+
+

मुनाको सांगीतिक यात्रा : एकादशी मेलादेखि अमेरिकासम्म

सुशील नेपाल सुशील नेपाल
२०७८ मंसिर ४ गते १९:००

सिमसिम पानी पछ्यौरी भिज्यायो
फेरि उनकै मायाले बिझायो
चिसो-चिसो, हावा सरर
रुमाल फरर

लोकदोहोरी क्षेत्रमा यो गीत नसुन्ने विरलै होलान् । प्रेम विरहको यो गीतले लोकगायिका मुना थापा मगरको गायकीलाई शिखरमा पुर्‍यायो । लगत्तै सार्वजनिक गीत ‘तिते करेलीले’ लोकदोहोरी प्रेमीले उत्तिकै रुचाए । १२ वर्ष अगाडि सार्वजनिक यी गीतहरूपछि मुनाले सांगीतिक करिअरमा पछाडि फर्किनुपरेन् । झण्डै एक दशक उनी लोकदोहोरी क्षेत्रमा गायकीका कारण चर्चाको शिखरमा रहिन् ।

लोकदोहोरीमा विशेषगरी प्रेम-विरहको ठेट भाकामा स्रोताले मुनालाई बढी रुचाए । दर्जनौं लोकदोहोरी गीतको थुप्रै लगाएकी मुना गायनमा सक्रिय रहँदा कहिल्यै विवादमा आइनन् । सधै सरल, सौम्य र शान्त रहेर गीतमार्फत स्रोता एवं दर्शकको मन जितिरहिन् । सांगीतिक क्षेत्रमा व्यस्ततामा रहँदै गर्दा तीन वर्ष अगाडिदेखि भने उनी अमेरिका बस्न थालिन् । उनै मुना यतिबेला भने नेपालमा छिन् । दशैं अगाडि नेपाल आएकी मुना अझै केही समय यतै रहनेछिन् ।

‘आएको डेढ महीना हुन लाग्यो । अझै डेढ-दुई महीना नेपालमै रहनेछु’ काठमाडौं अनामनगरमा अनलाइनखबरसँगको भेटमा मुनाले सुनाइन् ‘तीन वर्षपछि परिवारसँग दशैं-तिहार मनाउन पाएँ, एकदमै रमाइलो भयो । काठमाडौंमा रहनुभएका सांगीतिक क्षेत्रका केही व्यक्तिहरूसँग भेट भयो । धेरैसँग भेट्न अझै पाएकी छैन् ।’

यतिबेला काठमाडौंमा रहँदै गर्दा मुना नयाँ गीतको तयारीमा छिन् । ‘आएको बेला गीत नल्याई जान मनले मान्दैन्,’ मुना भन्छिन्, ‘अहिले त्यसैको तयारीमा छु । मलाई माया गर्नुभएका स्रोता एवं दर्शकहरूको माया पाउँछु जस्तो लाग्छ ।’

मुना कसरी लोकदोहोरीमा उदाइन्, अनि कसरी सफलता हात पारिन् ? अनलाइनखबरसँगको भेटमा उनी रोमाञ्चक हुँदै आफ्नो विगत सुनाइन् ।

*** ***

त्यसपछि उनले गायिका मैना रेश्मी मगरसँग मिलेर ‘छोरी’ एल्बम ल्याएकी थिइन् । सोही एल्वममा समावेश गीत हो, ‘चिसो चिसो हावा सरर’ । २०६६ सालमा सार्वजनिक यो गीत निकै चलेको मुना बताउँछिन् । त्यसपछि राजु गुरुङसँगको स्वरमा सार्वजनिक ‘तिते करेलीले’ गीतले अझ धेरै चर्चा पायो । त्यस्तै, क्रमशः ‘मैले मन पराएको छु’, ‘यो संसारको रित’ लगायतका गीतहरू रुचाइँदै गए ।

गोर्खा जिल्लाको मनकामनामा सामान्य परिवारमा जन्मिएकी हुन् मुना । घाँसदाउरा-मेलापातमा जाँदा त उनी गीत गुनगुनाउँथिन् । तर, एकदिन उनलाई अनायासै स्टेजमा उक्लिएर दोहोरी गाउनुपर्ने भयो । जतिबेला उनी भर्खरै १३/१४ वर्षकी थिइन् ।

प्रसंग यस्तो थियो –

मुना साथीहरूसँग छिमेकी जिल्ला तनहुँस्थित सत्रसय आँधीमुलमा एकादशी मेला हेर्न पुगेकी थिइन् । मेलामा दोहोरी प्रतियोगीता समेत आयोजना गरिएको थियो ।

गाउँका केही साथीहरू दोहोरी प्रतियोगीतमा भाग लिन गएका थिए भने मुना उनीहरूसँगै मेला हेर्न गएकी थिइन् । मेलामा पुगेपछि दोहोरी प्रतियोगीतामा भाग लिएकी साथीको स्वर सुक्यो ।

अब के गर्ने ? उनको विकल्पमा मुनालाई स्टेजमा उक्याइयो । डराईडराई, लजाई-लजाई मुना स्टेजमा उक्लिइन् अनि दोहोरी गाइन् । ‘मेलापातमा त गाउँथँे । तर, माइक समाएर गाएको पहिलोपटक त्यहिँ एकादशी मेलामा थियो’ सांगीतिक यात्राको प्रस्तानविन्दु सम्झिँदै गर्दा उनी उत्साहित देखिन्थिन् ।

एकादशी मेलामा गाएपछि ‘मुनाले पनि गीत गाउने रहेछ, मुनाको स्वर राम्रो रहेछ’ भनेर गाउँभर हल्ला भयो । त्यसपछि गाउँमा व्रतबन्ध, पुजाआजामा समेत गाउनमा उनको खोजी हुन थाल्यो । उनी विस्तारै गायनमा पारंगत हुँदै गइन् । उनलाई पनि गायनमा रुचि बढ्दै थियो । र, गाउँमा मेलापात, ब्रतबन्ध, पूजाआजामा गाउँदागाउँदै बिस्तारै ‘राम्रो गायिका बन्छु’ भन्ने सपना नै देख्न थालिन् । सो समयमा बीमाकुमारी दुरा, शर्मीला गुरुङ, लक्ष्मी न्यौपाने, राजु परियार, शिला आले लगायतका गीत उनी खुबै सुन्ने गरेको बताउँछिन् ।

‘मलाई गायनमा भेना र फूपुको विशेष प्रेरणा र प्रोत्साहन रह्यो’ मुना सुरुवाती दिनबारे भन्छिन्, ‘गाउँछु भन्ने भएपछि बुबाआमा, दाईबाट पनि सपोर्ट पाएको थिएँ ।’

छिमेकी जिल्ला तनहुँको आबुखैरेनीमा दोहोरी साँझ खुलेको थियो । भेनाले नै उनलाई सो दोहोरी साँझमा गाउन लगे । उनले केही महिना सो दोहोरी साँझमा गाइन् । मुनाले सोहीखबत नै काठमाडौं आएर पहिलोपटक गीत रेकर्ड गराएकी थिइन् । भेनासहित अन्य केही व्यक्तिले एल्बम ल्याउने तयारी गरेका थिए । सो गीतमा मुनालाई गाउन लगाउने निधो गरे । काठमाडौं ल्याएर रेकर्ड गराए- केबुलकारमा गेट ।

सो समय दोहोरीमा शिला आले चर्चामा थिइन् । मुनाले ‘ब्ल्याक एण्ड हृवाइट’ टेलिभिजनमा शिलालाई हेर्ने गर्थिन् । शिलाले ‘दोभान दोहोरी साँझ’मा गीत गाउँथिन् । गीत रेकर्ड गराएपछि मुनासहित गीत रेकर्डिङका लागि काठमाडौं आएका सबैजना दोहोरी साँझमा पुगे । त्यहाँका कलाकारहरूसँग चिनजान भयो, मुना गाउँ फर्किइन् । केही समयपछि पहिलो गीत सार्वजनिक भयो, गाउँमा मुनाको तारिफ भयो ।

मुना काठमाडौं आउँदा जुन दोहोरी साँझमा पुगेकी थिइन्, त्यहाँ गाउँका एकजना दाइले पनि गाउँथे । सो दोहोरी साँझमा एकजना गायिका चाहिएछ । गाउँले दाईले बोलाए पनि मुना काठमाडौं दोहोरी साँझमा गाउनका लागि आइन् । काठमाडौं आएर सुरुआतमा गायिका शकुन्तला थापासँग डेरा जमाइन् । दिनभर सुत्यो, बेलुका दोहोरी साँझ पुग्यो । त्यहि नै मुनाको दैनिकी बन्यो । एकपछि अर्को गरी ५/६ वर्ष ४/५ वटा दोहोरी साँझमा गीत गाइन् ।

यी गीत, जसले मुनालाई चिनाए

मुनाले लोकदोहोरी गीतमा स्वर भर्ने अवसर पाउँदै गएकी थिइन् । ‘तर ती गीतहरू स्टुडियोभित्रै हरायो भनौँ’ – उनले हल्का हाँसोका साथ सुनाइन् ।

