+
+
Shares

कारागारबाट भाग्दाभाग्दै सेना-प्रहरीको चेकिङमा समातिएका थिए अपहरण किङ उदय सेट्टी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १७:२९

८ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा रसुवा कारागारमा फोडेर सबै ९८ कैदीबन्दी फरार भए । यसरी फरार हुने एक व्यक्ति यस्ता थिए, जसलाई अपहरण किङ उपनामले नै चिनिन्थ्यो ।

ती व्यक्ति थिए, भारतीय नागरिक उदय सेट्टी । काठमाडौंको कारागारमा रहेका बेला सुरक्षा थ्रेट भन्दै रसुवा कारागारमा सरुवा गरिएका उनै सेट्टी पनि २४ भदौको राति कारागार फोडेर फरार भएका थिए ।

तर उनी भागेर भारत जान पाएनन् । आर्मी र नेपाल प्रहरीको संयुक्त चेकिङले भागेको केही दिनमै उनलाई पक्राउ गर्‍यो । उनलाई भागेको केही दिनमै रसुवाकै कालिका गाउँपालिकामा पर्ने कालिका चेकपोष्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी हेमबहादुर शाहीले बताए ।

सेट्टीले अझै अझै करिब २ वर्ष कैद भुक्तान गर्न बाँकी छ । त्यसपछि पनि अन्य ठाउँहरूमा मुद्दा रहेकोले रसुवाबाट छुटेपछि अन्य ठाउँमा लगिने प्रहरीले बताउँदै आएको छ ।

फरार सेट्टीको आपराधिक ट्याक रेकर्ड हेर्ने हो भने सर्वसाधारणको आङ नै जिरिङ्ग हुने खालको छ । २०६४ सालपछि नेपालमा भएका अधिकांश अपहरण र फरौतीको घटनामा उनको नाम जोडिन्छ ।

२०६४ पछि काठमाडौं, बुटवललगायत देशभर अपहरणको श्रृंखला नै चलेको थियो । १२ फागुन २०६४ मा अपहरणमा संलग्न रहेका २ जना पक्राउ परे । अन्य भने फरार नै थिए । महानगरीय प्रहरी अपराध महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय)को एन्टी किडन्यापिङ सेलले २ माघ २०६५ मा ५ जनालाई हतियारसहित पक्राउ ग‍र्‍यो । तिनैमध्ये एक थिए, उदय सेट्टी ।

उनी काठमाडौंको गोल्फुटार बसेर अपहरणको श्रृंखला चलाउँदै आएका थिए । सेट्टीको समूहले नेपालका १२ प्रतिष्ठित व्यवसायी, चिकित्सक एवं धनाढ्यको अपहरण गरी २ करोड ६९ लाख असुलेको थियो ।

पक्राउ पर्नुभन्दा केही दिनअघि मात्रै सेट्टीले सामाखुसी र बालाजुबाट दुई जनाको अपहरण गरी २ करोड रुपैयाँ फिरौती लिएको थियो ।

उनी भारतको अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तव समूहसँग आबद्ध थिए । सन् २००३ मा कपडा व्यापारी पंकज अग्रवाललाई धम्क्याएर ५ करोड फिरौती असुल्न खोजेको आरोपमा सेट्टी पक्राउ परेका थिए । पछि जमानतमा छुटे । कुख्यात डन दाउद इब्राहिम तथा छोटा राजन समूहविरुद्ध सुराकीको काम गर्ने हुनाले ज्यान जोखिमको डरले उनी सन् २००४ मा नेपाल आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?