+
+

पोखरा महानगरको भवनमा स्थानीयको विरोध, भन्छन्- भवन होइन, पार्क बनाऊ

विकास रोका मगर विकास रोका मगर
२०७८ कात्तिक १० गते १९:५८
नयाँ भवन बनाउन लागिएको स्थान शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र

१० कात्तिक, पोखरा । २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ प्रशासकीय भवन बनाउने निर्णय गर्‍यो ।

त्यसका लागि जग्गा खोज्न वडा नम्बर १९ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति पनि बनायो ।

समितिले वडा नम्बर १२ माटेपानीस्थित पशु सेवा कार्यालयको जग्गामा भवन बनाउन सिफारिस गर्‍यो । तर महानगरपालिकाले उक्त जग्गाको स्वामित्व नै पाउन नसकेपछि भवनको योजना अधुरै रह्यो ।

महानगर सूचना अधिकारी भरतराज पौडेल भन्छन्, ‘त्यो जग्गा महानगरको नाममा छैन । महानगरको नाममा ल्याउन हामीले धेरै प्रयास गर्‍यौं । तर, फाइल कहिले प्रदेशमा अड्कियो कहिले संघमा ।’ अब मुख्य प्रशासकीय कहिले बन्छ टुंगो छैन ।

हाल महानगरले वडा नम्बर ८, न्युरोडमा रहेको तत्कालीन पोखरा उपमहानगरकै भवन प्रयोग गर्दै आइरहेको छ । महानगरले अब प्रशासकीय भवनको योजना छाडेर अर्को भवन बनाउने योजना अघि सारेको छ ।

महानगरले २०७७ भदौमा वडा नम्बर ९, नयाँबजार दलकलमार्गस्थित हाल शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र रहेको स्थानमा महाशाखा भवन बनाउने निर्णय गरेको थियो । उक्त भवन बनाउन चालु आर्थिक वर्षमा २२ करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरले असोज १० गते भूमिबुद्ध, ओमबुद्ध जेभीसँग भवन निर्माणका लागि १४ करोड रुपैयाँमा सम्झौता गरेको छ । सम्झौताअनुसार उक्त चारतले भवन १८ महिनामा पूरा गरिसक्नुपर्नेछ ।

‘अहिलेको यो भवन साह्रै साँघुरो भयो । नयाँ कर्मचारी थपिए, उनीहरुको व्यवस्थापन गर्नै ३-४ महिना लाग्छ । ठाउँ साँघुरो भएकै कारण पार्किङको पनि समस्या छ,’ सूचना अधिकारी पौडेलले भने, ‘नयाँ ठाउँमा अन्डरग्राउन्ड पार्किङसहित महाशाखा भवन बनाउने निर्णय भएको हो । त्यहाँ भवन बनाउँदा सेवाग्राहीलाई नै सहज हुने हो ।’

शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा हाल एउटा एकतले भवन र अर्को टिनले छाएको सभाहल छ । पहिले दमकल कार्यालय रहेको भवनलाई मर्मत गरेर २०७५ अन्तिमदेखि स्वास्थ्य केन्द्र बनाइएको हो ।

५० लाख खर्चेर मर्मत, नसकिँदै भत्काउन शुरु !

पोखरा महानगरपालिका-९ नयाँबजारमा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पहिले महानगरले दमकल लगायतका अत्यावश्यक सवारीसाधन राख्ने गरेको थियो । मुख्यबजार र पायक क्षेत्र भएकाले दमकल राख्न उक्त ठाउँ प्रयोग गरिँदै आइएको थियो । तर, त्यहाँ रहेका दमकललगायत अत्यावश्यक सवारीसाधन नयाँबजारस्थित शान्तिवनमा सारिएको छ ।

महानगरले करिब तीन वर्षअघि दमकल सारेर त्यहाँ रहेका भवनको मर्मत गर्दै स्वास्थ्य केन्द्र बनाएको थियो । भवनको मर्मत गर्न मात्रै महानगरले करिब ५० लाख रुपैयाँ खर्चेको महानगर सूचना अधिकारी भरतराज पौडेल बताउँछन् ।

योग तथा ध्यान शिविर बनाउने भन्दै महानगरले सभाहलको पुनर्निर्माण गरेको थियो । तर, लाखौं रुपैयाँ खर्चेर मर्मत गरिएको उक्त भवन मर्मत गर्ने कम्पनीले महानगरलाई हस्तान्तरण गरिनसक्दै पुनः भत्काउन शुरु गरेको छ ।

स्वास्थ्य प्रवद्र्धन केन्द्रमा रहेको सभाहल मर्मत गर्दागर्दै पनि छानोमा क्षति पुगेको थियो । छानोनजिकै रहेको रुखको हाँगा काट्नेबेला २०७६ फागुनमा रुखको हाँगा ढलेर क्षति पुगेको थियो ।

‘बुढो समीको रुख थियो । ढलेर टिनलाई असर पुर्‍याउला भनेर हाँगा काट्ने बेला ‘मिसम्यानेज’ भएर छानामाथि खस्न पुग्यो,’ सूचना अधिकारी पौडेलले भने ।

स्थानीयको विरोध

स्वास्थ्य प्रवद्र्धन विकास केन्द्रमा महानगरले भवन बनाउने भएपछि स्थानीयले विरोध गरेका छन् । पुरानो सार्वजनिक चौर र चौतारा मास्न लागेको भन्दै उनीहरुले त्यस ठाउँमा पार्क बनाउन माग गरेका छन् ।

पोखराको व्यस्त बजार क्षेत्रमा त्यो ठाउँबाहेक अरु सार्वजनिक स्थल नभएको भन्दै स्थानीयले गत असोज ११ गते महानगर घेराउ समेत गरेका थिए । ‘यस्तो ठूलो बजारमा एउटा पनि सार्वजनिक ठाउँ छैन । भोलि भूकम्प जाला ! केही होला ! यो ठाउँ पुरानो महत्व बोकेको ठाउँ पनि हो,’ स्थानीय गोमा प्रधान भन्छिन्, ‘यहाँ महानगरले भवन होइन, पार्क बनाउनुपर्छ ।’

विभिन्न प्राकृतिक विपत्तिबाट बच्न एक वडा एक सार्वजनिक चौर हुनुपर्ने भन्दै स्थानीय श्याम थापाले सो ठाउँको संरक्षण गर्नुपर्ने बताए । २०७२ सालको महाभूकम्पमा आफूहरु खुला ठाउँको खोज्दै हिँड्नुपरेको स्मरण गर्दै उनले भने, ‘नगरपालिकाकै जग्गा हो, हामीलाई देऊ भनेको होइन । तर, हामी बच्ने ठाउँ पनि त हुनुपर्‍यो नि !’

महानगर भन्छ- अर्को उपयुक्त ठाउँ छैन

महानगरपालिकाले भने अन्यत्र जग्गा नभएकाले सोही ठाउँमा नै भवन बनाउनुपर्ने बाध्यता रहेको बताएको छ ।

सूचना अधिकारी भरतराज पौडेल भन्छन्, ‘अरु ठाउँ माग्दा पनि नदिने, आफ्नै जग्गा भवन बनाउन पनि विरोध आइरहने हो भने महानगर कहिले व्यवस्थित हुने ? महानगर आफू व्यवस्थित नभई पार्क बनाउन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?