+
+

कक्षाकोठा : खै त भौतिक दूरी र मास्क ?

नुनुता राई नुनुता राई
२०७८ मंसिर १३ गते १८:२१
फाइल तस्वीर

१३ मंसिर, काठमाडौं । दशैंअघि आलोपालो, ठूलो कक्षाका विद्यार्थीलाई मात्रै कक्षामा बोलाएका विद्यालयहरुले छठपछि पूर्ण रुपमा विद्यालय सञ्चालन गरिरहेका छन् । सबै कक्षाका विद्यार्थीहरु विद्यालय जान थालेका छन् ।

कोभिड १९ को जोखिमबीच खुलेका विद्यालयहरुले सेनिटाइजर र मास्क अनिवार्य गरेको जनाएका छन् । काठमाडौंको कालिमाटीस्थित नीलबाराही माविकी प्रधानाध्यापक जानुका नेपाल भन्छिन्, ‘मास्क र सेनिटाइजर अनिवार्य गरेका छौं । भौतिक दूरी कायम गर्न भने असम्भव नै देखियो ।’

लामो समयपछि भेट भएका विद्यार्थीहरु एकापसमा अँगालो मार्ने, नजिक बसेर गफ गर्ने गरिरहेको र त्यसलाई रोक्न नसकिने उनले बताइन् ।

बिहान १० बजेदेखि दिउँसो साढे तीन बजेसम्म खुल्न थालेका कुनै पनि विद्यालयले भौतिक दूरी कायम गर्न सकेको देखिन्न । ललितपुरको मदन स्मारक विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल स्वास्थ्य सुरक्षा मापदण्डमा सेनिटाइजर र मास्क मात्रै अनिवार्य गर्न सकिने बताउँछन् ।

‘अनिवार्य गर्न सकिने मास्क र सेनिटाइजर पनि पूर्ण रुपमा लागू गर्न गाह्रो छ,’ उनी भन्छन् ‘बालबालिका हुन्, खेल्दा खेल्दै मास्क निकाल्ने, फाल्ने गर्छन् । हरक्षण हेर्न सम्भव छैन ।’

ललितपुर महानगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्र क्षेत्री सबै विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिएको बताउँछन् । निर्देशन लागू भए नभएको अनुगमन गर्ने तयारी पनि गरिरहेको उनले बताए ।

काठमाडौं महानगरपालिकाको संस्थागत विद्यालय शाखा प्रमुख मोतीराज खनालले नियमित निरीक्षण भइरहेको बताए । उनले भने, ‘त्यसक्रममा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको पाइएको छ ।’

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले अधिकांश विद्यालय भौतिक रुपमा सञ्चालन हुन थालेको र धेरै विद्यार्थी भएका केही विद्यालयले अहिले पनि आलोपालो प्रणालीमा कक्षा चलाएको बताए । संगठनमा आवद्घ विद्यालयहरुलाई मास्क, सेनिटाइजर, साबुनपानीको व्यवस्था अनिवार्य गर्न अनुरोध गरेको उनले बताए ।

‘शिक्षक, विद्यालय कर्मचारी सबैले खोप लगाएकाले जोखिम कम भएको छ,’ उनले भने, ‘विद्यालय खुल्न थालेसँगै समस्याबारे तथ्यांक तयार पार्दैछौं ।’

प्याब्सनले हरेक विद्यालयलाई एउटा आइसोलेसन कक्ष अनिवार्य बनाउन, एक जना स्वास्थ्यकर्मीको व्यवस्था गर्न, स्कुल बसमा भीडभाड रुपमा विद्यार्थी नराख्न भनेको सापकोटाले बताए ।

सबै सचेत हुन अनुरोध

स्वास्थ्य मन्त्रालयका प्रवक्ता रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले विद्यालय सञ्चालन सम्बन्धमा शिक्षा मन्त्रालयको निर्देशिका अनुसार सुरक्षा मापदण्ड अपनाउनुपर्ने बताए ।

कोरोना भाइरसले कुनै पनि समयमा नयाँ स्वरुप लिने भएकोले सबै सचेत हुनुपर्ने उनको भनाइ छ । ‘बालबालिकामा संक्रमण बढेको तथ्यांक नभएपनि अभिभावक, शिक्षक, कर्मचारी र बुझ्ने उमेरका सबै बालबालिका सचेत र जिम्मेवार भई विद्यालय चलाउन अनुरोध छ,’ उनले भने ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?