+
+

चितवन पुगे एमाले नेताहरु, नेतृत्व चयनबारे अलमल कायमै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते २३:५१

९ मंसिर, चितवन । नयाँ नेतृत्व चयनका लागि शुक्रबार शुरु हुने १०औं महाधिवेशनको तयारी बिहीबार साँझसम्म पूरा भएको नेकपा एमालेले जनाएको छ । पाँच लाख जनसहभागिता गराउने दाबीसहित एमालेले नारायणी नदीको किनारामा उद्घाटन समारोहको मञ्च तयार पारेको छ ।

महाधिवेशनलाई भव्यता दिन पार्टी झण्डा, एक सिंगे गैडाको तस्वीरसहित चुनाव चिन्ह सूर्य र पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद उल्लेखित ब्यानरले मञ्च सजाइएको छ । कम्युनिष्ट पार्टीको झण्डा समातेको गैंडाको मस्कट उभ्याइएको छ भने चितवनका प्रमुख सडक र भित्ताहरुलाई महाधिवेशनमय बनाइएको छ ।

यो महाधिवेशनबाट नेतृत्व चयनसँगै राजनीतिक सन्देश समेत दिने भन्दै केन्द्रीय सदस्य विशाल भट्टराई भन्छन्, ‘यो महाधिवेशनले फेरि पनि एमाले मुलुकको प्रमुख शक्ति हो भन्ने प्रमाणित गर्नेछ । त्यही अनुसार तयारी पनि छ ।’

प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार नवलपुरको गैडाकोट र चितवनको विभिन्न ६ स्थानबाट जुलुस निस्कने बताए । उनका अनुसार, महाधिवेशनको खुलासत्र व्यवस्थापन गर्न मात्रै पाँच हजार स्वयम् सेवक परिचालन गरिएको छ ।

विधान महाधिवेशनमा नीति विमर्श सकिएकाले नेतृत्व चयनमा केन्द्रीत हुने यो महाधिवेशनमा २१७५ प्रतिनिधिले भाग लिँदैछन् । महाधिवेशन प्रतिनिधिहरु चितवन आउने क्रम चलिरहेको छ । नजिक रहेका प्रतिनिधिहरु शुक्रबार चितवन आइसक्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । केन्द्रीय कमिटीका नेताहरु भने बिहीबार नै चितवन आइसके । भरतपुर विमानस्थल भएर चितवन आएका अध्यक्ष केपी शर्मा ओली सौराहामा आयोजित एक कार्यक्रममा सहभागी भएका छन् ।

अन्योल उस्तै

महाधिवेशनको व्यवस्थापकीय तयारी पूरा भएपनि नेतृत्व चयनप्रति अन्योल कायमै हुँदा चितवन आइपुगेका अधिकांश नेताहरु सम्वादमा जुटेका छन् । होटल सभेन स्टारमा बसेका स्थायी कमिटी नेताहरुबीच साँझ अनौपचारिक छलफल समेत भयो । ‘नेतृत्व चयन सर्वसहमतिबाट गर्ने प्रयत्नका निम्ति छलफल भएको हो’, एक स्थायी कमिटी सदस्य भन्छन् ।

स्थायी कमिटी सदस्य किरण गुरुङ पनि सहमतिमै नेतृत्व चयन गर्न विभिन्न तहमा छलफल भइरहेका बताउँछन् । ‘छलफल चलिरहेकै छ । कुनै निष्कर्षमा नपुगेपनि प्रयत्न भने गरिरहेका छौं’, उनले भनेका छन् ।

तर कुनै ठोस् निष्कर्षमा भने एमाले पुग्न सकेको छैन । आकांक्षी संख्या अधिक भएकाले निर्विकल्प नेतृत्व चयनको संभावना कमजोर बन्दै गएको देखिन्छ । ‘निश्चित पद छ, आकांक्षी संख्या धेरै छ । त्यसैले अध्यक्ष बाहेक अरु पदमा निर्वाचनकै संभावना बढेर गएको छ’ केन्द्रीय सदस्य महेश बस्नेत भन्छन् ।

उपाध्यक्ष भीम रावलले आइतबार नै अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेकाले ओली समेत निर्विरोध बन्ने अवस्था देखिन्न । यद्यपि निर्विरोध नेतृत्व चयनको प्रयत्न भने केन्द्रीय कमिटीका नेताहरुले समेत शुरु गरेका छन् । विशाल भट्टराई, हिक्मत कार्की, रचना खड्का लगायत नेताहरुले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटेर सर्वसहमत नेतृत्व चयनको दबाव दिएका छन् । पदाधिकारी संख्या २१ देखि २३ सम्म बनाउने र केन्द्रीय कमिटीको संख्या ३०० बनाउँदा सहमति जुट्ने यी नेताहरुको तर्क छ ।

तर सहमतिका लागि आग्रह नगर्ने सार्वजनिक अभिव्यक्ति दिएका ओलीले भने चितवन पुगेर पनि नेतृत्व चयनको प्रक्रियाबारे बोलेका छैनन् । ‘अझै हामीसँग समय छ । महाधिवेशनको उद्घाटन सत्र सकिएपछि पनि सहमतिका लागि छलफल गर्न सकिन्छ’, स्थायी कमिटी सदस्य रघुजी पन्त भन्छन् । शुक्रबार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दैछ । एकताबद्ध एमालेको सन्देश दिन सर्वसहमतिबाट नेतृत्व चयन गर्नुपर्ने भन्दै नेता पन्त अन्तिमसम्म सर्वसहमतिको प्रयत्न गर्न सकिने बताउँछन् ।

तर नेताहरु चितवन पुग्दा पनि परिस्थितिमा भने कुनै फेरबदल आएको छैन । विशेषगरी ओली निकट नेताहरु दुई धारमा देखिएकाले सहमतिको संभावना कमजोर देखिन्छ । महासचिव पोखरेल र संसदीय दलका उपनेता नेम्वाङको नेतृत्वमा ओली निकट नेताहरु दुई धारमा बाँडिएका छन् । दुवै तर्फका नेताहरु बरिष्ठ उपाध्यक्ष भन्दा मुनिका पदमा उम्मेद्वारी घोषणाको प्रतिश्पर्धामा उत्रिएका छन् । ‘कुनै परिवर्तन आएको छैन । बरु झनै समस्या बढेको देखिन्छ’, एक नेता भन्छन् । अहिलेको परिस्थिति कायमै रहनेमा निर्वाचनको विकल्प नरहेको उनी बताउँछन् ।

१० बुँदे सहमति गरेर एमालेमै बसेका र पूर्वमाओवादी नेताहरुको अन्योल पनि उस्तै छ । बिहीबार चितवन पुगेका दुवै तर्फका नेताहरुले आफ्नो उम्मेद्वारीले मुख खोल्न सकेका छैनन् । उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेपनि अन्य नेताहरु  ओली समूहभित्र देखिएको ध्रुविकरणले थप अन्योलमा देखिएका छन् । ‘केपी ओली निकट नेताहरुलाई पो उम्मेद्वारी घोषणा गर्ने र फिर्ता लिन सजिलो छ । हामीलाई त केपी ओलीले भनेकाले फिर्ता लियौं भन्ने छुट पनि छैन’, एक नेता भन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?