+
+

दुश्मन पनि नपरोस् मोरङ कारागारमा

के.कार्की, पूर्व कैदी के.कार्की, पूर्व कैदी
२०७८ मंसिर २७ गते १५:०५

म मोरङ कारागारमा दुई वर्ष जति बसें । मलाई अहिले त्यो बसाइ सम्झन पनि मन छैन । त्यहाँ बस्ने वातावरण नै छैन । म त मेरा दुश्मन पनि त्यहाँ जानु नपरोस् भन्छु ।
भन्नलाई सुधारगृह भनिन्छ तर भित्र शान्तिसँग बस्नसम्म पनि पाइँदैन । बोल्न दिंदैनन् । कैदी बन्दी बीच बोलचाल भयो भने भित्र गुटबन्दी हुन्छ भनेर कसैसँग बोलेको भेटे कारबाही भन्दै कुटपिट गरिहाल्छन् ।

कारागारमा प्रत्येक दश दिनमा ६०० रुपैयाँ दिन्थे (राज्यले दिने भत्ता) । १० दिन खाना खाएको ४०० रुपैयाँ त्यहींबाट काट्थे । २० रुपैयाँ तेल खर्च भनेर काट्थे । ५ रुपैयाँ सफाइ खर्च भनेर काट्थे । तर त्यहाँ सफाइ कैदी बन्दीले नै गर्नुपर्छ । बँचेको पैसा लैजान्छन् ।

कारागार भित्र छुट्टै अर्को प्रशासन हुन्छ । चौकीदारले पसल चलाउँछन् । भित्रको कारोबार सबै चौकीदारको हातमा हुन्छ । व्यापार राम्रो हुने भएकाले चौकीदार बन्न हानथाप हँुदोरहेछ । चौकीदारले मासिक लाखौं रुपैयाँ कमाउन सक्छन् । बाहिर २० रुपैयाँ पर्ने सामान भित्र ३० रुपैयाँ पर्छ । चाडपर्वमा पार्टी आयोजना गर्छन् । त्यसका लागि घरबाट पैसा ल्याउनुपर्छ । चामल एक जनाले ७०० ग्राम खाइसक्दैन । उब्रिएको चामल चौकीदारको हुन्छ ।

भित्र हिंड्दा कोहीसँग इशारा गरियो भने कारबाही हुन्छ । हाँस्न पनि पाइँदैन । सीधा नजरले हेर्न पनि पाइँदैन । बोलेको देख्यो भने चूप लाग् भन्छन् । जवाफ फर्काए कुटिहाल्छन् ।

मोरङ कारागारमा एउटा कोठामा थोरै भनेको ५० जनालाई राखिन्छ । जेलमा अलिक ठूलो १० नम्बर कोठा छ । त्यसमा ११२ जनासम्म मान्छे बस्छन् । मान्छे धेरै भएकाले सुत्न सुविस्ताले पाइँदैन । कोल्टो परेर सुत्नुपर्छ । उत्तानु र घोप्टो सुत्न पाइँदैन । अर्काेपट्टि फर्किनु परे ड्यूटीमा बसेकालाई भन्नुपर्छ । आफ्नो खुशीले फर्कनका लागि ‘स्पेस’ हुँदैन ।

एउटालाई फर्काउनु पर्‍यो भने एउटा लाइनका सबैलाई फर्काउनुपर्छ । कोठामा २४ सै घण्टा सहनाइकेले गार्ड गर्छन् । जाडोमा त जसोतसो कट्छ, गर्मीको बेला मान्छे पाकिन्छ ।

मलाई शुरूमा १२ नम्बर कोठामा राखे । त्यो कोठामा बस्नेले चाहिं जेलको भित्री सरसफाइ गर्नुपर्छ । शुरूमा बीबीसी (लाइनमा राखेर नियम सिकाउने) भन्दै दुई–तीन घण्टा लाइनमा राखेर भट्याउँछन् । त्यहाँ हिंडडुल गर्न र जेलको नियम सिकाइन्छ ।

जेल भित्र जाने मान्छेको सातो जान्छ, त्यहाँको नियम सुनेर । बाहिरको दुनियाँ भन्दा छुट्टै हुन्छ कारागार । यहाँ जिउँदै मान्छेले नर्क देख्छ । मलाई चाहिं नर्क भनेकै जेल हो भन्ने लाग्यो ।

भित्र कसैसँग बोल्न पाइँदैनथ्यो । जवाफ फर्कायो भने तथानाम गाली गर्दै कुट्थे । घरबाट लिएर गएको सामान पनि भित्र लुटेर व्यापार गर्छन् । घरबाट दुई वटा सामान पठाएको छ भने एउटा दिन्छन् । अर्काे सामान भित्रको पसलमा राखिदिन्छन् । मेरै त्यस्तो भएको छ । भोलिपल्ट त्यै सामान मैले नै किनेको छु । यसरी धेरै जनाले घरबाट पठाइदिएको सामान कारागार भित्र किनेर प्रयोग गरेका छन् ।

भित्र चौकीदार भन्ने हुन्छ । उसको जताबाट पनि पैसा कमाउने नीति हुन्छ । ब्रिफिङ गर्दा पनि घरबाट पैसा मात्रै मगाउनु जे चाहिन्छ, यहीं पाइन्छ भन्छ उसले । उसले भनेपछि मान्नै पर्छ । जेलभित्र चौकीदारको बोली नै कानून हो । उल्लङ्घन गरे भाटे कारबाही हुन्छ ।

फोनमा आफ्नासँग कुरा गर्दा जेलका बारेमा सबै राम्रो छ भनेर सुनाउनुपर्छ । फोनमा बोल्दा छेउमा चौकीदारका मान्छे बस्छन् । नराम्रा कुरा गर्न पाइँदैन ।

शुरूमा त म पागल जस्तै भएँ । उकुसमुकुस भयो । मैले बुझे अनुसार कारागारमा भएका कैदी बन्दी मध्ये सबैभन्दा धेरै बलात्कार र लागूऔषध मुद्दाका छन् । कारागारको सजाय कष्टकर रूपमा कटाएँ । जेलबाट छुटेर बाहिरी संसार देखेको दिन मन यति हलुका भयो कि व्याख्या गर्न सक्दिनँ ।

(सवारी ज्यान मुद्दामा कैद भुक्तान गरी भर्खरै मोरङ कारागारबाट छुटेका एक कैदी हुन के. कार्की । उनीसँग अनलाइनखबरकर्मी हरि अधिकारीले गरेको कुराकानीको अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?