+
+

अदृश्य निर्देशक : मन टाउकोभित्र हुँदैन

योङ्गे मिङ्ग्युर रिम्पोछे योङ्गे मिङ्ग्युर रिम्पोछे
२०७८ कात्तिक १ गते १२:४१

‘मन टाउकोभित्र हुँदैन ।’ फ्रान्सिससस्को भारेला

अझै पनि एउटा प्रश्नले भने मलाई छाडेन । डा.लिभिङ्स्टोनले भने झै मस्तिष्क एउटा सिम्फोनी हो भने त्यसको निर्देशक पनि त हुनुपर्‍यो नि होइन  ? वस्तुगत रुपमै कुनै कोषिका वा अङ्गको अस्तित्व हुनुपर्ने होइन ? हामी बेलाबेलामा भन्ने गर्छौं, ‘मेरो मनमा अहिले केही छैन’ वा ‘मेरो मन तयार छैन’ वा ‘अहिले मेरो मन ठेगानमा छैन’ । यसो भन्दा त ‘मन’ भन्ने केही चिज छ भनेको हो नि, होइन र ?

स्नायुविज्ञान, जीवविज्ञान र मनोविज्ञानका क्षेत्रमा कार्यरत वैज्ञानिकहरुसँगको कुराकानीमा मैले बुझेको कुरा के हो भने आधुनिक विज्ञान निकै लामो समयदेखि यो ‘सङ्गीत निर्देशक’को खोजीमा छ । संवेदना, धारणा, विचार जस्ता मानसिक गतिविधिलाई निर्देशित गर्न खास कोषिकाहरुको समूह फेला पर्छ कि भन्ने आशामा प्रशस्त प्रयत्नको लगानी भइसकेको छ । तर, आजपर्यन्त जतिसुकै आधुनिक र जटिल प्रविधिको उपयोग गर्दा पनि यस्तो निर्देशक पत्तो लाग्न सकेको छैन । मस्तिष्कभित्र त्यस्तो कुनै सानो क्षेत्र छैन, कुनै आत्म भन्न लायक अंग छैन, जसले विभिन्न कर्ताहरुकोबीच संवादको संयोजन गर्छ भन्न सकियोस् ।

त्यसैले हो, अचेल स्नायु वैज्ञानिकहरुले यस्तो निर्देशकको खोज गर्नै छाडिदिएका छन् । त्यसको साटो बरु गिदीमा यत्रतत्र छरिएका अर्बौं त्युरोनहरु कुन संयन्त्रका कारण कुनै केन्द्रिय निर्देशनविनै ययित लयात्मकतासाथ आफ्ना गतिविधिलाई आपसमा संयोजित गर्न सक्दा रहेछन् भन्ने खोजमा लागेका छन् । सङ्गीतका वाद्यवादकबीचको स्वतस्फूर्त संयोजनसँग तुलना गर्न मिल्छ । ज्याज संगीतका वाद्यवादकहरु जब कुनै संगीत प्रस्तुत गर्छन्, एउटाले अलिकति फरक किसिमले कुनै बाजा बजाएछ भने पनि अरुले त्यसैमा मिलाएर लयात्मतापूर्ण प्रस्तुति दिन सक्छन् ।

मस्तिष्कभित्र आत्माको खोजी शास्त्रीय भौतिक विज्ञानबाट प्रभावित थियो । शास्त्रीय भौतिक शास्त्रले निश्चित स्थानमा रहेका वस्तुसम्बन्धी नियमको परम्परागत तरिकाले अध्ययन गर्छ । यही परम्परागत दृष्टिकोणमा आधारित भएर हेर्दा भावसंवेगमा मनको प्रभाव हुन्छ भने यो मन भन्ने चीज रहने पनि त कुनै स्थान हुनुपर्ने हो । तर, समकालिन भौतिक विज्ञानले भन्ने कुनै पनि वस्तुको ठोसतामाथि नै प्रश्न उठाइदिएको छ ।

सबैभन्दा सानो ठानिएको कुनै सूक्ष्माणु फेला पारेको केही समयमै त्योसमेत अझै साना सूक्ष्माणुबाट बनेको पत्ता लाग्ने गरेको छ । यो क्रम निरन्तर दोहोरिएको दोहोरियै छ । अनुसन्धानमा भएका हरेक प्रगतिसँगै निश्चितताका साथ पदार्थको आधारभूत तत्वको पहिचान झन झन कठिन हुँदै गएको छ ।

त्यसो भएपछि तर्ककै कुरा गर्ने हो भने मनिलिऊँ, मस्तिष्कलाई अणु–परमाणुभन्दा सानो तहसम्म पनि खण्डित गर्न सकिन्छ रे । अनि त्यसदेखि अझै तल कुन चाहिँ सूक्ष्मातिसूक्ष्माणुलाई मन भन्ने होला ? हरेक कोषिका स सना अणुले बनेका हुन्छन्, ती  झनै सुक्ष्म सूक्ष्माणुले अनि तीमध्ये कुन चाहिँ होला त मन ?

