+
+

कथा : पिरिम्

विवेक ओझा विवेक ओझा
२०७८ कात्तिक १ गते १७:५४

नहरछेउको जामुनको रूख मान्छे उभिएजस्तै देखिन्थ्यो । रूखको टाउकोमा गोलो चन्द्रमा अडिएको थियो । रातको सन्नाटामा क्रिक्रिट किरा आलाप तानिरहेका थिए । कर्णाली सुसाइरहेको सुन्न सकिन्थ्यो, मसिनोगरी । धानखेत बीचको घरमा त्योभन्दा हजार–लाख गुणा अशान्त थियो । मध्यरात हुँदासमेत उज्यालो निभेको थिएन ।

घरको पाखो उचाल्नेगरी सकुन्तला चिच्याउँदै थिई । बिगाहौं–बिगाह खेतमा घर निकै पातला छरिएका थिए । एक घरको चिच्याहट अर्को घरसमम्म पुग्नु दुर्लभ थियो । त्यही आँगनमा उसको लोग्ने रत्नमणि दाइँ हाल्दै थियो, ओहोर–दोहोर । स्वास्नीको चिच्याहटले तर्सिँदै हस्याङ्फस्याङ गर्दै थियो । मानौं, उसको आँगन तातो तावा बनेको छ र उसका खुट्टा नाङ्गा छन् ।

रत्नमणिका पैताला आँगनको तुलसी–मठमा ठोक्किन्थे, बेलाबखत । अनिष्ठ हुन्छ कि ठान्थ्यो, तत्कालै मठलाई ढोग्थ्यो । कामना गर्थ्यो, ‘केई अशुभ नहोउ । सकुशल मेरो बच्चो जन्मियोस् ।’

रत्नमणिको मधुरो छाया घरको माटे भित्तामा अत्ताल्लिरह्यो । केही मिनेट । औलाबिचको चुरोट जुनकिरीजस्तै बलिरह्यो, धिपिक्–धिपिक् । तर, यो समय उसका औँलाहरूबिच आफ्नी जहानका औला खप्टिएका हुनुपर्ने ।

कम्तिमा सकुन्तला हौसला पाउँथी । लोग्नेको अनुहार हेर्न पाए मात्रै उसका हिम्मतका भित्ता बलिया हुन्थे । यी कुरा जान्दाजान्दै बेथा लागेकी स्वास्नीलाई एक्लै छोडेको थियो । आँगनमा चक्कर–परिचक्कर लगाउँदै थियो ।

स्वास्नीको माया नलागेर होइन, अधिक मायाको उपज थियो त्यो । उसो त सकुन्तलाको छटपट रोक्न चाहान्थ्यो ऊ, तर सक्थेन । आफ्नी प्यारीको पीडा हेर्न नसकेर रन्थनिएको थियो । स्वास्नीको सकसले उसमा औडाह भरिएको थियो ।

सकुन्तला बच्चाको जन्म कुर्दै थिई गर्भबाट, रत्नमणि मस्तिस्कमा भरिएको औडाहको अवसान कुर्दै थियो । औडाह र हैरानी कम गर्न आँगनमा ध्यान बाड्ने कोशिसमा थियो ऊ ।

जुनेली उज्यालोमा खेतको कुनाकुनासम्म नियाल्ने कोसिस गर्यो । घरी पाखोबाट तल झुन्डिएका पर्सी हेर्यो । देब्रे छेउको गोठ हेर्यो । जामुनको रूखमाथिको थपक्क बसेको गोलो जून हेर्यो । जेजति कुरा हेरोस् उसका आँखामा सकुन्तलाको छटपटी नाच्दै थियो ।

…छिमेककी भाउजुलाई बोलाउने कुरा नसोचेको होइन । तर, दौडन मिल्ने बाटो थिएन । खेतबिचका पातला आली हुँदै पाँच–सात मिनेट हिँड्नुपर्थ्यो । सर्पको मौसम र स्वास्नीलाई केही भैहाल्छ कि भन्ने शंकाले उसले आँगन छोड्न सकेन ।

एक मिनेट पनि स्वास्नीको आभाषबाट टाढा हुन सकेन । आँगनमै भए पनि सकुन्तलाकै नजिक हुनु थियो । उसको हतास देखेर कुकुर चनाखो हुन्थ्यो । आँगनमा उसँगै फन्को लगाउँथ्यो । कुकुरले समेत बुझेको थियो मालिकको हैरानी ।

जबजब सकुन्तला जोरले चिच्याउँथी तबतब रत्नमणि खतम् भैहाल्यो कि ठान्दै स्वास्नीको अगाडि उभिन्थ्यो । उसँगै कुकुर पनि भित्र पस्थ्यो । स्वास्नीको उस्तै छटपट हेर्न नसकेर रत्नमणि बाहिरिन्थ्यो पलभरमै । ओहोरदोहोर, भित्र बाहिर । चुरोटको फुसफुस । कुकुरको सतर्कता र भुकाई । गन्जागोल र अस्थिर थियो गतिबिधी ।

स्वास्नीको पीडाले बेलाबखत एक्लै फतफताउँथ्यो, ‘पीडा बाँड्नपाया बाड्न्या थ्याँ । आखिरी मु पन त बाउ हुन लाग्याको हुँ ।’

त्यही समयको फेरोमा सँगैको गोठमा अर्कै कथा दौडिदै थियो । सकुन्तलाको चिच्याहटले गोठको उकुसमुकसलाई छायामा पारेको मात्रै हो । सकुन्तला चिच्याइरहँदा गोठमा काली कुखुरी कोक्रो छोडर भुईँमा ओर्लिई ।

अँध्यारोको वास्ता नगरेर उसले गोठका कुनाकुना नापी । रत्नमणिलाई गोठको हल्ला थाहा थिएन, वास्ता थिएन । कुखुरीलाई सकुन्तलाको हल्लासँग वास्ता थिएन । संसारमा कयौं हल्लाहरू एकसाथ उठ्छन् तर पनि एकअर्कासित सरोकार नराख्न सक्छन् ।

काली कुखुरीले पनि ‘क्वाँक्–क्वाँक्’ गर्दै रातको सन्नाटा सक्नेजति बिथोली । उसको उकुसमुकुस गोठभरी डुल्यो । सकुन्तलाको लागि त रत्नमणि थियो आँगनमा । सुन्नलाई । चिन्ता गर्नलाई । काली कुखुरीको लागि कोही थिएन । …उसको भालेसँगको भेट नै दुर्लभ थियो ।

कालीले पुनः कोक्रोमा हाम फाली । कुरकुराई । चुच्चो आकाशतर्फ उठाई । आँखा चिम्म पारी र अन्तिम पटक जोरले ‘क्वाँऽऽक्’ गरी । उता सकुन्तलाले गलाका नसा फुलाई । अन्तिमपटक सबैभन्दा जोरले चिच्याई ।

।। समयको एउटै बिन्दु हो, सकुन्तला पहिलो सन्तानकी आमा बनी । उसको लामो धर्को आँशु बग्यो । अनि, काली–कुखुरीले जीवनकै पहिलो अण्डा जन्माई ।।

त्यसपछि सकुन्तला चुप लागी । रत्नमणि आँत्तिदै भित्र पस्यो । पर्यावरणमा नौलो आवाज थपियो, बच्चाको कलिलो रोदन । मायाले ओतप्रोत भएर खुसीका आँशु झार्यो रत्नमणिले । गहिरिएर हेरिरह्यो भर्खरै जन्मिएको छोरोलाई । …निकै ध्यानसँग मखमली कपडाले बेर्‍यो ।

गोठमा कालीले अण्डाभित्रको अमुर्त आवाज, ‘च्याँऽऽच्याँऽऽ’ सुनी । निकै ध्यानसँग अण्डालाई प्वाँखभित्र न्यानो पारेर राखी । आनन्दको सास फेरी ।

०००

सगोल परिवारको पहिलो बिहान । छोराको मुख हेर्दै रत्नमणि बाहिर निस्कियो । पूर्वतर्फ बड्का चौधरीको धानखेतबाट आधा–सूर्य निस्किसकेको थियो । छोराको मायाले पोतिएर सूर्यभन्दा उज्यालो देखिएको थियो रत्नमणि । मन्द बतासले हरियो धानखेत कर्णालीका छालजस्तै वयली मार्दै थियो ।

तुलसी–मठ अगाडि उभिएर उसले हात जोड्यो । तुलसीका पातको शीतजस्तै टल्किएको थियो उसको महसुस । सधैँजसो ऊ गोठभित्र पस्यो । बाख्रालाई घाँस बाँध्यो । सबथोक ठिकठाक छ कि भनेर चारैतिर निरिक्षण गर्यो ।

