+
+

युद्धत्रासबाट भागेको ठिटोको लद्दाखदेखि कतारसम्मको यात्रा

‘झुक्किएर पर्यटनमा छिरें, चाहेर पनि निक्लिन सक्दिनँ’

विकास रोका मगर विकास रोका मगर
२०७८ कात्तिक १३ गते १९:१०

१३ कात्तिक, पोखरा । तत्कालीन १० वर्षे जनयुद्धमा सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको जिल्ला हो, रोल्पा । रोल्पामा पनि सबैभन्दा बढी तत्कालिन जेलबाङ गाविसकाले ज्यान गुमाए ।

रोल्पाको विकट क्षेत्र जेलबाङका ७३ जनाले सशस्त्र युद्धमा ज्यान गुमाएका छन् । जसमध्ये ६२ जना राज्य पक्षबाट मारिएका थिए भने १० जना तत्कालिन बिद्रोही माओवादी पक्षबाट ।

०५५/५६ सालतिर देशैभरि माओवादीले सुरु गरेको सशस्त्र युद्धले उत्कर्ष रुप लिँदै थियो । त्यहीबेला देशमा बस्नै नसक्ने गरी त्रासपूर्ण समय भएपछि धेरै जेलबाङीले देश छोडे । कोही मधेस झरे, कोही कालापार(भारत) छिरे ।

त्यतिबेला देश छोडेर कालापार पुग्ने एक पात्र हुन्, पृथ्वी पुनमगर । जेलबाङ ठूलो गाउँको स्कुलमा कक्षा ६ मा पढ्दैगर्दा साथीहरुको पछि लागेर आफ्नो भूगोलमात्रै छोडेनन्, देशै छोडे र पुगे भारतको लद्दाख ।

तर, घरबाट झिसमिसे उज्यालोमा निस्किँदा पृथ्वीलाई न भारत थाहा थियो न त्यहाँको लद्दाख क्षेत्र । ‘गाउँमा बस्नै नसकेपछि सानै उमेरमा साथीहरु पछिपछि लागेर गाउँ छोडेँ । देश छोडेर सिधैं लद्दाख पुगेछु,’ पृथ्वी २ दशकअघिको समयमा पुग्छन् ।

देश छोड्दा पृथ्वी केवल १२ वर्षका बालक थिए । गाउँमा भइरहेको दिनदिनैको भिडन्त र संघर्षरत माओवादी र राज्य दुवैपक्षबाट बराबर पेलानमा परेपछि उनी केही बाध्यता र केही लहलहैमा लागेर देश छोडेका थिए ।

‘गाउँमा माओवादीहरु आउँथे, रातिराति खाना पकाएर खुवाउँथ्यौं । दिनमा उनीहरु कहाँ जान्थे हामीलाई थाहै हुन्थेन । सेना फेरि उनीहरुलाई खोज्दै आउँथे,’ रातरात अनिँदो जाग्राम बस्नु पर्ने त्यो समय सम्झन्छन्, ‘हामी दोहोरो मारमा थियौं । राज्य पक्षले तिमीहरु माओवादी भन्थ्यो, माओवादीको पनि हामी आफ्नो मान्छे थिएनौं ।’

स्थानीय खाम (मगर) भाषामात्रै जानेका उनलाई नेपाली भाषासमेत नौलो थियो । तर, उनी सिधै हिन्दी भाषामात्र बोलिने क्षेत्रमा टेके । सुरुमा भाषा नबुझेर आफू ‘अक्क न बक्क’ परेको उनी सुनाउँछन् ।

भन्छन्, ‘मजाकमजाकमै, लहैलहैमा त्यहाँ (लद्दाख) पुगियो । कहिलेकाहीं भाषाले पनि ठूलो अर्थ राख्दो रहेछ । भाषा नबुझेकै कारण धेरै दुख पाएँ ।’

लद्दाखबाट फर्किएपछि उनी मुश्किलले ६ महिनामात्र नेपाल बसे । ‘सबै साथीहरु धमाधम खाडी जान थाले । जीवन चलाउन त्यो बाध्यता पनि थियो । फेरि लहडैले म पनि कतार पुगें,’ उनी सम्झन्छन् । तर, नशा नशामा यात्रा बोकिहिँडेको उनको मन खाडीको बन्द कारखानामा रमाएन ।

अर्काको भूमि, सानो बालक सोचेर उनलाई कसैले सित्तैमा केही दिनेवाला थिएन । साथीहरु काममा लागेपछि उनी पनि कामको खोजीमा लागे । पृथ्वी एउटा ट्राभल एजेन्सीको कार्यालय । त्यहाँ उनले पाहुनाहरुको झोला प्याक गर्ने, मिलाउने काम पाए ।