दोहोरीमा गाउँदै गर्दा शकुन्तला थापाले तीज एल्बम ‘जँड्याहा पोई’मा गाउने अवसर दिइन् । सो गीत राम्रो चलेको र त्यसपछि आफ्नो स्वर पनि केही नोटिस भएको मुना सम्भिmन्छिन् । रामजी खाणँसँगको स्वरमा ‘रुवाए साराले’ गाइन् ।

मुनाले दोहोरी साँझमा गाउँदा धेरैले भन्थे, ‘तिम्रो स्वर राम्रो छ । आफैंले पनि गीत गर्नुपर्छ ।’ उनलाई पनि लाग्थ्यो, ‘पक्कै, दोहोरी साँझमा मात्र सीमित हुनुहुँदैन् ।’

त्यसपछि उनले गायिका मैना रेश्मी मगरसँग मिलेर ‘छोरी’ एल्बम ल्याएकी थिइन् । सोही एल्वममा समावेश गीत हो, ‘चिसो चिसो हावा सरर’

२०६६ सालमा सार्वजनिक यो गीत निकै चलेको मुना बताउँछिन् । त्यसपछि राजु गुरुङसँगको स्वरमा सार्वजनिक ‘तिते करेलीले’ गीतले अझ धेरै चर्चा पायो । त्यस्तै, क्रमशः ‘मैले मन पराएको छु’, ‘यो संसारको रित’ लगायतका गीतहरू रुचाइँदै गए ।

बढ्यो व्यस्तता : दोहोरी साँझ छाडेर देश-विदेश

जसै मुनाका गीतहरू स्रोता-दर्शकले रुचाए, रेकर्डिङ र स्टेज कार्यक्रमबाट अफरको ओइरो आउन थाल्यो । मुना भन्छिन्, ‘रेकर्डिङ र स्टेजका लागि धेरै अफरहरू आएपछि दोहोरी साँझ छाडेँ ।’

मुनाका लागि २०६७/६८ सालपछि यस्तो समय आयो, एकै दिनमा ६ वटासम्म गीत रेकर्ड गर्नुपर्ने । नेपालमा उनको पहिलो स्टेज कार्यक्रम आफ्नो गृहजिल्ला गोर्खामा थियो, त्यसपछि बागलुङ । त्यसपछि एकपछि अर्को गर्दै विभिन्न जिल्लामा पटक-पटक पुगिरहिन् ।

मुना सन २०११ मा सांगीतिक कार्यक्रमको शिलशिलामा पहिलोपटक विदेश पुगिन् । उनको पहिलो विदेश कार्यक्रम कोरिया थियो । त्यसपछि २०१२ मा बेलायत पुगिन् । क्रमशः जापान, मलेसिया, बहराइन, यूएई, कुवेत, ईजरायल लगायतका देश पुगेर प्रस्तुती दिइन् ।

२०६७/६८ देखि २०७४ सालसम्म उनी र उनका गीतहरू चर्चाको शिखरमा रहिरहे । उनी निरन्तर व्यस्तमध्येकी गायिकामा रहिरहिन् । सो बीचमा ‘तिमी राम्रो हाँसोले’, ‘तम्घासमाथि रेसुंगाको बन’, ‘प्रीतिको फूल सुक्छ हजुर’, ‘सरसर’, ‘मुटुमा बसेको माया’, ‘पिरतीमा फेल’ लगायतका थुप्रै गीतहरू रुचाइए । हालसम्म आउँदा ३ हजार बढी गीतमा स्वर दिएको मुना बताउँछिन् ।
नसोँचेको माया अनि अमेरिका बसाई

‘राम्रो गायिका बन्छु भन्ने सोँचे पनि मैले गाएका गीतहरू स्रोता एवं दर्शकले यति धेरै रुचाउनुहोला । देश-विदेशमा गएर गीत गाउन पाउँछु होला भन्ने सोँचेकी थिइन । यसअर्थमा आफूलाई एकदमै भाग्यमानी ठान्छु,’ मुना सांगीतिक क्षेत्रबाट पाएको सफलताबारे सुनाउँछिन् ।

एकपछि अर्को गीत गाइरहेकै थिइन्, एकपछि अर्को गीत स्रोता एवं दर्शकले रुचाएका थिए । सोहीबखत उनी अमेरिका बस्न थालेकी हुन् । मुना अहिले अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्छिन् ।

