+
+
कांग्रेस महाधिवेशन :

भोटका लागि त्रासको राजनीति

वर्तमान सभापतिसमेत रहेका शेरबहादुर देउवाले आफू पराजित भए सरकारको नेतृत्व कांग्रेसको हातबाट फुत्कनसक्ने, हारेका प्रधानमन्त्री भन्ने हुने र सत्ता गठबन्धन धरमराउन सक्ने भन्दै प्रतिनिधिहरुलाई त्रास देखाएका छन् । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले आफ्नोविरुद्ध जासुसी गर्न प्रधानमन्त्री देउवाले गुप्तचर खटाएको आरोप लगाएका छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ मंसिर २६ गते २३:४९

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदानपूर्व सभापतिका उम्मेदवारहरुले मतदातासँग ‘इमोसनल ब्ल्याकमेलिङ’ को प्रयास गरेका छन् ।

वर्तमान सभापतिसमेत रहेका शेरबहादुर देउवाले आफू पराजित भए सरकारको नेतृत्व कांग्रेसको हातबाट फुत्कनसक्ने, हारेका प्रधानमन्त्री भन्ने हुने र सत्ता गठबन्धन धरमराउन सक्ने भन्दै प्रतिनिधिहरुलाई त्रास देखाएका छन् । साथसाथै आफूले पार्टी सभापतिको चुनाव जिते सबैको माग पूरा गर्ने र तीन वटै तहमा कांग्रेसको सरकार हुने आश पनि देखाएका छन् ।

सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले आफ्नोविरुद्ध जासुसी गर्न प्रधानमन्त्री देउवाले गुप्तचर खटाएको आरोप लगाएका छन् ।

सभापतिका अर्का दाबेदार विमलेन्द्र निधिले पहिलो चरणमा कसैले सभापतिमा नजित्ने ठोकुवा गर्दै प्रतिनिधिहरुलाई अल्झाउने कोसिस गरिरहेका छन्, जबकी पहिलो चरणमै सभापतिमा बाजी मार्ने दाउ शेरबहादुर देउवाको छ ।

देउवाको याचना : सरकार बचाउन भोट दिनुस्

महाधिवेशन प्रतिनिधिहरुसँग ब्ल्याकमेलिङको सुरुवात देउवाबाट भएको देखिन्छ । २४ मंसिरमा महाधिवेशन उद्घाटन समारोहमै उनले आफू प्रधानमन्त्री भएको भोलिपल्ट ओली शासनको डर त्रासबाट सबैले मुक्ति पाएको मात्र दाबी गरेनन्, आफू पराजित भए फेरि त्यो अवस्था आउन सक्ने त्रास देखाए ।

‘जुन दिन मेरो सरकार बन्यो त्यो भन्दा अगाडिका दिन हेर्नुस् कस्तो थियो डर त्रास ! म प्रधानमन्त्री भएको भोलिपल्टै सारा मानिसहरु मुक्ति पाएको जस्तो, ओलीको शासनबाट मुक्ति पाए सबैले । त्यसलाई बचाउने हो कि नबचाउने हो ? त्यसको तय यो महाधिवेशनले गर्छ’ देउवाले उद्घाटन समारोहमा भनेका थिए ।

देउवाले हार्दा डर त्रासको शासन दोहोरिने, जित्दा नदोहोरिने आधार के ? सभापतिका अन्य दावेदारमाथि अविश्वास गरेका हुन् ? उनले खास तर्क प्रस्तुत गर्न सकेका छैनन् ।

जबकी तथ्य ठीक विपरीत छ । यदि उनले भने जस्तो ओलीको शासन कालमा डर त्रास थियो भन्ने मान्ने हो भने उनी त्यसका सहयोगी भूमिकामा थिए । संसददेखि सडकसम्म प्रतिपक्षी भूमिकामा उनी खरोसँग उत्रन सकेका थिएनन् । दुईदुई पटक भएको प्रतिनिधिसभा विघटनमा पनि उनले तत्कालिन प्रधानमन्त्री ओली बल पुग्ने गरी सार्वजनिक अभिव्यक्तिहरु दिएका थिए ।

संस्थापन इतर समूहमा रहेका रामचन्द्र पौडेलसहितका नेताहरुले पार्टीभित्र र बाहिर संसद विघटनविरुद्ध बोलेका थिए । सर्वोच्च अदालतले दोस्रो पटक पनि संसद विटघन बदर गरेपछि देउवा प्रधानमन्त्री बनेका थिए ।

देउवाले आफू सभापतिमा दोहोरिए स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्ने दाबी गरेका छन् । आफूलाई भोट माग्दै उनले भने, ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ, राष्ट्रिय सरकार कांग्रेसको हुनेछ ।’

२६ मंसिरमा महाधिवेशन प्रतिनिधिहरुको शुभकामना आदान प्रदान कार्यक्रममा देउवाले अझ अगाडि बढेर भनेका छन्, ‘मैले पार्टी सभापति जित्नु आवश्यक छ । नत्र भोलिपल्टै शेरबहादुर त हार्‍यो, हार्नेलाई के बनाउने भनेर प्रधानमन्त्रीबाट हटाउनेछन् ।’

उनको थप व्याख्या छ, ‘अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले । त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु आवश्यक छ । पार्टी सभापति जितेन भने पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्छ ।’

आफू पराजित भएको खण्डमा नैतिकताको प्रश्न आउने भनी देउवाले सोचेको सही नै हुनसक्छ । तर, कांग्रेसका नेताहरुले त उनलाई सभापतिमा पराजित भए प्रधानमन्त्रीबाट हटाउने भनेका छैनन् । बरु सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले त्यसको खण्डन मात्र गरेनन्, आफू जितेको अवस्थामा पनि वर्तमान सत्ता गठबन्धनलाई आगामी चुनावसम्म दरिलो बनाउने बताएका छन् ।

देउवाले पार्टीको आन्तरिक चुनावमा हुने हारजितलाई प्रजातन्त्रसँग लगेर जोड्ने प्रयास गरेका छन् । पार्टी सभापति र प्रधानमन्त्री फरक फरक व्यक्ति हुँदा सरकार र पार्टी दुबै कमजोर हुने भन्दै उनले भनेका छन्, ‘यहाँ देउवाको हार जितको विषय होइन, प्रजातन्त्र बचाउनु छ, कांग्रेसलाई जिताउनु छ ।’

के कांग्रेस सभापतिमा देउवाले नजिते मुलुकमा प्रजातन्त्र सकिने हो र ? राजनीतिशास्त्री कृष्ण पोखरेल यसलाई प्रतिनिधिहरुलाई त्रास देखाएर भोट बटुल्ने प्रयास मान्छन् । ‘अहिले सरकार जसरी बनेको छ, त्यो मेरो तारतम्यले बनेको हो र म सभापतिमा रहिनँ भने अन्यथा हुन्छ भन्ने मौका देउवाले पाएका छन्,’ उनी भन्छन्, ‘पार्टीको आन्तरिक अधिवेशनमा यसो भन्नुलाई भयको दोहन गरेको रुपमा लिन सकिन्छ । के गर्दा भोट बढ्छ भनेर भनिएको हो ।’

महाधिवेशनमा एक अर्कालाई आक्षेप लगाउने चलन नयाँ नभए पनि नेपाली राजनीतिमा पछिल्लो समय त्रास देखाउने प्रवृत्ति देखा परेको पोखरेलको भनाइ छ । देउवाले यसो भनिरहँदा अर्को पक्षले सत्ताको त्रास देखायो, सत्ताको दुरुपयोग गर्‍यो भनेर आक्षेप लगाउन पाउने पोखरेलको टिप्पणी छ ।

शेखर भन्छन् : निगरानी गर्न गुप्तचर पठाइयो

सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले प्रधानमन्त्रीसमेत रहेका आफ्ना प्रतिस्पर्धी देउवामाथि आफ्नो घरमा गुप्तचर पठाएको आरोप लगाए । केही दिन अगाडि आफ्नो घरमा देउवाका तर्फबाट गुप्तचरहरु आएको दाबी गरेका उनले त्यसको विश्वसनीय प्रमाण भने सार्वजनिक गरेका छैनन् ।

आइतबार साँझ पत्रकार सम्मेलन गरेका उनलाई सोधिएको थियो, ‘शेरबहादुर देउवाले आफ्नो घरमा गुप्तचर पठाएको भन्नुभएको छ । यो कुरा के हो ? कोइरालाले जवाफ फर्काए, ‘…यो सही छ भन्ने कुरा मात्रै म अहिले भन्न चाहन्छु । यसमा मैले कुनै कुराको बनावट गरेर बोलिराख्या होइन यो ।’

आफ्नो दाबीलाई पुष्टि गर्ने प्रयास गर्दै उनले भने, ‘नेपाली कांग्रेसको निर्वाचनको दौरानमा के कति घटना भए, गृह प्रशासन, पुलिस प्रशासनले कसरी काम गर्‍यो ? भन्ने कुरा भनिरहनुपर्ने आवश्यकता छैन ।’ देउवाको गृहजिल्ला लगायतका जिल्लामा गृह प्रशासनको दुरुपयोग भएको नेताहरुको गुनासो छ ।

