+
+

विराटनगर जलमग्न, विमानस्थलमा पस्यो खोला

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते ९:५२

३ कात्तिक, विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढीका कारण विराटनगर महानगरपालिका जलमग्न भएको छ । वर्षाका कारण विराटनगरका १९ वडा वडा जलमग्न भएको हो ।

केसलीया र सिंघिया खोलामा आएको बाढीले विराटनगरका पश्चिम दक्षीण क्षेत्र बढी डुबानमा परेका छन् ।

विराटनगर ९ र १० बाहेक अन्य वडा जलमग्न छन् । १९ वडामध्ये विराटनगर १,२,३,४,६,१२, १६ नम्बर वडा बढी प्रभावित भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । मंगलबार राति विराटनगर १ बाट ६ जना र बुधबार बिहान ६ जनाको उद्धार गरिएको थियो ।

मोरङमा केसलीया, सिंघीया, चिसाङ, बक्राहा र नुनसरी खोलामा आएको बाढी बस्तीमा पसेको थियो । बाढीबाट प्रभावित १५ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । उनका अनुसार बाढीबाट विस्तापित भएकाहरूको विवरण संकलन भइरहेको छ ।

विराटनगर, कटहरी, उर्लाबारी, लेटाङ, रतुवामाई, सुनबर्सी नगरका खोला किनारका बस्तीमा बाढी पसेको उनले बताए ।

विमानस्थल डुब्यो

केसलीया खोलामा आएको बाढी बस्ता खोला हुँदै विराटनगर विमानस्थलमा पसेपछि उडान रद्द भएको छ । बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ ।

बाढीका कारण विमानस्थलको रनवे, ट्याक्सी वे, टर्मिनल भवन, क्वाटरमा पानी जमेको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए । उनका अनुसार बाढीका कारण उडान तत्काल खुल्न सक्ने अवस्था छैन ।

बाढी पसेपछि बुद्ध र यती एअरले सूचना जारी गर्दै काठमाडौं-विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्द गरेको जानकारी दिएका छन् ।

विमानस्थलमा श्री एयरलाइन्स र बुद्ध एयरको दुई वटा विमान पार्किङ एरियामा रोकिएका छन् । विमान मंगलबार विराटनगर आएका थिए । बाढी पसेपछि विमान उड्नसक्ने अवस्था छैन । २०७४ साल साउनमा आएको बाढीबाट पनि विमानस्थल डुबानमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?