+
+
Shares

चीनको इभी प्रविधि युद्ध: कार निर्माताहरू आफैँ बनाउँदै छन् ‘स्मार्ट-ड्राइभिङ’ चिप

यसले दीर्घकालीन रूपमा पाटपुर्जाको लागत घटाउँछ, हार्डवेयर र सफ्टवेयरबीच समन्वय कायम गर्छ र उत्पादनको मार्गचित्रमा कम्पनीको बलियो नियन्त्रण रहन्छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १८:२५

२ असार, काठमाडौं । चीनको विद्युतीय सवारी साधन (ईभी) कार निर्माता कम्पनीहरूले आफ्नै ‘स्मार्ट-ड्राइभिङ’ चिपहरू डिजाइन गर्न थालेका छन् । जसले गर्दा विश्वकै सबैभन्दा ठूलो अटो बजारमा ‘कस्टम सिलिकन’ (विशेष रूपमा निर्मित चिप) उद्योगकै प्रमुख हतियार बनेको छ।

सोमबार ‘ली अटो’ ले अटोनोमस ड्राइभिङका लागि विशेष रूपमा तयार गरिएको ५ नानोमिटरको आर्टिफिसियल इन्टेलिजेन्स चिप ‘माक एम१००’ सार्वजनिक गर्‍यो। कम्पनीको नयाँ ‘एल९ लिभिस’ एसयूभी मोडलका लागि डिजाइन गरिएको यस चिपले प्रतिसेकेन्ड १२८० ट्रिलियन सञ्चालन (१२८० टीओपीएस) को कम्प्युटिङ क्षमता प्रदर्शन गरेको ली अटोले जनाएको छ।

यो मापकले एआईको दिमागले आउने डाटालाई कति चाँडो प्रशोधन गर्न सक्छ भन्ने देखाउँछ। कम्पनीका अनुसार यस चिपले ८२ प्रतिशतको उपयोग दर (यूटीलाइजेसन रेट) हासिल गरेको छ।

यो घोषणा अन्य प्रतिस्पर्धी कम्पनीहरूले गरेका शृङ्खलाबद्ध सफलताका बीच आएको हो।

केही हप्ता अघि मात्रै, विश्वको अग्रणी इभी निर्माता ‘बीवाईडी’ ले आफ्नो ‘सुआन्जी ए३’ नामक ४ नानोमिटरको स्मार्ट-ड्राइभिङ चिप सार्वजनिक गरेको थियो । जसको अहिले व्यावसायिक रूपमा ठूलो परिमाणमा उत्पादन भइरहेको छ। लेभल ३ र लेभल ४ का अटोनोमस ड्राइभिङ सुविधाहरूलाई सपोर्ट गर्ने क्षमता भएको यस सुआनजी ए३ का तीनवटा चिपहरूले एकसाथ काम गर्दा २१०० भन्दा बढी टप्सको प्रोसेसिङ पावर दिन सक्ने कम्पनीले बताएको छ।

उच्च टप्स क्षमताले गर्दा गाडीको कम्प्युटरले राडार र लिडार सेन्सर जस्ता विभिन्न स्रोतहरूबाट आउने डाटालाई एकैसाथ प्रशोधन गरेर पलभरमै गाडी चलाउने सही निर्णय लिन सक्छ।

यसैबीच, ‘नियो’ ले पनि आफ्नै ५ नानोमिटरको ‘एनएक्स९०३१’ चिप बजारमा ल्याएको छ भने ‘एक्सपेङ’ ले आफ्नो अर्को पुस्ताको इन्टेलिजेन्ट ड्राइभिङ प्रणालीका लागि आफ्नै ‘ट्युरिङ’ चिप विकास गरिरहेको छ।

चिनियाँ कार निर्माताहरूले आफ्नै चिपहरू डिजाइन गरेर उन्नत ड्राइभर-असिस्टेन्स प्रणाली पछाडिको कम्प्युटिङ हार्डवेयरमा आफ्नो नियन्त्रण बढाउन खोजिरहेका छन्। साथै उनीहरू अमेरिकी कम्पनी ‘एनभिडिया’ र हङकङको सेयर बजारमा सूचीकृत चिनियाँ अटोमोटिभ चिप तथा सफ्टवेयर कम्पनी ‘होराइजन रोबोटिक्स’ माथिको निर्भरता कम गर्न चाहन्छन्। होराइजन रोबोटिक्सलाई एनभिडियाको प्रमुख स्थानीय प्रतिस्पर्धीका रूपमा हेरिन्छ।