‘गएदेखि नै हिमाल चढ्नेहरुको सामान प्याक गरें । एउटै काम गर्दागर्दा सामान्य सामानको नाम जान्न थालें,’ पृथ्वी भन्छन्, ‘एक वर्षसम्म सामान प्याक गर्ने काम गर्दा हिन्दी बुझ्न थालें र केही सजिलो भयो ।’

मनकारी थिए, ट्राभल एजेन्सीका सञ्चालक । पृथ्वी बालकै भएपनि कामको मामिलामा राम्रै अनुभव गर्न पाए । एक वर्ष सामान प्याक गर्ने काम गरेपछि भरिया बने र जान पाए लद्दाखका उकालीओराली ।

‘२ वर्षभन्दा बढी भारीमात्रै बोकेर बिताएपछि ठाउँहरुबारे प्रशस्त जानकारी लिइसकेको थिएँ । विदेशीको संगतले उनीहरुकै भाषा बुझ्ने र बोल्ने भइसकेको थिएँ,’ पृथ्वी सम्झन्छन्, ‘केही वर्षपछि गाइडिङ गर्ने मौका पनि मिल्यो ।’ उनले लद्दाखमा पुगेका पाहुनालाई ३ वर्ष गाइड गरे । अब उनीसँग पर्यटन व्यवसायसम्बन्धी प्रशस्त जानकारी भइसकेको थियो ।

अनि नेपाल फर्किए 

पृथ्वीले ७ वर्ष लद्दाखमा बिताए । लामो समय छोरा घर नफर्किएपछि पृथ्वीका बाबु उनलाई खोज्दै लद्दाखसम्म पुगे । तर, उनलाई कम्पनी मालिकले घर जान दिएनन् । बरु, उनले मागेजत्तिको सेवासुविधा दिन तयार भए तर, नेपाल पठाउन राजी भएनन् ।

‘कम्पनीले विश्वास गरेर करोडौंको हिसाब मेरै हातमा छोडिदिएको थियो । मालिकले बरु जे गर्नुपर्छ गर्नुस् यसलाई यतै राखेर घरजम पनि गरिदिन्छौं भन्ने जवाफ दिए,’ पृथ्वी भन्छन्, ‘मलाई फकाउन बुबाहरु पुरै एकदिन एकरात बसेर पनि नसकेपछि फर्किनुभो ।’

बाबुहरु फर्किइसकेपछि भने पुनलाई घरको यादले बेस्सरी सताउन थाल्यो । लामो समय परदेशी भूमिमा बिताइसकेका उनीसँग नाम र दाम दुवै थियो । ‘घरको याद धेरै आएपछि इन्डिया नफर्किने गरी सबै छोडेर ६२ सालतिरै नेपाल फर्किएँ,’ उनी भन्छन् ।

नेपाल आएको बेला सशस्त्र युद्ध थिएन । तर, गाउँगाउँबाट युवाहरु धमाधम खाडी मुलुक जाने लहर चलिरहेको थियो । त्यही लहरमा मिसिए, पुन । उनलाई लागेछ, ‘भारतका धेरै ठाउँ घुमियो । अब अर्को देशमा ‘ट्राई’ गर्नुपर्छ ।’

लद्दाखबाट फर्किएपछि उनी मुश्किलले ६ महिनामात्र नेपाल बसे । ‘सबै साथीहरु धमाधम खाडी जान थाले । जीवन चलाउन त्यो बाध्यता पनि थियो । फेरि लहडैले म पनि कतार पुगें,’ उनी सम्झन्छन् । तर, नशा नशामा यात्रा बोकिहिँडेको उनको मन खाडीको बन्द कारखानामा रमाएन ।

कतारको हपहपी गर्मीमा पृथ्वीको मनले हिमालकै चिसो सम्झियो, पहाडका उकालीओराली सम्झिइबस्यो । र, उनी परदेशिएको १९ महिनामै स्वदेश फर्किए । ‘ट्रेकिङ नै मेरा लागि बनेको रहेछ भन्ने लाग्यो । जे गर्दा पनि मन रमाएन । त्यहाँ बस्नै सकिनँ,’ पृथ्वी ०६३/६४ को समय सम्झिन्छन् ।

त्यतिबेला उनी नेपाल फर्किनुको एउटै कारण थियो, नेपालमै प्रशस्त सम्भावना देख्नु ।

कतारमै रहेका बेला संघर्षरत माओवादी र सरकारपक्षबीच शान्ति सम्झौता भइसकेको थियो । माओवादी लडाकुहरु बाहिर निस्केर क्यान्टोनमेन्टमा बस्न थालिसकेका थिए । त्यसपछि उनलाई केही आशा लाग्यो ।

‘अब नेपालको पर्यटन क्षेत्र फस्टाउँछ भन्ने लाग्यो । भारतमा कयौं गाइड साथीहरु छन्, उनीहरुले पाहुना पठाउन सहयोग गरिहाल्छन् भन्ने योजना बनाएँ,’ उनी ती दिनमा फर्किन्छन्, ‘मेरो आफ्नै ठाउँ राम्रो छ नि, बरु त्यसैमा रमाउँछु । एकबारको जिन्दगी घुमेरै बिताइदिन्छु भनेर फर्किएँ ।’

तर, नेपालको पर्यटन क्षेत्रमा छिर्न एकदमै गाह्रो थियो । कतारबाट फर्किएपछि सुरुमै उनले सगरमाथा चढ्ने योजना बनाए । तर, सोचेजस्तोसहज थिएन । त्यसपछि अर्को योजना बनाए – नेपाली गाइड बन्ने । स्थानीय शेर्पासँग सम्बन्ध बढाउने र सित्तैमा हिमाल उक्लने !

‘तर, गाइडको लाइसेन्स लिन समस्या पर्‍यो । ३० वर्षमाथिकाले गाइड लाइसेन्स नपाउने रहेछ । हदबन्दीले मेरो योजना फेल खायो,’ भन्छन्, ‘सुरुमै मैले लाइसेन्स निकालेर बस्नुपर्ने रहेछ । यस्तो कुरा बेलैमा थाहा भएन । एभरेस्ट चढ्ने सपना पनि तुहियो ।’ अहिले पनि उनलाई लद्दाख ‘च्वाट्टै’ नछोडेको भए हुन्थ्यो भन्ने यदाकदा लाग्छ ।

नेपालमै पर्यटन व्यवसायी बन्ने सपना बोकेर कतारदेखि फर्किएका उनी योजना सफल नभएपछि केही वर्ष त्यसै बरालिए । तर, मनदेखि यात्राको हुटहुटी हटेको थिएन । त्यसपछि आफ्नो रहरलाई पूरा गर्न ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्नतिर लाग्ने सोचे ।

‘ग्रामीण पर्यटनमा नेपालको राम्रो सम्भावना छ । ग्रामीण पर्यटनमा लगानी अहिले, तत्कालका लागि होइन,’ उनी भन्छन्, ‘यो हाम्रो सन्तानका लागि लगानी हो । आज दुख गर्‍यौं भने संस्कृतिको जगेर्ना हुन्छ नै त्यही अन्तर्राष्ट्रिय बजारमा बेच्न पुग्छ ।’

गाउँमा पर्यटन पनि व्यवसाय हुन्छ भन्ने धेरैलाई थाहा छैन ।

अहिले पृथ्वी पुन रोल्पाको युद्ध प्रभावित क्षेत्र जेलबाङ, जलजला, थबाङ लगायत ठाउँको प्रचारप्रसारमा लागेका छन् । गाउँमै होमस्टे खोलेर उनी पर्यटन व्यवसायमा लागेका छन् । तर, स्थानीय वासिन्दा र स्थानीय तहकै बुझाइमा परिवर्तन आउन नसकेको उनी बताउँछन् ।

‘गाउँलेलाई पर्यटन पनि व्यवसाय हो, आम्दानी हो भन्ने थाहा छैन । कम्तीमा सरकारले बुझ्नुपर्छ र बुझाउन सक्ने वातावरण बनाउन सक्नुपर्छ,’ पुन भन्छन्, ‘यहाँ जलजलामात्रै पनि छैन । यहाँ मौलिक संस्कार छ, संस्कृति छ । गीत संगीत छ । अब भनेको त्यसलाई बेच्नेमात्रै हो ।’

रोल्पाको युद्ध पर्यटन, कृषि पर्यटन, धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा बेच्न सकिने पुनको विचार छ । ‘तर, यसका लागि न हामीसँग जनशक्ति छ न त सरकारकै ध्यान,’ दुखेसो पोख्छन्, ‘अहिले जलजला क्षेत्र खाली नै हुँदैन । दैनिक मान्छे पुगिरहेका हु्न्छन् । यसको उचित उपयोग गर्न सकेनौं ।’

यो पनि पढ्नुहोस् :

गुरिल्ला ट्रेक अर्थात छापामार हिँडेको बाटो !

उकालै उकालो जलजला !

तिमीसँगै गहिरो मायाँ बस्यो जलजला…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?