+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

दोहामा किनेको सुनको बिलमै ‘जर्ती काटेको’ लेखिएपछि…

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ मंसिर २७ गते २१:३०

२७ मंसिर, काठमाडौं । सोमबार कतारबाट नेपाल आएका सन्तमान तामाङले ५० ग्राम सुन ल्याएको विमानस्थल भन्सार कार्यालयले फेला पार्‍यो ।

भन्सार अधिकारीले सुन जफत गरेपछि सन्तमानले खल्तीबाट बिल झिकेर देखाए । उनले देखाएको बिल हेरेपछि भन्सारका कार्मचारीहरु झन् दंग परे ।

सन्तमानको बिल हेरेका अधिकारीलाई उधृत गर्दै विमानस्थल भन्सारका प्रमुख भट्टराई भन्छन् ‘५० ग्राम सुनमा दोहाबाटै नेपालीमा बनेको बिल सन्तमानलाई पठाइएको रहेछ ।’

सुनको तारलाई बेरेर औंठी बनाएर त्यसलाई गहना हो भनी दाबी गर्न सन्तमानलाई त्यो बिल पठाइएको र बिलमा नेपाली अक्षरमै जर्ती काटेको लेखेको पाइएको उनले बताए । सन्तमानलाई राजस्व तिराएर भन्सारले छोडेको छ ।

सोमबार नै कतारबाट फरक फरक जहाजमा आएका दुई जनाले समान किसिमका मेसिन बोकेका थिए । पास्ता बनाउने भनिएको ती दुई मेसिनमध्ये एउटा नेपाल एयरलाइन्सका यात्रु र अर्को हिमालय एयरका यात्रुले ल्याएका थिए । विमानस्थलको एक्सरे मेसिनमा जाँच गर्दा उक्त मेसिन शंकास्पद देखियो ।

भन्सार अधिकारीले खोलेर हेर्दा मेसिनभित्र स्टिलको रोलर पाइप भेटियो । विमानस्थलका अधिकारीले पाइपमा शंका लागेर काटेर परीक्षण गर्दा एउटा रोलर चाँदीको जलप लगाएको सुन रहेको पाइयो । दुई वटा मेसिनको उक्त रोलर पाइपमा तीन–तीन सय ग्रामको सुन जडान भएको पुष्टि भयो । जसलाई तोलामा हिसाब गर्दा ५१ तोला ४५ ग्राम भन्दा धेरै हुन्छ ।

यो सुनको सोमबारको बजार मूल्य ४७ लाख ५९ हजार १२५ रुपैयाँ छ । यसरी सुन ल्याउने यात्रुहरुलाई दोहा विमानस्थलमै एकै व्यक्तिले ती सामान घर लैजान भनेर दिएको अनुसन्धानमा खुलेको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले अनलाइनखबरलाई बताए ।

सुनसहित पक्राउ परेकी एक महिलाले आफ्नो नजिकको साथीको ब्वाइफ्रेन्डले घर पु¥याइदिन भनेर पास्ता मेकर दिएको बयान दिएकी छिन् । पक्राउ परेका अर्का यात्रुले भने दाइले दिएको सामान ल्याइदिएको बयान दिएका भट्टराईले बताए ।

झिटिगुन्टा सुिवधामा भित्रिने सुनमा मंसिर १३ गतेदेखि थालेको कडाइपछि सुन बरामद हुने दर बढे पनि भन्सार छल्न फरक फरक उपाय लगाउन थालेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

दुई साताको अवधिमा मलद्वारमा लुकाइएको ९ सय ५ ग्राम, औंठी र मुन्द्रा बनाएको ५० ग्राम सुन विमानस्थलले फेला पारेको भन्सार कार्यालय प्रमुख भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

दुई सातामा ७४ करोडको सुन बरामद

दुई सातामा २ हजार ५२ जना यात्रुबाट ९४ किलो १६९ ग्राम सुन जफत भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । उक्त सुनको नेपाली बजारको मूल्य ७४ करोड रुपैयाँ हाराहारी हुने भन्सार कार्यालयले जनाएको छ ।

बरामद सुनमध्ये १८ सय ९७ यात्रुले ८७.५ किलो सुन राजश्व तिरेर लगेका छन् । यसबाट विमानस्थलले ८ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै ६.५ किलो सुन भन्सारमै अड्किएको छ ।

घट्न थाले सुन ल्याउनेको संख्या

भन्सारले चेक जाँचमा कडाइ गरेपछि सुन बोकेर आउने संख्या घट्न थालेको भन्सारको दाबी छ । पहिलो हप्ता मंसिर १३ देखि १९ सम्म १५ सय ३० यात्रुले ७२ किलो ७०३ ग्राम सुन ल्याएकामा मंसिर १९ देखि २६ सम्म ५२२ यात्रुले २१ किलो ४६७ ग्राम सुन ल्याएका छन् ।

दुई सातामा देखिएको सुन भित्रिने ट्रेन्डले वैदेशिक रोजगारीमा गएर भरियाका रुपमा सुन बोक्ने संख्यामा ठूलो गिरावट आएको विमानस्थल भन्सारले जनाएको छ ।

विदेशबाट आउँदा यात्रुले बोक्ने सुनलाई विमानस्थल भन्सार कार्यालयले तीन किसिममा बर्गीकरण गरेको छ । वैदेशिक रोजगारी गएर फर्किँदा व्यक्तिगत प्रयोजनका लागि ल्याउने, पर्यटक भिसामा गएर फर्किँदा व्यक्तिगत प्रयोजनमा ल्याउने र विदेशबाट फर्किने यात्रुले भरियाको रुपमा अरुको सुन बोक्ने गरेको पाइएको भन्सार कार्यालय प्रमुख महेश भट्टराईले बताए ।

जसमध्ये पहिलो साता पर्यटक र विदेशबाट फर्किनेको सुन बोक्ने औसत हिस्सा १०–१० प्रतिशत रहेकामा त्यो यथावत रहेको र बाँकी ८० प्रतिशत भरियामार्फत ल्याइने गरेको भन्सार कार्यालयको दाबी छ ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?