+
+

पासपोर्ट बनाउनेको भीडमा ८० प्रतिशत डीभी भर्नेहरू !

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ कात्तिक १४ गते २१:०३

१४ कात्तिक, काठमाडौं । दशैंपछि नारायणहिटीस्थित राहदानी विभागमा पासपोर्ट बनाउनेहरु भीड अत्याधिक बढेको छ । सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न तयारी भइरहेकाले अत्यावश्यक भएमात्रै पासपोर्ट बनाउन अनुरोध गरिरहेको बेला विभागको क्षमताभन्दा बढी सेवाग्राही आउन थालेका छन् ।

विभागका प्रशासन महाशाखा प्रमुख डिल्लीराम आचार्यका अनुसार अमेरिकी डाइभर्सिटी भिसा (डीभी) भर्नेहरुका कारण भीड अत्याधिक बढ्न गएको हो । अमेरिकी सरकारले केही वर्षदेखि डीभी भर्न पासपोर्ट अनिवार्य गरेको छ । अहिले ‘ईडीभी-२०२३’ खुला छ । २० असोजदेखि खुलेको ईडीभी फारम २३ कात्तिकसम्म भर्न सकिन्छ ।

डीभी भर्नेहरु पासपोर्ट लिन आएपछि विभागमा पछिल्ला दिनमा पासपोर्टको लागि दैनिक तीन हजारभन्दा बढी आवेदन परिरहेको छ । ‘विभागमा सोझै आवेदन दिने एक हजारभन्दा बढी छन्,’ उनले भने, ‘जिल्ला र विदेशस्थित नियोग र मिसनबाट पनि १५ सयदेखि २ हजारसम्म आवेदन आउँछन् ।’ त्यसैअनुसार विभागले पासपोर्ट जारी पनि गर्दै आएको छ ।

विभागले भीड बढेपछि आफ्ना जनशक्तिलाई अधिकतम प्रयोग गरेर पासपोर्ट जारी गर्ने काम गरिरहेको उनले बताए । ‘हामीले सेवाग्राहीलाई केको लागि पासपोर्ट भनेर सोध्दा ८० प्रतिशतले डीभी भर्नका लागि भन्नुभएको छ,’ आचार्यले भने ।

पछिल्ला दिनमा विभागले लाइनमा बस्ने सबैबाट आवेदन लिन सकिरहेको छैन । प्रशासन प्रमुख आचार्यका अनुसार क्षमताभन्दा धेरै सेवाग्राही आए भोलिपल्ट आउने गरी टोकन बाँड्ने गरिएको छ ।

आइतबार राहदानी विभाग अगाडिको लाइन लैनचौर चोक हुँदै उत्तर ढोकासम्म पुगेको थियो । विभागका कर्मचारीका अनुसार रातिदेखि नै सेवाग्राही लाइनमा आएर बस्ने गरेका छन् । सेवाग्राहीलाई लामो समयसम्म लाइन बस्नुपर्दा पालो मिचिने डरले शौच गर्न जान समेत समस्या पर्ने गरेको छ ।

चाडपर्वमा विदेशमा रहेकाहरु स्वदेश आएका बेला पासपोर्ट नवीकरण गर्ने गरेका कारण पनि चाप बढेको अनुमान विभागका अधिकारीहरुको छ । चाडबाड मनाएपछि विदेश जान खोज्नेहरु पनि बढी हुने गरेका छन् । महामारीपछि अध्ययन, भ्रमण, व्यापार लगायतका भिसामा विदेश जानेहरु पनि बढेका छन् । यसले पनि भीड बढाउन भूमिका खेलेको छ ।

तर, मूल रुपमा भने डीभी भर्नका लागि नै सेवाग्राहीहरु लाइनमा आएको विभागको अनौपचारिक अध्ययनमा देखिएको छ ।  सामान्य अवस्थामा महिनामा ४० देखि ५० हजारसम्म पासपोर्ट वितरण हुन्छ । तर, पछिल्ला दिनको भीड हेर्दा संख्या दोब्बर हुने देखिएको छ ।

मंसिरदेखि ई-पासपोर्ट

नारायणहिटीस्थित विभागको कार्यालयमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिन सेवाग्राहीको भीड बढ्दै गर्दा विभाग त्रिपुरेश्वरस्थित नवनिर्मित भवनमा ई-पासपोर्ट छपाइको पूर्वतयारी गरिरहेको छ ।

विभागले मंसिर १ गतेदेखि आंशिक रुपमा ई-पासपोर्टको छपाइ थाल्नेछ । तर, त्यसका लागि एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न बाँकी छ । यही काम गर्नुपर्ने बेलामा पासपोर्ट बनाउनेको भीड बढेपछि विभाग दबाबमा छ ।

सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटी’सँग ई-पासपोर्ट छपाइको लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार १० महिनाभित्र कम्पनीले ई-पासपोर्टको वितरणका लागि सबै काम सकाउनुपर्ने हुन्छ ।

पछिल्लो दिनमा राहदानी बढाउने संख्या बढेकाले एमआरपीको मौज्दातमा चाप पर्ने भएपछि विभागले १५ हजार रुपैयाँ तिरेर एक दिनमै राहदानी बनाउने सेवा नै स्थगित गरेको छ ।

एमआरपी छपाइको ठेक्कामा विभागले दुई पटक भेरिएसन गरिसकेको छ । अब विभाग र मन्त्रालयले निर्णय गरेको भरमा ठेक्का भेरिएसन गर्न नसकिने अवस्था छ । विभागका प्रशासन प्रमुख आचार्य ७० लाख एमआरपी वितरण भइसकेको र एमआरपीको मौज्दात पर्याप्त रहेको बताउँछन् ।

‘एमआरपीको मौज्दात संख्या यकिन भन्न सक्दैनौं, तर भीड बढेपनि हाम्रो क्षमताअनुसार हामी जति पासपोर्ट वितरण गर्नसक्छौं, त्यो हिसाबले मौज्दात पर्याप्त छ,’ उनले भने ।

विभागले केही हप्तापछि नै ई-पासपोर्ट छपाइ शुरु हुने भएकाले अत्यावश्यक भए मात्रै अहिले पासपोर्ट बनाउन सेवाग्राहीलाई आग्रह गरेको छ ।

‘निकै उपयोगी खालको ई-पासपोर्ट केही समयभित्र जारी गर्न थाल्दैछौं, त्यसैले अत्यावश्यक छैन भने सेवाग्राहीले कुर्दा हुन्छ,’ आचार्य भन्छन्, ‘थोरै धैर्य गरेर अन्तर्राष्ट्रिय स्तरको पासपोर्ट लिन आग्रह गर्छौं ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment