+
+

प्रदेश समितिका उम्मेदवार तय गर्न पौडेल समूहले दियो नेताहरुलाई जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १३:४५

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रदेश समितिको सभापतिसहितका उम्मेदवार तय गर्न नेताहरुलाई जिम्मेवारी तोकेको छ ।

पौडेल समूहका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुलाई नै प्रदेश समितिको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएको हो ।

बुधबारबाट सुरु हुने प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंसिर १७ गते मनोनयन दर्ताो कार्यक्रम छ । तर कांग्रेसमा संस्थापन र संस्थापनइतर दुबै समूहले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।

पौडेल समूहले प्रदेश १ मा प्रदेश समितिका उम्मेदवार तय गर्न केन्द्रीय सदस्यहरु बलबहादुर केसी, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, सरिता प्रसाईं र गुरुराज घिमिरेलाई जिम्मेवारी दिएको छ ।

प्रदेश २ मा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु रामकृष्ण यादव र किरण यादवले प्रदेश उम्मेदवार टुंगो लगाउने जिम्मा पाएका छन् ।

त्यस्तै बागमती प्रदेशमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, केद्रीय सदस्यद्वय डा.रामशरण महत, अर्जुननरसिंह केसी र गगनकुमार थापालाई दिइएको छ भने गण्डकी प्रदेशको उम्मेदवार टुंग्याउने जिम्मा नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, दिलबहादुर घर्ती, कमला पन्त र जीवन परियारलाई दिइएको छ ।

लुम्बिनी प्रदेश समितिका सदस्य टुंग्याउने जिम्मा केन्द्रीय सदस्यहरु दीपक गिरी र चन्द्र भण्डारीले र कर्णाली प्रदेशमा केन्द्रीय सदस्य हृदयराम थानीले उम्मेदवार तय गर्नेछन् । केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडु र बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश कमिटीका लागि संस्थापइतर समूहबाट उम्मेदवार तय गर्नेछन् ।

संस्थापन समूहले यसअघि नै सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुलाई नै प्रदेश अधिवेशनका लागि उम्मेदवार तय गर्ने जिम्मा दिइसकेको छ । संस्थापन समूहबाट गण्डकी प्रदेश सभापतिका लागि अर्जुन जोशी, बागमतीबाट इन्द्र बानियाँ र लुम्बिनीमा भरत शाहले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रदेश १, प्रदेश २, कर्णाली र सुदूरपश्चिममा भने संस्थापन समूहले पनि उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?