+
+
संस्मरण :

प्रिय जीवनका अप्रिय तीन घटना

भूपाल राई भूपाल राई
२०७८ मंसिर ४ गते १९:००

पूर्वकथन :

जीवन अनेक घटनाहरूको इँटाबाट निर्मित घर हो । जीवन निर्माणका कच्चा इँटाहरू हुबहु त्यस्ता बन्छन् जस्तो रूप समाजले ग्रहण गरेको हुन्छ । समाज त्यसैले जीवन निर्माण गर्ने साँचो हो । त्यही साँचोमा ढलेका इँटाहरूकै प्रतिरूपस्वरुप जीवन जीवनजस्तो छ ।

र, त्यही रूपमा जीवन प्रिय पनि छ । आज म त्यस्तो समाज र समयको घटना सुनाउन लागिरहेछु जहाँ लगभग तीन साढे तीन दशक पुरानो समाजको साँचोमा ढलेको मेरो आफ्नै जीवन प्रतिबिम्बित छ ।

यो मेरो आफ्नै नितान्त व्यक्तिगत घटना विवरण हो जसको बारेमा सर्वथा सार्वजनिक चासो नरहन सक्छ । तर यति भएर पनि म यतिखेर त्यही व्यसनतर्फ अग्रसर भइरहेछु, यो सोचेर कि तत्कालीन समयको सामाजिक मनोविज्ञान बुझ्न यी घटनाहरू अवश्य सहयोगी हुनेछन् । किनभने घटनाहरू निजिजस्ता लागे पनि ती शतप्रतिशत निरपेक्ष हुँदैनन् । त्योसँग कुनै न कुनै अंशमा समाज जोडिएको हुन्छ ।

कुनै कालखण्डको घटना भनेको त्यो नितान्त एक्लो घटनामात्र नभएर त्यही समयको समाजशास्त्र पनि हो । त्यसैले म ठानिरहेछु, आफ्ना निजी मामलाको फलकमै सही तात्कालीन समाजको सानो शब्दचित्र मैले यहाँ कोर्नै पर्छ । समाजले निर्माण गरेको वा कुँदेको ऐनाभित्र मेरो श्यामश्वेत तस्वीर मैले खिच्नै पर्छ ।

मध्यकथन :

मेरो हिँडाइ देखेर साथीहरू किसिम किसिमका टिप्पणी गर्ने गर्थे । कसैले ‘खेलाडी’ जस्तो भन्थे । धेरैले भन्थे ‘रिस उठ्दो हिँडाइ’ । कोही भन्थे ‘दादा’जस्तो । तर मलाई पटक्कै थाहा थिएन मेरो हिडाइको कुन ढाँचा वा लयले ती कथित विशेषणहरूलाई सङ्केत गर्थ्यो ! मेरो हिँडाइँबाट कसैलाई रिस किन उठ्थ्यो म नितान्त अन्जान थिएँ

प्रिय जीवनका तीन अप्रिय घटनाहरूलाई एक, दुई, तीनमा बताउनुभन्दा अगाडि सर्वप्रथम मेरा आफ्नै बारेमा केही कुरा स्पष्ट गर्न जरुरी छ । आफ्ना बारेका स्वभावजन्य कमिकमजोरी र तत्कालीन सामाजको चरित्र नबुझी घटना र स्वयं व्क्तिको विषयमा धारणा बनाउनु न्यायसम्मत नहुन सक्छ । त्यसैले सबभन्दा पहिले म यहाँ आफ्नै बारेमा केही कुरा बताउँछु ।

पहिलो, मेरो जन्म त्यस्तो समयमा हुन गयो जतिखेर समाज एकदमै दमित अवस्थामा थियो । समाजलाई थाहा थिएन उसको दु:खको कारण के हो ! त्यसैले ऊ आफू भित्रभित्रै एक्लै दबिएर रहेको थियो । मेरो जन्म र बाल्यकाल यही दमित समाजमा बितेको थियो । पछि, जब म किशोरवय हुँदै आफ्नो युवाकाल गुजार्दै थिएँ समाज पनि एकखालको संक्रमणकालबाट गुज्रिरहेको थियो । उसलाई आफ्नो दु:खको झिनो संकेत त मिल्दैथियो तर ऊ आफैसँग रिसाएको थियो । यो बेला ऊ आफ्नो रिस ‘अरू’माथि आरोपित गरेर आनन्द लिन्थ्यो । एककिसिम समाज परपिडक थियो । समाज ब्यक्तिको बाहिरी आवरण र आबृत्तीलाई मात्र चिन्दथ्यो । त्यहि हेरेर ऊ आफ्नो धारणा बनाउँथ्यो । ब्यक्तिमा बिकसित अन्तरको परिघटनालाई झाँक्न समाजले जानेकै थिएन । मैले भनिहाल्नु पर्छ, शीर्षकले सङ्केत गरेका ती तीन घटना ठीक यही काल/समाजमा घट्न खोजेका थिए, जुन बेला म आफ्नो प्रिय जीवनको एकदमै उर्वरकालमा थिएँ ।

दोस्रो, युवाकालमा मप्रति केही मानिसहरूको भ्रम थियो । उनीहरू सोच्थे म खेलाडी हुँ । त्यो पनि मार्सल आर्ट खेलाडी । यो भ्रम सायद त्यही बाहृय आवरण मात्र बुझ्ने तत्कालीन समाजद्वारा निस्रीत भ्रम थियो । यत्ति भएर पनि तर मलाई त्यो कला मन पर्थ्यो । मेरा केही साथीहरू त्यो खेलका खेलाडी पक्कै थिए । उनीहरूले खेल्दा मलाई पनि भित्रभित्रै चाहा हुन्थ्यो नै । ब्रूस ली, चाइनिज कुङ फु, साउलिन टेम्पल र जापानीज निन्जाका अनेक फिल्महरू म खोजी खोजी हेर्थें पनि । तिनताक काठमाडौं इन्द्रचोकभित्रको गुच्चाटोलमा भिडियो खुब देखाइने गरिन्थ्यो । दुई रूपैयाँमा एउटा भिडियो हेर्न पाइन्थ्यो । मेरो छनौटमा प्राय मार्सल आर्टका फिल्महरू नै पर्थे । कतै त्यो कला मेरो मनको कुनै अभेद्य कुनामा अर्थात अवचेतनाको कुनै तहमा लुकेको एउटा खोज पो थियो कि ! जुन म यतिखेर स्पष्ट भन्न सक्दिन ।

