+
+

नेपाली फिल्म क्षेत्रमा ‘तैं चुप, मैं चुप’को अवस्था

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १४:१३
निर्माता तथा कलाकार दीपकराज गिरी र निर्माता अर्जुन कुमार

१६ मंसिर, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा’ निर्माण गरेदेखि नै निर्माता तथा कलाकार दीपकराज गिरीले सिनेमा हल सञ्चालकहरुले नेपाली चलचित्रलाई बेवास्ता गर्ने गरेको आरोप लगाए ।

उनले बारम्बार नेपाली चलचित्रमाथि भेदभाव भएको र विदेशी चलचित्र रिलिज हुँदा स्वदेशी चलचित्रलाई पाखा लगाएको बताइरहे । नेपाली चलचित्रले सिनेमा हल सञ्चालकबाट यस्तै व्यवहार भोगेका कारण पनि चलचित्र बनाउन समस्या हुँदै आएको दीपकले बताए ।

दीपकले यो समस्या उठाउँदा त्यतिबेला अन्य चलचित्रकर्मी कोही पनि बोलेनन् । हलसँग सम्बन्ध बिग्रने र आफ्नो चलचित्र रिलिजको समयमा समस्या हुने सोचेर अधिकांश चलचित्रकर्मी दीपकको साथमा उत्रिन चाहेनन् । दीपकले बारम्बार हलको विरोध गर्दा उनको चलचित्र ‘छ माया छपक्कै’ रिलिजको समयमा समस्या नै भयो ।

अहिले यस्तै आवाज उठाइरहेका छन्, निर्माता अर्जुन कुमार । अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘चपली हाइट ३’ पुस २ गतेबाट रिलिज हुँदैछ । यो चलचित्र रिलिजको दिन अन्य कुनै पनि विदेशी चलचित्रको प्रदर्शन मिति तय भएको  थिएन । तर, यो चलचित्रको प्रदर्शन मिति सार्वजनिक भएको केही दिनमा हलिउड चलचित्र ‘स्पाइडर म्यान’ रिलिज हुने भयो ।

नेपाली चलचित्र दुई वर्ष कोमामा पुगेर फर्किएको अवस्था छ । यस्तो अवस्थामा नेपाली चलचित्र रिलिज गर्ने आँट निर्माताले गरेका छन् । निर्माता अर्जुन कुमारले अब हलिउड चलचित्रसँग मात्र होइन, एक साउथको हिन्दी डब चलचित्रसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने छ । पुस २ गते नै चलचित्र ‘पुष्पा’ पनि नेपाल भित्रिने पक्का भएको छ ।

यो चलचित्र नेपाल भित्रिने भएपछि निर्माता अर्जुन कुमार आक्रोशित छन् । उनी भन्छन्, ‘मैले, बारम्बार वितरकलाई यो चलचित्र नल्याउन आग्रह गरें । तर, कसैले पनि मेरो कुरा सुनेनन् । भदौमा हल खुलेपछि मलाई चलचित्र चलाउन हल सञ्चालक र वितरकले आग्रह गरे । सबैले सहयोगको आश्वासन पनि दिए । तर, अहिले  हिन्दी र अंग्रेजी चलचित्र पाएपछि नेपाली चलचित्रलाई तल्लो स्तरको व्यवहार हुन थालेको छ ।’

अर्जुनले साउथको डब चलचित्र नेपाल ल्याउँदा नेपाली चलचित्रको अवस्था झनै धरासायी हुने बताए । ‘अहिले म एक्लै बोलिरहेको छु । यो क्षेत्रमा थुप्रै संघ–संस्था छन्, जसले मुख खोल्दैनन् । यहाँ त जसलाई समस्या पर्‍यो उही नै बोल्ने रहेछ । अरु, त डराएर साथ नदिने रहेछन्,’ उनले भने ।

दुई वर्षपछि नेपाली चलचित्र हलमा चल्न लागेकाले पनि साउथको हिन्दी डब चलचित्र ल्याएर नेपाली निर्मातामाथि निर्मम प्रहार नगर्न अर्जुनको आग्रह छ ।

‘म यसको विरुद्धमा निरन्तर लाग्नेछु । बुढी मरीभन्दा पनि काल पल्कियो भनेर बुझ्नुपर्छ, अर्जुनले भने, ‘अहिले मलाई परेको छ, भोलि अरु निर्माताले पनि यही नै भोग्ने छन् । अहिले तै चुप मैं चुपको अवस्था छ ।’

अर्जुनले सामाजिक सञ्जालमा आक्रोश पोखिरहँदा कलाकार दीपकराज गिरीले हिजो आफू एक्लै कराएको र आज अर्जुन एक्लै कराएको भन्दै प्रतिक्रिया दिएका छन् ।

अर्जुनले यो शैलीको आफूले निरन्तर विरोध गर्ने बताए । ‘मेरो चलचित्र चलेपछि पनि म यो विषयमा बोल्न छाड्दिनँ । कस–कस्को कहाँबाट धुँवा निकाल्नुपर्छ मलाई राम्रोसँग थाहा छ,’ उनले भने ।

आफ्नो चलचित्र रिलिजको समयमा निर्माताहरुले एक्लै मुख खोलेको घटना धेरै सुनिन्छन् । तर, समस्या भोग्ने बाहेक अरु ‘तैं चुप मैं चुप’ हुने गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?