+
+

विरासत बोकेका ‘उत्तराधिकारी’ को खोजीमा देउवा

बिनु सुवेदी बिनु सुवेदी
२०७८ मंसिर २२ गते ०:३६

२१ मंसिर, काठमाडौं । हिन्दी फिल्म ‘दिवार’मा अभिताभ बच्चन र शशी कपुरको एउटा चर्चित डायलग छ, ‘आज मेरे पास विल्डिङ है, प्रोपर्टी है,  बैंक ब्यालेन्स है, बंगला है, गाडी है । क्या है तुम्हारे पास ?

अमिताभको यो प्रश्नमा शशी कपुरले सजिलै जवाफ फर्काउँछन्, ‘मेरे पास माँ है !’

दोस्रोपटक नेपाली कांग्रेसको सभापति बन्ने तयारीमा जुटेका प्रधानमन्त्री शेरबहादुर देउवाको अवस्था ठीक यस्तै छ । सत्ताको चाबी हातमा लिएर बलिया बनेका उनीसँग आज सब थोक छ तर एकथोक छैन । अर्थात् उनी अहिले वंश परम्परा बोकेका नेताहरुको साथ र समर्थनविहीन छन् ।

राजतन्त्र अन्त्य भएर गणतन्त्र आइसकेको अवस्थामा वंशको राजनीतिले मुलुकलाई ठूलो अर्थ नराख्नुपर्ने हो तर विरासतलाई महत्व कांग्रेसको राजनीतिमा भने यसको रौनक र महत्व बेग्लै छ । त्यसैले देउवा फेरि सभापति हुने सुनिश्चित गर्न त्यही वंश पराम्परा बोकेका नेताको खोजीमा छन् ।

राजनीतिक विरासत बोकेका नेताहरु प्रकाशमान सिंह र विमलेन्द्र निधि कुनै समय उनीसँगै थिए । आफ्नै बलबुताले राजनीतिमा स्थापित भएका सिंह र निधि दुबैका लागि विरासत थप बलियो बनाउने अस्त्र हो । सिंह, लौह पुरुष गणेशमान सिंहका छोरा हुन् भने निधि महेन्द्रनारायण निधि पुत्र ।

पार्टी विभाजन गर्दा आफूले उपसभापति बनाएका सिंह पार्टी एकतापछि तत्कालीन संस्थापन समूहतिर लागे । १२औं महाधिवेशन सुशील कोइरालाको महामन्त्री उम्मेदवार बने र दुबैले जिते । १३औं महाधिवेशनमा देउवाले सभापति जित्दा निधि देउवाको साथमा थिए । त्यतिखेर देउवाले १४औं महाधिवेशनमा निधिलाई सभापति बनाउने बचन पनि दिएका थिए । तर यसपालि उनले बाचा तोडेको भन्दै निधिले बाटो मोड्ने निधो गरे । निधि आफैं सभापतिमा उठ्ने तयारीमा छन् ।

हुन त देउवाले १३औं महाधिवेशनको दोस्रो चरणमा साथ पाएका कृष्णप्रसाद सिटौलासँग जिल्ला र प्रदेशमा सहकार्य गरिसकेका छन् । केन्द्रमा पनि उनको साथ पाउने सम्भावना बलियो नै छ ।

तर त्यसले पनि पहिलो चरणमै चुनाव जित्नेमा ढुक्क हुन नसकेका कारण उनी राजनीतिक विरासत बोकेका नेतालाई आफ्नो समूहमा ल्याउन चाहन्छन् । ती नेताहरुसँग छलफलका लागि देउवाले छुट्टाछुट्टै टोली नै खटाएका छन् ।

सम्वादमा संलग्न नेताहरुका अनुसार यदि राजनीतिक विरासत बोकेका कोही नेता आफ्नो टिममा आउन तयार भए उपसभापति बनाउने मात्र होइन, आफ्नो उत्तराधिकारीका रुपमा समेत अघि सार्न देउवा सकारात्मक देखिएका छन् ।

पहिलो प्राथमिकता शशांक कोइराला

संस्थापन समूहका नेताहरुका अनुसार देउवाको पहिलो प्राथमिकतामा महामन्त्री शंशाक कोइराला छन् । शंशाक आफ्नो समूहमा आउन सहमत भए उपसभापतिको उमेद्वार बनाउने र उनलाई आफ्नो उत्तराधिकारीका रुपमा अघि सार्ने देउवाको सोच छ ।  त्यसका लागि देउवाका तर्फबाट एउटा समूहले शशांकसित निरन्तर संवाद गरिरहेको छ । ‘देउवाजीको पहिलो प्राथमिकता शशांकजी हो, उहाँलाई आफ्नो टिममा लिने र उपसभापति भन्ने हो,’  देउवा समूहका एक सदस्यले भने, ‘सभापतिसित शंशाकजीको जहिले पनि राम्रो सम्बन्ध छ ।’

निकटवर्तीहरुका अनुसार शशांक, देउवाको विकल्प खोज्नुपर्छ भन्नेमा अडिग छन् । त्यही कारण मंगलबार रामचन्द्र पौडेल समूहको बैठकमा समेत उनले साझा उम्मेदवार बन्छ भने आफू सभापतिको दौडबाट हट्ने समेत बताएका छन् । तर पौडेल समूहबाट साझा उम्मेदवार नबन्ने अवस्थामा उनी देउवाको टिममा जाने सम्भावनालाई पूर्ण रुपमा अस्वीकार गर्न नसक्ने अर्का एक नेताको भनाइ छ ।

देउवा समूहका नेताहरुका अनुसार यो परामर्शमा डा. मिनेन्द्र रिजाल समेत जोडिएर आएका छन्, उनी महामन्त्रीको दावेदार हुन् । तर मिनेन्द्रलाई महामन्त्री र उही समूहका शंशाकलाई उपसभापति बनाउँदा आफ्नै टिम छिन्नभिन्न हुने बुझाइ देउवा समूहभित्र छ ।

महामन्त्रीमा देउवा समूहमै धेरै दाबेदार भएकाले शशांकलाई उपसभापति दिनु सहज हुने बालुवाटारको बुझाइ छ । देउवा समूहभित्र अहिले प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी सावद, विश्वप्रकाश शर्मा महामन्त्रीका आकांक्षी छन् ।

शेखर र प्रकाशमानसँग पनि सम्वाद

कुनै हालतमा सभापतिमा दोहोरिन चाहेका देउवाले पौडेल समूहमा रहेका  सभापतिका अरु आकांक्षीसँग पनि परामर्श तीव्र पारेका छन् । यदि शशांक कोइराला आफ्नो टिममा आउन नचाहेको अवस्थामा शेखर कोइराला र प्रकाशमान सिंहलाई ल्याउने देउवा समूहको तयारी हो । त्यसका लागि पनि उनले छुट्टाछुट्टै टोली खटाएका छन् ।

केन्द्रीय सदस्य डा. शेखर कोइराला  तीन/चार वर्षदेखि सभापतिका लागि तयारी गर्दै आएका नेता हुन् । पौडेल समूहका आकांक्षीहरुबीच भएको छलफलमा पनि उनले सभापतिको दाबी छाडेका छैनन् । त्यसैले देउवातिर जाने उनको सम्भावना कम छ ।

त्यसो हुँदा देउवाले गणेशमान पुत्र प्रकाशमानलाई आफ्नो समूहमा ल्याउन प्रयास गर्नेछन् । विगतमा आफ्नो टिममा बसेर काम गरेकाले सहज हुने उनको अनुमान छ । तर पूर्वमहामन्त्री सिंह भने यो पटक आफू सभापतिमै लड्ने अडानमा छन् ।

पछिल्लो पटक मन्त्री नियुक्तिमा पनि उनको असन्तुष्टि छ । उनले आफ्नो सिफारिसमा रक्षामन्त्री नियुक्त गर्न आग्रह गरेका थिए । देउवा त्यसमा सहमत नभएपछि कानुनमन्त्रीमा सांसद राजन केसीको नाम दिएका थिए । तर देउवाले रामचन्द्र पौडेलको सिफारिसमा मिनेन्द्रलाई रक्षा र दिलेन्द्रप्रसाद बडुलाई कानुनमन्त्री बनाए । त्यसले सिंह, देउवासँग रुष्ट बनेका छन् ।

यद्यपि पौडेल समूहबाट साझा उम्मेदवार नबनेको अवस्थामा देउवा र सिंहबीच सहकार्य हुने सम्भावना पनि छ । यही सम्भावनालाई मध्यनजर गरेरै देउवा समूहको एक टोली सिंहसँगको परामर्शमा छ ।

पौडेलसित छुट्टै परामर्श

राजनीतिक विरासत बोकेका नेताहरु डा. शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहमध्ये कुनै एकसँग समझदारी नभए देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि सहमतिको प्रयास गर्ने छन् । पौडेल स्वयम्लाई पार्टीमा कुनै भूमिका दिने चाहना देउवाको होइन । तर आगामी चुनाव जितेपछि पौडेललाई सम्मानजनक हैसियतमा उकाल्ने प्रस्ताव देउवाका तर्फबाट पौडेलसँग वार्ता गरिरहेका नेताहरुले गरेका छन् ।

पौडेल यो पटक सभापति उठ्न चाहन्छन् । तर उनको समूहमा उनी सर्वसम्मत हुन सहज पनि छैन । यही अवस्था बुझेरै देउवाले एउटा समूहलाई पौडेलसँग संवादमा खटाएको छ । उनले एक/दुई जनालाई पदाधिकारीमा राख्ने र निर्वाचनपछि पौडेललाई राष्ट्रपतिमा सेटलमेन्ट गर्ने प्रस्ताव गरेका छन् ।

अन्तिम विकल्प सिटौला

आफ्नाविरुद्ध मोर्चाबन्दी गर्ने नेताहरुलाई फुटाउने सबै प्रयास असफल भएमा देउवासामू अन्तिम विकल्प हुनेछ, कृष्णप्रसाद सिटौलालाई आफ्नो समूहमा राख्ने ।

तेस्रो धार दाबी गर्दै आएका सिटौलाले पटकपटक देउवासँग सहकार्य गरेका छन् । १४औं महाधिवेशनकै क्रममा पनि तल्ला कमिटीहरुमा देउवासँग सिटौलाको गठबन्धन भइसकेको छ । संस्थापन समूहको साथ पाएर प्रदेश १ को सभापतिमा सिटौला समूहका उद्धव थापा सभापति भए भने बागमतीमा दोस्रो चरणमा सिटौला समूहले साथ दिएकै कारण संस्थापन समूहका इन्द्र बानियाँ सभापति भए ।

केन्द्रमा भने सिटौलाले चुनाव लड्छन् कि लड्दैनन् अहिलेसम्म टुंगो लागिसकेको छैन । यदि सिटौलाले चुनाव लडेनन् भने देउवाले उनको साथ लिन सक्छन् । सिटौलाले चाहेमा उपसभापति दिने, नभए पूर्णबहादुर खड्कालाई उम्मेदवार बनाउने सम्भावना हुन्छ । अर्का उपसभापतिका उम्मेदवार विजय गच्छदार हुन्छन् । यदि सिटौला पनि नआएको अवस्थामा फेरि पनि वर्तमान उपसभापति विमलेन्द्र निधिलाई फकाउने देउवाको रणनीति छ ।

एक्लै लड्दा नि जितिन्छ भन्नेहरु पनि छन्

१३औं महाधिवेशनमा देउवाले तत्कालीन संस्थापन समूहका अर्जुननरसिंह केसीलाई आफ्नो टिममा ल्याएर महामन्त्रीमा उठाएका थिए । त्यतिखेर देउवाले केसीलाई आफ्नो टिमको महामन्त्री बनाउन खोजेका थिएनन्, आफू विजयी हुने माध्यममात्रै बनाएका थिए ।

अहिले पनि उनी कसलाई प्रयोग गर्दा सहजै सभापति भइन्छ भन्ने खोजीमा छन्, त्यसैको फलस्वरुप विभिन्न विकल्पमा काम भइरहेको छ । तर देउवाको टिममा रहेका एकाथरी भने महाधिवेशनका प्रतिनिधिहरु तथा जिल्ला र प्रदेशको नतिजा हेर्दा आफूहरुको पक्षमा यथेष्ट मत भएकाले एक्लै निर्वाचन जित्ने मत राख्ने गरेका छन् ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?