+
+
उम्मेदवारी घोषणासभामा राजेन्द्र लिङ्देनको मन्तव्य :

यो विद्रोह होइन, बाध्यात्मक कदम हो

२६ वर्षसम्म नेतृत्वले खुशी बनाउने काम गरेन

राजेन्द्र लिङ्देन राजेन्द्र लिङ्देन
२०७८ मंसिर ९ गते १७:४१

हामीले लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेतृत्व परिवर्तनको कुरा उठायौं । तर औपचारिक रूपमा कसले नेतृत्व गर्नेछ ? अध्यक्ष को हुने ? यिनीहरूको कुरा मात्रै हो कि साँच्चै नै विकल्प पनि दिन्छन्, खुट्टा पनि टेक्छन् भन्ने तमाम जिज्ञासा थियो ।

हाम्रा अध्यक्षत्रयले पार्टीलाई धेरै गुन लगाउनुभएको छ । तर तपाईंहरू भइन्जेल मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी चलेर हुँदैन, तपाईहरूको जीवनपछि पनि राप्रपा चलाउने मान्छे तपाईंहरूले उत्पादन गरिसक्नुभएको छ । त्यो मान्छे हामी हौं भनेर सुनाउन यहाँ उपस्थित भएका हौं ।

राप्रपामा नेतृत्व परिवर्तनको अभियानको औपचारिक प्रारम्भ गर्ने नेता धवलशम्शेर राणाले मलाई अध्यक्षमा प्रस्ताव गर्नुभएको छ । नयाँ नेतृत्वबाट राप्रपा अघि बढ्नुपर्छ भन्ने नेता कार्यकर्ता र शुभेच्छुकको भावना स्वीकार गर्दै म अध्यक्षको उम्मेदवार बन्न तयार भएको छु ।

नेतृत्व परिवर्तनको कुरा गर्दा राप्रपामा मात्र होइन, अन्य दलमा पनि अघिल्लो पुस्तालाई गाली गर्ने चलन छ । तर हामी हाम्रो नेतृत्वलाई गाली गर्दैनौं, उहाँहरूको विरुद्धमा हामीले उम्मेदवारी दिएको होइन । हामीजस्तो मान्छे उत्पादन गर्ने उहाँहरू कसरी काम नलाग्ने भयो ? तर समयले परिवर्तन खोज्यो ।

राप्रपाको ३१ वर्षको इतिहास समग्रमा असफलताको इतिहास बन्यो । हामीले राप्रपाको कार्यकर्ताको हिसाबले हेर्ने हो भने ३१ वर्षको अवधिमा २०५१ सालमा राप्रपा थापा र चन्द एकीकृत हुँदा धेरै खुशी भएका थियौं । त्यो देखिबाहेक आजसम्म राप्रपाका कार्यकर्ताले मेरो पार्टीले गरेको देखिस् भनेर आफ्नो परिवार सदस्य, आफन्त र विपक्षीका अगाडि एक दिन पनि खुशीले हाँस्न पाइएन । राप्रपा निरन्तर रूपमा खिइँदै दुब्लाउँदै आउने क्रममा आज राष्ट्रिय पार्टी बन्ने हैसियत पनि रहेन । राप्रपा खिइनु र दुब्लाउने यो भन्दा अर्को ठाउँ छैन ।

पछिल्लो पटकको एकीकरण समारोहमा मैले अध्यक्षत्रयलाई भनेको थिएँ, यो तपाईंहरूको जीवनको अन्तिम मौका हो । तर पार्टी एकीकरण भएको दुई वर्ष बित्न लाग्दा उहाँहरू मिलेर राप्रपालाई नयाँ ऊर्जाका साथ अगाडि बढाउने कुनै संकेत देखिएन मात्र होइन, राप्रपा दुई वर्षदेखि निष्क्रिय छ ।

हाम्रा अध्यक्षत्रयले पार्टीलाई धेरै गुन लगाउनुभएको छ । तर तपाईंहरू भइन्जेल मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी चलेर हुँदैन, तपाईहरूको जीवनपछि पनि राप्रपा चलाउने मान्छे तपाईहरूले उत्पादन गरिसक्नुभएको छ । त्यो मान्छे हामी हौं ।

यो महाधिवेशनको सन्दर्भमा राप्रपा कहिँकतै चर्चामा आएदेखिबाहेक उहाँहरू तीन जनाले पार्टी बन्धक बनाएर राख्नुभयो । ठूल्ठूला राष्ट्रिय मुद्दामा राप्रपा कता छ कता छ ? राप्रपा भूमिकाविहीन भयो । एकातर्फ राजसंस्था चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ भन्ने राप्रपा आफ्नो जीवनकालकै कमजोर र भूमिकाविहीन अवस्थामा रहने अर्कोतर्फ त्यही राप्रपाले बोकेका राजसंस्था र हिन्दु राष्ट्रको जनमत इतिहासको सबैभन्दा बलियो रूपमा देखापरेको छ । यो द्विविधापूर्ण अवस्था किन आयो ? अत्यन्तै विपरीत अवस्था किन आयो ? यी सबलाई हामीले छलफल गरेर गम्भीरतापूर्वक बहस गरेर के निश्कर्षमा पुग्नुपर्छ ।

यही प्रकारको नेतृत्वबाट राप्रपा अगाडि बढ्न सक्दैन मात्र होइन, राप्रपा गोर्खा परिषद र प्रजा परिषदको बाटोमा जाने खतरा भयो । यसबाट राप्रपालाई जोगाउनका लागि हामीले नयाँ कदम नउठाई हुँदैन ।

अहिले कांग्रेस–कम्युनिस्ट असफल मात्र भएका छैनन्, उनीहरूले आज मुलुकलाई नै असफलको बाटोतिर लगेका छन् । आज आकारको हिसाबले, परम्परागत ठूलो दल भएको कारणले कांग्रेस–कम्युनिस्ट ठूला र बलिया देखिएलान् तर नैतिक र राजनीतिक रूपमा जनताका अगाडि मुख देखाउने अवस्थामा उनीहरू छैनन् ।

यस्तो बेलामा राप्रपाले कांग्रेस पनि असफल भएको छ, एमाले पनि असफल भएको छ । अरु पार्टीलाई पनि जनताले कहाँ गतिलो भनेको छ र भन्दै हमीलाई पनि त्यही असफलताको बाटो पछ्याउने वा असफल हुने सुविधा छैन ।

राप्रपा असफल हुँदा यो देशको एउटा राजनीति पार्टी मात्र असफल हुँदैन, उसले बोकेको मुद्दा पनि असफल हुन्छ । राप्रपाको नेतृत्वम राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना होला, संघीयता खारेजी होला, देश भ्रष्टाचारमुक्त मुलुक बन्ला, सुशासन कायम होला, हाम्रो भाइ छोराले देशमै गरिखाने बाटो बन्ला भनेर हामीप्रति शुभेच्छा राख्ने आम नेपालीलाई पनि धोका हुन्छ ।

यही निश्कर्ष निकालेर राप्रपालाई असफल हुन दिनु हुन्न, राप्रपालाई असफल हुने छुट र सुविधा छैन भन्ने निश्कर्षका साथ हामीले यो अभियान अघि बढाएका छौं । अहिलेको अवस्था राप्रपाको नेता कार्यकर्ताका लागि अग्निपरीक्षा हो । हामी कुनै नेताको खल्तीको रुमाल हौं कि हामी साँच्चै नै राप्रपाको बाटोबाट राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न चाहन्छौं ?

हामी ३१ वर्षदेखि राप्रपामा रहेको गुटको अन्त्य गर्न चाहन्छौं, आफ्नो शीरमाथि यो पशुपतिशम्शेरको मान्छे, कमल थापाको मान्छे, डा.लोहनीको मान्छे भन्ने दाग मेटाउन चाहन्छौं कि त्यही भारी बोकेर हिँड्न चाहन्छौं ? यो मौका हो, अग्निपरीक्षा हो । हामी हाम्रो थाप्लोबाट त्यो दाग मेटाएर राप्रपाको कार्यकर्ता बन्न चाहन्छौं भने यो महत्वपूर्ण अवसर हो ।

हाम्रो विजयले नेतृत्व परिवर्तन मात्र हुँदैन । कोही मान्छे पार्टीको अध्यक्षको रूपमा हुनुहुन्थ्यो, अब उहाँको बदला अर्को मान्छे आउने काम मात्र हुँदैन । यसले पार्टीमा परम्परागत गुट अन्त्य हुन्छ र नेपालको राजनीतिमा राप्रपाले नयाँ सन्देश पनि दिन्छ, देशको ठूलो पार्टी हुँ भन्ने कांग्रेस कम्युनिस्टबाट हुन नसकेको काम हुन्छ ।

आज पुस्तान्तरणको कुरा केवल राप्रपामा मात्र उठेको छैन, कांग्रेसमा पनि एमाले माओवादीमा पनि उठिरहेको छ । पुस्तान्तरणको कुरा उठेको धेरै भयो नेपालको राजीनीतिमा २०४६ सालदेखि निरन्तर रूपमा नेतृत्व गर्दै आएको पुस्ता असफल भयो, यही पुस्ताबाट जो मान्छे फेरिएर आए पनि नेपालको राजनीतिम केही फरक पर्दैन, देश र राजनीतिले केही पनि पाउँदैन भन्ने आवाज उठेको धेरै भयो ।

न कांग्रेसभित्रका कुनै युवा हुँ भन्ने मान्छेले न एमाले, माओवादीका युवा हुँ भन्ने मान्छेले विद्रोह गर्ने आँट ग¥यो ? अब नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने धक्कु लगाएर एउटा वातावरण बनाएर पद प्राप्त गर्ने र त्यही नेताको पिछलग्गु हुने बाहेक अरु नयाँ काम हुन सकेन ।

आज राप्रपामा हामीले आँट गरेका छौं । हामीले राप्रपामा मात्र नयाँ नेतृत्व स्थापनाको कुरा गरेका छैनौंं, नेपालको राजनीतिमा अब पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको अभियानसमेत रापपाले नेतृत्व गर्नेछ ।

हामीले अहिले नेतृत्व परिवर्तनको कुरा मात्र होइन, आगामी दिनमा समेत नेतृत्व हस्तान्तरणको सहज व्यवस्थाको कुरा उठाएका छौं । हाम्रो तीन अध्यक्षले जसरी अडिन प्रयास गरिरहनुभएको छ र जसरी हामीले छुटाउन प्रयास गरिरहेका छौं त्यो घटना नदोहोरियोस् भन्नका लागि हामीले सहज नेतृत्व हस्तान्तरणको व्यवस्था गरेका छौं ।

२०४६ सालको राजनीतिक परिवर्तनपछिको ३०/३१ वर्षको इतिहासमा कुनै पनि सरकारले पूर्ण बहुमत प्राप्त गरे पनि पूरा कार्यकाल पूरा गर्न पाएन । कुनै त्यस्तो राजनीतिक पार्टी रहे जुन नफुटेको होस् । सबभन्दा कान्छो पार्टी भनिएको साझ विवेकशील पार्टी पनि विभाजित भयो । किन त्यस्तो हुन्छ ?

अरु कयौं कारण होलान् तर मूलमा नेपालको राजनीतिमा नेतृत्व हस्तान्तरणको सहज व्यवस्था छैन, चाहे नेपालको संविधानमा होस्, वा दलको विधानमा होस् । एउटा मान्छेले पाउने बेलामा १० वटा प्रयास गरेर वाचा गरेर पार्टी अध्यक्ष पाउने, प्रधानमन्त्री पाउने र पाएपछि त्यसलाई कि घिसारेरै निकाल्नुपर्ने, कि चिहानसम्मै लानुपर्ने ।

किनभने हाम्रो संविधान र कुनै पनि दलको विधानमा नेतृत्वको हस्तान्तरणको सहज व्यवस्था छैन । त्यसैले पार्टीहरू विभाजित भइरहेका छन् र सरकार सधैं अस्थिर भइरहेको छ ।

त्यसैले हामीले कार्यकारी पदमा दुई कार्यकाल भन्दा बस्न नपाउने कल्पना गरेका छौं । एउटा व्यक्तिले १० वर्षमा गर्न नसकेको काम ११ वर्षमा गर्छ भन्ने के छ ?

म अध्यक्षत्रयलाई आग्रह गर्न चाहन्छु– यो राजेन्द्र लिङ्देनको उम्मेदवारी तपाईहको विरुद्धमा होइन । राप्रपा जीवित रह्यो र यसले निरन्तरता पायो भने तपाईहरू यो पार्टीको अध्यक्ष हुनुहुन्थ्यो भन्ने इतिहास रहन्छ । राप्रपा नै रहेन भने तपाईंहरूको इतिहास कसरी रहन्छ ? कमसे कम तपाईंहरूको विरासतलाई जोगाएर लान्छौं भन्ने मान्छे तपाईहरूले निकाल्नुभयो र हामीले यो आँट गर्न सक्यौं । तपाईंहरूले गौरवका साथ हामीलाई स्वीकार्नुहोस् अभिभावकीय भूमिकामा बस्नुहोस् । राप्रपाका कार्यकर्ता र शुभेच्छुकलाई अप्ठेरामा नपार्नुहोस् ।

न यो विद्रोह हो, न तपाईहरूविरुद्धको उम्मेदवारी हो । यो कदम राप्रपाको भविष्यको पक्षमा हो । यसले कसैको नोक्सानी गर्दैन । म वर्षौंदेखि व्यक्तिलाई नेता मानेर बस्ने परम्पराबाट आएका राप्रपाका नेताहरूलाई आग्रह गर्दछु । अब के पो हुन लाग्यो राप्रपामा ? पटक पटक विभाजन व्यहोरेको राप्रपा फेरि अप्ठेरोमा पर्ने हो कि भनेर डराउनु पर्दैन ।

हाम्रो यो कदमले राप्रपालाई अप्ठेरो पर्दैन । बरु सुदृढ र बलियो बनाउँछ । राप्रपामा यसअघि कसैले आँट गरेको थिएन । त्यसैले अलिअलि अस्वाभाविक लाग्छ । तर यो बाध्यकारी कदम हो, कि त हामीले समाप्ति रोज्नुपर्ने भो कि त यो कदम उठाउनुपर्ने भो ।

हाम्रो गाउँसमाजमै यस्ता घटना घट्छन् । एउटी महिला गर्भवती भएको १० महिनामा डाक्टरले भन्छ, सहज डेलिभरी हुँदैन, नानी निस्कदैन । जाँच्दा सबै परीक्षणले बच्चा ठीक छ । तर सहज डेलिभरी हुँदैन, अब के गर्ने ? सानो तिनो कैंची चलाउनै पर्‍यो । यो शरीरमा त छुरा चलाएकै छैन, हाम्रो परिवारमा त छुरा चलाउने परम्परै छैन भनेर छुरा चलाएन भने के हुन्छ ? आमा पनि जाने भो बच्चा पनि जाने भो ।

अहिले आमा भनेको को हो ? वर्तमान हाम्रा अध्यक्षत्रय । बच्चा को हो राप्रपाका भविष्य अर्थात् हामी । राजेन्द्र लिङ्देनले छुरा नचलाउने हो भने बच्चा जन्मिंदैन । हाम्रो भविष्य पनि समाप्त हुन्छ, कहाँको राजसंस्था कहाँको हिन्दूराज्य पुनर्स्थापना । त्यसकारण हामीले प्रिय छुरा चलाउन लागेका हौं । भविष्यका लागि आमाका लागि, बच्चाका लागि छुरा चलाउन लागेका हौं । छुरा चलाउँदा चिरिक्क गर्छ, अलिकति दुख्छ । तर परिणाम सुखद हुन्छ । बच्चाको सुरक्षित अवतरण भएपछि आमा जसरी मुस्कुराउँछिन्, त्यसरी नै हाम्रा अध्यक्षत्रय पनि खुशी हुनुहुन्छ, ठीकै गरेको रहेछ भनेर ।

अहिले सधैंभरि हामीलाई कारिन्दाजस्तो देखेको, लाए अह्राएको मानेर आएको मान्छे हामी आफैं अध्यक्ष हुनप¥यो भन्दा उहाँहरूलाई दुःख लाग्नु स्वाभाविक हो । यत्रो आँट गरेको राजेन्द्र र धवलले भन्ने लाग्न सक्छ ।

हामी हाम्रो कार्यसमितिमा धेरैभन्दा धेरै युवालाई सहभागी गराउँछौं । राप्रपामा युवाहरूको कुन स्थान रहन्छ भन्ने सन्देश जाने गरी पदाधिकारीमा पनि हामी युवाहरूलाई ल्याउँछौं । आज उपेक्षामा परेको मधेश, कर्णालीजस्ता प्रदेशलाई विशेष महत्व दिन्छौं । महाधिवेशन पछि केवल एउटा नेपालको सयौं दलमध्ये एउटा होइन, सशक्त राजनीतिक शक्तिको रूपमा अगाडि बढाउँछौं ।

६ महिनाभित्र राप्रपा भन्दा बाहिर रहेका हिन्दुराष्ट्र र राजसंस्थाको पक्षधर सबै समूह, संस्था र धार्मिक क्षेत्र समेटेर बृहत शक्ति निर्माण अभियान अघि बढाउँछौं । राजसंस्था र हिन्दु राज्य चाहिन्छ भन्ने कोही पनि व्यक्ति राप्रपा भन्दा बाहिर नरहने व्यवस्था मिलाउँछौं । नेपालको मूल राजनीतिक केन्द्रको रूपमा राप्रपालाई पुर्‍याउँछौं ।

मैले संसदमा शपथ लिँदा र बाहिर पनि भनेको छु– भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह हो । म यो भनाइ अनुसार अघि बढ्ने मात्र होइन, राप्रपालाई त्यही ढंगले अघि बढाउँछु । हामी नेपालमा नै सुसंस्कृत राजनीतिको परम्परालाई अघि बढाउँछौं ।

मैले ठूलठूला पदमा बसेर काम गर्ने मौका त पाएको छैन, तर लामो समय पार्टीको जिम्मेवारीमा बस्दा सय, हजार, लाख, करोडको कुरा होइन । एक रूपैयाँ पनि भ्रष्टाचार गरेको छैन । हिजोमात्र होइन भविष्यमा पनि एक रूपैयाँ भ्रष्टचार गर्दिनँ । म यो निष्ठा र इमान्दारिताका साथ राजनीतिमा छु । भोलि पनि रहन्छु भनेपछि मैले कस्तो राप्रपा कल्पना गरेको छु होला ?

अब पार्टीमा एउटै व्यक्ति सातवटा पदमा बस्ने परम्पराको अन्त्य हुन्छ । एउटै मान्छे महिला संगठन, केन्द्रीय समिति, कार्यसम्पादन समिति र मजदुर संगठनमा पनि छन् । अनि नेताको अगाडि जाँदा त्यही २० जना फूलमाला लिएर पुग्छन् । देख्दाखेरि आहा कति सक्रिय कार्यकर्ता भन्ने तर भोटमा कहाँ हो कहाँ हो ? नभए पहिले डेढ लाख भोट पाएको काठमाडौंमा पछि किन १२ हजार मात्र आयो ?

पार्टीमा एक व्यक्ति एक पद हुन्छ । कसैले नेतालाई माला लगाएको भरमा पद पाइँदैन । हामीले त्यही कुरामा चित्त नबुझाएको हो । म मालाको विरोधी हुँ, नेता हुनेबित्तिकै माला बोकेर उभिनुपर्ने कुराको अन्त्य हुन्छ, हामीलाई माला चाहिँदैन ।

अब राप्रपा हरूवा होइन, जितुवा पार्टी हुन्छ । नेपालमा ८१ प्रतिशत हिन्दु जनमत छ । जसको मुद्दा हो, उसैलाई हामीले बुझाउन सकेका छैनौं । जसको मुद्दा हो उसलाई उचित ढंगले बुझाउन सक्यौं भने आउने चुनावमा हामी ठूलो हुन्छौं ।

हाम्रो परिकल्पनाको पार्टी कांग्रेस–एमालेसँग मिलेर दुई चार सिट जित्ने, ३ प्रतिशत कटाएर अरु २/४ सिट ल्याउने अनि जम्ममा १२/१५ सिटको बनाएपछि कसो सरकारमा जान नपाइला भन्ने च्याखे पार्टी बनाउने होइन । राप्रपा अग्रणी र पार्टी पहिलो पार्टी बनाउने संकल्प हो ।

देशभर राजनीतिक दलको गठबन्धन बन्नुपर्ने परिस्थिति बन्यो भने जुन पार्टीसँग मिल्दा राप्रपालाई फाइदा हुन्छ त्यही पार्टीसँग तालमेल गरौंला । तर अहिलेदेखि नै यही पार्टीसँग मिल्ने, कुनै पार्टीको भाइ पार्टी बनाएर जाने भन्ने कुरा अब हामीबाट हुँदैन ।

बिहीबार उम्मेदवारी घोषणा कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?