यति हुँदाहुँदै पनि तर अरूले अनुमान गरेको त्यो खेलाडी बन्न भने म कहिल्यै सकिनँ । सायद मेरो शारीरिक संगठन र सहनशिलता त्यो खेलको कष्टप्रद अभ्यासको लागि अनुकुल थिएन । कतिपटक त्यो कला एक्लै एक्लै अभ्यास गर्न खोजेँको पनि हुँ तर आफ्नो असमर्थताको सिमाले मलाई आफ्सेआफ रोक्थ्यो । त्यही भएर मेरो दिमागमा कतै त्यो छिपा भएर रहृयो होला र त्यसैको प्रतिच्छायास्वरूप मेरो हिडाई, चलाई र हावभावमा प्रतिबिम्बित हुन पुग्यो होला । मेरा शारीरिक अङ्गहरूको चाल र छातीको लचकले कतै अनजानमा त्यसको छनक दियो होला । त्यसैले मेरो हिँडाइ देखेर साथीहरू किसिम किसिमका टिप्पणी गर्ने गर्थे । कसैले ‘खेलाडी’ जस्तो भन्थे । धेरैले भन्थे ‘रिस उठ्दो हिँडाइ’ । कोही भन्थे ‘दादा’जस्तो । तर मलाई पटक्कै थाहा थिएन मेरो हिँडाइको कुन ढाँचा वा लयले ती कथित विशेषणहरूलाई सङ्केत गर्थ्यो ! मेरो हिँडाइबाट कसैलाई रिस किन उठ्थ्यो म नितान्त अन्जान थिएँ । त्यहि भ्रमको अफवाहले हुन सक्छ पछि केही पत्रकारहरूले समेत खेलाडीको त्यो मिथ्या कर्मसँग मलाई जोड्न भ्याए । तर उनीहरूलाई थाहा थिएन उमेरमा मैले जानी जानी कसैमाथि कुनै दुर्घटना घटाएको एउटा पनि उदाहरण कतै थिएन । खासमा मेरो मनो-भौतिक संरचना त्यसको लागि बनेकै थिएन ।

अर्को कुरा सर्टको माथिल्लो दुई तीनवटा बटन खोलेर खुल्ला छाती हिड्ने बानी थियो मेरो । यो खासगरी गर्मी मौसममा धेरै हुने गर्थ्यो । तर यसो गर्नु मेरो देखावटी सोख नभएर बाध्यता थियो । घाँटीघाँटीसम्म बटन लगाउँदा मलाई अफ्ठ्यारो र असपट महसुस हुन्थ्यो, जुन समस्या मसँग अद्यावधि छदैछ । आज पनि म त्यतिकै खुल्ला बस्दा या सुत्दा छातीमा हात नटाँसी बस्न/सुत्न सक्दिन । कता कता काउकुती लागिरहे झै भान हुन्छ । तर साथीहरू मेरो छातीको खुलापनलाई पनि कुनै मनगढन्ते ‘दादागिरि’को देखावापनसँग जोडेर टिप्पणी गर्ने गर्थे । यसरी मेरो हुलिया, हिँडाइ, हावभाव मानिसहरूको एकतर्फी टिप्पणीको कारण बनिरहृयो । मानौँ त्यो आफैसँग रिसाइरहेको क्रुध्द समाजमा म एक त्यस्तो स्वेच्छाचारी व्यक्ति हुर्किरहेको थिएँ जसको एक-एक हिसाब समाजले राख्ने गर्थ्यो ।

तेस्रो, जीवनका प्राय मसिना घटनाहरू मेरो सम्झनामा स्थिर भएर रहने गर्दैनन् । खासगरी त्यस्ता घटना जो सामान्य काँटका छन् र बैँसालु उमेरमा घटेका छन् तिनका खास लेखाजोखा हुँदैनन् । मेरो एउटा कमजोरी, त्यस्ता घटनाभन्दा पनि घटनासँग जोडिएका समय काल स्मरणमा कहिल्यै रहदैनन । म तिथि-मितिमा एकदमै कमजोर छु । र थप मेरो अर्को मुख्य कमजोरी, ती मानिसहरू जो मेरो लागि खास महत्वपूर्ण छैनन् भन्ने धारणा दिमागले बनाउँछ, तिनीहरूको हुलिया ठम्याउन वा चिन्न मेरो आँखाले एकदमै गाह्रो मान्छ । मैले कयौंचोटि कयौं मानिसको अनुहार र नाम सम्झिनमा गल्ती गरेको छु । कतिले भनेको समेत सुनेको छु, ‘यस्तो घमण्डी मान्छेसँग के बोल्नु ! कति पटक भेटेको मान्छे समेत चिन्दैन !’ कतिले यसो पनि भन्थे,  ‘हेर्दै रिसाहा जस्तो । परिचय हुनुभन्दा अगाडि बोल्न पनि डर लाग्ने ।’यतिखेर म सोंच्छु, त्यस्तो धारणा निर्माण हुनुको पछाडि सायद मेरो अनुहारको बनावटले पनि धेर थोर काम गरेको हुन सक्छ । सायद मेरो अनुहारको बनोट अलि दम्भी प्रकारको छ ।

त यत्तिका स्वभावजन्य र सरीरजन्य कमजोरीहरू थिए मेरा, जसको बावजुद ती अप्रियघटनाहरू घट्न खोजेका थिए । कल्पना गरौं । कुनै अन्जान व्यक्ति वा समूह जोसँग कहिल्यै चिनजान भएको छैन । चिन्न त के जसलाई देखेकोसम्म छैन । जोसँग बाह्र हात टाँगोको कुनै सम्बन्ध सेतु समेत जोडिएको छैन । तर अचम्म ! ठीक त्यस्तै अनजान र असम्बन्धित व्यक्तिहरूबाटै त्यस्तो दुर्घटना घटाउन खोजिएको थियो ममाथि । विनाकुनै गल्ती, विनादोष, म आफैलाई थाहा नहुने गरी मैमाथि डरलाग्दो शारीरिक आक्रमणको कोसिस भएको थियो । एकचोटि हैन तीन-तीन चोटि । त्यस्तो खतरनाक दुर्घटना जुन कुनै आकस्मिक संयोगको कारणले मात्रै जोगिन पुगेको थियो । जुन कुरा सम्झिंदा मात्र पनि यतिखेर म बडो भयभित हुन्छु । डरले थरर काम्छु ।

यति भएपछि अब लागौं, ती तीन घटनाको वृत्तान्ततर्फ । जुन क्रमशः यसप्रकार छन् । घटना नम्बर एक ।

२०३८/३९ सालतिरको कुरा हो । तत्कालीन गृह मन्त्रालय अन्तर्गतको ‘केन्द्रीय सेवा विभाग’ नामको कार्यालयमा म पहिलो दिन हाजिर गर्न गइरहेको थिएँ । ऊबेला बाहिर जिल्लाबाट आएर काठमाडौं बस्नेहरूले जीविकाको लागि कुनै न कुनै सानो तिनो अस्थायी जागिरको सरणमा पर्नै पर्थ्यो । अहिले जस्तो छ्याप्छ्याप्ती बहुराष्ट्रिय कम्पनी, निजी उद्यम र सेवा क्षेत्रहरू केही नभएको समय थियो त्यो । त्यसको लागि, खासगरी धेर थोर पहुँच हुनेहरूको लागि सानातिना सरकारी कार्यालयहरू प्रमुख विकल्पको रूपमा पर्ने गर्थे । पञ्चायतकाल थियो । जागिरको लागि पञ्चे मन्त्री, सांसद र अञ्चलाधीशहरूसँग गोरु बेचेको साइनो पहिल्याउनै पर्थ्यो । हामी जस्ता आर्थिक वर्गबाट आएका बाहिरका विद्यार्थीहरूलाई अरू विकल्प त शून्यप्राय नै थियो ।

महीनाको अन्तिम दिन तलब थापेको बेला बराबर पैसा उठाएर हामी पुतलिसडकको भट्टिपसल छिर्ने पनि भैसकेका थियौँ । म त्यतिबेला बागबजारबाट डिल्लिबजारको डाँडामा डेरा सरेको थिएँ

मेरा दाइ गोपाल छाङ्छा, पत्रकार । पत्रकारिताको माध्यमबाट उँहाको चिनजान तत्कालीन गृहमन्त्री पद्मसुन्दर लावतिसँग हुन पुगेको थियो । त्यही चिनजान र सम्पर्कको विशेष अवसरस्वरूप मलाई पनि त्यतिखेर अस्थायी नासु पद जुर्न पुगेको थियो । र, त्यही पदको नियुक्तिपत्र गोजिमा बोकेर म पहिलो दिन उक्त कार्यालयमा हाजिर गर्न पुगेको थिएँ । अफिसमा पाइला मात्र के हालेको थिएँ एकजना ठिटाले जुरुक्क उठेर मसँग हात मिलाउदै भन्यो – ‘ओहो ! तपाईं पनि यहाँ ?’

मैले सोचेँ यहिँको कुनै पुरानो कर्मचारी होला । सायद मलाई पहिले नै कतै चिनेको हुन सक्छ । उत्तरमा मैले भनेँ – ‘हो त, अनि तपाईं ?’

उसले भन्यो – ‘म पनि आजैको नियुक्ति । तपाईं जस्तै । तपाईंभन्दा एक्कैछिन अगाडि मात्र हाजिर भाको’।

पछि थाहा भो । ऊ पनि त्यही दिनदेखि त्यस कार्यालयको कर्मचारी हुन पुगेको रैछ । म जस्तै । संयोग पनि कस्तो ! एउटै दिन । एउटै पद । अझ दुवैलाई एउटै मन्त्रीको अनुकम्पा । उसले मलाई पुतलिसडक वा बागबजार कतैतिर देखेर ख्याल गरिरहेको हुँदो हो । त्यसैले मलाई त्यहाँ देख्नसाथ चिनेको थियो । तर मेरो लागि भने ऊ नितान्त अन्जान मान्छे थियो । उसले जस्तो ‘नोटिस’गर्न सक्ने क्षमता नहुनु मेरो पुरानै कमजोरी जो थियो ।

ऊ थियो मन्त्रीकै छिमेकी जिल्लावासी तेह्रथुमे लिम्बू युवा । जागिरको एउटै स्रोत व्यक्ति र अनुवंशीय/क्षेत्रीय निकटताको कारणले हामी त्यही दिनदेखि घनिष्ट हुन पुग्यौँ । दुई चार दिनपछि त हाम्रो ‘तपाईं’ भन्ने आदरार्थी शब्द ‘तँ’मा बदलिसकेको थियो ।

महीनाको अन्तिम दिन तलब थापेको बेला बराबर पैसा उठाएर हामी पुतलिसडकको भट्टिपसल छिर्ने पनि भैसकेका थियौँ । म त्यतिबेला बागबजारबाट डिल्लिबजारको डाँडामा डेरा सरेको थिएँ ।

केही महीना पछाडि । तलब थापेको कुनै एक साँझ हामी सदाझैँ पुतलिसडकको एक भट्टपिसलमा थियौँ । हामी त्यतिखेर जावलाखेल डिष्टिलरिको खुल्ला र सस्तो रातो मदिरा पिउँने गर्थ्यौँ । खासमा त्यो रातो झोल हामी जस्तै आर्थिक हैसियत कमजोर भएका तर केही सोख पाल्दै गरेकाहरूका लागि उपयुक्त रक्सी थियो । पिउँदा पिउँदै अचानक उसले भन्यो – ‘बुझिस्, यो जागिरले गर्दा तँ बाल बाल बँच्न पुगिस् ।’

अचानकको त्यो प्रसँगले मलाई कुनै अवोध र निर्दोष बालकलाई झैँ उत्सुक बनायो र सोधेँ – ‘कसरी ?’

भन्यो – ‘यो जागिरले भेट नगराएको भए तेरो र मेरो चिनजान हुदैनथ्यो । तँ र म साथी हुदैनथ्यौँ । यति नभएको भए तँ हाम्रो साङ्घातिक हमलामा पर्ने थिइस् ।’

‘हमला भन्नाले ?’ – मैले सोधेँ ।

भन्यो – ‘भौतिक आक्रमण। तेरो धोबी धुलाई… ।’

‘किन ?’

‘किनकि तेरो हिडाई हामिलाई मन पर्दैनथ्यो । कुनै ठुलै डन जस्तो छाती खोलेर हिडि्थस् । मान्छेलाई मान्छे गन्दैन थिइस् । यो कुन दादा रैछ, यसलाई ठीक नपारी हुदैन भनेर हामी साथीहरू बीचमा कुरा गर्थ्यौँ । त्यसको लागि हामिले ठूलै समूह तयार पारिसकेका थियौँ ।’

‘चिन्दै नचिनेको मान्छेलाई त्यसो गर्न पाउँछस् ? के बिगारेको थिएँ मैले तिमीहरूको ? मेरो हिँडाइले कसलाई के बाधा पुर्‍याएको थियो ?’

‘हाम्रो आँखालाई बाधा पुर्‍याएको थियो ।’ अन्त्यमा उसले भन्यो – ‘हाम्रो युवा अहं र अभिमानमाथि धावा बोलेको थियो त्यसले । सार्वजनिक ठाउँमा हामीलाई नपच्ने त्यस्तो एकल हर्कत देखाउन पाउँछस् तैँले ? धन्य समयमै हाम्रो चिनजान भयो र राम्रो भयो । नत्र तेरो हड्डीको टुक्रा पनि कसैले गन्न भियाउँदैनथ्यो । जे होस् बाल बाल बँचायो यो जागिरले तँलाई ।’

संयोगवश नघटेको पहिलो घटना थियो यो जसलाई जागिरको आकस्मिक संयोगले जोगाएको थियो । संयोगको अर्को प्रमुख कडी भने त्यही तेह्रथुमे साथी थियो जोसँगको चिनजानले मलाई एउटा डरलाग्दो आक्रमणबाट बँचाएको थियो । यदि ऊसँग चिनजान नभएको भए के हुन्थ्यो ? त्यसको अनुमानित नतिजा त उसकै मुखारविन्दुबाट प्रकट भैसकेकै थियो । यतिखेर सोँचमग्न हुन्छु म । किन त्यसरी अनाधिकार छाती खोलेर हिड्ने गर्थेँ म ? जुन उनीहरूलाई मन पर्दैन थियो । मन नपरेपछि स्वभाविक थियो मैले सजायको भागिदार बन्नै पर्थ्यो । किनभने उनिहरू तात्कालिक समाजका नियामकहरू थिए । र, तात्कालिक समाज कुनै अमुक व्यक्तिको बाहृय आवरण हेरेर धारणा बनाउँथ्यो कि ऊ कुनै खतरनाक मान्छे हो । तर सौभाग्यवश त्यस्तो दुर्घटना हुन पाएन । संयोगले तेह्रथुमे नियामकसँग मेरो परिचय हुन पुगेको थियो । ऊ मेरो दु:ख-संहारक भगवान थियो । म उसैको अनुकम्पाबाट बाल बाल बँचेको थिएँ ।

घटना नं. दुई । कुरा ४०/४१ साल तिरको हो । एकजना अर्को साथी थियो ओखलढुङ्गे स्वप्नजीवी तन्नेरी । कलेजको सुरूआती दिनदेखिकै जिग्री । अर्थ आर्जनको लागि जस्तोसुकै काम गर्न तयार । त्यतिखेरै देखि ऊ घरभित्र स्विमिङपुल भएको बिल्डिङ र श्रीमतीको केँसराशी लहराउदै गुड्ने गाडिको सपना देख्थ्यो ।

यस्तैमा एक पल्ट मेरा उनै दाईको सम्बन्ध सेतु पहिल्याएर ऊ सडकको ठेक्का पट्टा गर्न इलामतिर लाग्यो । इलामको डिभिजन इन्जिनियर दाइको परिचित व्यक्ति थियो । दाइकै पत्रमार्फत उसले सडकको पेटि कन्ट्र्याक्ट पायो । त्यतिखेर इलामबाट पाँचथर हुँदै ताप्लेजुङसम्मको सडक रेखाङ्कति हुदैथियो ।

नभन्दै त्यो दादा एक जना साथीसँग टुँडिखेल लाइनबाट उँभो चोक बजारतिर हल्लिदै आइरहेको थियो । जब त्यो दादा चोक बजार हुँदै केही नजिक मात्र आइपुगेको थियो अचानक मैले त्यहा तपाईंलाई देखेँ । म आश्चार्यचकित भएँ । साथीहरूले ठानिरहेको त्यो खतरनाक दादा कसरी तपाईं पर्नु भयो ?

म जागिरे नै थिएँ । एकदिन ऊ इलामबाट फर्क्यो र मेरो अफिसमा आएर भन्यो – ‘के खान्छस् यस्तो जाबो जागिर ! महीनाको हजार रूपैया तलब पनि नपाइने । बरू हिड् सडकको ठेक्का पट्टा गर्न, महिनामा लाखौँ कमाइन्छ ।’

म उसको कुराले अवाक बनेँ । त्यतिखेर हाम्रो लागि लाख रूपैया भनेको शब्दबाट प्राप्त हुने स्वैरकाल्पनिक सौन्दर्य बाहेक अरू केही थिएन । त्यसैले बडो आश्चर्यचकित बन्दै मैले भने – ‘साँच्चै हो ?’

उसले भन्यो – ‘साच्चै हो नि । छाडिदे अब यो जागिर सागिर । महीनौँ कुर्सिमा टाँस्सिएर के पाउँछस् ! बरू केही पैसाको व्यवस्था गरेर हिड् ।’

महीनाको ८१५ तलब पाउने मान्छेलाई लाखौँको दिवास्वप्नले यस्तरी गाँज्यो, मैले भोलिपल्टै त्यो अस्थायी नासु पदबाट राजीनामा दिएँ ।

त्यतिखेरै गाउँबाट आमा बाबा काठमाडौं आउनु भएको थियो । काठमाडौंकै कुनै एक ठाउँमा सानो घडेरी बैना गर्नको लागि गाउँको ठूलो खेत बेचेर केही पैसा ल्याउनु भएको थियो । यो कुरा साथिलाई पनि थाहा थियो । उसले त्यही पैसा आमासँग माग्ने अनुपम उपाय सुझायो । यसको लागि उसले पनि निकै ठूलो कला प्रदर्शन गर्यो । ‘एक महिना पछि त लाखौँ आइहाल्छ, त्यतिखेरै बैना दिने’ सर्तमा आमाको थैली उघ्रियो ।

आमाको पटुकिमा कसेको ४०/५० हजार रूपैया लिएर अब हाम्रो यात्रा इलामतिर सोझियो । अफिसमा केही समय बँधुवा जीवन भोगिरहेको एक फिरन्ते युवकलाई सोचेकै कुरा पाए जस्तो भयो । साथिको काम गर्ने सडक क्षेत्र अथवा उसले पाएको टुक्रे कन्ट्र्याक्ट पाचथर पौवा भन्ज्याङमा रहेछ । इलामबाट त्यहा पुग्न लगभग ५/७ घण्टा पैदल हिड्नुपर्थ्यो । तर बिर्तामोड चारालीबाट उकालो लाग्न नपाउँदै रङ्गनि दैनिकी सुरू गरेका हामीफलाई त्यहासम्म पुगिरहने दरकारै भएन । पैसा गोजिमा छदै थियो । हामी महिनौँ इलाममै रहृयौँ । मुस्किलले एकाध पटक पौवा भन्ज्याङ पुगियो होला जतिखेर कामको लागि भनेर लगेको पैसा लगभग सिद्दिसकेको थियो । ठेक्का पट्टा र महीनाको लाखौँ रूपैया त के फर्किने पैसा समेत नभएर पछि पुनः दाइबाटै बाटो खर्च मगाएर काठमाडौं र्फकनु पर्यो । ओखलढुङ्गे स्वप्न्जीवी साथिको पछि लागेर यसरी मैले आमाको थैली त सखाप पारेँ नै छदा खाँदाको जागिर पनि गुमाउन पुगेँ ।

यो कथा संयोगवश नघटेको दोस्रो घटनाको सानो तार्तम्यको लागि मात्र यहाँ जोड्नु परेको हो । अप्रत्यासित दुर्घटनाको उद्घाटन त त्यतिखेर भयो जतिखेर म एक असफल ठेकेदार भएर इलामबाट काठमाडौं फर्किएको मात्र थिएँ ।

म रत्न राज्य कलेजको भुतपूर्व विद्यार्थी । त्यसैको पासमा ल क्याम्पस पढ्ने एकजना इलामकै परिचित भाइ थियो । उसले एकदिन अचानक मलाई बाटोमा भेटेर भन्यो – ‘तपाइलाई थाहा छैन होला दाइ, इलाममा एउटा ठूलो आक्रमणबाट तपाईं बच्नु भो नि…।’

अचानक उसको कुरा सुनेर म त्यसरी नै बिस्मित भएँ जसरी थेह्रथुमे भगवानको कुरा सुन्दा भएको थिएँ । मैले त्यही भाँतीमा आश्चार्य मिस्रीत जिज्ञासा राखेँ – ‘कसरी ?’

उसले भन्यो – ‘भखरै मात्र तपाईं इलाम जानू भएको रैछ । संयोगले म पनि त्यतिबेला इलाममै थिएँ । एक साँझ बजारका साथीहरूलाई कसैमाथि आक्रमण गर्ने गुप्त योजना बनाइरहेको अवस्थामा भेटेँ । कसैले छुरी, कसैले साइकलको चेन, कसैले फलामका रडहरू हात हातमा बोकिरहेका थिए । मलाई पनि साथ दिनको लागि उनीहरूले अनुरोध गरे । मैले सोधेँ – कसको लागि हो यतिका तयारी ? को हो त्यो ?

उनीहरूले भने – छ एउटा केटा । काठमाडौंबाट आएको रे । मार्सल आर्ट खेलाडी रे । बडो छाती खोलेर हिँड्छ । दादा पल्टिहिड्छ हाम्रो ठाउँमा ।’

ऊ भनिरहेको थियो – ‘मलाई बडो उत्सुकता जागेर आयो । को रैछ त्यस्तो डरलाग्दो दादा जसको लागि यत्तिका धेरै तयारीको आवस्यकता पर्न गयो ! आक्रमण गर्नुभन्दा पहिले मलाई एक झलक त्यो दादा हेर्न मन लागिरहेको थियो । हामी दादालाई ढुकेर चोक बजारमा लुकेर बस्यौँ । साथीहरू हमलाको पूर्ण तयारिमा थिए ।

नभन्दै त्यो दादा एक जना साथीसँग टुँडिखेल लाइनबाट उँभो चोक बजारतिर हल्लिदै आइरहेको थियो । जब त्यो दादा चोक बजार हुँदै केही नजिक मात्र आइपुगेको थियो अचानक मैले त्यहा तपाईंलाई देखेँ । म आश्चार्यचकित भएँ । साथीहरूले ठानिरहेको त्यो खतरनाक दादा कसरी तपाईं पर्नु भयो ? मैले हत्त पत्त साथीहरूलाई भनेँ – धत, उहाँ त काठमाडौंमा हामीले चिनेको दाइ पो हो । उहाँ न दादा हो । न मार्सल आर्ट खेलाडी । बरू अत्यन्तै सरल र मिलनसार मान्छे हो । साथीहरू मेरो कुरा सुनेर खत्र्याक खुत्रुक भए । तम्तयार हतियारहरू हातबाट छुटे । त्यसपछि तपाइले थाहै नपाइ हामी त्यहाबाट अलप भयौँ ।’

इलामे भाइको कुरा सुनेर म फेरि अर्को पल्ट स्तब्ध भएँ । एकछिन त प्रतिक्रिविहीन भएर जडवत उसलाई हेरिरहेँ । झट्ट सम्झेँ, इलामको खाने पानी अफिसमा मेरा एकजना गाउले मावली दाइ (स्व. नारायण राई) निकै वर्ष अगाडिदेखि कार्यरत थिए । त्यहाँ आफ्नो गाउँले दाइ भाइ भेटिँदा हामी दुवै हर्षित थियौँ । उनैसँग हामी अक्सर हरेक साँझ सिरानको चियाबगानबाट टुँडिखेल झर्ने गर्थ्यौँ । टुँडिखेल लाइनबाट तोङ्बा तानेर हामी राति चोक बजार हुँदै निस्कन्थ्यौँ । तर दैनिक जसो ओहोरदोहोर गर्ने इलाम बजारको त्यो उकाली ओराली बाहेक एक जना पनि कसैलाई चिनेको थिइनँ मैले । एक जना पनि कसैसँग अनाहकमा ठोक्किएको थिइनँ म । कसैलाई घुरेर पनि हेरेको थिइनँ मैले ।

तब कसले गढ्यो मेरो दादागिरीको कपोल्कल्पित कहानी त्यहाँ ? कसरी एक अन्जान मान्छेसँग एकाएक रिसाएका थिए त्यहाँका मानिसहरू ? अचम्म ! फेरि अर्कोचोटि मेरो हिँडाइ नै दुस्मन बनेको थियो एउटा निन्दक समाजको लागि । अपच बनेको थियो मेरो छातीको स्वच्छन्दतापन ? मानौ त्यो रूष्ट समाजले बनाएको मापदण्डभन्दा एक इन्च पर बाँच्ने अनुमति थिएन मलाई । यदि त्यो ऐनमौकामा त्यो परिचित भाइ नहुदो हो त के हुन्थ्यो मेरो हालत ? अहिले पनि ढक्क आङ फुलेर आउँछ मेरो ।

त्यति सन्देश दिइसकेर इलामे भाइले आफ्नो बाटो ततायो । मैले परैसम्म उसलाई हेरिपठाएँ । त्यो भाइ जो मेरो आकस्मिक संयोगको दोस्रो देवदूत थियो । उसकै कारणले म दोस्रोचोटि बाल बाल बँचेको थिएँ ।

घटना नं. तीन । ४३/४४ साल । काठमाडौं बसाइँको एकरस र एकोहोरोपनाबाट नयाँ त्राण खोज्नको लागि केही समयको लागि म धनकुटातिर लागेँ । छिमेकि जिल्ला भए पनि त्योभन्दा अगाडि म त्यहाँ कहिल्यै पुगेको थिइनँ । काम पाएको थिएँ एस.सि.एफ. (यु.के.) नामक एक विदेशी आइएनजिओको स्कुल सुपरभाइजर । धनकुटा जिल्ला ब्यापी स्कुलहरूको स्वास्थ्य स्थितिको निरीक्षण र शिक्षकहरूलाई स्वास्थ्य सम्बन्धी तालिम दिदै हिँड्नु पर्थ्यो । साथमा ‘र्फस्ट एड’का स्वास्थ्य सामग्रीहरू पनि वितरण गर्दै हिड्नु पर्ने । आफू स्वास्थ्यकर्मी नभए पनि संयोगले काम पाको थिएँ त्यस्तो ।

यहि क्रममा एकचोटि छिन्ताङ गाउँको आँखिसल्लास्थित स्कुल भिजिटको पालो थियो । छिन्ताङ गाउँ किराँती राई समुदायको घना बस्ती भएको गाउँ हो । हामी तालिमको लागि स्वास्थ्य सामग्रीको भारिसहित चार पाँचजना स्टाफ त्यतातिर रमाना भयौँ । बेलुकी आँखिसल्लाकै हेल्थ पोष्टको क्वाटरमा बास पर्यो ।

फिल्डमा हिडेको बेला साँझपख पिउँने, खाने रमाइलो माहोलको विशेष व्यवस्था हुनु हाम्रो समूहको लागि सामान्य तर अनिवार्य कुरा जस्तै थियो । त्यहाँ पनि त्यो हुने नै भयो । त्यही माहोलमा हामी रम्न मात्रै के लागेका थियौँ एक्कासी क्वाटर बाहिर ठूलो हङ्गामा, हल्ला खल्ला सुनियो । झ्याल खोलेर हेर्यौँ । बाहिर एक हुल मानिसहरूले हामी बसेको क्वाटर घेरिरहेका थिए । प्रष्टै थियो तिनिहरूले हामीलाई नै लक्षित गरिरहेका थिए । तिनीहरूले हात हातमा घोचा घारो, लाठी, भाला, खुकुरी आदि बोकिरहेका थिए । अचम्म ! यो के हो ? सोच्दै नसोचेको कुराले हामी एकछिन त किंकर्तव्यबिमुढ जस्तै बन्यौँ ।

निकै बेर यही स्थिति रहेपछि हामीले झ्यालभित्रैबाट उनीहरूसँग संवाद गर्यौँ – ‘के भो तपाईंहरूलाई ? समस्या के हो भन्नुस् ।’

बाहिरबाट उनीहरूले जे भनिरहेका थिए त्यो सुनेर हामी फेरि अर्कोचोटि अच्चम्मित भयौँ । आस्चार्य त यो थियो कि उनीहरूले मेरो नाम लिदै मलाई गालीको वर्षा गरिरहेका थिए – ‘यो साला आफूलाई निकै ठूलो मान्छे ठान्दो रैछ… ब्ल्याक बेल्ट हो अरे । यसलाई ठीक नपारी छाडिन्न…।’ यो सब काममा एकजना स्थानीय युवकले अगुवाइ गरिरहेको देखिन्थ्यो, जसले निकै आवेगका साथ मेरो नाम लिइरहेको थियो ।

कहिल्यै नटेकेको गाउँ । एकजना कोही नचिनेको ठाउँ । कसरी यिनीहरूले मेरो नाम लिइरहेछन ? कसले सुनायो तिनीहरूलाई म ब्ल्याक बेल्ट हो भन्ने झुटो कुरा ? एक अन्जान मान्छेमाथि किन त्यत्रो दोषारोपण ! के थियो म जस्तो नितान्त अपरिचित र निर्दोष मान्छेसँग तिनीहरूको दुस्मनी ? यी सब कुरा बुझ्न नसकेर म साच्चिनै अवाक थिएँ ।

केही गरेर पनि उनीहरू त्यहाँबाट हट्ने संकेत नदेखिए पछि अन्त्यमा हामीले बन्द कोठाभित्रै एउटा निर्णय गर्यौँ । हाम्रो समूहमा एकजना हाम्रा कार्यक्रम अधिकृत दाइ (स्व. टिकाराम राई) पनि थिए, मेरै जिल्लावासी । उनैको सल्लाहा अनुसार उनी र मैले हातमा एक एकवटा खुकुरी लिने भयौँ । ढोका खोलेर बाहिर निस्कने र नडराइ उनीहरूसँग संवाद गर्ने निर्णय गर्यौँ ।

खुकुरीको साथमा जब हामी चार पाँच जना निडरताका साथ बाहिर निस्क्यौँ, अचानक उनीहरू केही हच्किए जस्तो देखिए । यही मौका छोपेर हामिले भन्यौँ,  ‘हामी तपाईंहरूकै सेवाको लागि भनेर आएका कर्मचारी । अचानक हाम्रै आक्रमणमा किन उत्रिनु भयो ? के छ त्यस्तो समस्या ? लु आउनोस भित्र कोठामा छलफल गरौँ ।’

केही गलफत्ति पछि उनीहरू हाम्रो प्रस्तावमा सहमत भए । र, छलफलको लागि आठ/दस जना क्वाटरभित्र गुरुरु प्रवेष गरे । बाँकीलाई बाहिरै छाडेर ढोका बन्द गरियो ।
भित्र छिरेपछि मैले भनेँ ,  ‘कुरा सुन्दा तपाईंहरूको मुख्य दोषी मै हुँ जस्तो लाग्यो । तर मैले त तपाईंहरू कसैलाई चिनेको सम्म छैन । चिन्दै नचिनेको मान्छेले तपाईंहरूको के बिगार गरेको होला ? र, त्यस्तो अपरिचित मान्छेसँग तपाईंहरूको के दुस्मनी हुन सक्छ ?’

मेरो कुरा सुनिसकेपछि त्यही अगुवा केटो अगाडि बढ्यो र थोरै नरम भएर भन्यो, ‘नचिनेको हैन । तपाईंले मलाई चिन्न अस्वीकार गर्नुभयो । चिनेर पनि नचिने झै गर्नुभयो ।’

जवाफमा मैले भनेँ, ‘चिनेको रे ! काहाँ ? मलाई त थाहा भएन त !’

ऊ फेरि बाहिरको जस्तै कडि्कयो,  ‘त्यही भएर मैले यो कदम चाल्नु परेको हो । तपाईंको घमण्ड तोड्नको लागि । राम्ररी सम्झिनु स, हाम्रो चिनजान भएको छ । एकचोटि हैन तीन-तीन चोटि । र त्यति नै चोटि तपाईंले मलाई बेवास्ता गर्नु भएको छ । नचिने झै गर्नु भएको छ ।’

तिनीहरूले हाम्रो ठडिइरहेको बोतल आफ्नै जस्तो ठानेर घुट्क्याउन थाले । हाम्रो अनुमतिविना नै भाँडामा तयार कुखुराको परिकारमाथि हमला गर्न थाले । आफैं भान्से भएर सबथोक एकैछिनमा सफाचट पारे र हेर्दा हेर्दै आँधी जस्तै कोठाबाट बाहिरिए

उसको कुरा सुनेर म फेरि छक्क परेँ र भनें,  ‘तीन-तीन चोटि ? लौ भन्नोस कहाँ ? कहिले ?’

अब उसले दिन थाल्यो हाम्रो चिनजानको अनौठो फेहरिस्त,  ‘ल सुन्नुस, पहिलोचोटि धरानबाट काठमाडौं जाँदा । एउटै रात्रि बसमा, एउटै सिटमा बसेर हामी गएका थियौँ । रातभरि सँगै खादै, सँगै पिउँदै बिहान बागबजारमा छुटेका थियौँ । यो करिब एक डेड वर्ष अगाडिको कुरा हो । दोस्रोचोटि ,यही धनकुटा सदरमुकाममा । जिल्ला शिक्षा कार्यालय अगाडि हाम्रो पुनःभेट भएको थियो । हामीले हात मिलाएका थियौँ । तर तपाईंले नचिने झै गर्नु भएको थियो । यो तपाईं धनकुटा आइसकेपछि, लगभग दुई अढाइ महीना अगाडिको कुरा हो । र तेस्रो चै, आज नै । भखरै तीन चार घण्टा अगाडि । हाम्रै स्कुलको प्राङ्गणमा । हाम्रो तेस्रो भेट भएको थियो । मैले तपाईंलाई तपाईंको नामबाटै बोलाएको थिएँ । तर फेरि तपाईंले चिने जस्तो बर्ताव देखाउनु भएन । यही भएर मेरो धैर्यताको बाँध फुट्यो । आफ्नै गाउँ ठाउँ, आफ्नै स्कुलमा तीन-तीनचोटिको भेटपछि पनि नचिने जस्तो गरेपछि मेरो अहंमाथि गम्भीर धक्का लाग्यो । मेरो समस्या अरू केही छैन । अरू कसैसँग कुनै दुस्मनी पनि छैन । समस्या भन्नु मेरो यत्ति हो ।’

उसको फेहरिस्तले मलाई फेरि अर्कोचोटि बिस्मित तुल्यायो । यदि उसको फेहरिस्त साँचो थियो भने त्यो घटनाको कारक तत्त्व मेरै स्मृतिदोष थियो । मेरो स्मृति-ग्रन्थी जसले कुनै अमुक कुरालाई आवस्यकताभन्दा बढी महत्ताहीन ठानेर कैहिलेकाहीँ भयानक कमजोरी देखाउँछ त्यो सम्झेर भित्रभित्रै मलाई पश्चाताप पनि लाग्यो । तर पश्चाताप गर्नुको खास अर्थ पनि थिएन त्यो बखत । किनभने त्यो मेरो स्वभावजन्य कमजोरी थियो र जसको कारणले एउटा सम्भावित दुर्घटना झण्डै झण्डै घटाइसकेको पनि थियो । त्यसैले मैले आफ्नो कमजोरीको कुनै संकेतसम्म नदिइ भनेँ, ‘त्यतिको कुरामा तपाईंले जे गर्न खोजिरहनु भएको छ, सायद ठीक गरिरहनु भएको छैन । यो तपाईंको आफ्नो ठाउँ हो ।

तपाईंसँग यतिखेर आफ्नो ठाउँको बल छ । समूहको बल छ । तपाईं जे चाहानु हुन्छ त्यो गर्न सक्नुहुन्छ । तर तपाईंको आक्रमणबाट हामी मरेनौँ, बाँचेर गयौँ भने तपाईंले पनि सदरमुकाम टेक्नु पर्छ होला । त्यही बाटो भएर धरान र्झनु पर्छ होला । कैलेकाही काठमाडौं जानुपर्छ होला । यदि यस्तै बदलाको भाव साँध्ने हो भने त्यसले कहाँ पुर्‍याउँछ ?’

डुबेको मान्छेले अन्तिम सहाराको लागि त्यान्द्रो समाए जस्तै मैले पनि त्यहाँ एउटा तर्कको त्यान्द्रो समाएँ, जसको पछाडि अप्रतक्ष धम्की वा चुनौती पनि मिसिएको थियो सायद । खासमा मलाई हेर्नू थियो बदलाको मातले उन्मत्त त्यो भिडमा मेरो कुराले के असर छाड्ने छ !

अनौठो भयो । मेरो कुरा सुनिसकेपछि त्यहाँको उत्तेजित माहोल एकाएक शान्त भयो । एक्कासी त्यो आक्रमक दस्ताको उही अगुवाले भन्यो, ‘ल अब झगडा नगर्ने ।’ मप्रति सङ्केत गर्दै उसले फेरि भन्यो, ‘उहाँसँगको दुस्मनी अब समाप्त । फेरि भएन तपाईंहरू हाम्रै लागि भनेर आउनुभएको । भोलि हाम्रो स्कुलको कार्यक्रम राम्रोसँग सम्पन्न गर्नु होला । म सम्पूर्ण रूपले सहयोग गर्नेछु । म आफैं यस स्कुलको शिक्षक पनि हुँ । बरू ल्याउनोस् तपाईंहरूको साँझको खाने कुरा । अब खान पिन गरेर रमाइलो गरूँ ।’

अचानक थाहा हुन गयो भखरैसम्मको एक आक्रमक अगुवा त्यो स्कुलको शिक्षक पनि थियो जहाँ भोलि हामी स्वास्थ्य तालिमको कार्यक्रम चलाउँदैथ्यौँ । झलक्क सम्झेँ, केही घण्टा अगाडि मात्र हामी यहाँ आइपुगेको सूचना दिनको लागि हाम्रो टोली स्कुल भवन छिरेको थियो । त्यहाँ एक युवकले मसँग मेरो नामबाट बोलाएर हात मिलाएको थियो । र, यतिखेर प्रष्ट भएको थियो त्यो त्यही युवक रहेछ जसले एकैछिन अगाडिसम्म त्यो घटनाको नेतृत्त्व गरिरहेको थियो । जे होस त्यो मेरो अन्तिम त्यान्द्रोले सम्भवत काम राम्रै गरेको थियो ।

त्यसपछि तिनीहरूले हाम्रो ठडिइरहेको बोतल आफ्नै जस्तो ठानेर घुट्क्याउन थाले । हाम्रो अनुमतिविना नै भाँडामा तयार कुखुराको परिकारमाथि हमला गर्न थाले । आफैं भान्से भएर सबथोक एकैछिनमा सफाचट पारे र हेर्दा हेर्दै आँधी जस्तै कोठाबाट बाहिरिए ।

यसरी तेस्रो सम्भाबित दुर्घटना पनि टरेर गएको थियो । त्यहाँ हाम्रो एउटा रमाइलो साँझ बिथोलिएको थियो तैपनि हामीले सन्तोषकै सास फेर्यौँ । किनभने हामी एउटा अकल्पनीय हमलाबाट जोगिएका थियौँ । यसपल्ट आकस्मिक संयोगको रूपमा संयोजित हुन गएको थियो हामीभित्रकै त्यो साहसिक निर्णय र त्यो प्रभावकारी तरिका । त्यसलाई संपुष्ट बल पुर्‍याएको थियो मेरो एक त्यान्द्रो चुनौतीले । यदि समयमा त्यो तरिका नसुझेको भए के हुन्थ्यो ? सोँच्दा पनि यतिखेर म विचलित हुन्छु । डरले भित्रभित्रै काँप्छु । जे होस त्यो सानो संयोगको कारण यसपल्ट पनि म बाल बाल बच्न पुगेको थिएँ ।

उत्तरकथन :

तीन घटनाको बृत्तान्त अब यत्ति । अब अन्त्यमा यसैका बारेमा मभित्र सधैँ खटि्करहने मसिना दुई प्रश्न – जसको दुई टुक जवाफ यतिखेर असम्भवप्राय छ – तिनलाई एकपल्ट स्मरण गरेर यो लेखोट टुङ्ग्याउँन चाहान्छु।

पहिलो, ती अप्रियघटना जुन मेरो प्रियजीवनमा, मेरै स्वभावजन्य कमजोरी (खासगरी आफ्नै शारीरिक गतिविधि) का कारण घट्न खोजे र फेरि अनेक संयोगका कारणले जोगिन पुगे । यदि साच्चै घटेको भए के हुन्थ्यो ?

दोस्रो, ती घटना जुन समाज र समयकालमा घट्न खोजेका थिए त्यसका लागि आधिकाधिक प्रतिशत दोषी को ? आफैसँग रिसाइरहेको त्यो रूग्ण समाज ? अथवा त्यही समाजको एक उत्पादन म ?

अन्त्यकथन :

प्रस्तुत आलेख कुनै समयको घटनाउपर उठेका प्रश्नहरूको सम्भावित उत्तरको खोज हैन । त्यो मेरो उद्देश्य हुँदै हैन । त्यसै पनि उत्तरहरू सर्बदा एकै र समान नहुन सक्छन् । ती समय र समाज सापेक्ष हुन्छन् । मेरो उद्देश्य त झण्डै साढे तीन दसक पुरानो समाज र त्यसको जर्जर ऐनाभित्र आफ्नो एक धूमिल तश्वीर उतार्नु हो । जुन काम मैले यत्तिका बृत्तान्त दिंदा दिंदै सायद गरिसकेको छु । र, मलाई राम्ररी थाहा छ, यो अरू कसैको सरोकार वा सार्वजनिक रूचिभित्र पर्ने विषय पक्कै हैन । तथापि मैलेचाहिं अब यसलाई आफ्नो स्मृतिको एल्बमभित्र कहिल्यै नमेटिने गरी कैद गरिसकेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?