+
+

‘द भ्वाइस किड्स’मा बच्चाहरुको गायन र रमाइलो हेर्न पाइनेछ : प्रमोद खरेल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १३:०६

कात्तिक २६ गते शुक्रबारबाट ६ देखि १४ वर्षका बालबालिकाहरुले  सहभागिता जनाएको रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रसारण हुँदैछ । हिमालय टीभी एचडीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि शो प्रसारण हुनेछ । शोको ‘ब्लाइन्ड राउण्ड’को छायाँकन सकिएको छ ।

यसपटक कोचको रुपमा गायकद्वय प्रमोद खरेल र राजु लामा, गायिकाद्वय मिलन नेवार र प्रविशा अधिकारी छन् । चार कोचमध्येका एक प्रमोद खरेल यसपटक दर्शकले यो रियालिटी शोमा बच्चाहरुको गायन कलाको साथमा उनीहरुको रमाइलो प्रस्तुति हेर्न पाउने बताए । ‘हामीले यो शोमा बच्चाहरुको प्रस्तुति, उनीहरुको प्रतिभा र मनोरञ्जनलाई पनि ध्यान दिएका छौं । बच्चाहरुले आफू नजन्मँदै सार्वजनिक भएका गीतहरु समेत गाएका छन्,’ उनले भने ।

आफूहरुले बच्चाको मनोविज्ञानलाई समेत ध्यानमा राखेको प्रमोदको भनाइ छ । उनले  अगाडि भने, ‘बच्चाहरुको दिमाग कमलो हुन्छ । यसैले यो शोमा हामीले रिसाउने र सोझो तरिकाले प्रतिक्रिया दिन मिल्दैन ।’

प्रमोदका अनुसार शोको सबैभन्दा रोचक राउण्ड नै ‘ब्लाइण्ड राउण्ड’ हो । आफूले बच्चाहरुको स्वर सुनेरै कुर्सी घुमाएको उनी बताउँछन् । उनले भने, ‘ठूलो मान्छेको जस्तै बच्चाको पनि स्वर नै सुन्ने हो । तर, कहिलेकाहीं छोराको स्वर होला भन्ने सोच्यो, छोरीको हुन्छ । छोरीको होला भनेर सोच्दा छोराको हुन्छ । केही बच्चाहरुको त स्वर सुनेर पनि छोरा वा छोरी छुट्याउन नसकिने रहेछ ।’

प्रमोदका अनुसार बच्चाहरुले संगीतलाई गहिरो रुपमा सिकेर आएका हुँदैनन् । तर, पहिले–पहिलेको भन्दा अहिलेका बालबालिकाहरुमा संगीतको ज्ञान भने धेरै भएको उनको भनाइ छ । आमाबुवाले पनि बच्चाहरुलाई तयार पारेर ल्याएको प्रमोदले बताए ।

अरु गायन रियालिटी शोभन्दा ‘द भ्वाइस किड्स’को शैली नै फरक भएको उनी बताउँछन् । ‘शोको रोचक राउण्ड नै ब्लाइण्ड हो । बच्चाहरुले कोच रोज्ने क्रममा निक्कै रमाइलो गरेका छन् । हामीले पनि उनीहरुलाई बच्चाकै रुपमा व्यवहार गरेका छौं ।’

प्रमोदले शोका निर्देशक लक्ष्मण पौडेलको पनि प्रशंसा गरे । भने, ‘हाम्रो शोका निर्देशक लक्ष्मण पौडेलको सोच्ने तरिका नै बेग्लै छ । म त उहाँको निर्देशकीय पक्षको फ्यान नै हो । त्यो ट्रेलरबाट पनि झल्किन्छ ।’ यसैले पनि दर्शकले शो हेर्दा फरक अनुभूति गर्ने उनले विश्वास व्यक्त गरे ।

तर, शोबाट बाहिरिँदा बच्चाहरुले देखाउने व्यवहारले भने कोच प्रमोदको पनि मन रोएको छ । उनी भन्छन्, ‘ठूलो मान्छे बाहिरिँदा त दुःख लाग्छ । झन् बच्चाहरु बाहिरिँदा नरमाइलो लाग्नु त स्वभाविक नै हो । बाहिरिनुपरेपछि बच्चाहरु स्टेजमै रोएका पनि छन् । दर्शकलाई पनि टीभीमा हेर्दा नरमाइलो लाग्न सक्छ ।’

एउटा उत्कृष्ट शो दर्शकमाझ आउन लागेकाले सबैले हेरेर प्रतिक्रिया दिनेमा प्रमोद विश्वस्त छन् । उनी भन्छन्, ‘यो शोका ट्यालेन्टले नै हो नेपाली सांगीतिक क्षेत्रलाई भोलिका दिनमा अगाडि बढाउने । यसैले एउटा पारिवारिक शो दर्शकमाझ आउन लागेको छ । सबैले ‘द भ्वाइस अफ नेपाल’लाई जस्तै माया दिनेमा विश्वस्त छु ।’

प्रमोदले आफूले ह्याट्रिकको विषयमा भने नसोचेको बताए । राम्रो प्रतिभा जसले जितेपनि आफू खुशी हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?