यद्यपी अमेरिका आफू अकस्मात बस्न पुगेको उनी बताउँछिन् । उनले अनलाइनखबरसँग भनिन्, ‘हाम्रो आउने दिनको कुरा कसैलाई थाहा नहुँदो रहेछ । अमेरिका गएर बस्छु भनेर सोचेकी थिइन् । त्यहाँ पुगेर बस्ने वातावरण भएपछि त्यहीँको माहोलमा बाँधिनेरहेछ ।’

उनी अमेरिका गएको झण्डै एक वर्ष सांगीतिक कार्यक्रममै ब्यस्त भइन् । त्यसपछि स्किन केयरको कोर्ष गरेको बताईन् । त्यसयता संसारभर कोरोना महामारी फैलियो । अहिले मुना त्यहाँ पार्लरमा काम गर्दै आएको जानकारी दिइन् । समयसँगै आफू अमेरिका पुगेपनि केही वर्षमा नेपाल फर्किने योजना रहेको उनले बताईन् ।

गीतसंगीत छाड्दिनँ

अमेरिका हुँदा लोकदोहोरी क्षेत्र सधै सम्झिरहने मुनाले बताईन । उनी आफू लोकदोहारी क्षेत्रबाट कहिल्यै टाढा हुन नसक्ने बताईन् । त्यसैले त नेपाल आउँदा नयाँ गीतको तयारी गरिरहेकी छिन् । यसबाहेक धेरै नभएपनि बेलाबेलामा फाट्टफुट्ट रूपमा नयाँ गीत ल्याउने उनी बताउँछिन् ।

टिकटकमा चल्नुपर्ने रहेछ !

उनी लोकदोहोरीमा सक्रिय हुँदा ‘स्लो प्याटन’का सुन्ने खालका गीतहरू बढी चल्थे । अहिले गीत सुन्नेमात्र भन्दा हेर्नेमा पुगेको छ । त्यसका लागि भिडियोमा महंगो बजेट खर्चिनुपर्ने अवस्था छ । मुना पहिले र अहिलेमा लोकदोहोरीमा केही कुराहरू परिवर्तन भएको बताउँछिन् ।

‘अहिले लगानी महंगो भएको छ । त्यसमाथि अहिले त भिडियो चल्न पहिले टिकटकमा चल्नुपर्ने रहेछ । मैले पनि कतिपय गीतहरू टिकटकमा देखेपछि युट्युबमा सर्च गरेर हेर्छु । सबैभन्दा देखेको परिवर्तन यो हो,’ उनले भनिन् । अहिले लोकदोहोरीमा फरक खालका गीतहरू आएको मुनाले बताइन् । उनले अहिले पछिल्लो पुस्ताका कलाकारहरू ट्यालेन्ट रहेको बताउँदै उनीहरूले ल्याएका फरक खालका लोकदोहोरी गीतहरू आफूलाई निकै मनपर्ने पनि बताइन् ।

व्यक्तिगत स्वभावमा मुना

स्वभाव

आफ्नो स्वभाव त कसरी भनूँ । म अलि कम बोल्छु । शान्त वातावरण मनपर्छ ।

गायनबाहेकको रुचि

मेरो गायन बाहेकको रुचि ब्युटिसियन हो । त्यसैले अमेरिका गएर पनि सोहीसम्बन्धि कोर्ष गरेँ ।

फिल्म

फिल्महरू हेर्न मन पर्छ । बाल्यकालमा हुँदा फिल्म निकै हेर्थे । २ घण्टाभन्दा बढी हिँडेर समेत फिल्म हेर्न जान्थेँ । अहिले पनि युटयुबमा नयाँ फिल्महरू हेरिरहेकी हुन्छु ।

मनपर्ने अभिनेता-अभिनेत्री

स्वर्गीय श्रीकृष्ण श्रेष्ठ मनपर्थ्यो  राजेश हमाल पनि मनपर्छ । दयाहाङ राई, पल शाहको अभिनय पनि राम्रो लाग्छ । अभिनेत्रीमा निरुता सिँह एकदमै मनपर्छ । उहाँसम्म भेटन मन भए पनि अहिलेसम्म पाएकी छैन् । त्यस्तै पछिल्लो पुस्तामा वर्षा राउत, लक्ष्मी वर्देवा मनपर्छ ।

मनपर्ने रंग

रंग ठ्याक्कै यो भन्ने छैन् । यद्यपि गुलावी रंग भने अलि मनपर्छ ।

खाना

खानामा सादा भात, दाल, तरकारी नै मनपर्छ । गुन्द्रुक, ढिडो पनि निकै मनपर्छ ।

सपना

ठूलो सपना केही छैन् । बुवाआमालाई सधै खुशी राख्न सकूँ । दर्शक-स्रोताहरूलाई बेलाबेलामा गीत दिइरहन सकूँ ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?