+
+
ब्लग :

मास्कमा कालोबजारी : आँखामा मास्क लगाएर मौन सरोकारवाला

अर्मान मियाँ अर्मान मियाँ
२०७८ कात्तिक ८ गते १२:३२

नेपाल यस्तो देश हो जहाँ महामारी आउँदा केही मानिसको दिन खुल्छ जबकि देशले ठूलो क्षति व्यहोरिरहेको हुन्छ । महामारीमा दिन खुल्छन्- नेता, व्यापारी, मेडिकल, अस्पतालहरूका । सन् २०१९ देखि चीनको हुआन् प्रान्तबाट शुरु भएको कोरोना महामारी रोकथाम गर्नका लागि मास्कको अनिवार्य प्रयोग सर्वस्वीकार्य विषय बन्यो । योसँगै विश्वका सबै मानिसले मास्क लगाउनुपर्ने अवस्था सिर्जना भयो ।

यो समयमा यतिविधि कालोबजारी भयो कि प्रतिगोटा १५ पर्ने एन–९५ मास्कलाई ७०० देखि एक हजार रुपैयाँसम्ममा बिक्री गरियो । यसको औसत नाफा निकाल्दा करीब ५ हजार प्रतिशतसम्म देखिन्छ । अन्य मास्कहरू पनि ५० देखि १०० रुपैयाँसम्म बिक्री भयो । यसको औसत ४ हजार प्रतिशत हो ।

यसरी कोरोना महामारीको समयमा मास्कमा मात्र कालोबजारी भएन, हरेक मेडिकल सामग्रीमा कालोबजारी भयो । कोरोना महामारी रोकथाम उन्मुख भएको वर्तमान समयमा पनि पुरानै अभ्यासका नयाँ संस्करणहरू देख्न–भोग्न पाइन्छ ।

मास्क व्यापारीहरूका लागि सामान्यतया पेपर मास्कको बिक्री मूल्य १० रुपैयाँ रहेको छ । प्रतिगोटा एक रुपैयाँ दुई पैसामा किनेको तार विनाको मास्क ८३३.३४ प्रतिशत नाफामा बेचिन्छ । त्यस्तै सामान्य खालको तार भएको एउटा मात्र पत्र भएको मास्कको एक रुपैयाँ आठ पैसा पर्दछ । यसलाई बेच्दा ५५५.५६ प्रतिशत र बक्समा आउने खालको तीन पत्रवाला मास्क एक रुपैयाँ नौ पैसा पर्दछ । यसमा ५२६ प्रतिशतसम्म नाफा खाएर बेचिरहेको पाइन्छ ।

यी मास्क ५० वटाका बण्डलहरूमा पाइने गर्दछ । एन–९५ मास्क १३ देखि १५ रुपैयाँ पर्छ र ३० रुपैयाँदेखि ८० रुपैयाँसम्ममा बेच्ने गरिन्छ । यसमा ५३३ प्रतिशतसम्म नाफा लिइएको भेटिन्छ ।

यो आँकडा एकैपटक एक बण्डल अर्थात् जम्मा ५० वटा किन्दाको हो । अझै थोकमा किन्दा यसको मूल्य झन् कम हुन आउँछ । यहाँ केही प्रतिशत तलमाथि भए पनि कुनै पनि मास्क ५०० प्रतिशत भन्दा कम नाफामा बेचेको देखिंदैन ।

मास्कको प्रयोग गर्दा कोरोना महामारीको जोखिम कम हुनुका साथै धूलो, धुवाँ तथा हावाबाट सर्ने रोगहरूबाट पनि बच्न सकिन्छ । मास्क लगाउँदा सुरक्षित छु भन्ने महसूस हुन्छ । यसले गर्दा रोग प्रतिरोधात्मक क्षमता समेत बढ्दछ । तसर्थ मास्कको प्रयोग सही तरिकाले गर्नुपर्दछ ।

अझै पनि मास्क धेरै ठाउँमा अनिवार्य छ । सबैभन्दा दुःखको कुरा त के हो भन्दा विद्यालय, कलेज लगायतका शैक्षिक संस्थाका स्टेशनरीहरूमा समेत यसरी विद्यार्थीहरू दिनदहाडै लुटिने गर्दछन् । यसमा विद्यालय, कलेज प्रशासन त मौन नै रहन्छ भने विभिन्न विद्यार्थीको हक, हित र अधिकारका लागि लड्छौं भन्ने विद्यार्थी संगठन समेत मौन देखिन्छन् ।

सरकार त यस्ता किसिमका कालोबजारीहरूसँग मिल्दै पार्टी र कार्यकर्ता पाल्ने मौका हो भन्ने बुझेर चुपचाप छ । प्रतिपक्ष र अन्य राजनैतिक दलहरू समेत आँखामा मास्क लगाएर बसिरहेका छन् ।

सरकार त यस्ता किसिमका कालोबजारीहरूसँग मिल्दै पार्टी र कार्यकर्ता पाल्ने मौका हो भन्ने बुझेर चुपचाप छ । प्रतिपक्ष र अन्य राजनैतिक दलहरू समेत आँखामा मास्क लगाएर बसिरहेका छन् ।

यसरी दिनदहाडै उपभोक्ताहरू ठगिइरहँदा किन मौन बस्छ सरकार ? अन्य सरोकारवालाहरू किन मौन छन् ? सरकारले श्रेणी छुट्याएर किन मूल्य निर्धारण गर्न सकिरहेको छैन ? अथवा चाहेको छैन ? प्रतिपक्ष यस्ता खालका जनताका स्वास्थ्यसँग सम्बन्धित विषयमा किन मौन छ ?

स्यानिटरी प्याड, मास्क जस्ता सरकारले अनुदान दिएर जनतालाई सुलभ रूपमा उपलब्ध गराउनुपर्ने स्वास्थ्य सामग्रीमा भएको यस्तो लुटका विरुद्धमा किन कडा कदम चाल्न सकिरहेको छैन ? यी प्रश्नहरू ज्यादै गम्भीर छन् ।

ठगिनुको प्रमुख कारण भनेको अझै पनि कैयौं मानिसलाई थाहा छैन हामीले प्रयोग गर्ने मास्कको मूल्य बढीमा कति हो भनेर । पेपर मास्कको तीन रुपैयाँ र एन–९५ मास्कको २० रुपैयाँ वा सोभन्दा पनि कम पर्दछ भन्ने जानकारी उपभोक्ताले पनि लिनुपर्छ ।

हामीलाई एकछिन कुरा गर्न अथवा थाहा भएर पनि १० रुपैयाँमा दुईवटा दिनु भन्न हामी लाज लाग्छ । यसको फाइदा व्यापारीहरूले लिइरहेका छन् । त्यस्तै अतिरिक्त मास्क बोकेर हिंड्दैनौं जसले गर्दा ठगिइरहनु परेको छ ।

लुटिनबाट कसरी बच्ने त ?

१. उपभोक्ताहरूले के गर्ने ? अहिले हामीले प्रयोग गर्ने मास्कको थोक मूल्य लगभग थाहा पाइसकेका छौं । ५० वटा किन्दा हामी उपभोक्ता ५०० प्रतिशत फाइदामा हुन्छौं । तसर्थ आफ्नो परिवारका लागि आवश्यक पर्ने मास्कहरू एकै पटकमा किनौं र ५०० प्रतिशत फाइदा लिऔं ।

२. सरकारले के गर्ने ? सरकारले यसरी दिनदहाडै यति महँगोमा मास्क बेच्नेलाई कारबाही गर्नुपर्छ । अहिले त हामीसँग तीन तहको सरकार रहेको छ । देशभरका ७५३ वटै स्थानीय तहलाई बजार अनुगमन गर्नका लागि परिपत्र जारी गर्ने र यस्तो किसिमको ५०० प्रतिशतसम्मको नाफा घटाएर स्वास्थ्य सामग्री अनुसार बिक्री गर्नका लागि निर्देशन दिनुपर्दछ । यो कुरामा संघीय सरकारको मुख मात्र नताकेर प्रदेश र स्थानीय सरकारले पनि नियम बनाउँदै बजार अनुगमन गर्नुपर्दछ ।

३. बाल क्लबले के गर्ने ? देशभरका विद्यालयमा जति पनि बाल क्लबहरू छन् तिनले विद्यालय वरपर रहेका स्टेशनरी, मेडिकल तथा मास्क पाइने स्थानहरूमा १० को दुई वटा मास्क दिनुपर्ने गरेर कार्यक्रम सञ्चालन गर्ने ।

४. विद्यार्थी संगठनले के गर्ने ? देशभरका कलेज तथा विद्यालयहरूमा भएका विद्यार्थी संगठनले मास्कमा भएको कालोबजारी रोक्नका लागि शैक्षिक क्षेत्र वरपर भएका मास्क पाइने ठाउँहरूमा ५०० प्रतिशत नाफा नलिई सामान्य नाफा लिएर कम्तीमा पनि १० रुपैयाँको दुईवटा मास्क दिनुपर्ने गरी कार्यक्रम सञ्चालन गर्ने ।

५. अतिरिक्त मास्कहरू लिएर हिंड्नु अर्को समाधान हो । कहिलेकाहीं मास्कका डोरीहरू चुडिने, फुस्कने, मैलो हुने गर्दछ । यसबाट छुट्कारा पाउन हामी आफ्नो साथमा अतिरिक्त मास्क बोकेर हिंड्न सक्दछौं । विद्यालय, अफिस, विभिन्न धार्मिक तथा अन्य कार्यक्रममा जाँदा बोकिने झोलाहरूमा एक÷दुई वटा अतिरिक्त मास्क लिएर हिंड्न सक्छौं जसले गर्दा तुरुन्तै नयाँ मास्क किन्नु र ठगिनु पर्दैन ।

यसरी मास्कमा भएको कालोबजारी रोक्न सकिन्छ यदि हामी सबै सचेत भएर सरकारलाई समेत घचघच्याउँदै अघि बढ्न सक्यौं भने । यसबाट मास्कमा मात्र होइन कुनै पनि सामग्रीमा भएको कालोबजारी रोक्न सकिन्छ । यस्तो नतिजा हामीले सामूहिक प्रयत्नबाट मात्र गर्न सक्छौं ।

हामीले परिवर्तनको शुरुआत आफ्नै ठाउँ र भूमिकाबाट गर्न सक्छौं । ठूला ठूला कुराले केही हुनेवाला छैन । बरु सानो सानो कुराबाट रूपान्तरण शुरु गरौं । यसबाट मात्र परिवर्तन सम्भव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?