 
																						२९ मंसीर, काठमाडौं । नेतृत्व छान्न भएको पार्टीको १४औं महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवाको सबैभन्दा धेरै निशानामा परे आफैंले निम्त्याएका पाहुना नेकपा एमाले अध्यक्ष केपी ओली ।
ओलीले भाषण सकेर गएपछि त्यही मञ्चबाट देउवाले भनेका थिए, ‘जुन दिन मेरो सरकार बन्यो त्योभन्दा अगाडिका दिन हेर्नुस् कस्तो थियो डरत्रास ! म प्रधानमन्त्री भएको भोलिपल्टै सारा मानिसले ओलीको शासनबाट मुक्ति पाए । त्यसलाई बचाउने हो कि नबचाउने हो ? त्यसको तय यो महाधिवेशनले गर्छ ।’
त्यसपछि पनि उनले बारम्बार आफू पुनः सभापतिमा निर्वाचित नभए प्रधानमन्त्रीबाट हटाइने र पुनः केपी ओली सत्तामा आउने बताए । समग्रमा यो महाधिवेशनमा देउवाले ओलीको त्रास देखाएर मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरे ।
विचार फरक, प्रवृत्ति उस्तै
प्रतिपक्षमा रहँदा समेत तत्कालीन प्रधानमन्त्री ओलीसँग राम्रो ट्युनिङ मिलाएका देउवा ओलीलाई नै विस्थापित गरेर २९ असार २०७८ मा प्रधानमन्त्री भएका हुन् ।
सत्ताको जोडघटाउमा एकले अर्कालाई विस्थापित गरे पनि मुलुकको समग्र राजनीतिक प्रक्रियामा कांग्रेसका नवनिर्वाचित सभापति देउवा र एमाले अध्यक्ष ओलीको राजनीतिक धार एउटै हो । परिवर्तनकारी एजेन्डामा मुलुकलाई अगाडि बढाउने भन्दा यथास्थितिमै राखिराख्न दुई नेताबीच कुरा मिल्छ ।
दुई तिहाइ बहुमत नजिक रहेर सत्तामा उक्लिएका ओलीले गरेका कतिपय असंवैधानिक कामहरुमा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा देउवाले गरेको सहकार्य र मौनता यसैको प्रतिफल थियो । ५ पुसको संसद विघटनमा पनि देउवाको भूमिका सन्देहास्पद रह्यो । ओली ‘अलि धेरै अगाडि’ बढेपछि कांग्रेसभित्रकै देउवाइतरका शक्तिहरुले वर्तमान गठबन्धनका लागि देउवालाई बाध्य पारेका थिए ।
जे जसरी होस्– ओली र देउवा कम्तीमा आगामी चार–पाँच वर्ष पहिलो र दोस्रो प्रमुख पार्टीको नेतृत्वमा रहन चाहन्छन् । उनीहरुको नेतृत्वमा मुलुकको राजनीति पुनः दक्षिणपन्थी धारमा जाने राजनीतिक विश्लेषकहरुको चिन्ता छ । किनभने पहिलोपटक एमालेमा अध्यक्ष चुनिएर आएपछि ओलीले दक्षिणपन्थी गोरेटो कोर्दा देउवा त्यसको सहायक बनेका छन् । देउवामाथि अहिलेसम्म लागेको सबैभन्दा ठूलो आक्षेप नै उनी दुई–दुई पटक ‘प्रतिगमन’को मतियार बने भन्ने हो ।
त्यसमाथि सत्ताको नेतृत्वमा रहँदा ‘प्रतिगमन’ निम्त्याउन यी दुवै नेताको भूमिका अहम् रहँदै आयो । मुलुक र पार्टीको लोकतन्त्रका लागि नेताद्वयको ट्रयाक रेकर्ड राम्रो छैन । ‘ओलीजी त त्यो लाइनमा गई नै सक्नुभएको छ, अन्ततः शेरबहादुरजी पनि दक्षिणपन्थमै जाने हो’ राजनीतिक विश्लेषक हरि शर्माले भने, ‘नत्र त कांग्रेसको भोट एमालेले तान्छ, किनभने राममन्दिर पनि उसैले बनाउन थाल्यो भन्ने देउवाजीहरूलाई पर्छ, त्यसपछि सांस्कृतिक राष्ट्रवादका नाममा दक्षिणपन्थ मौलाउन थाल्छ ।’
राजनीतिक उदयको समरुपी संयोग
