+
+
Shares
ब्लग :

मन्दिरका भगवान, भक्त र भिखारी

रामप्रसाद सेढाई रामप्रसाद सेढाई
२०७८ कात्तिक १४ गते १५:३१

कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?

माथिको हरफ महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविताबाट लिइएको हो । यसलाई म मेरो जीवनको एउटा प्रसंगसँग जोड्न चाहन्छु । केही समयअघि एउटा कार्यक्रमको सिलसिलामा साथीहरू सहित हामी पश्चिम नेपालतर्फको यात्रामा निस्किएका थियौं । बाटोमा एक प्रसिद्ध मन्दिर पर्दथ्यो ।

साथीहरूले उक्त मन्दिर दर्शन गर्ने मनसाय प्रकट गर्नुभयो, हामी हिन्दूहरू मन्दिर भनेपछि कसैले राम्रो आकृतिको ढुङ्गालाई रातो रङ्ग दलेर जहाँकहीं राखिदेवस्, त्यहाँ तुरुन्तै नतमस्तक भएर भगवान सम्झँदै आफ्नो शिर निहुर्‍याउँछौं । यहाँनेर मैले ढुङ्गा (शिला) लाई भगवान मानेर ढोग्न हुने/नहुने, पूजा गर्न हुने/नहुने भन्ने विषयको लम्बेतान छलफलमा प्रवेश गर्न खोजेको होइन । यसको अलग्गै पाटोबाट छलफल गर्न सकिन्छ ।

यो हामी आर्यजनहरूको संस्कृति, परम्परा, संस्कारजन्य गतिविधि तथा आ-आफ्नो आस्था र विश्वासको प्रकटीकरण हो, सभ्यता पनि हो । किनभने संस्कृतिले सभ्यताको निर्माण गर्छ अनि त्यही सभ्यताले संस्कृतिको संरक्षण गर्दछ । यी दुवै अन्तरसम्बन्धित छन् ।

हामी मन्दिर नजिकै पुग्यौं । मन्दिर भव्य र निकै कलात्मक थियो । सम्पदाहरूको धनी देश हो हाम्रो । प्राचीन कला कौशल र कालिगरीको उच्चतम नमूना त्यस मन्दिरमा देख्न पाइन्थ्यो । त्यहाँ दर्शनार्थीको ठूलो भीड थियो । धेरै जना दर्शनार्थी मन्दिर आवतजावत गरिरहेका थिए ।

भित्र छिर्दैगर्दा मन्दिरको गेट नजिकै एक कुनामा रोगले थलिएर जर्जर अवस्थामा रहेका एक वृद्ध मानिसमा मेरो नजर ठोकियो । ती वृद्ध मानिस दर्शनार्थीहरूसित केही अपेक्षासहित आशातीत नजरले हात फैलाइरहेका थिए । अक्सर मन्दिरहरूमा यस्ता दृश्य देखिन्छन् । म भने यस्ता दृश्यले भावुक हुन पुग्छु ।

उनको शरीर जीर्ण छ, शायद आज उनको पेटमा अन्नको चारो परेको छैन । शरीरमा आङ ढाक्ने एकसरो न्यानो कपडा छैन । हातखुट्टाहरू पट्पटी फुटेका छन् । कपाल जिङरिङ्ग छ । उनी हेर्दै मायालाग्दो देखिन्छन् । उनका चाउरी परेको अनुहारमा दुईवटा आँखा चम्किरहेका छन् ।

सबै मानिस मन्दिरमा विराजमान रहेका भगवानबाट वरदान स्वरुप केही न केही पाउने इच्छाले आइरहेका छन् । कोही धनसम्पत्ति प्राप्ति, कोही सन्तान प्राप्ति, कोही पद प्रतिष्ठा प्राप्ति, अनि कोही चाहिं लौकिक जगतका चमकदमक र भौतिक सुखसुविधादेखि वितृष्णा पैदा भई पारलौकिक खुशी, आत्मिक शान्ति तथा स्वर्ग प्राप्ति हेतु आएका छन् ।

मेरो ध्यान तानेको ती वृद्ध भने एकमुठी चारो पेटमा हाल्ने बाध्यताले मन्दिर आइपुगेका छन् । दर्शनार्थीहरू पूर्ण आस्था र विश्वास अनि भक्तिभावका साथ निर्जीव ढुंगाको मूर्तिमा मन खोलेर भेटी चढाइरहेका छन् ।

लड्डु, मिठाई, दूध अर्पण गरिरहेका छन् । त्यही मन्दिर परिसरमा एक गाँस खान समेत नपाई वेदना, पीडा र अभावको जीवन बिताइरहेका छन् । भोकै पेट बस्न बाध्य निरीह मानिसको लागि सोचिदिने कोही हुन्नन् । उनको हातमा अहिलेसम्म कुनै खानेकुरा अनि एकसुको पैसा परेको छैन ।

म मनमनै सोच्छु हामीभित्रको मानवता ठीक-ठाक त छ ? विवेकलाई बन्धक बनाइसकेको मानिसले कतै मानवतालाई पनि बन्धक त बनाएन ? यदि त्यसो हो भने यो डरलाग्दो पक्ष हो । किनकि दया, प्रेम करुणा, भाइचारा तथा मानवतावाद हाम्रा पूर्वीय समाजका गहना हुन् । वैदिक सभ्यताका ओझिला सम्पदा हुन् । यी तत्व विनाको हाम्रो समाज पश्चिमा जगत झैं उजाड र असहिष्णु बन्न पुग्दछन् ।

