
News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा महानगरपालिका-३ नारायणथानस्थित लक्ष्मीनारायण मन्दिरको ५० रोपनी गुठी जग्गा पुजारी पुष्पराज लामिछाने र विभिन्न व्यक्तिको नामबाट गुठीकै नाममा फिर्ता ल्याइएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग,अदालत र मालपोत कार्यालय कास्कीले जग्गा गुठीकै नाममा कायम गर्ने निर्णय गरेका छन् तर श्रेस्ता अझै कायम भइसकेको छैन।
- गुठी जग्गा बिक्रीमा पुजारी लामिछानेले ४२ जनालाई पैसा उठाएका थिए र पछिल्लो समय जिम्मा बिचौलिया सुजन लामाले लिएका थिए भन्ने पीडितहरूले बताएका छन्।
१ साउन, पोखरा । पुजारीसहित विभिन्न व्यक्तिले आफ्नो नाममा लगेको पोखरास्थित नारायणथान गुठीको ५० रोपनी जग्गा फेरि गुठीकै नाममा फिर्ता ल्याइएको छ ।
पोखरा महानगरपालिका-३ नारायणथानस्थित लक्ष्मीनारायण मन्दिरका पुजारी पुष्पराज लामिछानेले पैसा उठाएर गुठीको जग्गा आफूसहित विभिन्न व्यक्तिको नाममा गराएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत हुँदै अहिले जग्गा विभिन्न व्यक्तिको नामबाट गुठीको नाममा कायम गर्ने मालपोत कार्यालय कास्कीले निर्णय गरेको छ । तर अझै पनि स्रेस्ता भने कायम हुन सकेको छैन ।
कास्कीका विभिन्न राजनीतिक दलका नेताहरूदेखि अहिलेका चर्चित बिचौलिया सुजन लामासमेत पुजारी र व्यक्तिकै नाममा गराउन कसरत गरेका थिए ।
पछिल्लो समय लामाले गुठीको जग्गा विभिन्न व्यक्तिका नाममा गराउन पुजारी लामिछानेसँग जिम्मा लिएका थिए । पुजारी लामिछानेले गुठीको जग्गा व्यक्तिको नाममा गराइदिने भन्दै पैसा उठाएर पाससमेत गराउन सफल भएका थिए ।
पोखरा-१४ छिनेडाँडामा रहेको नारायणथान गुठीको ५० रोपनी जग्गा पुजारी लामिछानेले आफूसहित विभिन्न व्यक्तिलाई आर्थिक लाभ लिएर पास गराएका थिए । अहिले लक्ष्मीनारायण मन्दिर परिसरमा १० रोपनी जग्गा छ भने ५० रोपनी जग्गा पनि गुठीकै नाममा आएको छ । २०६१ सालमा नारायण थान धार्मिक विकास समिति गठन गरेर जग्गाको खोजी थालेका थिए ।
‘गुठीका पुजारी लामिछाने आफैंले आफ्नो नाममा राख्नुका साथै विभिन्न व्यक्तिलाई जग्गा बेचेका थिए । लामिछानेले त्यसका निम्ति विभिन्न व्यक्तिसँग पैसासमेत उठाएका थिए,’ लक्ष्मीनारायण मन्दिर धार्मिक विकास समिति अध्यक्ष महेश पराजुलीले भने, ‘हामीले जग्गा फिर्ता ल्याउन अभियान नै चलायौं । अख्तियारदेखि अदालतसम्मको सहयोगमा ५० रोपनी जग्गा गुठीकै नाममा आएको छ । श्रेस्ता भने अझै कायम भइसकेको छैन ।’
मियापाटन, पृथ्वीचोक, सिर्जनाचोक नजिकै लगायतका ठाउँमा रहेको गुठीको जग्गा विभिन्न व्यक्तिको नाममा गइसकेको थियो । ११ फागुन २०८१ मा मालपोत कार्यालय कास्कीले गुठीकै नाममा जग्गा कायम गर्ने आदेश तथा टिप्पणी उठाए पनि बिचौलियाकै कारण श्रेस्ता भने नबनेको गुठीका पदाधिकारीको भनाइ छ ।
गुठीको जग्गा हत्याउनकै लागि पुजारी लामिछानेलाई यामबहादुर गुरुङले ३० लाख रुपैयाँ दिएका थिए । ‘जग्गा मिलाइदिन्छु भनेर पुजारीले मसँग लिखित सहमति नै गरेर पैसा लिएका हुन् । त्यो जग्गाका निम्ति मेरो झन्डै ९० लाख रुपैयाँ लगानी भइसक्यो । तर आज न जग्गा आयो न पैसा,’ यामबहादुरले अनलाइनखबरसँग भने, ‘मजस्ता करिब ४२ जना मान्छेसँग पुजारीले पैसा लिएका छन् ।’
पुजारीले जग्गा मिलाइदिएपछि दिनेगरी यामबहादुरले आफ्नो घर नै कृष्णबहादुर श्रेष्ठको नाममा गराइदिएका थिए । पुजारीकै मिलेमतोमा घर नै कृष्णबहादुरको नाममा गराइदिएपछि अहिले आफू नराम्ररी डुबेको यामबहादुर बताउँछन् ।
मनिष पराजुली नाम गरेका व्यक्ति र पुजारीमार्फत आफू ठगिएको यामबहादुरले बताए । २०७२ सालमै पुजारीलाई पैसा दिएको गुरुङले बताए । १० वर्षभन्दा लामो समय लिखित सहमतिले काम नगर्ने भएकाले आफूले पैसा फिर्ता दिन भने पनि पुजारी लामिछानेले नमानेको उनको भनाइ छ ।

पोखराका एक अधिवक्ता कृष्ण अधिकारीमार्फत पुजारी लामिछानेले जग्गा दिने भन्दै कागज गरेका थिए । पुजारी लामिछानेले आफूसँग पनि साढे २ लाख रुपैयाँ लिएको र प्रलोभनमा पारेर आफूलाई पनि प्रयोग गरेको अर्का पीडित कृष्ण गुरुङले बताए ।
पोखराका ४२ जना व्यक्तिलाई गुठीको जग्गा बिक्री गरेर पुजारी लामिछानेले पैसा उठाएको र पछिल्लो समय यसको जिम्मा सुजन लामाले लिएको पीडितले बताएका थिए ।
‘२०७२ सालदेखि नै पुजारी लामिछानेले पैसा लिएर गुठीको जग्गा विभिन्न व्यक्तिको नाममा गराउन सुरु गरेका थिए,’ अर्का एक पीडितले भने, ‘पछिल्लो समय मालपोतमा सेटिङ मिलाएर जग्गा मिलाइदिने जिम्मा बिचौलिया सुजन लामाले लिएका थिए ।’
जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुख चिरञ्जीवी शर्माले विभिन्न व्यक्तिको नाममा गएको जग्गा गुठीकै कायम गर्ने निर्णय भइसकेको र अब स्रेस्तासमेत जारी हुने बताए । बिचौलिया लामासहित कास्कीका कांग्रेस, माओवादी र एमालेका केही नेताहरुले समेत व्यक्तिकै नाममा गराउन आर्थिक लाभ लिएर मालपोतमा दबाब दिएको स्रोतले बताएको छ ।
कास्कीमा छुट जग्गा दर्ता गराउन बिचौलिया सुजनले मालपोतका हाकिम नै फेर्ने प्रपञ्च गरेको अडियो नै सार्वजनिक भएको थियो । मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई आफूले नै हाकिम बनाएर ल्याएको भन्दै लामाले विभिन्न व्यक्तिहरूसँग पैसा समेत उठाएका थिए ।
लामाले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई समेत जग्गा र आर्थिक लाभ दिएर लामाले प्रभावमा पारेको आरोप छ ।
कास्कीका विभिन्न ठाउँमा छुट जग्गा दर्ता गर्ने भन्दै लामाले गिरोह नै निर्माण गरेका थिए । त्यही मेसोमा लामाले पछिल्लो समय नारायणथान गुठीको जग्गासमेत व्यक्तिको नाममा बनाउन नेतृत्व गरिरहेका थिए ।
छिनेडाँडा तथा गर्लाङ छहरेपानी गाविसका विभिन्न जग्गाहरूका सम्बन्धमा गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वर भएको दर्ता श्रेस्ता लगत कट्टा गरी नारायणस्थान गुठी कायम मुद्दामा काठमाडौं जिल्ला अदालतले समेत फैसला गरेको थियो । २ फागुन २०७७ मा भएको फैसलाबमोजिम गुठी तैनाथी जग्गा कायम गर्न फैसलाको प्रतिलिपिसहित गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वर काठमाडौको ५ साउन २०७८ मा पत्रसमेत पठाएको थियो ।
मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत राजेन्द्रप्रसाद पौडेलबाट गुठी तैनाथी पुर्जा बनाउनेसम्बन्धी २५ मंसिर २०७९ मा भएको निर्णय पर्चा, काठमाडौं जिल्ला अदालतले पुष्पराज लामिछाने र प्रतिवादी गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वर काठमाडौंका प्रशासकबाट भएको दूषित निर्णय दर्ता बदर गरी रैकर कायम गर्न गुठी संस्थानका प्रशासक नारायण चौधरीबाटसमेत निर्णय भएको थियो ।
२ चैत २०७७ मा भएको फैसला, गुठी संस्थान प्रधान कार्यालय काठमाडौंको पत्र र मालपोत कार्यालय कास्कीबाट गुठी तैनाथी श्रेस्ता पुर्जा कायम गर्ने गरी पेस भएको छ । तर श्रेस्ता भने जारी भइसकेको छैन ।

नरायणथानस्थित लक्ष्मीनारायण मन्दिर करिब २०० वर्ष अगाडि गणेश गिरी महाराजले स्थापना गरेको सचिव रविन्द्र बाटाजुले बताए । मुक्तिनाथ मन्दिर जानेहरूका लागि गाँस र बासका लागि यहाँ मन्दिर बनाइएको समितिका पदाधिकारी बताउँछन् । यसको सञ्चालन गर्नका लागि विभिन्न व्यक्तिहरूले जग्गा दान दिएका थिए ।
गणेश गिरीको महाराजले छोरीतिरका नाति पुजारीका रूपमा ल्याएका थिए । २०२० सालतिरबाटै विभिन्न व्यक्तिहरूले जग्गा हडप्न सुरु गरेका थिए । २०६१ सालमा विकास समिति गठन गरेर मन्दिरको जग्गाको खोजी सुरु भएको थियो ।
प्रतिक्रिया 4