गोठको थाममा बाँधिएको कोक्रोमा रत्नमणिका आँखा ठोक्किए । त्यहाँ काली–कुखुरी थिइनँ । बरू सेतो अण्डा थियो । फुरूङ्ग भयो रत्नमणि । सानो चल्ला हुँदा ल्याएकी कुखुरीले पहिलो पटक अण्डा पारेकी थिई । रत्नमणि गुनगुनायो, ‘शुभ संकेत पाइयो । छोरो भाग्गीलै जन्मेछ ।’

ट्याप्प टिप्यो अण्डा । त्यसमा कुखुरीको न्यानोपन कायमै थियो । अण्डा बोकेर रत्नमणि घरभित्र पस्यो ।

काली–कुखुरीले बिहानको चारो टिपिसकेर आफ्नो अण्डा सम्झिई । खेतका आलीआली हुँदै गोठभित्र पसी । मायाले पोतिएर कोक्रोमा हाम फाली । ऊ अण्डालाई पखेटाले बेरेर न्यानो पार्न चाहान्थी । उसका आँखा समेत अण्डा हेर्न तिर्खाएकी थिए । तर, प्रेमको उपहार त्यहाँ थिएन । कुखुरी झस्किई । कुरकुराई । बर्बराई । कोक्रोबाट खस्यो कि ठानेर कोक्रोको मुन्तिर हेरी । कोक्रोबाट हाम फालेर चारैतिर नजर डुलाई । गोठभरी दौडिई कुरकुराउँदै । गोठका कुनाकुना–कोप्चाकाप्चा खोज्न थाली । तर, अहँ अण्डा फेला परेन । भौंताइरही, कुरकुरकुरकुर ।

घरको दायाँ छेउ, निमको रूखमुनि खटिया (डोरी–खाट) लगायो रत्नमणिले । तोरीको तेलले मालिस गरिदियो, हात–गोडा । आफ्नो छोरालाई घरीघरी हेरिरह्यो मायाले । औँलाले सुस्तरी छोयो । तर, समाउन डर मान्यो । समाउन नजानेरै कतै …? सकुन्तला बुढोको मनोभाव पढ्ने कोसिस गर्दै थिई ।

रत्नमणिका ओठ हल्लिए, ‘अब बच्चा नजन्मनउला है ?’

‘क्यान ?’

‘तेरो पीडा मू हेर्न सक्दैन प ।’

सकुन्तला लाजले मुस्कुराई । उसले रातको दुखाई बिर्सिदिई, ‘नाई मुलाई चार–पाँच चाईन्या हुन् ।’

स्वास्नी जिस्केको बुझ्यो । स्वास्नीलाई हेर्दै हाँस्यो तर त्यसको प्रत्युत्तर दिएन ।

दिनभर रत्नमणिले सब काम आफैं गर्यो । स्वास्नीलाई उठ्दासमेत सहायता दियो । काम त गर्यो तर अरू दिनभन्दा कच्चा । घाँसको नाउँमा बकाईनुका हाँगो काट्यो, बाख्रालाई ढिलो पानी दियो ।

कुखुरीलाई चारो दिन बिर्सियो । बरू दिनभर तराईको त्यो गर्मीलाई ध्यान दिई घरी डोरी खाटलाई निमको रूख घरी आँपको रूखमुनि धकेलिरह्यो बेलाबेला । दिनभर नथाकेर खोपामा बजिरह्यो रेडियो ।

दिनभर कुखुरी छिमेकी भालेसँग टहलिई । आफ्नो दुःख बाडी । भालेले रत्नमणिमाथि शंका गर्यो । तर, कालीले पत्याइन, मालिकले त्यो सब गर्नसक्छ भनेर पत्याउन मुस्किल थियो । उनीहरूले मिलीजुली चारो टिपे । माया बाँडे । साँझपख मात्रै आफ्नो वासस्थान फर्किए । फर्किदैगर्दा कुखुरीको मनमा शंकालु–प्रश्न उब्जेको थियो, मालिकले चोरे पनि किन चोर्थे र ?

पछिल्लो विहान कुखुरी कोक्रोमै थिई । रत्नमणि सधैँझैँ आयो । बाख्रालाई घाँस बाँध्यो । कोक्रोमा उसको लोभी नजर पर्यो । निर्धक्क कोक्रोमा हात घुसायो । अनि मात्रै उसले पत्याई, मालिकले नै अण्डा चोरेको रहेछ । कुखुरीले ‘क्वापक्वाप’ रत्नमणिको हातमा खोपी रिसले, आवेगले । तर, रत्नमणिलाई कत्ति दुःखेन ।

उसले मतलब पनि गरेन । बरू कोक्रोबाट अण्डा झिकेर लियो । कालीले कोक्रोबाट हाम फाली । उसको पिछा गरी । कुरकुराइरही । रत्नमणिले उक्त अण्डा घरभित्र लियो । कुखुरी पनि उसको पछिपछि घरभित्रै पसी । रत्नमणिले कुखुरीको कुरकुरको कुनै वास्ता गरेन ।

आफ्नै सुरमा रत्नमणिले आगो बाल्यो, तावा राख्यो तेल राख्यो । र, अण्डा फोडेर तावामा फिजायो । काली–कुखुरी झनै जोरले कुरकुराई । कोठाभरि फन्को लगाइरही । उसले रत्नमणिलाई दानव भनी । सैतान भनी । आलाप–विलाप मागी । कुरकुरकुरकुर । तर, रत्नमणिको ध्यान उसमा परिरहेको थिएन ।

‘सुत्केरीले त पोसिलो कुरा खानुपर्छ ।’ गुनगुनायो एक्लै । अमलेट झिक्दैगर्दा मात्रै कुखुरीमा ध्यान बस्यो । कुखुरी अस्तब्यस्त फन्को लगाइरहेकी थिई । रत्नमणिको अन्तरकुन्तर मनमा अनौठो कुरा टुसायो, ‘ओहा, अण्डा पन कालीको बच्चो हो । मुईले रोटी बनायाँ ।’

…हल्का नुन छर्कियो अमलेटमा । आफ्नो छोराको अनुहार सम्झियो । नकरात्मक भावको लहर उठ्यो उभित्र, ‘कुखुरीका लागि म काल भएझैं मेरा छोराका लागि कोही काल नबनउ ।’ …त्यो कुरा उसले सोच्न पनि चाहेन । आफ्नै सोचलाई वेवास्ता गर्‍यो ।

सकुन्तला पहिलो सन्तानकी आमा बनी । यता काली कुखुरीले जीवनकै पहिलो अण्डा जन्माई ।

उसै पनि बच्चाको मायाले पोतिएको थियो उसको हृदय । ठोक्किन त उसका आँखामा अनेक वस्तु ठोक्किए । मन–मस्तिस्कले समेत उहापोह गरिरह्यो । ती छोराको मोह अगाडि स्वादहीन, रङ्हीन र आकारहीन थिए ।

खासमा उसको आँखा एउटा दृष्यमा चलमलाइरहेको थियो । त्यही दृष्य स्वदिलो, रङ्गीन र आकारसहितको थियो । त्यो दृष्य अरू क्यै नभई उसकै छोराको अनुहार थियो । छोराकै अनुहारमा मग्न थियो रत्नमणि, महको थोपा दुधमा विलीन भएझैँ ।

आफ्नै बिचारले मुस्कुराउथ्यो । फतफताउँथ्यो एक्लै, ‘मोरो मैजसो हुन्या हो । छोटाछोटा औला त काटिकुटी आमाका जसा छन् ।’

०००

फुच्चेको नाम ज्योतिषले वरूण राख्यो । वरूणजस्तै तेज थियो ऊ । एक वर्षकै उमेरमा सजिलै पाइला चाल्न सक्थ्यो । हात–गोडाले खुरूरू दौडिन्थ्यो । खरायोका जस्ता दुई दाँत देखाउँदै घरका कुनाकुना नाप्थ्यो । हाँसीरहन्थ्यो खित्खित् ।

वरूणको पहिलो जन्मदिन । संयोग, त्यही दिन कालीले अण्डा पार्न सुरू गरी । तेस्रो पटकको प्रजनन् थियो त्यो । एउटै ठाउँ अनि एकैनासको क्रिया, कसैका लागि सुखको खाल कसैलाई दुःखको इनार । रत्नमणिका लागि एउटै सन्तान सुखको भण्डार थियो । तर, कालीका लागि अण्डा पार्नु श्रापको निरन्तरता ।

कालीका लागि संसार भन्नु नै नरकजस्तो थियो । पहिलोपटक चारवटा चल्ला कोरल्न पाई, अठार अण्डाबाट । दोस्रोपटक आठ चल्ला कोरली, एक्काइस अण्डाबाट । अण्डा चोरिनु उसको नियति थियो । थाहा पाइसकेकी थिई, संसारका हरेक कुखुरीको नियति यही हो ।

अझ आहारको लागि काटिनु वा पैसाको लागि बेचिनु संसारभरका कुखुराको नियति हो । उसले सबथोक महसुस गरिसकेकी थिई । उसका सन्तानहरू कोही बाँकि थिएनन् । केही आँखै अगाडि काटिएका थिए । केही बेचिएका थिए ।

मालिकले चारो छर्किर्नुमा पनि मालिककै स्वार्थबारे काली जानकार भैसकेकी थिई । संसारभरका कुखुरीहरू मालिकको लागि मोटाइदिन्छन् । काटिनलाई भाले र अण्डा फलाउन पोथी तयार हुनुपर्छ । अभागी पोथी परि भने काटिनुपर्छ । यही रित हो, यही नियति हो संसारको । नरकको ।

योपटक कालीले अचम्मै अण्डा पारी । पन्ध्रौं अमलेटसम्म त रत्नमणिले याद गरेको थियो । पछिपछि अण्डाहरू थपिदै गए । रनभूल्लमा पर्दै गयो ऊ । हुन पनि वरूण अण्डाको औधी सौखिन थियो । अमलेटको बासना फैलिने बित्तिकै आँगनबाट बत्तिएर चुल्हो नजिक पुग्थ्यो । र, अमलेट कुर्थ्यो । उसको अण्डाप्रेम उपर रत्नमणि जिस्किन्थ्यो ।

अमलेट खान खोजेजस्तै गर्थ्यो। अमलेटको टुक्रा मुखसम्म नपुर्याउँदै वरूण चिच्याउँथ्यो । भुईँमा उत्तानो पल्टिएर लडिबुडि गर्थ्यो । आँशुका मोटा धारा बगाइसक्थ्यो पलभरमै । रत्नमणि स्वास्नीलाई आफ्नै खाले तर्क सुनाउँथ्यो, ‘कालीले पैलो अण्डा पार्याको रात जन्म्याको हो, अण्डाकै दिवाना भयो मोरो ।’

कालीले योपटक सातवटा चल्ला कोरली । जसमध्ये चारवटा भाले र तीन’टा पोथी थिए । वरूण स–साना चल्लासँग खुब खेल्थ्यो । चल्ला आँगनको चारैतिर दौडिरहन्थे र वरुणको पन्जाबाट फुत्किहाल्थे । काली कुखुरीलाई बच्चो मन पर्थेन, रत्नमणि मन पर्थेन, सकुन्तला मन पर्थिन । मौका मिल्नासाथ काली आफ्ना चल्ला लखेट्ने वरुणमाथि जाइलाग्थी । वरुण माउ कुखुरीसँग भने डराउँथ्यो ।

एकपटक त कालीले वरुणको आँखै ताकेर खोपिदिई । धन्न चुच्चो आँखीभौंमा लाग्यो । थारै रगत नै आयो । वरुण निकै जोरजोरले रोयो त्यो दिन । कालीले महिनौपछि आनन्द मानी । रत्नमणिलाई नदुखे पनि वरुणलाई दुख्छ, फेरी खोप्ने योजना बनाई कालीले ।

दिना–नु–दिन चल्ला ठूला हुँदै गए । वरुणले तिनलाई समात्न त के छुनै नसक्ने भयो । यद्यपि, लखेट्न छोडेन । विशेषतः बाबुले आँगनमा चारो छर्दा वरुण जाइलाग्थ्यो ।

कतिसम्म बाठो थियो भने, बोराबाट मुठिभरी चामल झिक्थ्यो र आँगमा छथ्र्यो । अनि, चारो खान आएका चल्लाहरूमाथि झम्टिन्थ्यो । उसो त वरुण खेल्न चाहन्थ्यो चल्लासँग । उसँग खेल्नलाई घरमा कोही थिएन । कुखुरा, कुकुर र बाख्रासँग जिस्किरहन्थ्यो ऊ । तर, ऊ कालीको आँखामा रत्नमणिभन्दा फरक थिएन ।

एउटा भाले–चल्ला अनौठो स्वभावको बन्दै थियो । वरुणसँग साथीसमान जिस्किन्थ्यो । घरी वरुणको टाउकोमा बस्थ्यो । घरी काँधमा बस्थ्यो । फेरी भुर्र उड्थ्यो । भाले–चल्ला रत्नमणि र सकुन्तलासँग पनि डराउन छोड्यो । ऊ यतिसम्म अभ्यस्त बन्यो कि चारो फाल्दै गरेको रत्नमणिको हातमा बसिदिन्थ्यो ।

रत्नमणि एक्लै फतफताउँथ्यो, ‘क्या विधि आफ्नो मान्दो छ यो ? मान्छेकै साँतो पस्याजसो ।’ …अनि, मायाले सुम्सुम्याउँथ्यो चल्लालाई । साँच्चै उसकै परिवारको सदस्यझैँ गमक्क पर्थ्यो ऊ ।

एकदिन रत्नमणि बलिरहेको चुल्हो नजिकै छोरालाई भात खुवाउँदै थियो । चुल्होमा बाख्राका लागि परिकार पाक्दै थियो । त्यही समय भाले–चल्लो नजिकै आयो । रत्नमणिले अगुल्टो समात्यो । र, भालेतर्फ तेस्र्यायो । धपाउन खोज्दा समेत ऊ भागेन । डराएन कत्ति । बरू लुसुक्क वरुणको छेउमा उभियो ।

वरुणले भालेका लागि थालको भात भुईँमा पोख्यो । कुप्कुप् सिता टिप्न थाल्यो भाले । रत्नमणिले हेरिरह्यो सबथोक, गहिरिएर । एउटा कुखुराको आँट र भरोसा देखेर ऊ चकित पर्‍यो । भालेलाई छोरालाई झैँ सुम्सुम्यायो, ‘तँ पन यै घरको कबिला भैगै त ।’ …भालेले क्वाँक् गर्यो । गमक्क परिरह्यो । मानौ उनीहरूले एकअर्काको भाषा बुझे ।

त्यो भाले जति मानिससँग नजिकिदै थियो त्यति नै आफ्नो बथानबाट अलग्गिदै थियो । उसकी माउ र भाई–बहिनीले उसको संगत रूचाउँदैनथे । एक्लै सबैसँग लडिरहन्थ्यो । एकलकाटे बनेको थियो बथानका लागि । काली–कुखुरी समेत उसलाई चुच्चोले खोप्थी । मानिससँग त्यसरी जजिक नहुन भन्थी । तर, रातो हुँदै गएको भाले परिवारभन्दा भिन्न भैरह्यो । रङले र व्यवहारले ।

रातो–भालेले मालिकलाई भगवान देख्थ्यो । सजिलै खान दिने, सुम्सुम्याउने मालिकको उसले त्यो रूप मात्र दखेको थियो । आमाले भनेजस्तो रौद्र रूप देखेको थिएन । आखिर उसले रत्नमणिको छोरा जसरी भान्सामा खाना खाएको थियो कयौंपटक । उसले त वरुणसँग ओछ्यानमै खेलेको थियो । यी सब कारण भाले कुखुराभन्दा मान्छेसँग अभ्यस्त भएकोजस्तो देखिन्थ्यो ।

सकुन्तलाले वरुण र भाले खेलेको देखेर धेरैपटक सुनाएकि थिई, ‘कस्तो बुझक्कड । भाइ जसरी खेल्दो रैछ ।’

०००

चल्लाहरू परिपक्व भए । एकअर्कामाथि चढ्न थाले । वयस्क आवाज निकाल्न थाले, ‘कुखुरी काँऽऽऽ !’ बथानमा सबैभन्दा रातो र चम्किलो थियो एक भाले । ऊ बथानमा अलग्गै चिनिन्थ्यो । अन्यभन्दा बलियो र चलाख देखिन्थ्यो । मान्छेको संगत र आफ्नो बथानका लागि एकलकाँटे स्वभावको भाले साँच्चै विचित्रको थियो ।

घरमा सकुन्तलाका जेठा दाइ प्रसाद आए । पहिलोपटक । बहिनीको बिहेमा समेत उनी बम्बै (भारत) थिए । सेठको महलमा चौकिदारी गर्थे । र, बिदा नपाउँदा बिहेमा आउन पाएनन् । कलिलो सूर्य भर्खरै धानका बालाहरूमा फिँजिएको मात्रै थियो । तिहारको मुखमा एकाबिहानै दाइलाई देखेर सकुन्तला उत्साहित बनी ।
तुरून्तै सकुन्तलाले सेलरोटीको मेसो मिलाउन थाली, ‘दाइ मूलाई भन्दा बाबर निको मान्दाछन् ।’

जेठानका लागि उसले सुटुक्क एक सानो जर्किन कस ल्याईहाल्यो, एकआध घन्टामै । पहाड बस्दा ताका दुई–तीन पटक भट्टीमा दोहोरी गाएका थिए उनीहरूले । त्यो बेला रत्नमणिको बिहे भैसकेको थिएन । प्रसादसँग त रत्नमणिको वर्षौ पुरानो भेट थियो । तिहारको मुख र जेठानलाई स्वागत । सम्मानमा कुनै कसर बाँकि नराख्ने भयो ।

उसले स्वास्नीसँग सल्लाह माग्यो, ‘सकुऽऽ, कुखुडो छोप्नपड्यो त !

‘छोप्ताइन त ?’ सकुन्तलाले भित्रबाट आवाज फ्याकी । प्रसादले पनि मुख मिठ्यायो, ‘ज्वाईँ, कुखुडा त सप्ड्याका रैछन् । चिल्ला–चाल्ला ।’

रत्नमणिले कुखुरा समात्न खोज्यो । सबै तितरबितर भए । काली–कुखुरी सबैभन्दा धेरै कुरकुराउन थाली । उसले जनाउ घन्टी पाई, अब उसका चल्लाहरू काटिने वा बेचिने सिलसिला सुरू भयो ।

कुखुरीले कुरकुराउँदै भाग्न र लुक्न संकेत गरिरही । एकोहोरो छटपटाइरही । जवान–चल्ला साँच्चै निकै रफ्तारमा भागे । केही पाकेको धानखेतभित्र घुसे । केही घरको पाखोमा उक्लिए ।

त्यो समय रातो–भाले एक्लै थियो । प..र नहरको ढिकमा । आफ्नै सुरमा चारो टिप्दै थियो । उसको नजर घरतिर पर्दा अनौठो दृष्य देख्यो । कोही नौलो मान्छे थियो घरमा । त्यो मानिसले वरुणलाई काखमा राखेको थियो । अनि रत्नमणि ? ऊ कुखुरा समात्न खोज्दै थियो । कुखराहरू कराउँदै चिच्याउँदै तितर–बितर दौडिरहेका थिए । भालेलाई लाग्यो, रत्नमणि वरुणसँग खेलेझैं कुखुरासँग खेल्दै छ ।

भालेले आफ्नै सुरमा चारो खोर्सियो । चारो टिप्यो र खुत्लुक्क निल्यो । एकछिन ढिकमा नै टहलियो । फेरी उसका आँखा घरतिर गए । देख्यो कि रत्नमणि र सकुन्तला दुबैजना कुखुरा समात्न कस्सिएका छन् । धानबारी भित्र छिरेका कुखुरालाई नौलो मान्छे बाहिर धपाउन उद्यत छ । नभन्दै गोठको छेउनेर सकुन्तलाले पोथी कुखुरी समाती । अभागी कुखुरी ।

रातो भालेलाई अचम्म लाग्यो । त्यो अग्लो ढिकबाट हाम फाल्दै घरतर्फ कुद्यो । आलीको डिलडिल हुँदै । कुद्दैगर्दा उसका पखेटा घरी धानका बोटमा लाग्थे त घरी अग्लो घाँसमा । हरियो घाँसको शीत पखेटामा टाँसिदै थियो र पाकेका धानका बाला हल्लिदै थिए । भाले आँगनको डिलमा पुगेर रोकियो एकछिन् ।

यता रत्नमणिले समातिएको कुखुरीमाथि चित्त बुझाएन, ‘मु जेठानलाई पोथी खुवाउँला क्या ? छाड्दे ।’

सकुन्तलाले त्यो पोथीलाई छोड्न खोज्दै थिई । प्रसादले तत्काल राय राख्यो, ‘क्यै हुँदैन । क्या भाल्या, क्या पोथी ।’

त्यसो भन्नु र सकुन्तलाले कुखुरी छोड्नु सँगसँगै भयो । अनि छोटो समयको अन्तरालमा रातो–भाले हाम्फाल्दै रत्नमणिको काँधमा चढ्यो । र, चारैतिर हेर्यो । सधैँ झैँ रत्नमणिले उसलाई सुम्सुम्यायो, ‘काँ भड्क्याको थ्यो यो ?’