हो यही ठाउँमा चाहिँ बौद्ध दर्शनले नौलो अवधारणा प्रदान गर्न सक्छ । वैज्ञानिक अनुसन्धानकै निम्त संभवत ः एउटा नयाँ मार्गमा यो प्रारम्भिक पाइला हुन सक्छ । बौद्धधर्मको तिब्बती परम्परामा मनलाई सेम भन्छन् । नेपालीमा यसको अनुवाद ज्ञाता वा जो जान्दछ भन्ने हुन्छ । यो साधारण शब्दले हामीलाई के बुझाउन सक्छ भने बौद्ध दृष्टिकोणअुनसार मन भनेको कुनै खास बस्तु होइन । बरु यो त्यो क्षमता हो जसले गर्दा हामी अनुभूतिलाई चिन्न र त्यसबारे धारणा बनाउन सक्छौं । बुद्धले मस्तिष्कलाई मनको भौतिक आधार हो भन्नुभए तापनि मन आफै चाहि दृश्य, स्पृश्य तथा परिभाष्य कुरा होइन होइन भन्ने कुरामा विशेष ध्यान दिनुभएको थियो । जसरी आख नै दृश्या होइन, कान नै श्रवण होइन, त्यसैगरी मस्तिष्क पनि एक भौतिक अंग हो, त्यो नै मन होइन ।

मेरा पिताजीबाट सिकेका प्रारम्भिक पाठमध्ये एउटा हो, बौद्धमार्गीले मनलाई कुनै छुट्टै वस्तुका रुपमा होइन, निरन्तर अनावृत्त हुँदै गएको अनुभूतिका रुपमा हेर्छन् । मलाई सम्झना छ, सबभन्दा पहिले यो कुरा सुन्दा मलाई अचम्म लागेको थियो । नागी गुम्बामा उहाँले पढाउने गरेको त्यो सनो कोठाभित्र विश्वका अनेक कुनाबाट विद्यार्थी अटेसमटेस गरी खाँदिएका थिए । तिनैको बीचमा म पनि थिएँ । हलचल गर्ने ठाउँ थिएन । तर झ्यालबाट भने पर्वत र जंगलको विशाल विस्तार देखिरहेको थिएँ । अनि मेरा पिताजी चाहिँ तण्यो भीड र गर्मीको कुनै मतलब नराखी सुशान्त भएर भनिरहनुभएको थियो, ‘हामीले आफ्नो पहिचानको रुपमा सोच्ने गरेको मेरो मन, मेरो शरीर, म भनेको वास्तवमा निरन्तर बगिरहेका विचार, भावना र धारणाले सिर्जना गरेका भ्रम मात्र हुन् ।’

बुबाको प्रवचनको शक्तिले हो वा त्यो भीडमा खाँदिएर बस्नुपरेको स्थितीमा झ्यालबाट देखिने खुला दृश्यले सिर्जिना गरेको अनौठो अन्तर्विरोधका कारण हो, (यी दुबै कारणले पन िहुनसक्छ) मभित्र एउटा ज्ञानको प्रस्फुटन जस्तो भयो, म र मेरो मनको घेराभित्र रहेर सोच्नु र झ्याल बाहिरको आकाश र पर्वत झै फराकिलो हुनका बीच पनि भिन्नता रहेछ । र त्यो भिन्तता देख्ने स्वतन्त्रता पनि रहेछ हामीलाई ।

धेरै पछि पश्चिमा मनोवैज्ञानिकहरुले पनि मन र आत्माको अनुभवलाई चलचित्रसँग दाँजेर कुरा गरेको सुनें । फिल्म हेर्दा  प्रोजेक्टरबाट त एक एक ओट फ्रेम निस्किरहेको हुन्छ, हामी भने त्यो गतिको निरन्तरता देखिरहेका हुन्छौं । हरेक फ्रेमलाई छुटाटुटै हेर्ने हो भने पक्कै पनि बिल्कुलै फरक अनुभूति हुने थियो ।

बुबाले मलाई ठ्याक्कै यसैगरी मनको अवलोकन गर्न सिकाउनुभएको थियो । मनको बाटो भएर आउजाउ गर्ने हरेक विचार, भाव र संवेदनलाई एकएक गरी हेर्न थाल्दा संकुचित म भाव विलीन हुँदै जाँदो रहेछ । त्यसको ठाउँ शान्त, नीरव, विस्तारित चेतनाले लिँदो रहेछ अनि अन्य वैज्ञानिकहरुबाट मैले सिकेको चाहि के भने अनुभूतिले मस्तिष्कभित्र संरचना परिवर्तन गर्ने भएकाले मनलाई यसरी अवलोकन गर्न थालेपछि म भावलाई निरन्तरता दिने न्यूरोनहरुबीच गफगाफ पनि परिवर्तन हुने सक्ने रहेछ ।

बुक हिलले भर्खरै बजारमा ल्याएको पुस्तक ‘जिउनुको मज्जा’बाट । न्युयोर्क टाइम्स बेस्ट सेलर ‘जोय अफ लिभिङ’ लाई सरोज धितालले नेपालीमा अनुवाद गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment