+
+

राष्ट्र बैंकको निष्कर्ष : अर्थतन्त्र पुनरुत्थानतिर, इन्धन र चुनावले महँगी बढाउँछ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १७:१८

१० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ विरुद्ध खोपको उपलब्धता बढ्दै र संक्रमण दर घट्दै गएपछि आर्थिक गतिविधि विस्तार हुन थालेको ठहर गरेको छ । बाह्य क्षेत्र व्यवस्थापनमा दबाव पर्दै गएको भएतापनि समष्टिगत आर्थिक स्थायित्व कायम रहेको राष्ट्र बैंकको मौद्रकि नीति–२०७८/७९को पहिलो त्रैमासिक सीमक्षा प्रतिवेदनमा उल्लेख छ । तर, इन्धनको मूल्य र नजिकिँदो स्थानीय तहको चुनावले आयात र मूल्यवृद्धि तप बढाउने राष्ट्र बैंककको निष्कर्ष छ ।

कोभिड–१९ शुरु पूर्व (२०७६ फागुन) को तुलनामा मंसिर २०७७ मा समग्र औसत उत्पादन/कारोबार ५०.५ प्रतिशत थियो । तर, कात्तिक २०७८ मा ७४.७ प्रतिशत पुगेको छ । होटल तथा रेष्टुरेन्ट क्षेत्रका क्रियाकलापको पुनसञ्चालनको गति भने अन्य क्षेत्रहरुको तुलनामा न्यून देखिएको छ ।

तालिका हेर्नुस्:

कोभिड–१९ महामारीको असर क्रमिक रुपमा कम हुँदै गएको, खोपको उपलब्धता बढ्दै गएको, वैदेशिक रोजगारीमा जानेको संख्या तथा विदेशी पर्यटकको आगमन समेत बढ्न थालेको, विद्युत निर्यात शुरु हुनुको साथै मौद्रिक तथा वित्तीय नीतिगत सहजीकरण कायमै रहेकोले आर्थिक पुनरुत्थानले गति लिने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक पुनरुत्थानको चरणमा कर्जाको माग बढिरहेको र यस्तो कर्जाको ठूलो हिस्सा आयात भुक्तानीमा खर्च भैरहेको प्रतिवेदनमा उल्लेख छ । विप्रेषण आप्रवाह अपेक्षित रुपमा बढ्न नसकिरहेकोले बाह्य क्षेत्र स्थायित्वमा दबाव कायमै रहने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा प्रतिवेदनअनुसार कोभिड–१९ बाट प्रभावित विश्व अर्थतन्त्र पनि पुनरुत्थानको दिशामा अघि बढेको छ । सन् २०२० मा ३.१ प्रतिशतले संकुचनमा गएको विश्व अर्थतन्त्र सन् २०२१ मा ५.९ प्रतिशतले र सन् २०२२ मा ४.९ प्रतिशतले विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ ।

प्रतिवेदनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार उच्च रहेकोले तरलतामा चाप परेको उल्लेख छ । विद्युतीय माध्यमबाट वित्तीय कारोवार गर्ने प्रचलन तीब्र रुपमा बढेको छ भने वित्तीय पहुँच निरन्तर विस्तार हुँदै गएको छ ।

आर्थिक गतिविधि विस्तारसँगै आयात बढ्दै गएको तर विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोतको रुपमा रहेको विप्रेषण आप्रवाह संकुचित हुँदै गएकोले शोधनान्तर स्थिति घाटामा छ ।

महँगी बढ्छ

मूल्यवृद्धि भने नियन्त्रित रहेको राष्ट्र बैंकले बताएको छ । आर्थिक वर्ष २०७८/७९ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ६.५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा पहिलो तीन महिनामा औसत उपभोक्ता मूल्यवृद्धि ४.०३ प्रतिशत छ । वार्षिक विन्दुगत आधारमा २०७८ असोजमा उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ । २०७७ असोजमा यस्तो मूल्यवृद्धि ३.७९ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षमा स्थानीय तहको निर्वाचनमा हुने खर्चले समष्टिगत माग थप विस्तार भई मूल्य र आयातमा समेत चाप पर्ने स्थिति छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले समेत नेपालको मुद्रास्फीति बढ्ने देखिएको छ । साथै, यस बैंकले हालै सम्पन्न गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणमा समेत आगामी दिनमा मूल्य वृद्धिमा थप चाप पर्ने देखिएको राष्ट्र बैंककको ठहर छ ।

विश्व मुद्रास्फीतिमा भने चाप पर्न थालेको छ । सन् २०२० मा विकसित र विकासोन्मुख मुलुकहरुको मुद्रास्फीति क्रमशः ०.७ प्रतिशत र ५.१ प्रतिशत रहेकोमा सन् २०२१ मा क्रमशः २.८ प्रतिशत र ५.५ प्रतिशत हुने प्रक्षेपण छ । सन् २०२२ मा भने मूल्य वृद्धिमा केही सुधार हुने कोषको प्रक्षेपण रहेको राष्ट्र बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?