+
+

व्यापारिक केन्द्र बन्दै डोटीको बीपीनगर

रासस रासस
२०७८ कात्तिक २१ गते १७:५५
Photo Credit : RSS

२१ कात्तिक, सुदूरपश्चिम । विकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै डोटीको बीपीनगर क्षेत्र पछिल्लो दशकमा मुख्य व्यापारिक केन्द्र बन्न थालेको छ । बीपीनगर आसपासको क्षेत्र अदुवा, बेसारजस्ता कृषि उपजको उत्पादन र निर्यात गर्ने मुख्य क्षेत्रका रुपमा चिनिन्छ ।

बडीकेदार गाउँपालिका–१ मा पर्ने यो क्षेत्रमा वार्षिक करोडौं मूल्य बराबरको अदुवा, बेसार, भटमास, कागती लगायत कृषि उपजको कारोबार हुने गर्दछ । यसबाहेक बीपीनगर क्षेत्रमा सङ्कलन हुने तेजपात, सम्य, झ्याउ पाखानबेद लगायतका जडीबुटी बाहिर निर्यात हुन्छ । यहाँबाट ठूलो परिमाणको जडीबुटी नेपालगञ्ज हुँदै भारत जाने गरेको स्थानीयवासी यमप्रसाद भट्टले बताए ।

तीन दशकअघि यो क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षालगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने प्रयास थालिएको थियो । ‘विकासका दृष्टिमा पहिलेको बीपीनगर र अहिलेको बीपीनगरमा धेरै फरक देखिएको छ,’ केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस बीपीनगरका प्रशासकीय अधिकृत यमप्रसाद भट्टले भने, ‘सडक, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा भइरहेका विकासले पहिलेको भन्दा अहिले आर्थिक क्रियाकलापमा वृद्धि हुँदै गएको छ ।’

डोटी र कैलाली जिल्लाको सीमा क्षेत्र हुँदै बग्ने ठूलीगाड नदी, उत्तरतर्फबाट आउने गडसिरी नदी र कापडी नदीको सङ्गम नजिकैको मैदानी फाँटमा बीपीनगर बजार विस्तार भएको छ । अग्ला पहाडको खोंच छिचोल्दै कलकल बग्ने ठूलीगाड, गडसिरी र कापडी नदीको आवाज र वरपरको प्राकृतिक दृश्यावलोकनले यहाँ घुम्न आउने यात्रु रमाउँछन् ।

यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यसहित केबुलकार निर्माण गर्न पहल थालिएको छ । यसका लागि बीपीनगरदेखि बनाना केदार हुँदै उदैनी केदारसम्म र अत्तरकाँडाको काफलीगाड हुँदै बडीकेदारसम्म केबुलकार सञ्चालनका लागि पहल भइरहेको स्थानीयवासी पदमराज जोशीले बताए ।

२०४६ सालमा भएको राजनीतिक परिवर्तनसँगै स्थानीय प्रजातन्त्रप्रेमी बासिन्दाको पहलमा यो क्षेत्रलाई बीपीनगर नामाकरण गरिएको हो । २०४६ अघिसम्म यो क्षेत्र ‘घोडिलास’ नामले चिनिन्थ्यो । ‘नेपालमा प्रजातन्त्र स्थापना भएको दिन २०४६ चैत २६ गते महामानव एवं लोकतन्त्रवादी नेता स्वर्गीय बीपी कोइरालाको नीति विचारमा आउने पिँढीलाई हिडाउँदै समग्र विकास गर्ने उद्देश्यले उहाँकै नामबाट यो क्षेत्रको नामाकरण गरिएको हो,’ जोशीले भने, ‘पछिल्ला वर्षमा नाम परिवर्तन गरिएकाप्रति कतिपयले असहमति जनाइरहेका छन् ।’

नजिकैको पहाडको टाकुरामा प्रचीनकालमा भोटेराजाको गढी रहेकाले नै यसको नाम पनि ‘घोडिलास’ राखिएको स्थानीयवासीको भनाइ छ । यही गढीमा भोटे राजाले शत्रुबाट जोगिनका लागि घोडा चढ्ने, दौडाउने, ढुङ्गाका हतियार बनाउनेजस्ता कला र सीप सिकाउने गरिएको बताइन्छ । भोटेगढीवाट कापडी नदीसम्म सुरुङमार्ग समेत रहेको बताइन्छ । ‘यसै सुरुङमार्ग हुँदै भोटेराजाका रानीले कापडी नदीसम्म पुगेर गढीमा पानीको जोहो गर्ने गरेको भन्ने भनाइ छ,’ जोशीले भने, ‘अहिले भने यो सुरुङमार्ग ठाउँठाउँमा भत्किएको अवस्थामा रहेकाले हाल कोही जान सक्दैनन् ।’

भीमदत्त राजमार्गमा पर्ने कैलालीको सहजपुर सडकखण्डवाट बीपीनगरको दूरी १८ किलोमिटर छ । यो सडकलाई साविकको भन्दा थप चौडा बनाएर स्तरोन्नति गर्ने काम भइरहेको छ । सहजपुरदेखि बीपीनगर र बोगटान क्षेत्र हुँदै जिल्ला सदरमुकाम दिपायलसम्मको सडक निर्माणाधीन छ । यस्तै धनगढीदेखि स्याउले–बीपीनगर हुँदै दिपायलसम्मको द्रूतमार्ग पनि निर्माणाधीन छ । सडक सञ्जालका दृष्टिमा यो क्षेत्र केन्द्र भागमा पर्न थालेकाले पनि यसको महत्व अझ बढ्ने देखिएको छ । यस क्षेत्रमा क्याम्पस, विद्यालय, स्वास्थ्य संस्था, इलाका प्रहरी कार्यालय लगायत छन् ।

स्वादिष्ट माछाका लागि चर्चित

बीपीनगर हुँदै बग्ने ठूलीगाड, गडसिरी र कापडी नदीमा पाउने विभिन्न प्रजातिका माछा यो क्षेत्रमा घुम्न आउने यात्रुका लागि पहिलो रोजाइमा पर्ने गरेको छ । यी नदीमा पाउने माछाबाट बनेका परिकार निकै स्वदिष्ट हुँदा पनि यसले बीपीनगरलाई चिनाएको स्थानीयको बुझाइ छ । स्थानीयवासी जयराज भण्डारीले ठूलीगाड नदीको माछा निकै स्वादिष्ट हुने गरेको बताए । ‘यहाँ पाइने माछाबाट बनेका परिकार निकै स्वादिष्ट हुन्छ,’ उनले भने, ‘माछाकै कारणले पनि यो क्षेत्रले आफ्नो छुट्टै परिचय बनाएको छ ।’

नदीमा विषादीको प्रयोग र करेन्ट प्रवाह गरेर माछा मार्न रोक लगाइएको गाउँपालिकाले जनाएको छ । यो नदी पूर्व-दक्षिणतर्फको कर्णाली नदीमा गएर मिसिन्छ । पानीको सतह बढेको समयमा कर्णाली नदीमा पाइने माछा बीपीनगरसम्मको ठूलीगाड नदीको भागसम्म आउने स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment