+
+
नाट्य–समीक्षा :

जिजीविषा : बाँच्न चाहनेहरूको कथा

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ कात्तिक ८ गते १९:५४

८ कात्तिक, काठमाडौं । कोरोना महामारीले गर्दा मान्छेको बाँच्ने आशा बढेको छ भन्दा अत्युक्ति हुँदैन । यति ठूलो महामारीमा समेत मानिसले बाँच्नकै लागि अनेक तरहको संघर्ष गर्‍यो ।

कोही शहर छाडेर गाउँ गए, कोही एकदिन पनि घरबाट बाहिर ननिस्की बसे । शहरमा घरभित्र बस्दा भो खान नपाउनेहरू सडकमै निस्केर आफ्नो भोक मेटाउन उद्यत देखिए ।

यसरी एउटै महामारीमा पनि मानिसका फरक–फरक संघर्ष देखियो ।

मानिसले गरेका यस्ता संघर्षमात्र हामीलाई ठूलो लाग्छ । तर मानिसजस्तै प्राण भएका सजीवहरूमा पनि बाँच्ने इच्छा उत्तिकै प्रबल हुन्छ भन्ने हामीले हेक्का राखेका हुँदैनौं ।

मण्डला थिएटरमा चलिरहेको नाटक ‘जिजीविषा’ले सजीवहरूको यही बाँच्ने अभिलाषालाई प्रस्तुत गरेको छ । यो नाटक प्रदर्शनसँगै रंगमञ्चको माहोल सहरमा फेरि ब्युँतिएको छ । कोरोनाले ठप्प प्रायः बनेको नाटकघर विस्तारै गुलजार बन्न थालेको छ ।

नाटक जिजीविषा खासमा मान्छेको कथा होइन, माछाहरूको कथा हो । तर माछाहरूको मात्र कथा होइन यो त सबै सजीवहरूको कथा हो, जो बाँच्न चाहन्छन् । जो बाँच्नुको नाममा सास फेर्नेमात्र होइन जीवनबोधसहित बाँच्न चाहन्छन् । मृत्युलाई पनि चुनौती दिएर बाँच्नेहरूको कथा नै नाटक जिजीविषाको मूलकथा हो ।

नाटकको मूलकथा अत्यन्त सरल छ । हिमाली भेगको एउटा सानो तलाउमा बसेका माछाहरू प्रतिकुल मौसमले गर्दा समुद्रको यात्रामा जान खोज्छन् । यसबेला यात्रामा जाने वा आफ्नै मूल थलोमा बस्ने भनेर माछा–माछाबीच विवाद शुरु हुन्छ । जसमध्ये आधा माछाहरू यात्राको अनन्त दिशातिर मोडिन्छन् भने आधा आफ्नै थलोमा बस्छन् ।
यसपछि शुरु हुन्छ पानीको संसारमा माछाहरूको अथक संघर्षको कथा ।

बाटोमा यी माछाहरूले अनेकौं बाधाको सामना गर्नुपर्छ । कति ठाउँमा उनीहरू जालमा पर्छन्, कति ठाउँमा ठूलो माछाको शिकार बन्छन् । यात्राको नेतृत्व आमा माछा अर्थात् माउ–माछाले गरेकी छिन् । उनको छोरा पुन्टियस, जो सानो छ, तर चलाख ऊ पनि यात्रामा हुन्छ । यात्रामा अलमल हुँदा एउटा माछाले भन्छ– संसारका सबै यात्रा अधुरा हुन्छन् ।

यही कुरालाई आत्मसात गरेर अघि बढ्दा माछाहरू समुद्र भेट्ने लामो यात्रामा सफल भएरै छाड्छन् । यसपछि फेरि आफ्नो बासस्थान फर्केर विजयोत्सव मनाउँछन् ।

मूलकथा यही भएपनि प्रस्तुति, ध्वनि र गीतले नाटक उत्कृष्ट बनेको छ । एक घन्टा बीस मिनेटको नाटकको आधा समय त गीत नै राखिएको छ । कवि विप्लव प्रतीकको गीत रचनाले सम्पूर्ण नाटकको प्रतिनिधित्व गरेको छ । यसले गर्दा परम्परागत गीति–नाटकको स्वाद पनि दर्शकले पाउँछन् ।

प्रकाश र मञ्च सज्जाले नाटकमा उत्तरआधुनिक शैलीको विशिष्ट प्रयोग गरेको प्रमाणित गर्छ । काँँचको पर्दामा नीलो, हरियो रंगको प्रकाशले मञ्चमै विशाल समुद्रको आकृति दिन्छ । यस्तै कलाकारले लगाएका कपडाले साँच्चिकै माछा नै पौडिरहेजस्तो भान हुन्छ । एउटा पोखरीमा सानो माछा, ठूलो माछा, भाले माछा, माउ माछा भएझैं यस नाटकका कलाकारले पनि त्यही शैलीमा माछाको परिवार खडा गरेका छन् ।

नाटक जिजिविषाको विशेषता के छ भने, यसमा अभिनय गर्ने कलाकार सबै ‘मण्डला ड्रामा स्कुल’का प्रशिक्षार्थी हुन् । सबै युवा कलाकारमा अभिनयको हुटहुटी देखिन्छ । एक वर्षदेखि आवासीय रूपमा नै नाट्य तालिम लिइरहेका यी कलाकारको पहिलो सामूहिक प्रस्तुति भएकाले यो नाटक विशेष छ ।

निर्देशक राजन खतिवडाले त आफूले संयोजनमात्र गरेको स्वीकार गरिसकेका छन् । लेखक सोमनाथ खनालले जुन सोच राखेर नाटक तयार पारे त्यसमा युवा कलाकारहरू दत्तचित्त भएर अभिनय गरेको देखिन्छ ।

नाटक हेर्दै गर्दा लेखक शेखर खरेल नाटकको प्रयोगशीलताले लठ्ठिए । खरेलका अनुसार मानवताजस्तो बलियो मुद्दालाई ‘जिजीविषा’मा सरल ढंगले देखाइएको छ ।

‘यात्राको गहिरो दर्शन यो नाटकले सजिलै बुझाएको छ’ खरेल भन्छन्, ‘नाटकको कोरियोग्राफी, भेषभूषा, मञ्च र मल्टिमिडियाले ठूलो भावभूमि दिएको छ । यी सबै पक्षले मानिसलाई सहभाव र सहअस्तित्वमा बाँच्न जोड गरेको छ ।’

मान्छेको समाजजस्तै माछाको समाजमा पनि शासकहरू हुने कुरालाई नाटकले रोचक शैलीमा देखाएको छ । बाटोमा उनीहरूले रैथाने चोर माछाजस्तो धृष्ट र फटाहा माछालाई नै साथी बनाउनुपर्ने बाध्यता हुन्छ ।

समुद्र पुग्नै लाग्दा बाटोमा एउटा सुनौलो माछाका सैनिकले पुन्टियसहरूलाई कब्जामा लिन्छन् । यस्तै समुद्रमा महाशीर नाम गरेको दुष्टले सबै माछालाई खान खोज्छ, त्यसबेला हिमालबाट आएका माछासहित सबै मिलेर त्यसको प्रतिकार गर्छन् ।

स–साना घटनालाई समेत विशेष बनाउने संवाद र अभिनयले नाटक गहन बन्न पुगेको छ । संवादहरूमा एकरूपता नहुँदा भने दर्शकलाई यो नाटक कहिले केटाकेटीको कथाजस्तो त कहिले प्राचीन लोककथाजस्तो लाग्न सक्छ । यस्तै ठूला ढुंगा (कुर) देखाउन प्रयोग गरिएको काँचको बाकसलाई नै एक्वेरियम तथा कुर्सीको रूपमा प्रयोग गर्दा दर्शक अलमलमा परेको पाइन्छ ।

तर पात्रको संवादसँगै जब गीत बज्न शुरु हुन्छ तब भने नाटकले पुरै थिएटरलाई नै आफ्नो कब्जामा लिएझैं लाग्छ । दर्शक पनि पत्तै नपाई गीतमा भुलिसकेका हुन्छन् । जब माछाहरू समुद्रको यात्रामा निस्कछन् त्यो यात्रालाई जीवनको यात्रासँग दाँजेर गीतले सबै नाटकको सार खिचिसकेको हुन्छ –

एउटा खोज हो जिन्दगी यहाँ अड्नुको के काम
एउटा यात्रा हो जिन्दगी यहाँ बस्नुको के काम !

सोमनाथ खनालको लेखन र राजन खतिवडाको निर्देशन रहेको जिजीविषामा विजय बराल निर्देशन सहयोगीको रूपमा रहेका छन् । नाटकमा संगीत उत्सव बुढाथोकीको र गीत तथा संवाद-सम्पादन विप्लव प्रतीकको रहेको छ ।

कलाकारहरू आकाश नेपाली, आदित्य मिश्र, अनिल कुर्मी, सुस्मिता पोख्रेल, सुस्मिता गुरागाईं, विष्णुमाया परियार, शिव परियार, सञ्जय विश्वकर्मा, समृद्धि नेपाल, सरिता कठायत, पासाङ ल्हामु शेर्पा, सुमित्रा पेहिम, हाङ ओ हाङ राई, दीक्षा चौधरी, प्रदीप ढुंगाना, नीरज चौधरीको अभिनय प्रशंसायोग्य छ ।

नाटक यही कात्तिक ८ र ९ गते दुई दिन मण्डला नाटकघर अनामनगरमा मञ्चन हुँदैछ ।

(सबै तस्वीरहरू : सुशील तामाङ)

 

लेखकको बारेमा
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?