राजनीतिकशास्त्री कृष्ण पोखरेल गुप्तचर पठाएको आरोप गम्भीर भएको बताउँछन् । यस्तो गम्भीर आरोप लगाउँदा यथेष्ट प्रमाण हुनुपर्ने भन्दै उनले भने, ‘सरकारमा भएका गुप्तचर पठाएको हुँदै होइन भन्न पनि मिल्दैन, यथेस्ट तथ्य प्रमाण बिना बोल्न पनि नल्मिने हो । तर पनि हावा नचली पात हल्लिँदैन भनेर प्रतिनिधिहरुले विश्वास गर्छन् भन्ने मनोविज्ञान हुनसक्छ ।’

कोइरालाको यस्तो आरोपको भने प्रतिनिधिहरुले विश्वास गर्नसक्ने राजनीतिशास्त्री पोखरेलको भनाइ छ ।

मतदाताको विवेकमाथि मनोबैज्ञानिक अत्याचार

राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमका अनुसार देउवा र कोइराला दुबैबाट प्रतिनिधिहरुलाई आफूतिर तान्न ब्ल्याकमेलिङ भएको छ, भोटको संख्या बढाउन दुबैले ‘अपहत्ते’ गरेका छन् ।

देउवाले मैले नै जित्नुपर्छ भन्ने र शेखरको गुप्तचर आफ्नो घरमा आएको भन्ने अभिव्यक्तिबारे उनी भन्छन्, ‘अपहत्ते नै गर्‍यो भन्छन् नि नभइ हुँदैन भनेर डर देखाएर इमेसनलल ब्ल्याकमेलिङ गर्न खोजेको हो ।’

विश्लेषक गौतम यसका पछाडि केही कारणहरु देख्छन् । ‘देउवालाई लाग्या हुन सक्छ यो कथमकदाचित पहिलो चरणमै , कति राउण्ड हुन्छ थाहा भएन । एक राउण्ड वा दुई राउण्ड । पहिलो राउण्डमै आफू दोस्रो पर्न जाने त होइन ? यो डर उहाँलाई हुन सक्छ ।’

कांग्रेसमा सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्छ । यदि कोही उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याए पहिलो र दोस्रो प्रतिस्पर्धीबीच दोस्रो चरणको मतदान हुनेछ ।

सभापतिका उम्मेदवार बिमलेन्द्र निधिले नै पहिलो चरणमा सभापति निर्वाचित नहुने र दोस्रो चरणमा देउवा विरुद्ध मोर्चाबन्दी हुने बताइरहेका छन् । अरु उम्मेदवार पनि चलखेल गर्न सक्छन् भन्ने भय देउवाको मनमा जरुर होला । यसकारण पनि देउवाले पहिलो चरणमै जित हात पार्न यसो गरेको हुन सक्ने गौतमको भनाइ छ ।

र शेखर कोइरालाले पनि पहिलो राउण्डमै जितियो भने त्यो बाट पार हुन सकिन्छ भन्ने आश भएर प्रतिनिधिहरुको मन जित्न खोजको देखिन्छ ।

‘म कहाँ गुप्चतर पठाए भनेको ब्ल्याकमेलिङ गरेको हो नि’ उनी भन्छन्, ‘गुप्तचर बाहिर हिँडिहाखेका हुन्छन् । सबैतर घुमिराखेका हुन्छन् नि गुप्चतरको कामै गुप्त, नामै गुप्त , गुप्त ढंगले हिँडिरहने हो । सुन्ने हो, के भइरहेको छ ? भन्ने हो ।’

कांग्रेसका महाधिवेशनमा आएका कतिपय प्रतिनिधिहरु आफ्ना नेताहरुका जस्ता कुरा पनि पत्याउने खालका समेत भएको र उनीहरुको भावनामाथि खेल्न नेताहरु यो हदसम्म गएको गौतमको बुझाइ छ ।

‘काठमाडौंसंग अपरिचित थुप्रै मान्छे आएका छन् । त्यस्ता महाधिवेशन प्रतिनिधि छन् । पहिलो चोटी काडमाडौं आउने महाधिवेशन प्रतिनिधिहरु पनि छन् । उनीहरु त यस्तो कुराबाट प्रभावित पनि हुन्छन् नि त,’ गौतम भन्छन् ‘प्रतिनिधिहरुमा डरलाग्दो शासन पो आउँछ कि !, यस्तो पो हुन्छ कि उस्तो पनि हुन्छ कि भन्ने लाग्न सक्छ । नेताहरु त्यसैमा खेल्छन् । मैले प्रतिनिधित्व गर्दा तिमीहरु सुरक्षित हुन्छौं, नभए असुरक्षित हुन्छौं भोलि अप्ठ्यारो पर्न सक्छ भन्छन् । यो विशुद्ध भोट तान्ने राजनीतिमात्रै हो ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment