+
+

‘नेपाल एअरलाइन्स राजनीतिको थलो भयो’

अच्युतराज पहाडी,  पूर्व संचालक समिति सदस्य अच्युतराज पहाडी,  पूर्व संचालक समिति सदस्य
२०७८ मंसिर १० गते १९:१५

नेपाल वायुसेवा निगमलाई राजनीतिक दल र सरकारी संरचनाले अन्य सार्वजनिक संस्थान जस्तै ठानेर हेर्ने प्रचलन छ । हरेक पटकको राजनीतिक नियुक्ति र त्यसमा छनोट हुने पात्रलाई लिएर मूल्यांकन गरौं यो स्पष्ट हुन्छ ।

व्यक्तिको राजनीतिक आस्था हुन्छ, त्यो ठूलो प्रश्न होइन । तर, यो संस्था संचालन गर्न बढी नै दक्ष र विज्ञ नेतृत्वको जरुरत पर्छ । यहाँ बढी नै प्राविधिक विषयमा काम गर्नुपर्छ । अन्तर्राष्ट्रिय नेटवर्किङले समेत उत्तिकै प्रभाव पार्छ ।

त्यसैले कुनै व्यक्तिले पार्टी, मन्त्रीलाई सहयोग गरेको छ भन्दैमा टपक्क टिपेर ल्याउँदा संस्थामा त्यसले पार्ने दीर्घकालीन प्रभावको मूल्यांकन गरिनुपर्छ । तर, हाम्रोमा त्यसो गरिंदैन । जसको असर हामी अहिले नतिजामा देखिरहेका छौं ।

नेपाल वायुसेवा निगममा अपरेशन र इन्जिनियरिङ क्षेत्रको विज्ञ व्यक्तिले समग्र निगमको नेतृत्व गर्नुपर्छ । वायुसेवा आफैंमा निकै संवेदनशील क्षेत्र हो । त्यसमाथि आन्तरिक तथा बाह्य प्रतिस्पर्धामा खरो उत्रन सकिएन भने छिट्टै टाटपल्टने सम्भावना हुन्छ ।

राजनीतिक नियुक्त गर्ने परिपाटी राखिएको संस्थामा स्वाभाविक रूपमा सरकारले आफू अनुकूलका व्यक्ति नियुक्त गर्छ । यसो गर्दा काममा सहज हुने अपेक्षा पनि गरिन्छ । तर, यसको मतलब राष्ट्रिय ध्वजावाहकलाई राजनीति गर्ने थलो बनाउनुहुँदैन ।

मसँग आफ्नै अनुभव छ । हामीले नेपाल एअरलाइन्समा तीन दशकभन्दा लामो समय बितायौं । संचालक समिति सदस्य भएको बेला मन्त्रीहरूले मन्त्रालयमा बोलाएर राजीनामा दिन दबाब दिने र आफू अनुकूलको व्यक्ति ल्याउन प्रयत्न कतिसम्म हुन्छ भन्ने एउटा भुक्तभोगी म आफैं पनि हुँ ।

व्यक्तिको राजनीतिक आस्था एक ठाउँमा होला । तर, संगठन संचालनका दौरान राजनीतिलाई प्राथमिकता दिइनुहुँदैन । राजनीति गर्ने भए सांसद र मन्त्रीकै लागि लड्ने हो, वायुसेवा निगममा अध्यक्ष वा महाप्रबन्धक बन्नुहुँदैन ।

त्यसैले निगमको नेतृत्वमा आउने व्यक्तिको सम्पूर्ण ध्यान संस्थालाई सबैभन्दा अब्बल बनाउनेमै केन्द्रित हुनुपर्छ । खासगरी नेपाल जस्तो राष्ट्रिय ध्वजावाहकलाई निकै माया गर्ने यात्रु भएको मुलुकमा यो काम त्यति कठिन पनि छैन ।

राजनीतिक नियुक्त गर्ने परिपाटी राखिएको संस्थामा स्वाभाविक रूपमा सरकारले आफू अनुकूलका व्यक्ति नियुक्त गर्छ । यसो गर्दा काममा सहज हुने अपेक्षा पनि गरिन्छ । तर, यसको मतलब राष्ट्रिय ध्वजावाहकलाई राजनीति गर्ने थलो बनाउनुहुँदैन । अहिले यही भइरहेको छ ।

संस्थाभित्र राजनीतिक आस्थाका आधारमा व्यवहार गरिन्छ । अघिल्लो नेतृत्वका राम्रा कामलाई निरन्तरता दिनु साटो नयाँ बाटोबाट जान खोजिन्छ । फलस्वरुप बन्दै गरेको प्रणाली भत्कन्छ । आज एउटा नेतृत्वले अगाडि बढाएको निर्णयलाई आगामी नेतृत्वले निरन्तरता नदिने हो भने स्थायी संयन्त्रको अर्थ के रह्यो र ?

अर्कोतर्फ, नेतृत्वमा जो आए पनि हुन्छ, संयन्त्र त तल्लो तहले चलाइहाल्छ नि पनि भन्ने गरिन्छ । त्यसो भए कार्यकारी अध्यक्ष, महाप्रबन्धक किन चाहियो ? निर्देशक र प्रबन्धकहरूले संस्था चलाए भयो नि ! त्यसकारण नेतृत्वमा अक्षम व्यक्ति आउँदा वा अन्य क्षेत्रका विज्ञ एअरलाइन्स क्षेत्रमा आउँदा नेपाल एअरलाइन्स प्रतिस्पर्धामा पछिपरेको अनुभूति हुन्छ ।

निगममा विज्ञ नेतृत्व आउँदा पनि उसले स्वतन्त्रतापूर्वक काम भने गर्न पाउनुपर्छ । नेतृत्वसँग दीर्घकालीन भिजन छ, तर कार्यान्वयनमा समस्या र अवरोध मात्रै छन् भने त्यो नेतृत्वबाट पनि प्रतिफल प्राप्त हुँदैन । त्यसकारण पनि निगमलाई अन्य संस्थान जस्तै ठान्ने परिपाटीबाट माथि उठ्नै पर्छ ।

हामी संचालक समितिमा हुँदा निकै अध्ययनपछि चिनियाँ जहाज अब संचालन गर्नुहुँदैन भन्ने निष्कर्षमा पुग्यौं । अहिले हामी सुन्दैछौं, जहाज पुनः संचालनको तयारी छ । एक पटक अध्ययन भएर निष्कर्षमा पुगेको विषयलाई नेतृत्व परिवर्तनपिच्छे कोट्याइरहने परिपाटी नेवानिमा छ ।

त्यसैगरी जहाज बिग्रिएर थन्कियो भने एउटा नेतृत्वले बनाउने निर्णय गर्ने, अर्को नेतृत्व आएपछि बेच्ने निर्णय गर्ने गरिन्छ । यसले संस्थालाई कति आर्थिक भार परिरहेको छ, त्यो नेतृत्वले नजरअन्दाज गरिदिन्छ । सबै संचालक समितिको मत एकातर्फ हुँदा कतिपय निर्णयमा मैले एक्लै असहमति जनाएको अनुभव पनि मसँग छ ।

हामीलाई यो संस्थाको माया छ । तर, संस्थालाई सीमित स्वार्थपूर्तिका लागि अन्य क्षेत्रका व्यक्ति ल्याएर अस्थिरता सिर्जना गराइन्छ भने तपाईंले नेवानिबाट प्रतिफलको अपेक्षा नगरे हुन्छ । अहिले काम गर्न नसक्दा कर्मचारीलाई दोष थुपारेर उम्कन सकिने उपाय पनि छ । तर, यहाँका सबै कर्मचारीले निगमको उन्नति चाहन्छन् भन्ने पनि बिर्सनुहुँदैन ।

त्यसकारण नेतृत्वले उनीहरूलाई विश्वास र साथमा लिएर दीर्घकालीन महत्वका निर्णय लिनुपर्छ । किनकि भोलि तपाईंले कर्मचारीको साथ विना कसरी काम गर्नुहुन्छ ? तपाईंको नियत सफा छ भने कर्मचारीबाट पनि असहयोग हुँदैन । प्रश्न नियतमा हो । गल्ती कसैले गर्छ भने उसमाथि कारबाही गर्ने संयन्त्र त छँदैछ नि !

यसो भन्दैमा निगम अब माथि उठ्नै सक्दैन भन्ने होइन । अझै पनि निगमलाई नाफा कमाउने सक्षम संस्थाका रूपमा अगाडि बढाउन सकिन्छ । यसमा राजनीतिक दल र प्रशासनिक नेतृत्वको इच्छाशक्ति महत्वपूर्ण हुन्छ । राजनीतिक नेतृत्वले पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर ध्वजावाहकको हित हेर्छ भने सोही प्रकारको नेतृत्व छनोटमा गम्भीर हुनुपर्छ ।

(नेवानिका पूर्व सञ्चालक समिति सदस्य पहाडीसँग अनलाइनखबरकर्मी अच्युत पुरीले गरेको कुराकानीमा आधारित ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?