मन्दिरको सिंढी चढ्दैगर्दा मनमा अनेकथरी कुरा खेल्न थाले । ती वृद्धको दयालाग्दो अवस्थाले मलाई लाग्यो- वास्तवमा जिउँदो भगवान मैले तल मूल गेटमै छोडेर आइसकें फेरि अर्को कुन भगवान खोज्न जाँदैछु म । आफूभित्रको मानवताले मलाई यसै भन्यो । जसै म मन्दिरको मुख्य दर्शनस्थल पुगें ।

दर्शन पश्चात् देवकोटाको यो दिव्य वाणी गुनगुनाउँदै त्यो अघिको निरीह वृद्धलाई सम्झिंदै तल झरें र आफूले सकेको केही दक्षिणा उनको हातमा राखिदिएँ । मानवता प्रतिबिम्बित भएर होला वृद्ध मुसुक्क हाँसे । उनको त्यो निर्दोष र निश्चल हाँसोमा मैले साक्षात् भगवान मुस्कुराएको पाएँ, जसले मलाई अपार आनन्दानुभूति महसूस भयो ।

त्यहाँ देखे- भक्तजनहरू तँछाडमछाड गर्दै एक सुन्दर आकृतिको मूर्तिलाई दूध, फूल, प्रसाद तथा मिष्ठान्न भेटी यथेष्ट अर्पण गर्दैछन् । बदलामा शिलामा आफ्नो शिर झुकाएर भगवानसँग आफूले चाहेको वरदान माग्दैछन् ।

उता भक्तजनले चढाएको दान दक्षिणा इत्यादि सामग्रीको व्यवस्थापन गर्न पुजारीहरूलाई भ्याई नभ्याई छ । अर्को कुरा- भगवानप्रति आस्था विश्वास प्रकट गर्दै दान–दक्षिणा अर्पण गर्न मानिस स्वतन्त्र छ । तर यहाँनेर विचार पुर्‍याउनुपर्ने मुख्य कुरा के हो भने आफूले गरेको दानदक्षिणा तथा सहयोग कस्तो ठाउँमा प्रयोग भइरहेको छ ?

त्यो दानदक्षिणाले भोको पेटमा चारो पर्‍यो कि परेन ? कसैको नाङ्गो शरीर ढाकियो कि ढाकिएन ? मानवताको हित र भलाइका खातिर त्यो प्रयोग भयो कि भएन ? कतै त्यो सहयोग दुरुपयोग त भैरहेको छैन ? कतै आफूले मन खोलेर गरेको सहयोग गलत ठाउँमा प्रयोग गरिरहेका त छैनन् ? यदि त्यस्तो हुँदैन भने आफूले गरेको त्यो सहयोग बेकार हुन पुग्दछ । दान गर्दा यसतर्फ पनि ध्यान दिन जरुरी म देख्छु ।

मेरा साथीहरूले पनि मन्दिरको दर्शन गरेर पुजारीलाई यथाशक्य दानदक्षिणा अर्पण गरे । मैले भने मन्दिरको प्रदक्षिणा गरेर दर्शन मात्र गरें अनि पूर्ण श्रद्धाका साथमा मनरुपी पुष्प, भक्तिभावरुपी दक्षिणा अर्पण गरें र वरदान स्वरुप विश्व मानव कल्याणको प्रार्थना गरें ।

मलाई थाहा छ पैसा त मानिसलाई चाहिने हो, भगवानलाई होइन । किनभने गीतामा कृष्णको उपदेशको सार यस्तै छ । भक्तियोगमा भगवान कृष्ण भन्नुहुन्छ- भगवान भक्तिको लागि कुनै विशेष साधना वा कर्मकाण्डको जरुरत छैन जति श्रद्धाको छ ।

लड्डु, मिठाई, भेटी आदिको भक्तिमा कुनै मूल्य र महत्त्व छैन । त्यसको महिमा त हार्दिकता, पवित्रता, सत्यता र मानवतामा छ । पूजाका बाह्य दृश्य सामग्री भन्दा अनन्यभावको श्रद्धारुपी प्रेम र भक्ति मलाई अर्पण गर, म त्यसमा खुशी छु ।

मन्दिरमा भेटी नचढाएकोमा अन्य साथीहरूले मलाई अनौठो नजरले हेरे । शायद लोभी लालची यस्तै केही सोच्न पनि भ्याए होलान् । मलाई फरक परेन ।
फर्क फर्क हे जाउ समाउ मानिसहरूको पाउ, मल्हम लगाउ आर्तहरूको चहर्‍याइरहेको घाउ ।

दर्शन पश्चात् देवकोटाको यो दिव्य वाणी गुनगुनाउँदै त्यो अघिको निरीह वृद्धलाई सम्झिंदै तल झरें र आफूले सकेको केही दक्षिणा उनको हातमा राखिदिएँ । मानवता प्रतिबिम्बित भएर होला वृद्ध मुसुक्क हाँसे । उनको त्यो निर्दोष र निश्चल हाँसोमा मैले साक्षात भगवान मुस्कुराएको पाएँ, जसले मलाई अपार आनन्दानुभूति महसूस भयो ।

साथीहरू मलाई हेरिरहेका थिए । अघि मैले माथि मन्दिरमा भेटी नचढाएको कारण उनीहरूले बुझेर होला भन्न थाले । वास्तविक पुण्य तपाईंले कमाउनुभयो । म भने त्यो मन्दिरको शिलामा चढाएर बग्दै आएको दूधको भेल हेरिरहेको थिएँ जुन ती वृद्ध बसेको नजिकैको ढलबाट बग्दैथियो । वृद्धको सजल नेत्रबाट चाहिं आँसुको भेल बग्दैथियो ।

(दोलखा घर भएका सेढाई हाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?