+
+

भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइटको तयारी कहाँ पुग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १७:२६
फाइल तस्वीर

१२ मंसिर, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट)का लागि प्राविधिकहरुले काम शुरु गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई)का प्राविधिकहरु आएर अहिले जडान भएका उपकरणहरुबारे अध्ययन गरिरहेका छन् । यो ठेक्का सम्झौताकै एक पाटो हो ।

प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार कोरोना महामारीका कारण प्राविधिक समयमै आउन नसक्दा काममा ढिलाइ भएको हो । अघिल्लो साता मात्र आएका प्राविधिकले अहिले क्यालिब्रेसन फ्लाइटका लागि काम गरिरहेका छन् । ‘यो त एरोथाईको ठेक्का भित्र कै काम हो,’ उनले भने, ‘अब हवाइजहाज नै कहिले उडाएर परीक्षण गर्ने, यो यही कम्पनीले निश्चित गर्नेछ ।’

निर्माण शुरु भएको ७ वर्षपछि राष्ट्रिय गौरवको आयोजनामा परीक्षण उडान हुन लागेको हो । क्यालिब्रेसन उडानमार्फत विमानस्थलमा जडान भएका सञ्चारदेखि उडान–अवतरणका लागि आवश्यक अन्य उपकरणहरुले काम गरे–नगरेको परीक्षण हुन्छ । गौतमबुद्ध विमानस्थलको उपकरण जडानतर्फको ठेक्का एरोथाईले नै पाएको थियो । सो ठेक्का सम्झौतामै यस्तो उडान समेत समेटिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईसीबी वानतर्फ भौतिक संरचना निर्माण गरिएको छ । यो चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले गरेको हो । आईसीबी टू तर्फको काम भने थाइल्याण्डको एरोथाई कम्पनीले गरेको हो । क्यालिब्रेसन उडानका दौरान, उपकरण जडित जहाजमात्र नभई विज्ञ जनशक्ति समेत साथमा हुनुपर्छ । यसको व्यवस्थापन एरोथाई स्वयंले जोहो गर्ने प्राधिकरणको भनाइ छ ।

भैरहवा विमानस्थलको निर्माणको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो । विमानस्थलको प्रारम्भिक लक्ष्य अनुसार डिसेम्बर २०१७ मै सञ्चालनमा आइसक्नु पर्ने थियो । तर, यो मितिभन्दा थप चार वर्ष अवधि लम्बिएको हो । विमानस्थलको भौतिक संरचना निर्माणको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ हो । तर, यस विमानस्थलको मुआब्जा वितरणमा भने ३० अर्ब भन्दा बढी रकम खर्च भइसकेको छ । यो विमानस्थल निर्माणमा एसियाली विकास बैंकले सहुलियतपूर्ण ऋण सहयोग गरिरहेको छ ।

भैरहवामा ३ हजार मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग निर्माण भएको छ । सोहीकारण काठमाडौंमा उडान–अवतरण हुने सबै क्षमताका विमानको उडान–अवतरण यहाँबाट पनि सम्भव हुनेछ । यहाँ एक पटकमा एउटा वाइडबडी, एउटा न्यारोबडी र दुई वटा साना जहाज पार्क गर्न मिल्ने अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण गरिएको छ । आन्तरिक उडानका लागि छुट्टै पार्किङ एप्रोन रहेको छ । टर्मिनल भवन तथा आवश्यक टावरहरु निर्माणको काम सकिएको छ । अग्नी निवारण तथा जीवनोद्धार सेवाका लागि आधुनिक दमकल र एम्बुलेन्स सेवा खरीदको काम समेत पुरा भएको प्राधिकरणले जनाएको छ ।

परीक्षण उडानपछि के हुन्छ ?

फ्लाइट क्यालिब्रेसनपछि सञ्चार, कन्ट्रोल टावरसहित विमानस्थलमा जडित उडान–उपकरणहरुले काम गरे–नगरेको पत्ता लाग्नेछ । यस्तो फ्लाइटमा विज्ञहरु सहभागी हुन्छन् । परीक्षण उडान गर्न विशेष जहाज चाहिन्छ । कम्यूनिकेशन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण सफल भएपछि भने जहाज उडान/अवतरणको बाटो खुल्नेछ । त्यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट मान्यताप्राप्त रुट स्थापित गर्नुपर्ने हुन्छ ।

प्राधिकरणका अनुसार भैरहवा विमानस्थलमा फ्लाइट क्यालिब्रेसन सकिएपछिको तीन महिनामा विमानस्थल व्यवसायिक उडानका लागि योग्य बन्नेछ । प्राधिकरणका अनुसार त्यसपछि प्राधिकरण आफैंले परीक्षण उडान गरी अन्तर्राष्ट्रिय उडानका लागि यो विमानस्थल खुला गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?