+
+

नेटोलाई पुटिनको चेतावनी : युक्रेनमा फौज पठाए कडा जवाफ दिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १३:१०

१५ मंसिर, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा फौज तैनाथ गरे नेटो गठबन्धनलाई कडा जवाफ दिने चेतावनी दिएका छन् । पश्चिमी मुलुकले युक्रेनमा रुसी हमला हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका बेला पुटिनले नेटो गठबन्धनलाई कडा चेतावनी दिएका हुन् ।

युक्रेनमा नेटो फौज तैथान गर्नु भनेको रुसको ‘रेड लाइन’ पार गर्नु बराबर भएको र फौज तैनाथ गरेमा कडा जवाफ दिइने उनको भनाइ थियो । मस्कोमा आयोजित भर्चुअल लगानी मञ्चका सहभागीहरूलाई सम्बोधन गर्ने क्रममा सीमा नजिक नेटो फौजको अभ्यासबाट रुस चिन्तित बनेको पनि पुटिनले बताए ।

‘यस्ता धम्की (फौजी तैनाथ) भनेका रुसका लागि रेड लाइन हुन्’, पुटिनले भने, ‘उनीहरूले आफ्नै मुलुक र विश्व समुदायका लागि थप विवेक र जिम्मेवारी देखाउने आशा गरेको छु ।’

पूर्वतर्फ नेटो फौजको विस्तारबाट मस्कोका प्रमुख सुरक्षा चासो खतरामा पारेको भन्दै पुटिनले ५ मिनेटभित्रै रुसका कमान्ड सेन्टरमा पुग्न सक्ने क्षेप्यास्त्र तैनाथीका लागि नेटो गठबन्धले युक्रेनी भूमि प्रयोग सक्ने पनि बताएका थिए ।

नेटोबाट बढ्दो खतराका कारण नयाँ हाइपरसोनिक हतियार विकास गर्न आफूहरू बाध्य भएको पनि पुटिनको भनाइ थियो ।पुटिनले भने, ‘हामीलाई धम्की दिनेहरूलाई उनीहरूका जस्तै हतियार विकास गरेर निशाना बनाउनु पर्छ र हामीले यो कुरा अहिले पनि गर्न सक्छौं ।’

यसअघि नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनमाथि हमला गरे ‘रुसले गम्भीर राजनीतिक एवं आर्थिक परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका थिए ।

मंगलबारदेखि लात्भियाको राजधानी रिगामा आयोजित नेटो राष्ट्रका विदेशमन्त्रीको २ दिने बैठकमा समेत युक्रेनी सीमामा रुसको बढ्दो सैन्य उपस्थितिबारे छलफल हुने छ ।

एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?