चीनभर स्मार्ट-ड्राइभिङ प्रविधिको सर्वसाधारणमा पहुँच भएसँगै आत्मनिर्भरताको यो प्रयास अझ तीव्र बनेको छ। कुनै समय लक्जरी गाडीहरूमा मात्र सीमित रहने प्रविधिहरू अहिले आम बजारका सस्ता गाडीहरूमा पनि उपलब्ध हुन थालेका छन्।

होराइजन रोबोटिक्सको वार्षिक प्रतिवेदन अनुसार, सन् २०२५ मा इन्टेलिजेन्ट ड्राइभर-असिस्टेन्स सुविधाहरू भएका यात्रुवाहक कारहरूको बजार पहुँच ६७.६ प्रतिशत पुगेको छ। राजमार्ग र सहरी क्षेत्रमा स्वतः गुड्ने ‘नेभिगेट अन अटोपाइलट’ प्रणाली जस्ता मध्यमदेखि उच्च स्तरका प्रणालीहरू जडान गरिएका नयाँ ‘स्मार्ट’ गाडीहरूको हिस्सा सन् २०२४ को २१.६ प्रतिशतबाट बढेर २०२५ मा झन्डै दोब्बर अर्थात् ४२.६ प्रतिशत पुगेको छ।

यो परिवर्तन विशेष गरी सस्ता गाडीहरूमा निकै तीव्र गतिमा देखिएको छ। २ लाख युआन भन्दा कम मूल्यका गाडीहरूको खण्डमा मध्यमदेखि उच्च स्तरका ड्राइभर-असिस्टेन्स प्रणालीहरूको पहुँच सन् २०२५ को सुरुवाती ५ प्रतिशतबाट बढेर वर्षको अन्त्यसम्ममा ५० प्रतिशतभन्दा बढी पुगेको छ।

आम बजारमा आएको यो परिवर्तनले कार निर्माताहरूलाई इन्टेलिजेन्ट ड्राइभिङ हार्डवेयरको लागत घटाउन दबाब दिइरहेको छ। ‘गोल्डम्यान स्याक्स’ का विश्लेषकहरूका अनुसार, बीवाईडीको सहरी एनओए सुविधा भएको ‘गड्स आई बी’ प्रणाली अहिले सबै मोडलहरूमा १२ हजार युआनको अतिरिक्त विकल्पका रूपमा उपलब्ध छ।

यसले गर्दा सहरी एनओए भएको बीवाईडी मोडलको प्रारम्भिक मूल्य प्रभावकारी रूपमा ७८ हजार ८ सय युआनमा झरेको छ। बैंकका अनुसार ‘सीगल’ र अन्य मोडलहरू किन्ने ६० प्रतिशतभन्दा बढी ग्राहकले यो प्याकेज रोजेका छन्।

गोल्डम्यानका विश्लेषकहरूले बीवाईडीको यो पछिल्लो स्मार्ट-ड्राइभिङ प्रयासले ” पाटपुर्जाहरूको लागत घटाउन र नाफाको स्तर सुधार गर्न सक्ने” बताएका छन्। उनीहरूले सन् २०२५ मा एनभिडिया र होराइजन रोबोटिक्सको कुल ग्रस मार्जिन क्रमशः ७५ प्रतिशत र ६५ प्रतिशत रहेको कुरालाई पनि उल्लेख गरेका छन्।

कार निर्माताहरूका लागि आफैँले डिजाइन गरेका चिप्सका धेरै सम्भावित फाइदाहरू छन्। यसले दीर्घकालीन रूपमा पाटपुर्जाको लागत घटाउँछ, हार्डवेयर र सफ्टवेयरबीच कसिलो समन्वय कायम गर्छ र उत्पादनको मार्गचित्रमा कम्पनीको बलियो नियन्त्रण रहन्छ।

‘हुअताई सेक्युरिटिज’ का विश्लेषकहरूका अनुसार बीवाईडीको ‘सुआन्जी ए३’ ले कारको लागत घटाउँदै स्मार्ट-ड्राइभिङको क्षमतालाई उच्च बिन्दुमा पुर्‍याउन मद्दत गर्नेछ। उनीहरूले नियोको इन-हाउस चिपको उदाहरण दिँदै उक्त कदमले प्रतिगाडी उत्पादन लागत प्रत्यक्ष रूपमा १० हजार युआनले घटेको कुरा उल्लेख गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?