+
+

राप्रपा महाधिवेशन : कमल थापालाई कोबाट चुनौती ?

विनोद ढकाल विनोद ढकाल
२०७८ मंसिर ८ गते १५:५१

८ मंसिर, काठमाडौं । देशका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसले जस्तै यही मंसिरमा पूर्वपञ्चहरुको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि महाधिवेशन गर्दैछ ।

मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि सोमबारदेखि ३ दिनसम्म हरेक जिल्लाको प्रदेश निर्वाचन क्षेत्र स्तरमा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेको छ । महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि सहभागी भई पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् ।

२०४७ सालमा जनआन्दोलन सफल भएपछि पञ्चायतका पक्षधरहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरेका थिए । पटक-पटक फुट्दै र पुनः जुट्दै आइरहेको यो दल हाल भने एउटै छ ।

कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा (संयुक्त) र बीच २०७६ फागुन २८ एकीकरण भएको थियो । पार्टी एकीकरणपछि हुन लागेको महाधिवेशनमा अध्यक्ष कमल थापा, पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र राजेन्द्र लिङ्देनले नेतृत्वमा आकांक्षा राखेका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका लिङ्देनले बाहेक अरुले औपचारिक रुपमा भने मुख खोलेका छैनन् ।

कमल थापाको दाबी

आन्तरिक छलफलमा भने अध्यक्ष कमल थापा यसपालि आफू स्वाभाविक दाबेदार भएको बताउने गरेका छन् ।

पार्टीको एजेण्डा हिन्दू राष्ट्र, राजसंस्था र संघीयताको खारेजी आफूले तय गरेको भन्दै उनले यसलाई बलियो बनाउन आफैंले नेतृत्व गर्नुपर्ने तर्क गर्ने गरेका छन् । उनले यही अनुसार पार्टीका अरु नेताहरुसँग छलफल अघि बढाइरहेका छन् । ‘जसको नीति उसको नेतृत्व हुनुपर्छ, त्यसैले अहिले नै कमल थापाको विकल्प सोच्ने बेला भएको छैन’ थापा निकट नेता उद्धव पौडेल भन्छन् ।

तर थापामाथि हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डालाई आफ्नो फाइदाका लागि उपयोग मात्र गरेको आरोप पार्टीभित्र लाग्दै आएको छ । राजसंस्थासहितको लोकतन्त्रको पक्षमा रहेको पार्टीले गणतान्त्रिक संविधानमा हस्ताक्षर गर्नु, राष्ट्रपति निर्वाचनको प्रस्तावक बस्नु र संविधान जारी भएपछि केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनुजस्ता गतिविधिले थापा राप्रपाको एजेण्डालाई आफ्नो हित अनुकूल उपयोग गरिरहेको देखिने राप्रपाका एक नेता बताउँछन् ।

राजसंस्था र हिन्दु राज्यको वकालत गरे पनि पार्टी राजावादीको विश्वासिलो बन्न नसकेको र हिन्दु जनमतको विश्वास पनि लिन नसकेको थापामाथि आरोप छ । अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका लिङ्देन पनि यो संकेत गर्छन् । ‘३१ वर्षको इतिहासमा पार्टी जीवनकै कमजोर अवस्थामा छ, तर त्यसको विपरीत राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा ०६२/६३ पछि सर्वाधिक लोकपि्रय अवस्थामा छ । अहिले राप्रपाले पूरै सडक कब्जा गरेको हुनुपर्नेमा पार्टी छ कि छैन भन्ने अवस्था छ र महाधिवेशनपछि पार्टी विघटनमा जाने खतरा छ’ उनले अनलाइनखबरसँग भने ।

जबरा र लोहनीले के गर्लान् ?

राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

जबरा निकट नेता ठाकुर शर्माका अनुसार जबराले उम्मेदवारी दिने विषयमा निकट नेताहरुसँग छलफल गरिरहेका छन् । तर अन्तिमसम्म जे पनि हुनसक्ने उनले संकेत गरे । ‘अहिलेसम्म चार जनाले इच्छा देखाएका छन्, तर चारै जनाले लड्ने त के होला र समीकरण र एडजस्टमेन्ट होला’ उनले भने ।

डा. लोहनीले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । सहमतिको प्रयास भए पनि नछोड्ने ? भन्ने प्रश्नमा उनले भने, ‘सहमतिको प्रयासबारे मलाई थाहा छैन, म उम्मेदवारी दिनेमा छु ।’

तर थापा निकटका एक नेता भने अन्तिमसम्म जबरा र लोहनीले थापालाई समर्थन गर्ने दाबी गर्छन् । ‘राजा सा’ब -राणा)को केही दिनअघिसम्म उठ्ने कुरा थियो, तर अहिले थापालाई नै सपोर्ट छ, डा. सा’बको पनि त्यही हो’ उनले भने ।

राजेन्द्र लिङ्देनको दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टीमा दोस्रो पुस्ताको नेता राजेन्द्र लिङ्देन अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । । लामो समय कमल थापा समूहमा रहेका उनले अहिले असन्तुष्ट नेताहरुको साथ पाएका छन् । सोमबार मात्र नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणाले लिङ्देनलाई समर्थन गरेका छन् । यो समूहले मंसिर ९ गते उम्मेदवारी घोषणा कार्यक्रम राखेको छ ।

पञ्चायतकालमा नै मन्त्री भएका र २०६० सालमा राप्रपा फुटाएर राप्रपा नेपाल गठन गरेदेखि अध्यक्ष रहेका कमल थापाको तुलनामा राजेन्द्र लिङ्देन लो-प्रोफाइलका नेता हुन् ।

उनी र धवलशम्शेरलाई २०७३ सालमा थापाले तत्कालीन राप्रपा नेपालको महामन्त्री मनोनित गरेका थिए । त्यतिबेला थापाका भरपर्दा सहयोगी मानिएका उनीहरुप्रति विश्वास व्यक्त गर्दै थापाले भनेका थिए, ‘आज म ढुक्क भएको छु, अब कम्तीमा २० वर्ष राप्रपाको भविष्य राष्ट्रिय राजनीतिमा सुरक्षित भएको छ । मैले जनाधार भएका दुई युुवालाई पार्टीको नेतृत्व सुम्पिए पनि हुने अवस्थामा पुगेको छु ।’

तर अहिले तिनै लिङ्देन र राणाले नेतृत्व दाबी गर्दा थापा आफैं प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।

लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी संघीय संसदमा राप्रपाको एक्लो प्रतिनिधि हुन् । उनलाई साथ दिने अर्का प्रभावशाली नेता धवलशम्शेर राणा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर हुन् । जवकी अध्यक्ष थापा, प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर-१ मा पराजित भएका थिए ।

धवलशम्शेरको साथ पाएका लिङ्देनले तीन अध्यक्ष (थापा, राणा र लोहनी) मिले पनि आफू पछि नहट्ने अडान लिएका छन् । आफ्नो उम्मेदवारी कुनै सौदाबाजीका लागि नभएको भन्दै उनी भन्छन्, ‘कुनै दलाली र सौदाबाजीका लागि उम्मेदवारी घोषणा गरेको होइन, आफू कहाँ बस्ने भन्ने विषयले नेतृत्व परिवर्तनको कुरा उठाएको होइन ।’

लिङ्देनलाई साथ दिएका धवलशम्शेर राणा ।

नेतृत्व परिवर्तनको आवाज

२०७३ सालमा पशुपतिशम्शेर जबरा नेतृत्वको तत्कालीन राप्रपा र कमल थापा नेतृत्वको तत्कालीन राप्रपा नेपाल एकीकरण भएपछि २०७३ फागुन २६ गते महाधिवेशन हुँदा पनि लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले थापालाई अध्यक्ष स्वीकारेका थिए ।

तर कमल थापाले पार्टी एकता ६ महिना पनि टिकाउन नसकेको आरोप उनीमाथि लागेको छ । त्यतिबेला ३७ सांसद रहेको राप्रपालाई थापाले नै १ सांसदमा सीमित गरेको पनि उनका आलोचकहरु बताउँछन् ।

२०७६ सालमा हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रको माग राख्दै राप्रपाले सडक आन्दोलन गर्दा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कानुनमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा वार्ता टोली बनायो । राप्रपाले पनि दीपक बोहराको नेतृत्वमा समिति बनायो । सरकार र राप्रपाबीच एक चरणको वार्ता भयो, तर त्यसपछि वार्ता पनि भएन र भंग पनि भएन । कमल थापामाथि राप्रपाको मुद्दालाई सिंहदरबारको दराजमा थन्क्याएको आरोप पनि लागेको छ । ‘हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कमल थापाको राजनीतिक दाउपेचको विषय मात्र देखिन्छ, उनी मुद्दामा इमान्दार छैनन्’ उनले भने ।

‘कमल थापा आगामी चुनावमा कुनै ठूलो पार्टीसँग गठबन्धन गरेर सांसद बन्ने र पाँच वर्ष उपप्रधानमन्त्री खाएर बस्ने दाउमा छन्, तर उनलाई रोक्नुपर्छ’ राप्रपाका एक केन्द्रीय सदस्यले भने ।

कमल थापानिकट नेता पौडेल भने हिन्दु राष्ट्र नचाहने जमात र पार्टीभित्रको सक्रिय राजतन्त्र चाहनेहरुले मात्र कमल थापाको विरोध गरेको बताउँछन् । ‘हिन्दु राष्ट्र नचाहने र सक्रिय राजतन्त्र चाहनेहरुले कमल थापालाई ड्यामेज गर्न चाहन्छन्’ उनले भने । संविधानमा आफ्नो एजेण्डाबारे फरक मत राखेर संविधान मानिसकेपछि अब संविधानकै परिधिभित्र रहेर एजेण्डा उठाउनुपर्ने पौडेल बताउँछन् ।

प्रदेश अधिवेशनको संकेत

राप्रपामा महाधिवेशन प्रतिनिधि छनोट नभइसकेकाले कुन उम्मेदवार बलियो छ भन्ने अहिले नै अनुमान गर्न सकिन्न । तर सबै नेताहरु आफ्नो पक्षका प्रतिनिधि जिताउन र अर्को पक्षका उम्मेदवार रोक्न शक्ति खर्च गरिरहेका छन् ।

अघिल्लो हप्ता भएको प्रदेश अधिवेशनको नतिजा भने मिश्रति देखिएको छ । प्रदेश १ मा कमल थापा पक्षका राम थापा विजयी हुँदा लिङ्देन पक्षका भक्ति सिटौला ३७ मतान्तरले पराजित भए । प्रदेश २ मा लिङ्देन पक्षका भरत गिरी सर्वसम्मत भए । वागमती प्रदेशमा कमल थापा पक्षका विक्रमबहादुर थापा सर्वसम्मत भए भने गण्डकीमा लिङ्देन पक्षका हेमजंग गुरुङले कमल थापा पक्षका मदनबहादुर कार्कीलाई ७४ मतान्तरले पराजित गरे ।

लुम्बिनीमा दीपक बोहरा निकट प्रदीप उदय ६० मतान्तरले विजयी भएका छन् । कणर्ालीमा पशुपतिशम्शेर जबरा निकटका दीपबहादुर शाही सर्वसम्मत भए भने सुदूरपश्चिममा लिङ्देन पक्षका धर्मराज जोशी सर्वसम्मत भए ।

प्रदेश अधिवेशनको नतिजा हेर्दा जस्तो समीकरण पनि बन्नसक्ने देखिने राप्रपाका नेताहरु बताउँछन् । तर कुनै पनि प्रदेशमा थापा र लिङ्देन पक्ष भने मिलेका छैनन् ।

किन चिढिए लिङ्देन ?

लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएदेखि नै कमल थापाले उनीबाट ‘थ्रेट’ महसुस गरेको लिङ्देन निकट नेताहरु बताउँछन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ एक सिटमात्र जितेपछि पार्टीभित्र कमल थापाको आलोचना भएको थियो । नेताहरु वुद्धिमान तामाङ, धबलशम्शेर राणा, जयन्त चन्द लगायतले कमल थापाको आलोचना बढाएपछि उनले पार्टीका सबै पदाधिकारी हटाए र आफूले पनि अध्यक्ष छाड्ने भन्दै कुन मोडलमा पार्टी चलाउने भन्ने विषयमा अर्को बैठकमा सुझाव पेश गर्न आग्रह गरे ।

त्यतिबेला झापामा रहेका लिङ्देन काठमाडौं आएर थापाको बचाउ गरेका राप्रपा नेताहरु बताउँछन् । तर थापाले पार्टी एकता भएदेखिका कुनै पनि निर्णय गर्दा सल्लाह नगरेको र बरु सामाजिक सञ्जाल र अन्तर्वार्ताबाट आफ्नो आलोचना गरेको लिङ्देनले आफू निकटस्थहरुलाई बताउने गरेका छन् ।

पार्टी एकीकरण गरेपछि राप्रपामा २५ सदस्यीय विशेष समिति, ५५ सदस्यीय निर्देशन समिति र १८८ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरे पनि अधिकार तीन अध्यक्षले राखेका छन् । ‘कतिसम्म भने महाधिवेशन पनि तीन अध्यक्षले नै सारिदिन सक्छन्’ एक नेताले भने ।

एक टेलिभिजन अन्तर्वार्तामा थापाले लिङ्देनलाई क्षेत्र-जिल्लाको नेता भनेर टिप्पणी गरेका थिए । लिङ्देनले त्यस अभिव्यक्तिलाई आफ्नो मुटुमा गरेको प्रहारको रुपमा लिएका छन् ।

त्यस्तै थापाले नेता धवलशम्शेरलाई सामाजिक सञ्जालमा ‘भाइरस’ भनेका थिए । धवलले तीनै जना अध्यक्ष असफल भएको र असफल नेतृत्वलाई बोकेर अघि बढ्न नसक्ने भन्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए ।

त्यही समयमा थापाले सामाजिक सञ्जालबाट उनलाई भाइरस भन्दै भाइरससँग कुनै सम्झौता नहुने बताएका थिए । उनले २०७८ असार ५ गते ट्वीटरमा लेखे, ‘लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा सन्तोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ । विगतमा धेरै गल्ती गरियो । अब मसँग गल्ती सच्याउने समय छैन । त्यसैले अब मेरो पछि कति छन् भनेर हेर्दिनँ । बरु एक्लै हिँड्छु, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु । नो कम्प्रमाइज विथ भाइरस ।’

पहिले आफैं अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राणाले अन्तिममा राजेन्द्र लिङ्देनलाई साथ दिए । पार्टीमा कमल थापासँग रिसाएका नेताहरुले धवलशम्शेरलाई साथ दिएका थिए । अहिले त्यो समूहले नै राजेन्द्र लिङ्देनलाई साथ दिएको छ ।

राप्रपाका नेता वुद्धिमान तामाङ पार्टीमा नेतृत्व चयनका लागि निर्वाचन हुने सम्भावना रहेको बताउँछन् । ‘सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न सके बेस, चुनाव भए पनि पार्टी नफुट्ने होस्’ उनले भने, ‘जसले पार्टीलाई फुटबाट जोगाउँछ, उसैलाई साथ दिनुपर्छ ।’

लेखकको बारेमा
विनोद ढकाल

ढकाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?