरापी’ स्टुडियो मार्फत् उनले सुनका जलप भएका झुम्का, मुन्द्री, सिक्री, औंठी, टप लगायतका गहना ग्राहकलाई उपलब्ध गराउँदै आएकी छिन् ।

फ्रान्समा हस्पिटालिटी म्यानेजमेन्ट विषय पढेकी लुमन्तीले सुरुमा बैंकक घुम्न जाँदा ल्याएको गहनाबाट व्यवसाय थालेकी थिइन् । उनी भन्छिन् ‘सुरुमा यही व्यवसाय गर्छु भन्ने थिएन । गरी हेरौं के हुन्छ भनेर सुरु गरेकी थिएँ ।’ सुरुमा व्यापार सामान्य भयो । तर माग बढ्दै जान थालेपछि करिब डेढ वर्ष अघिदेखि भने यसैलाई व्यवसाय बनाउने लक्ष्यका साथ सुरु गरेको बताउँछिन् ।

पछिल्लो समय ‘थेरापी’ को गहनाको माग बढ्दै गएको उनी बताउँछिन् । ‘अहिले गहनाको माग एकदम धेरै आइरहेको छ । सुनको मूल्य आकाशिएकोले पनि हो,’ उनी भन्छिन् । सुनका गहना फेरिफेरि लगाउनको लागि रुचिका लागि थेरापी राम्रो विकल्प भएको उनको भनाइ छ ।

यस कारण नाम राखियो ‘थेरापी’

बैंककबाट ल्याएर गहना बेच्न थालेको थेरापीले अहिले नेपालमा नै हातले बनाइएका गहनाहरू ‘थेरापी’ले बेच्ने गरेको छ । पाटन र कीर्तिपुरका स्थानीय कालीगढहरूले बनाएका विभिन्न डिजाइनमा गहना बनाइरहेका छन् । तामा, पञ्चधातु र सिल्भरबाट बनाइएका गहनामा २४ क्यारेट सुनका जलप लगाइन्छ ।

थेरापी नाम दिनुको कारण बताउँदै उनी भन्छिन्, ‘मान्छेलाई थेरापी अनुभूति हुने व्यक्तिपिच्छे फरक–फरक कारण हुन्छ । कसैलाई घुम्न जाँदा हुन्छ । कसैलाई किनमेल गर्दा हुन्छ । कसैलाई गहना किन्दा हुन्छ । त्यही सोचले थेरापी नाम दिएको हो ।’

‘थेरापी’को गहनाको ५० प्रतिशतभन्दा बढी माग उपत्यका बाहिर, पोखरा, विराटनगर, चितवन, झापा, मोरङ लगायत जिल्लाबाट आउने गरेको छ । यी जिल्लाका स्थानीय व्यवसायीसँगको सहकार्यमा उनले ग्राहकको माग पुर्‍याइरहेकी छन् । अहिले नेपाली बसोबास बढी रहेका अमेरिका, युके, अस्ट्रेलिया लगायतबाट पनि माग भइरहेको बताइन् । तर त्यहाँ सामान पठाउनको लागि डेलिभरी चार्ज बढी लाग्ने भएकोले पठाउन नसकिएको र स्थानीय व्यवसायीसँग सहकार्यका लागि प्रयास भइरहेको उनको भनाइ छ । उनले भनिन्, ‘त्यहाँतिर बसोबास गरिरहनुभएका नेपालीलाई नेपाली ब्रान्डका गरगहना उपलब्ध सोच हो । प्रयास भइरहेको छ ।’

थेरापीले ११ सय ९० देखि चार हजारसम्म मूल्य पर्ने गहना छन् । १८ वर्षदेखि ३० वर्ष उमेर समूहको ग्राहक लक्षित गरेर सुरु गरेको व्यवसाय अहिले त्योभन्दा बढी उमेर समूहका ग्राहकहरू पनि बढिरहेको लुमन्ती बताउँछिन् । मूल्य अनुसारको गुणस्तरीय समान ग्राहकलाई उपलब्ध गराउने गरेको उनको दाबी छ ।

लकडाउनले पारेन प्रभाव

५० हजारबाट सुरु भएको व्यवसाय अहिले ५ लाखभन्दा बढी लगानी भएको छ । २० जनाभन्दा बढीलाई रोजगारी दिइरहेको लुमन्ती बताउँछिन् । उनी भन्छिन्, ‘हामी आमा–बुबाका दुई छोरी मात्रै हौं । समाजले छोरी मात्रै छ । के गर्छन् भनेर अनावश्यक कुरा गर्थे । अहिले हामी आफैँ मात्रै नभएर अरू २० जनालाई पनि रोजगारी सिर्जना गरेका छौं ।’ आफ्नो कामले समाजमा छोरीप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न समेत सघाउ पुग्ने आशा गर्छिन् ।

अनलाइन बजार भएकाले थेरापीलाई लकडाउनले पनि प्रभाव पारेन । अर्थात् ग्राहकको मागमा फरक पारेको अनुभव गर्न नपरेको लुमन्ती बताउँछिन् । सुरुमा लुमन्ती आफैं र बहिनी मिजला शाक्यले गहना लगाएर सामान्य तरिकाले फोटो खिचेर इन्स्टाग्राममा राखेकी थिइन् ।

तर आजभोलि माग बढ्दै जाँदा व्यवसायिक मोडल, फोटोग्राफरले खिचेको फोटो राख्न थालेका छन् । बजारमा माग बढ्दै जान थालेपछि प्रतिस्पर्धा पनि बढ्दो रहेछ भन्ने अनुभूति गर्न थालेकी छिन् । प्रतिस्पर्धा र व्यावसायिकताको लागि मैले मार्केटिङमा पनि ध्यान दिइरहेको बताउँछिन् । अघिल्लो वर्ष इन्स्टाग्राममा पाँच हजार भएको थेरापीको फलोअर्स अहिले २१ हजार बढी छ ।

गरगहना व्‍यवसायी लुमन्ती शाक्य

गएको निषेधाज्ञामा भने सामान डेलिभरी निक्कै कठिन भएको लुमन्तीको अनुभव छ । डेलिभरी गर्न गएको व्यक्तिको सवारी प्रहरीले रोकेर राखिदिने गरेपछि समस्या भएको बताउँछिन् ।

थेरापीको सुनका जलप लगाइएका गहना खुइलिए पछि कम शुल्कमा  पुनः जलप लगाइदिने सुविधा पनि छ । त्यसले गर्दा पनि ग्राहक थप आकर्षित भएको अनुमान गर्छिन्, लुमन्ती । साथै भाँचिएका गहनाहरु पगालेर पुनः बनाउन समेत सकिन्छ ।

अहिले आफ्ना उत्पादन विश्व बजारमा पु¥याउने लक्ष्यका साथ काम गरिरहेको लुमन्ती बताउँछिन् । भन्छिन् ‘प्रक्रिया बुझिरहेकी छु । तर सुन जलपका गहना निर्यात प्रक्रिया झन्झटिलो रहेछ । तर नेपाली दिदीबहिनीको माग जसरी पनि पूरा गर्ने सोचमा छु ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?