+
+

बेपत्ता आयोगले जारी गरेको ‘द्वन्द्वपीडित’ परिचय पत्र देखाएर सिंहदरबार प्रवेश पाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १७:०१

७ कात्तिक,  काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट परिचयपत्र प्राप्त गरेका द्वन्द्व पीडितले त्यही परिचय पत्र देखाएर सिंहदरबारमा प्रवेश पाउने भएका छन् ।

आइतबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र आयोगका पदाधिकारीबीच भएको छलफलमा आयोगले जारी गरेको परिचय पत्र वाहकलाई सिंहदरबारमा प्रवेश गर्न दिने सहमति बनेको हो ।

आयोगका अध्यक्ष युवराज सुवेदी, सदस्यहरू विश्वप्रकाश भण्डारी, डा. गंगाधर अधिकारी, सुनीलरञ्जन सिंह र सरिता थापा तथा सचिव श्यामकुमार भट्टराई आयोगले अहिलेसम्म गरेका काम र अब गृह मन्त्रालयसँगको समन्वय गर्नेबारे छलफल गर्न आइतबार गृह मन्त्रालय आएका थिए । छलफलमा गृह मन्त्रालयका तर्फबाट मन्त्री खाँण, सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए ।

आयोगका पदाधिकारीले तत्कालका लागि आयोगले परिचय पत्र प्रदान गरेका द्वन्द्व पीडितलाई त्यही पास देखाएर सिंहदबार छिर्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए । त्यसपछि मन्त्री खाँणले आयोगको परिचय पत्र भएकाहरूलाई सिंहदरबारमा प्रवेश गर्न दिने व्यवस्था मिलाउन निर्देशन दिएका गृहमन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए ।

गृहमन्त्री खाणसहित मन्त्रालयका पदाधिकारी र आयोगका पदाधिकारीबीच पीडित परिवारलाई राहत उपलब्ध गराउने, आयोगले परिचय पत्र दिएका व्यक्तिहरूले पाउने सेवा सुविधा, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ मा संशोधनलगायत विषयमा छलफल भएको थियो ।

आयोगले अहिलेसम्म ७४४ परिवारका एक हजार तीन सय ७८ जनालाई परिचय पत्र प्रदान गरेको छ । आयोगका प्रवक्ता डा. गंगाधर अधिकारीका अनुसार आयोगमा अहिलेसम्म तीन हजार दुई सय ४३ ले आफ्नो परिवारका सदस्य बेपत्ता भएको भनेर उजुरी दिएका छन् । त्यसमध्ये आयोगले दुई हजार चार सय ९७ उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको प्रवक्ता डा. अधिकारी ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?