कुनै बिलम्ब नगरी रत्नमणिले भालेका खुट्टा च्याप्प अँठ्यायो । र, उल्टो झुल्लायो । भालेले केहि डर मानेन । फुत्किन पनि खोजेन । वरुणलाई पनि रत्नमणि आकाशतर्फ हुत्याएर च्याप्प समाउँथ्यो । भालेले त्यस्तै कुनै खेल ठान्यो त्यो । उसलाई उल्टो झुन्डिदा एकैछिन त मजा लाग्यो ।

सकुन्तलाले बाँसीबाट खुकुरी झिकी । लोग्नेको हातमा थमाई । पर निमको रूखमुनि मोटो दाउराको मुढो थियो । रत्नमणिले भालेलाई त्यहि मुढोसम्म लियो । भाले त्यो बेला पनि आत्तिएन ।

वरुणलाई पिङ खेलाएझैं भालेले उसलाई पनि पिङ खेलाएकोको भन्ठान्यो । तर, उसलाई के थाहा, जसरी टाउको जमिनतिर फर्केर दृष्य उल्टिएको छ, उसको समय त्यसैगरी उल्टिएको छ । उसको नियतिको आकाश तल र नियतिको धर्ती माथि फर्किएको छ ।

रत्नमणिले भालेको टाउकोलाई मुढोमा राख्दासमेत भाले आत्तिएन । बरू पर धानको बाक्लो झाडिबाट हेरिरहेकि काली कुखुरीलाई देख्यो जो डराई–डराई ओहोरदोहोर गरिरहेका थिई । उसका बथानका भाइ–बहिनी देख्यो जो निकै आत्तिएका देखिन्थे । तर, रत्नमणिको चेहेरा अन्य दिनभन्दा हँसिलो थियो । उसका सेता दाँत ।
तन्किएका ओठमा बेग्लै चमक थियो । जब रातो भालेले देख्यो रत्नमणिको टाउको छेउ उठेको धारिलो खुकुरी । तब, भाले आँत्तियो । त्यतिन्जेल निकै ढिलो भैसकेको थियो ।

भालेले ‘क्वाँक्’ गर्न नपाउँदै रत्नमणिले मार हान्यो । टाउको उछिट्टिएर धुलोमा खस्यो । पखेटा बेगले फटफटाए । र, बिस्तारै सिथिल भए ।
।। मस्त विश्वास र अधिक पिरिमले पन ज्यान लिँदो रैछ ।।

०००

रत्नमणि र प्रसाद बिहानदेखि नसामै थिए । जेठानले मातेको स्वरमा बम्बैका कथा सुनाउँथ्यो । ज्वाँई प्रायः छोराकै कुरा गथ्र्यो । साँझपख मात्तिएको स्वरमा देउडा गाउन थाले, ज्वाईँ–जेठान ।

साँझपख स्याल बासेपछि मात्र कुखुराहरू खोरमा पसे । खोरको ढोका लगाउन सकुन्तला आई । सबै कुखुरामा सर्सती नजर डुलाई । उसले काली कुखुरी देखिन । खोरमा बस्नुपर्ने समय निकै ढल्किसकेको भए पनि सकुन्तला घरको वरीपरी घुमी, ‘काली त्रुत्रु–त्रुत्रु’ ।

आधा घन्टा खोज्दासमेत काली कुखुरी भेटिइन । उसले कराएको स्याल सम्झिई, ‘स्याल मरिजाउ ।’ फतफताउँदै खोरको ढोका लगाई । खोरभित्र कुखुराबीच अर्कैखाले विश्वास थियो, उनीहरूकी आमालाई स्यालले लगेको होइन । खोरमा नआउनेगरी भागेकी हो सधैंका लागि ।

लेखक ओझाको उपन्यास ‘ऐलानी’ प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?