+
+

भीम आचार्यको अंकगणित फेरि मिलेन

हरि अधिकारी हरि अधिकारी
२०७८ कात्तिक १५ गते २०:१७

१५ कात्तिक, विराटनगर । २०७४ को आम चुनावपछि प्रदेश १ को मुख्यमन्त्री बन्न चाहेका भीम आचार्यलाई नेकपा एमालेको संसदीय दलको अंकगणितले साथ दिएन ।

माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको एमालेले प्रदेश १ मा एक्लै बहुमत (५१ सांसद) ल्याएको थियो । एमाले सचिव समेत रहेका आचार्यले मुख्यमन्त्री बन्न चाहे, तर संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली पक्षका शेरधन राईले चुनौती दिए । दलको नेता छान्न चुनाव भयो, आचार्यले २४ मत पाउँदा राईले २६ मत पाए । एमाले संसदीय दल नेता राई मुख्यमन्त्री बने ।

२ भदौ २०७८ मा एमाले विभाजित भयो, लामो समय माधवकुमार नेपाल समूहमा रहेका आचार्य उनको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीतिर गएनन् ।

सोमबार प्रदेशसभामा विश्वासको मत लिने आचार्यको प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो । तर बैठकको सुरुमा नै बोलेका आचार्यले विश्वासको मत मागेनन्, बरु विश्वासको मत पाउने अवस्था नभएको भन्दै राजीनामा दिए ।

नेपालतिर नलागेकै कारण एमालेले १० भदौमा शेरधनलाई राजीनामा गरायो र आचार्यलाई मुख्यमन्त्री बनाउन बाटो खोलिदियो । मुख्यमन्त्री बन्दानबन्दै अल्पमतमा परेका आचार्यको अंक गणित फेरि मिलेन । प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नभएपछि उनले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

आचार्यलाई मुख्यमन्त्री बनाउँदै गर्दा एमाले नेतृत्वलाई  एकीकृत समाजवादीतिर जाने माधव नेपाल समूहका सांसदहरुलाई रोकेर सरकार जोगाउन सकिन्छ कि भन्ने लागेको थियो । मुख्यमन्त्री आचार्यले पनि बहुमत जुटाएर सरकार चलाउने दाबी गरेका थिए । तर एमालेका १० प्रदेशसभा सदस्यले एकीकृत समाजवादी रोजेपछि २५ भदौमा नै मुख्यमन्त्री आचार्य अल्पमतमा परेका थिए ।

संविधानअनुसार ३० दिनभित्र अर्थात २५ असोजमा विश्वासको मत लिने प्रस्ताव पेश गरेका मुख्यमन्त्री आचार्यले सभामुखसँग मिलेर मतदानलाई दशैं पछाडि धलेके ।

सोमबार प्रदेशसभामा विश्वासको मत लिने आचार्यको प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो । तर बैठकको सुरुमा नै बोलेका आचार्यले विश्वासको मत मागेनन्, बरु विश्वासको मत पाउने अवस्था नभएको भन्दै राजीनामा दिए । जनताको चाहना आफ्नो सरकारले निरन्तरता पाओस् भन्ने भएपनि अंकगणित फरक परेको भन्दै उनले भने, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।’

करिब डेढघण्टा लामो सम्बोधन गरेका उनले ६७ दिनमा गरेका कामका फेहरिस्त प्रस्तुत गरेका थिए । छोटो र प्रतिकुल समयमा सरकारले उल्लेख्य काम गरेको बताएका छन् । प्रदेशसभामा डेढघण्टा लामो सम्बोधन गरेका आचार्यले यातायात व्यवस्था कार्यालयमा सुधार थालेको, बृहत विराट क्षेत्रभित्र प्रदेशको कार्यपालिका, व्यवस्थापिका लगायतका संरचना निर्माणका लागि जग्गा खोजेको सुरु गरेको, प्रदेश पर्यटन बोर्ड, प्रदेश खेलकुद विकास बोर्ड र श्रम सल्लाहकार समिति गठन गर्नु उपलब्धी भएको बताएका छन् ।

प्रदेशसभामा रहेका दलहरु भने त्यसमा सहमत छैनन् । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पार्टी विभाजनको मौकामा मुख्यमन्त्री बनेका आचार्यले आफ्नो नियुक्तिको औचित्य पुष्टि गर्न नसक्ने बताउँछन् ।

आचार्यले चरम महत्वाकांक्षा र पदप्रतिको आशक्ति देखाएको भन्दै उनले भने, ‘शेरधन राईलाई राजीनामा गराएर मुख्यमन्त्री भएको औचित्य के हो ? दुई महिना झण्डा हल्लाउने र मुख्यमन्त्रीमा फोटो झुन्डयाउने बाहेक केही देखिएन ।’

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्की पनि मुख्यमन्त्रीका रुपमा आचार्यले कार्यकर्ता भर्ती गर्ने बाहेक केही गरेको बताउँछन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?