५ मंसिर, काठमाडौं । नायिका स्वस्तिमा खड्काले नेपाली चलचित्र क्षेत्र चलायमान बनाउन विदेशी चलचित्रको सहारा लिनुपरेको सुन्दा दुःख लाग्ने बताएकी छन् ।
पुस २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चपली हाइट ३’को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै स्वस्तिमाले भनिन्, ‘पक्कै पनि एउटा कलाकार भएको नाताले नेपाली चलचित्र क्षेत्र चलायमान बनाउन विदेशी चलचित्र पर्खिनुपरेको देख्दा नरमाइलो लागेको छ । तर, एउटा निर्माताको दृष्टिकोणबाट हेर्दा बजार चलायमान नभई महंगो लगानीको चलचित्र रिलिज गर्न डर त लागिहाल्छ नि । यदि म पनि निर्माता भएको भए एकपटक सोच्थें होला ।’
स्वस्तिमाले बलिउड वा हलिउड चलचित्रसँग जुद्धा पनि नेपाली चलचित्रकर्मी खुशी हुन नसक्ने अवस्था रहेको भन्दै फेरि विदेशी चलचित्रले नै यो क्षेत्र चलायमान बनाइदिनुपर्ने परिस्थिति आउँदा कलाकारको नाताले खुशी नलागेको बताइन् ।
यस्तै स्वस्तिमाले नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन ‘चपली हाइट ३’ चल्नैपर्छ भन्ने दबाब लिएर आफू नहिँडेको प्रष्ट पारिन् । ‘यस्तो बेलामा हामीले जोखिम लिएका हौं । दुई वर्षअघि चलचित्र बनाउँदा हामीले लकडाउन होला भनेर सोचेका थिएनौं,’ उनले भनिन्, ‘यदि चलचित्र राम्रो छ भने चल्छ, नराम्रो छ भने चल्दैन । यस्तो बेलामा मेरो स्टारडम, चलचित्रको ब्राण्डको विषयमा मैले सोचेकी छैन ।’
स्वस्तिमाले अगाडि भनिन, ‘हामीले राम्रो काम गरेका छौं । म स्टारडमको दबाब त कहिले पनि लिन्नँ । यसपटक पनि लिएकी छैन । तर, यो चलचित्र चल्यो भने जोखिम मोलेर पनि चलचित्र चल्यो भन्ने सन्देश जान्छ होला ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4