+
+
कांग्रेस महाधिवेशन :

महामन्त्रीका ५ उम्मेदवार : भोलिको नेतृत्वका लागि पनि प्रतिस्पर्धा

उमेरमा तलमाथि भएपनि ६ मध्ये ५ उम्मेदवार (मिनेन्द्र, प्रकाशशरण, विश्वप्रकाश, गगन र प्रदीप) को प्रतिस्पर्धा महामन्त्री पदका लागि मात्र होइन, कांग्रेसमा भोलिको नेतृत्वका लागि पनि हो । राजनीतिक विश्लेषक उद्धव प्याकरेल भन्छन्, ‘अहिलेको प्रतिस्पर्धालाई भोलिको नेतृत्वका आकांक्षीहरुको रुपमा हेर्न सकिन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते २२:४१

२५ मंसिर, काठमाडौं । विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेल कुनै समय नेपाल विद्यार्थी संघको एउटै कार्यसमितिमा थिए । नेपाल विद्यार्थी संघको २०५७ सालमा भएको आठौं महाधिवेशनबाट विश्वप्रकाश शर्मा अध्यक्षमा निर्वाचित हुँदा गगन तत्कालिन मध्यमाञ्चल विकास क्षेत्रबाट उपसभापति चुनिएका थिए भने प्रदीप सहमहामन्त्री मनोनित भएका थिए ।

भोलिको नेतृत्वका रुपमा हेरिएका र एउटै वयका उनीहरु काठमाडौंमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । दुई महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी पर्दा प्रदीप शेरबहादुर देउवाको, गगन शेखर कोइरालाको र विश्वप्रकाश प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका छन् ।

यस्तै देउवा प्यानलबाट डा. प्रकाशशरण महत, कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र विमलेन्द्र निधिको प्यानलबाट डा. राजाराम कार्कीले पनि उम्मेदवारी दिएका छन् । महत र रिजाल पनि कांग्रेसको विद्यार्थी संगठन नेबिसंघकै राजनीतिबाटै आएका हुन्, तर विश्वप्रकाश, गगन र प्रदीपहरुभन्दा डेढ दशक अगाडि नै । रिजाल २०३६ सालको तेस्रो महाधिवेशनबाट निर्वाचित बिमलेन्द्र निधि नेतृत्वको कार्यसमितिमा उपसभापति थिए भने महत २०४० सालको चौथो महाधिवेशनबाट निर्वाचित बलबहादुर केसी नेतृत्वको कार्यसमितिका महामन्त्री थिए ।

उनीहरु यो पटक कांग्रेसको महामन्त्रीमा प्रतिस्पर्धा छन् । उमेरमा तलमाथि भएपनि ६ मध्ये ५ उम्मेदवार (मिनेन्द्र, प्रकाशशरण, विश्वप्रकाश, गगन र प्रदीप) को प्रतिस्पर्धा महामन्त्री पदका लागि मात्र होइन, कांग्रेसमा भोलिको नेतृत्वका लागि पनि हो । ‘कांग्रेसले जसरी पद विभाजन गरेको छ, अधिकारको हिसाबले महामन्त्री शक्तिशाली छ,’ राजनीतिक विश्लेषक उद्धव प्याकरेल भन्छन्, ‘अहिलेको प्रतिस्पर्धालाई भोलिको नेतृत्वका आकांक्षीहरुको रुपमा हेर्न सकिन्छ ।’

विश्वप्रकाश र प्रदीपको हेरफेर

राजनीतिक विश्लेषक प्याकरेलका अनुसार दुई प्यानल मात्र बनेको थियो र दुबै समूहबाट एक/एक जना युवा उम्मेदवार बनेको भए दुबैजना महामन्त्रीमा निर्वाचित हुने सम्भावना बढी हुन्थ्यो । शुरुमा रामचन्द्र पौडेल नेतृत्वको समूहबाट गगन र देउवा समूहबाट विश्वप्रकाशलाई महामन्त्रीको उम्मेदवारका रुपमा हेरिएको थियो ।

तर उम्मेदवारी दर्तासम्म पुग्दा अवस्था फरक रह्यो । पौडेल समूहबाट प्रकाशमान सिंह अलग भए भने देउवा समूहमा कृष्णप्रसाद सिटौला समूहको प्रवेश भयो । देउवाले आफ्नो जित सुनिश्चित गर्न कृष्णप्रसाद सिटौला समूहको समर्थन खोजे, त्यसका लागि प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने भयो । प्रदीप आएपछि विश्वप्रकाशको नाम काटियो । ०७४ सालदेखि देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा प्रवक्ता रहेका विश्वप्रकाश, अन्तिममा प्रकाशमानको प्यानलबाट महामन्त्री लड्ने निर्णयमा पुगे ।

देउवा समूहबाट महामन्त्रीको टिकट नपाएका शर्मालाई सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले उम्मेदवार बनाउन खोजेका थिए । तर उनले पनि टिममा मिलाउन सकेनन् । महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका डा. मिनेन्द्र रिजाललाई उपसभापतिमा मनाउन नसक्दा विश्वप्रकाशले त्यहाँ पनि स्थान पाएनन् ।

विश्वप्रकाशसँग अर्का सभापतिका उम्मेदवार विमलेन्द्र निधिसँग जाने विकल्प पनि थियो । २४ भदौमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका उनी केही समय निधिसँग नजिक पनि भएका थिए । तर निधिभन्दा अर्का उम्मेदवार प्रकाशमानलाई रोजे, जसले महामन्त्रीको बलियो उम्मेदवार खोजिरहेका थिए ।

१ ३औं महाधिवेशनमै महामन्त्रीमा उम्मेदवारी दिएर सम्मानजनक मत पाएका गगन भने यो पटक पौडेल समूहबाट महामन्त्रीको उम्मेदवारमा निर्विकल्प जस्तै देखिएका थिए ।

गगन, विश्वप्रकाश र प्रदीपबाहेक प्रकाशशरण र मिनेन्द्र रिजाल पनि महामन्त्रीका बलिया उम्मेदवार हुन् ।

डा. महत, देउवा परिवारका विश्वास पात्र हुन् । उनी देउवा समूहकै बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद लगायतका प्रभावशाली नेताहरुलाई रोकेर उम्मेदवार बनेका हुन् । उनी देउवा पत्नी आरजुकी विश्वास पात्र मानिन्छन् र, उनकै जोडबलमा महामन्त्रीको उम्मेदवार बनेका देउवा निकटका नेताहरु बताउँछन् ।

डा. रिजाल पछिल्लो समय पौडेल समूहमा समन्वयकारी भूमिकामा सक्रिय प्रभावशाली नेता हुन् । १२ औं महाधिवेशनमा देउवालाई छाडेर तत्कालीन संस्थापन समूहमा आएका उनले सुशील कोइरालाको नेतृत्वमा बसेर काम गरेका थिए । पछिल्लो समय पौडेल समूहमा पनि निवर्तमान महामन्त्री डा. शशांक कोइरालासँग निकट रहेका उनले संसदमा प्रभावकारी भूमिका निर्वाह गरेको कांग्रेसवृत्तमा चर्चा हुन्छ ।  प्रतिपक्षी दलका रुपमा संसदमा रिजाल र गगन थापा देखिएका थिए ।

महामन्त्री जित्न छैन सजिलो

कांग्रेस नेताहरुका अनुसार पार्टीमा सभापति पछिको शक्तिशाली र भोलिको नेतृत्वका रुपमा हेरिएको महामन्त्रीमा चुनाव जित्न कुनै पनि उम्मेदवारलाई सजिलो छैन । हरेक उम्मेदवारको जित, उनीहरुले आफ्नो प्यानलको भोट कति पाउँछन् मात्र होइन, अर्को प्यानलबाट कति तान्न सक्छन् भन्नेमा भर पर्छ ।

संस्थापन समूहमा महामन्त्रीका आकांक्षी धेरै थिए, ती नेताहरुले केन्द्रीय सदस्यमा मात्र चित्त बुझाउनु परेको छ । देउवा समूह नछाडेपनि उनीहरुले भारी मन बनाएका छन् । त्यसको प्रभाव महामन्त्रीका उम्मेदवारहरुमा पर्ने खतरा छ । पौडेल समूहमा पनि प्रकाशमान सिंहले अर्को समूह बनाएका छन्, उनले कति भोट काट्छन् भन्नेमा यो समूहका महामन्त्रीले पाउने भोट भर पर्छ । अर्को भनेको युवा महाधिवेशन प्रतिनिधिको भोट कति बाँडिन्छ भन्नेमा पनि नतिजा भर पर्ने देखिन्छ ।

सामान्यतः युवाहरु परिर्वतनको पक्षमा हुन्छन् भन्ने मानिन्छ । तर बेलाबेला त्यो पुष्टि गर्न आफू जस्ता राजनीतिक विश्लेषकहरुलाई हम्मेहम्मे परेको स्मरण गर्छन् प्याकुरेल । पछिल्लो समयमा संघीयता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता परिर्वतनका मुद्दाको विरोध गर्नेमा युवाहरु नै देखेको भन्दै उनी भन्छन्, ‘हिजोकै परिदृश्य हेर्नुभयो भने देउवा बोल्दा हुटिङ गर्ने युवाहरु नै थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?