+
+

फुलकोर्ट बहिष्कार गर्ने १४ न्यायाधीशको निचोड : नेतृत्वले आफू जोगिन हामीलाई मोहरा बनाउन खोज्यो

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७८ कात्तिक ७ गते १८:५६
आइतबार बैठक बसेका १४ न्यायाधीश

७ कात्तिक, काठमाडौं । आइतबार चिया समयपछि सर्वोच्च अदालतमा कुनै पनि इजलास बस्न सकेन । असन्तुष्ट १४ न्यायाधीश एक ठाउँमा भेला भए र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको काम कारवाहीमाथि छलफल गर्न थाले ।

छलफल चलिरहेकै बेला प्रधानन्यायाधीश जबरा र नेपाल बार एशोसिएसनका पदाधिकारीबीचको भेटघाट टुंगिएको र र सोमबार पूर्ण बैठक (फुलकोर्ट) बोलाई बार पदाधिकारीहरुलाई आमन्त्रण गरेको सञ्चारमाध्यमहरुबाट थाहा पाए ।

‘त्यसपछि त उहाँले विषयान्तर गर्न बार पदाधिकारीहरुलाई हामीसँगै राखेर बोलाउनुभएछ भन्ने बुझिहालियो,’ एक न्यायाधीशले भने, ‘समग्रमा अहिलेको नेतृत्वले न्यायपालिकाको मूल्य र मान्यता आत्मसात गर्न सकेन । यो नेतृत्वबाट न्यायालयको सुधार हुँदैन र नेतृत्वले समाधान दिनुपर्छ भन्ने हाम्रो निश्कर्ष हो ।’

एक न्यायाधीशका अनुसार, आफू अप्ठ्यारोमा नपर्दासम्म पूर्ण बैठक नडाक्ने प्रधानन्यायाधीश जबराले न्यायालय सुधारसँग जोडिएका कतिपय माग र एजेण्डालाई लत्याएका थिए । आफूविरुद्ध चौतर्फी माहौल बनेपछि प्रतिरक्षाका लागि पूर्ण बैठक डाकेकोमा उनीहरु असन्तुष्ट भएका हुन् ।

आइतबार नै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई सोमबार पूर्ण बैठक बोलाइएको सूचनासहित ‘मेमो’ आएको छ । उक्त पत्रमा न्यायपालिका सुधार कार्यदलको प्रतिवेदन र वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्ने एजेण्डा राखिएको छ ।

‘वरिष्ठ अधिवक्ता पद बाँड्ने भनेपछि बारका पदाधिकारीहरुलाई लोभ्याउन सकिन्छ भनेर उहाँले अहिले कुनै सन्दर्भ नभएको विषयमा एजेण्डा राख्नुभएको बुझ्न कठिन भएन,’ ती न्यायाधीशले  भने, ‘न्यायिक नेतृत्वले आफूलाई जोगाउन हामीलाई मोहरा बनाउन खोजेको देखियो । त्यसो भएपछि किन सहभागी हुनु ?’ असन्तुष्ट न्यायाधीशले सोमबार बोलाइएको फुलकोर्ट बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।

आइतबारको छलफलमा प्रधानन्यायाधीशबाहेक १४ न्यायाधीश सहभागी भएको सर्वोच्च अदालतका एक कर्मचारीले बताए । उनका अनुसार, अनौपचारिक रुपमा चलेको छलफलमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए ।

अमेरिका भ्रमणमा रहेकाले न्यायाधीश ईश्वरप्रसाद खतिवडा बैठकमा सहभागी थिएनन् । त्यसैगरी न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी, कुमार चुडाल आइतबार अदालतमै उपस्थित थिएनन् । न्यायाधीश सिन्हा, मल्लसहितको टोली भने खप्तड भ्रमणमा छ ।

न्यायाधीशहरुले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुलाई समेत बोलाइएको फूलकोर्ट बैठकमा सहभागी हुन नसक्नुको केही आधारहरु अघि सारेका छन् ।

अर्का एक न्यायाधीशका अनुसार, आफू अप्ठ्यारोमा नपर्दासम्म सर्वोच्च अदालतको पूर्ण बैठक नडाक्ने प्रधानन्यायाधीश जबराले न्यायालय सुधारसँग जोडिएका कतिपय माग र एजेण्डाहरुलाई लत्याएका थिए । आफूविरुद्ध चौतर्फी माहौल बनेपछि प्रतिरक्षाका लागि पूर्ण बैठक डाकेकोमा उनीहरु असन्तुष्ट भएका हुन् ।

अर्कोतर्फ, बैठकको एजेण्डा भनी पठाएको प्रस्तावमा समेत न्यायाधीशहरु सन्तुष्ट छैनन् । एक त, अहिले वरिष्ठ अधिवक्ताको उपाधिबारे छलफल गर्ने उपयुक्त समय होइन । अर्कोतर्फ महत्वपूर्ण विषयलाई एजेण्डामा नै नराखेर जबराले आफूमाथिको संकट टार्न खोजेका हुन् ।

सर्वोच्च अदालतमा पेशी व्यवस्थापनमा गोलाप्रथा लागू हुनुपर्ने माग उठिरहेपछि विभिन्न वहानामा आलटाल गरेका उनले थप दबाब बढेपछि भने कसैसँग सल्लाह नै नगरी मंगलबारदेखि नमुनाका रुपमा गोलाप्रथा शुरु गर्ने भनी बार पदाधिकारीहरुलाई आश्वासन दिएका छन् ।

‘मंगलबारदेखि गोलाप्रथा लागू हुने भएपछि हामीसहित बारका पदाधिकारीहरुको बैठक के का लागि ?’ ती न्यायाधीशले भने, ‘अनेक प्रपञ्च अन्तर्गत मूल विषयवस्तुलाई ओझेलमा पार्न वैठक डाकिएको महशुस गरेपछि हामी सहभागी नहुने निष्कर्ष निकालेका हौं ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?