+
+

विमानस्थलमा वन्यजन्तुको चुनौती : प्राधिकरणको बेवास्ता, जोखिममा यात्रु

अच्युत पुरी अच्युत पुरी
२०७८ कात्तिक १७ गते २१:५०
नेपालगञ्ज विमानस्थलमा कात्तिक १६ गते बिहान बँदेलसँग ठोक्किएको सीता एयरको जहाज ।

१७ कात्तिक, काठमाडौं । मंगलबार एकाबिहान नेपालगञ्ज विमानस्थलमा ठूलो हवाई दुर्घटना टर्‍यो । बँदेलका पाठा धावनमार्गमा किचिए । सीता एयरको ९–एनएचबी जहाजमा प्वाल पर्‍यो । जहाजमा सवार १४ यात्रु र चालक दलका सदस्य सकुशल रहे पनि उनीहरुले जोखिमको भने सामना गर्नु पर्‍यो ।

अघिल्लो साता पनि नेपालगञ्ज विमानस्थलमै दुम्सीको पाठालाई बुद्ध एयरको जहाजले किचेको थियो । स्रोतका अनुसार, बँदेल र दुम्सीको पाठा सानो भएका कारण दुर्घटना हुन पाएन ।

यी दुई पछिल्ला घटना हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रकाशित गरेको ‘एभिएशन सेफ्टी रिपोर्ट २०२०’ अनुसार एक वर्षको अवधि (सन् २०१९) मा नेपालमा वन्यजन्तु र पक्षीका कारण देशभरका विमानस्थलमा ७० वटा घटना भएका थिए । ती घटनाका कारण जहाज दुर्घटनामै त परेनन्, तर ११ प्रतिशत घटना गम्भीर प्रकृतिका थिए, जसले दुर्घटना निम्त्याउन पनि सक्थे । यसलाई रिपोर्टमा ‘सिरियस इन्सिडेन्ट’ भनिएको छ ।

वायुसेवा कम्पनी तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुको अनुभवमा नेपालगञ्ज र भैरहवा विमानस्थल वन्यजन्तुको बढी जोखिममा छन् ।

नेपालगञ्ज विमानस्थल प्रमुखका रुपमा लामो समय काम गरेर अहिले त्रिभुवन विमानस्थलका महाप्रवन्धक रहेका भोला प्रसाद गुरागाईका अनुसार विमानस्थल नजिकै झाडी प्रकृतिको जंगल रहेका कारण बँदेल, दुम्सी, सर्प प्रजातीका वन्यजन्तुको जोखिम तराईका विमानस्थलमा बढी छ । तारबार लगाएपनि यस्ता जनावर जमिन खनेर छिर्न सक्ने भएकाले अझ बढी जोखिम हुने गरेको उनले बताए ।

विमानस्थलको धावनमार्ग आसपासको क्षेत्र रातको समयमा सुनसान हुन्छ । रातभरी चरेर बिहान मानवीय गतिविधि शुरु भएपछि अलमलमा परेका जनावर धावनमार्गतिर निस्कँदा यस्ता घटना हुने गरेको महाप्रवन्धक गुरागाईको अनुभव छ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा एकपटक अजिंगर नै देखिएपछि वन कार्यालयका मानिस बोलाएर जिम्मा लगाएको उनले स्मरण गरे ।

वायुसेवा कम्पनीलाई क्षति, जोखिममा यात्रु

नागरिक उड्डयन प्राधिकरणले विमानस्थल व्यवस्थापनका लागि वायुसेवा कम्पनीहरुबाट शुल्क उठाउँछ । कम्पनीहरुले यो शुल्क टिकटमा जोडेर यात्रुबाट उठाउँछन् । त्यसअनुसार विमानस्थल र हवाई सुरक्षामा सुधार भएको भने छैन ।

यो पक्षमा प्राधिकरणले बेवास्ता गर्दा वायुयान र हवाई यात्रु जोखिममा परेका छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला ‘सामान्य कुरा’ भन्दै प्राधिकरणले गर्ने लापरवाहीको मूल्य सरोकारवालाहरुले चुकाउनपर्ने अवस्था आउनसक्ने बताउँछन् ।

‘आज बिहान (कात्तिक १६ गते) नेपालगञ्जमा एक जहाजमा क्षति भयो’, उनले भने, ‘त्यो जहाज अब मर्मत नगरेसम्म उड्दैन, यसबाट कम्पनीमाथि हुने क्षति कसले व्यहोर्छ ?’

तीन विमानस्थल बढी जोखिममा

वायुसेवा कम्पनी तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुको अनुभवमा नेपालगञ्ज र भैरहवा विमानस्थल वन्यजन्तुको बढी जोखिममा छन् । भैरहवा विमानस्थलमा निलगाईको बढी जोखिम छ ।

२०६९ सालमा मनोहरा फाँटमा दुर्घटना भएको सीता एयरको जहाज

विमानस्थल नजिकै जंगल र झाडी हुनु, विमानस्थललाई बलियो पर्खालले नघेरिनु र धावनमार्ग वरपर नियमित घाँस काट्ने काम नहुनुले वन्यजन्तुको जोखिम बढाएको छ ।

हिउँदयाम शुरु भएपछि विमानस्थल आसपासका जमिनमा निस्कने गड्यौला खान आउने चराका कारण समेत उडान सुरक्षामा चुनौती आउने गर्छ । चराको बढी जोखिम काठमाडौं विमानस्थलमा छ ।

२०६९ साल असोज १२ गते त्रिभुवन विमानस्थलबाट उडेको केही मिनेटमै सीता एयरको जहाजमा चरा ठोक्किएर मनोहरा फाँटमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो ।

महाप्रवन्धक गुरागाईका अनुसार काठमाडौंमा उपकरणबाट निगरानी गरेर चराचुरुङ्गी तथा वन्यजन्तु धपाइन्छ । शिकारी समेत खटाइएको छ । चराको ठूलो बथान आएका बेला जहाज होल्डमा राखेर पनि धपाउने गरिन्छ । काठमाडौं बाहिरका विमानस्थलहरुमा भने यस्तो व्यवस्था छैन ।

जोखिम न्यूनीकरण कसरी गर्ने ?

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक संजिव गौतम सरसफाइका साथै विमानस्थल आसपासका झाडी हटाउँदा धेरै हदसम्म जोखिम न्यूनीकरण हुने बताउँछन् । ‘विमानस्थलमा उडान सुरक्षा सुनिश्चित गर्ने दायित्व नेपालमा प्राधिकरणकै हो,’ उनले भने, ‘यसमा लापरवाही गर्न पाइँदैन ।’

मंगलबार भाग्यबस ठूलो घटना टरेको भन्दै उनले वन्यजन्तुको जोखिम कम गर्न विश्वका अन्य विमानस्थलमा अपनाइएका उपाय र उपकरण अपनाउन सुझाव दिए ।

सन् २०१९ मा कुन महिनामा कति घटना ?

जनवरी : ३ (वन्यजन्तुका कारण ३)

फेब्रुअरी : ३ (वन्यजन्तुका कारण २)

मार्च : ३ (वन्यजन्तुका कारण ०)

अप्रिल : ८ (वन्यजन्तुका कारण ०)

मे : ६ (वन्यजन्तुका कारण १)

जुन : ५ (वन्यजन्तुका कारण १)

जुलाई : ५ (वन्यजन्तुका कारण १)

अगस्ट : ८ (वन्यजन्तुका कारण ३)

सेप्टेम्बर : १० (वन्यजन्तुका कारण ५)

अक्टोवर : १२ (वन्यजन्तुका कारण २)

नोभेम्बर : ३ (वन्यजन्तुका कारण १)

डिसेम्बर : ४ (वन्यजन्तुका कारण २)

कूल : ७० (वन्यजन्तुका कारण २१)

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment