+
+

‘सरकार इमानदार भए नेवानि सुध्रिन समय लाग्दैन’

तारणीराज दाहाल, पूर्व अध्यक्ष, नेवानि कर्मचारी यनियन तारणीराज दाहाल, पूर्व अध्यक्ष, नेवानि कर्मचारी यनियन
२०७८ मंसिर १० गते १९:१३

जुझारु कर्मचारी, माया गर्ने यात्रु र गर्विलो इतिहास, नेपाल वायुसेवा निगमको श्रीवृद्धिका लागि यी तीन तत्व काफी छन् । तर, सरकार परिवर्तन भएपछि आफ्नै मान्छे नल्याए भाग नै नपाइएला भनेर सोच्ने नेतृत्वका कारण यो संस्था झन्पछि झन् धरासायी बन्ने अवस्थामा पुगेको हो ।

भनिन्छ नि, आफ्नै अनुहार राम्रो छैन भने ऐना मात्र फेरेर के काम ? नेपाल एअरलाइन्समा महाप्रबन्धक र कार्यकारी अध्यक्ष बीचमा भिडन्त गराएर अस्थिरता निम्त्याउने परिपाटी आज मात्र भएको होइन । त्यसैले त कहिलेकाहीं यो व्यवस्था नै ठीक छैन कि भन्ने असन्तुष्टि समेत सुनिन्छ ।

इतिहास कोट्याउँदै जाने हो भने जब नेपालमा बहुदलीय व्यवस्था आयो, त्यसपछि निगमभित्र अस्थिरता शुरू भयो । हामीले प्रजातन्त्र किन ल्याएको ? निगम सपार्न कि भएका संरचनालाई पनि अझ बिगार्न ?

कुलबहादुर लिम्बू विरुद्ध सुगतरत्न कंसाकार, सुगतरत्न विरुद्ध मदन खरेल, डिमप्रसाद पौडेल विरुद्ध युवराज अधिकारीको नियुक्ति नै निगममाथि राजनीतिक नेतृत्वले खेल्ने गरेको परेडको उदाहरण हो । कम्तीमा एउटा नेतृत्वलाई पूर्ण कार्यकाल काम गर्न दिने हो भने राम्रा/नराम्रा कामको जिम्मेवारी, जवाफदेही सोही नेतृत्व हुनेथियो ।

राजनीतिक इच्छाशक्ति र सरकारको इमानदार साथ हुने हो भने नेपाल वायुसेवा निगमले पुरानो छवि छिट्टै फिर्ता गर्न सक्छ । दुई/तीन वर्षकै प्रयासमा यो सम्भव छ

एउटा फोनको भरमा आफ्नो सबै काम गरिदिने नेतृत्व आउँछ भने स्वाभाविक रूपमा राजनीतिक नेतृत्वले संस्थामा आफ्नो मान्छे पठाउन कोशिश गर्छ । संस्थाबाट लिनेजति फाइदा लिने अनि संस्था चल्न नसक्ने अवस्थामा पुर्‍याएपछि निजीकरण गर्ने कि बिक्री गर्ने भनेर बहस थाल्ने । आफैंले बिगारेको प्रणालीको जिम्मेवारी आफैंले नलिने ।

त्यस्तो अवस्थामा संस्थाले प्रगति गर्छ ? प्रगति गर्न दिन्छन् ? अझ रोचक कुरा के छ भने निगमको महाप्रबन्धक वा अध्यक्ष हुन पैसा तिर्नुपर्छ भन्ने सुनिन्छ । यदि यो सत्य हो भने त्यो महाप्रबन्धक वा कार्यकारी अध्यक्षको उद्देश्य के हुन्छ ? पक्कै पनि आफूले तिरेको पैसा असुल उपर गरेर नाफा कमाउने हुन्छ । अनि संस्थाको भविष्य के हुन्छ, स्पष्ट छैन र ?

यो कार्यकारी अध्यक्षको सवालमा मात्रै होइन, संचालक समिति सदस्यको हकमा पनि लागू हुन्छ । कठपुतली व्यक्तिहरू लगेर आफ्नो स्वार्थका लागि काम गराउन नियुक्ति दिइन्छ । एक/दुई जना खराब प्रवृत्तिका कर्मचारी जहाँ पनि हुन सक्छन् । खरीद प्रक्रियामा समस्या छन् भने नीति र नियमावलीहरू परिवर्तन गर्न सकिन्छ । तर, यसले नतिजा त देखाउनु पर्‍यो नि !

मलाई याद छ, निगमले केही वर्ष अगाडि आन्तरिक उडानमा ७ वटासम्म नयाँ जहाज थप्ने र आक्रामक उडान योजना बनायो । यो कार्यान्वयन भएको भए आज सुगम र दुर्गम दुवै रुटमा नेपाल एअरलाइन्सका जहाज उडिरहेका हुन्थे । भाडा अहिले भन्दा आधा सस्तो हुन्थ्यो ।

स्पष्ट रूपमा भन्दा निजी क्षेत्रले यस्तो हुन दिन्छ ? संचालक समितिबाटै यो योजना अगाडि बढ्न सकेन । नेपाल एअरलाइन्सले ठूला जहाज किन्दा विदेशी ऋणदाताले एक/दुई प्रतिशत ब्याजदरमै ऋण दिन तयार थिए । अर्थ मन्त्रालय र मन्त्रिपरिषद्का सदस्यलाई कर्मचारी संचय कोष र नागरिक लगानी कोषको बिजनेस बढाउनु थियो । १० प्रतिशत ब्याजदरमा ऋण भिडाए । आज निगम त टाट पल्टियो, पल्टियो, यी कोषहरू जोखिममा परिसके । यसको जिम्मेवारी कसले लिने ?

निगमको सुधारमा गम्भीर हुनुपर्‍यो भन्दै हामीले निगमबाट एक पटक मुलुकका सबै शीर्ष नेतृत्वलाई भेटेका थियौं । उहाँहरूले उल्टै कर्मचारीले निगम डुबाए भन्ने दोष लगाउनुभयो, तर निगमलाई कसरी उद्धार गर्न सकिन्छ भन्नेबारे उहाँहरूसँग कुनै पनि प्रकारको भिजन छैन ।

एक/दुई जना बदमास जहाँ पनि हुन्छन्, त्यसो भन्दैमा सबै कर्मचारी उस्तै हुन् भन्ने धारणा बनाउनु गलत हो । त्यसमाथि कर्मचारीलाई दोष दिएर निगममाथि गरेको अन्याय ढाकछोप हुन सक्दैन । जब नेतृत्व कमाउ धन्दामा लागेको छ भने कर्मचारी कसरी इमानदार बन्छ ?

निगममा देखिएको सबैभन्दा ठूलो समस्या जवाफदेहिताको हो । तपाईंले जस्तो निर्णय गरे पनि त्यसको नकारात्मक असरको जवाफ कसैले दिनु नपर्ने हो भने समस्या त रहिरहन्छ । अर्कोतर्फ टाट पल्टनै लागेको संस्थालाई केही ठूलै निर्णय नगरेसम्म उकास्न मुश्किल पर्छ ।

तपाईंले बुझ्नुहोस् कि निगम रोगले थलिएको छ । यसको निदान नगरी यथास्थितिमै छाडिदिने हो भने थप जटिलता आउँछ । छिट्टै संस्था समस्याग्रस्त अवस्थामा पुग्छ । संस्थालाई उकास्ने हो भने केही न केही कदम चालेर उसको उपचार थाल्नै पर्छ । यो उपचार भनेको एउटा पार्टीको कार्यकर्ता फालेर अर्को पार्टीको कार्यकर्ता ल्याउनु हुँदै होइन । तर, आज यस्तै भइरहेको छ ।

निगमको उन्नतिका लागि अब बजार विस्तार र क्षमता अभिवृद्धि नै प्रमुख शर्त हो । निगमसँग अहिले पर्याप्त कर्मचारी छन् । कर्मचारीलाई पूर्ण क्षमतामा काम दिन सकिएको छैन । विगतमा अगाडि बढेका योजना कार्यान्वयन गर्न सकेको भए आन्तरिक र बाह्य उडानमा निगमसँग पर्याप्त जहाज हुन्थे ।

आर्थिक उपार्जन भइरहने थियो भने कर्मचारीको पूर्ण उपयोग पनि हुन्थ्यो । राजनीतिक इच्छाशक्ति र सरकारको इमानदार साथ हुने हो भने नेपाल वायुसेवा निगमले पुरानो छवि छिट्टै फिर्ता गर्न सक्छ । दुई/तीन वर्षकै प्रयासमा यो सम्भव छ । त्यसका लागि के गर्दा ठीक हुन्छ भन्नेबारे धेरै अध्ययन/अनुसन्धान पनि भएका छन् । यसलाई सबैले मनन् गर्नु आवश्यक छ ।

(नेवानिको आधिकारिक कर्मचारी युनियनका पूर्व अध्यक्ष तारणीराज दाहालसँग अनलाइनखबरकर्मी अच्युत पुरीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?