ओली र देउवाको राजनीतिक उदयको कालखण्ड लगभग उस्तै उस्तै छ । २०२८ सालमा देउवा नेपाल विद्यार्थी संघको अध्यक्ष चुनिंदै गर्दा ओली झापा विद्रोहका कारण चर्चामा थिए । त्यसपछिको भूमिगतकालीन राजनीतिमा यी दुई नेता केही समय सँगै जेल पनि बसे । ओलीले मात्रात्मक रुपमा लामो अर्थात् १४ वर्ष लामो जेल जीवन बिताए भने देउवाले यातनापूर्ण जेलजीवन बिताए जुन मात्रामा लामो नभए पनि यातनाको दृष्टिले कष्टप्रद थियो ।
२०४६ सालको परिवर्तनपछि दलहरू खुल्ला राजनीतिमा आउँदा आ–आफ्नो पार्टीमा देउवा र ओलीको भूमिका प्रतिपक्षी थियो । ओली शुरुमा मदन भण्डारी र त्यसपछि माधव नेपालहरूका कारण २०७१ सालसम्म पार्टी राजनीतिभित्र प्रतिपक्षी भूमिकामा रहे भने देउवा सधैंभरि गिरिजाप्रसाद कोइरालाको पेलानमा परिरहे । त्यसैले उनले २०५९ मा नेपाली कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाए । पार्टीको भ्रातृ संगठन र सरकारमा पटकपटक नेतृत्व गरेका देउवा पार्टी नेतृत्वमा भने १३ औं महाधिवेशनयता मात्रै पुगे । उनी अहिले सभापतिको दोस्रो कार्यकालका लागि दोहोरिएका छन् ।
‘मुलुक अघि नबढ्ने संकेत’
ओली र देउवा दुवै जनाले दोहोर्याएर पार्टीको नेतृत्व गर्दा राजनीतिक रूपमा मुलुक गतिलो बाटोमा देखिएको छैन । संविधान बनेको पाँच वर्ष बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुने सुरसार छैन । बरु संविधानका कतिपय प्रावधानमाथि प्रश्न उठाउन थालिको छ ।
संघीयताप्रति जबर्जस्त नकारात्मक धारणा विकास गर्ने काम स्वयं नेताहरूले नै गरेका छन् । यस्तोमा राजनीतिक परिवर्तनलाई अपनत्व नलिने नेताहरू ठूला पार्टीको नेतृत्वमा पुग्नु अरु केही वर्ष मुलुक अघि बढ्न नसक्ने संकेत हो भन्छन् प्राध्यापक पीताम्बर शर्मा ।
‘अहिलेसम्म उहाँले बोकेको एजेण्डाका आधारमा देउवाजी प्रगतिशील होइन, ओलीजी कस्तो हुनुहुन्छ छर्लङ्गै छ, प्रचण्डजी अहिले आफ्नै अस्तित्व जोगाउन संघर्षरत हुनुहुन्छ, उहाँको के कुरा गर्नु’ शर्माले भने, ‘यस्तो खालको नेतृत्वमा हामी पछाडि परेको मात्रै होइन, झन् अँध्यारो सुरुङतिर छिरेका छौं । दुई ठूला पार्टीमा तत्काल परिवर्तनकारी नेतृत्व आउने सम्भावना देखिंदैन । माओवादीलाई स्वतन्त्र अस्तित्व स्थापित गर्न समय लाग्छ । यी सबै नेताहरूलाई हेर्दा हाम्रो भविष्य खासै राम्रो छैन ।’
ओली र देउवा आआफ्नो पार्टीको नेतृत्वमा आइसकेपछि दुईदुई पटक प्रधानमन्त्री बने । परिवर्तित सन्दर्भमा प्रधानमन्त्री बन्दा नयाँ संविधानअनुसार मुलुकलाई अघि बढाउने जिम्मेवारी स्वभावतः यी दुईको काँधमा हुनुपर्ने हो । तर कहिले ओली देउवाका सहयात्री जस्ता देखिए, कहिले देउवा ओलीको ।
यथास्थितिवादी अलमल, दक्षिणपन्थी दलदल
व्यवहार हेर्दा देउवा प्रजातान्त्रिक समाजवादको अर्को भित्तातिर छन् भलै उनले झण्डा प्रजातान्त्रिक समाजवादकै बोकिरहेका छन् । त्यस्तै ओलीले पनि मार्क्सवादको झण्डा बोकिरहेका छन्, तर उग्र राष्ट्रवादी राजनीतिक अभ्यासमा छन् । राजनीतिक वैचारिक दृष्टिले हेर्दा यो दक्षिणपन्थी रुझान हो ।
आफूलाई मन नपर्ने विचारलाई पूर्ण निषेध गर्न चाहने व्यवहारको गौरवीकरण दक्षिणपन्थकै उपज हो । यो समाज नबनेको अरुले मेरो जस्तो विचार नबोकेकाले हो भन्ने निष्कर्ष सहितको व्यवहार नै दक्षिणपन्थी अतिवाद हो ।
देशका प्रमुख दुई पार्टीभित्र यस्तो नेतृत्वको आगमनले लोकतान्त्रिक–प्रगतिशील नाराभित्र दक्षिणपन्थ झाँगिने सम्भावना थप बलियो बनाएको छ । यसबीचमा उनीहरूको पार्टीमा आन्तरिक लोकतन्त्र सम्पूर्ण रूपमा मूर्झायो । पार्टीका अग्रजहरुले बनाएका आन्तरिक लोकतन्त्रको भाष्यहरु भत्किए । समावेशितालाई एनजीओको ट्याउँट्याउँ भन्न थालियो ।
संघीयतालाई स्थानीय तहको अधिकारभन्दा केन्द्रको निगाहमा दिइने सीमित दानदक्षिणाको रुपमा अभ्यास गरियो । मुलुकको समग्र राजनीति पछाडि फर्कियो । सत्तापक्ष र प्रतिपक्षीको अघोषित एकता कतिसम्म देखियो भने ओलीले संविधान विपरीत प्रतिनिधिसभा विघटन गर्दा समेत देउवा मौन जस्तै देखिए, त्यसपछिका आन्दोलनहरूमा उनको उपस्थिति शून्यप्राय रह्यो ।
‘देउवाको इतिहास र पछिल्लो सरकारमा हुँदाको व्यवहारमा फरक आएको छैन । त्यसैले अब जितेर आएपछि उनको चुरीफुरी झन बढ्ने सम्भावना देखिएको छ’ विश्लेषक राजेन्द्र महर्जनले भने, ‘हालसालै एमालेका अध्यक्ष निर्वाचित भएका ओलीजी र देउवाजीका धेरै कुरा मिल्छन् । अधिकांश कुरामा साझेदारी गरेका छन् ।’
महर्जन अघि भन्छन्, ‘ओलीले राखेका एजेण्डाहरूमा कुनै कमेन्टहरू छैन, प्रतिपक्षी भूमिका खेलेनन् । सरकार ओलीको हुँदा पनि प्रतिपक्षीको भूमिका नखेल्नु भनेको मौन समर्थन थियो या एक हिसाबले साझेदारी थियो भनेर अनुमान गर्न सकिन्छ । अर्काे कुरा के हो भने, संघीयताका बारेमा ओलीजीको पार्टी जसरी मुखर भएर आयो त्यसको पनि उनको पार्टीबाट र सभापतिको हैसियतले आफैंले पनि विरोध जनाएको देखिन्न । त्यो पनि मौन समर्थन हो ।’
ओली र देउवाबीचको अरु केही समानता पनि छन् । सत्तामा टिकिरहन न्यूनतम राजनीतिक मूल्य, मान्यता र संस्कारलाई समेत बिर्सिन दुवै नेता पछि परेनन् ।
२०४६ सालपछि भएका लोकतन्त्रीकरणको आन्दोलनमा यी दुवै नेता आन्दोलनको मोर्चाभन्दा टाढा रहे । आफ्नो सत्ता जोगाउन देउवाले कहिले पार्टीभित्रै भाँडभैलो मच्चाए, कहिले पजेरो काण्ड गरे, कहिले संसद नै दरबारलाई बुझाए । ओलीले पनि आफ्नो पार्टीमा ठीक त्यसै गरे । मुलुक गणतन्त्र ल्याउने आन्दोलनमा होमिइसक्दा ओलीले आन्दोलन गरेर मुलुकमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै उस्तै हो भनेका थिए ।
अहिले परिवर्तनको १५ वर्षपछि त्यो परिवर्तनको बिल्कुल खिलाफमा रहेका नेताहरू पार्टी र मुलुकमा हालीमुहाली गर्ने ठाउँमा पुग्नुलाई लोकतन्त्रको अनुपम उदाहरण त मान्न सकिएला, तर उनीहरूको बोकेको एजेण्डाका आधारमा मुलुक पछि हट्ला, यथास्थितिमै रोकिएला तर अगाडि भने बढ्नै सक्दैन ।
‘ओली र देउवाजी परिवर्तनविरोधी हुन् भन्ने विश्लेषण यथार्थभन्दा टाढा छैन । अहिले मलाई ओलीजी र नेकपा एमालेका बारेमा केही भन्नु छैन’ २०६२/६३ को नागरिक आन्दोलनको अगुवाइ गरेका दवेन्द्रराज पाण्डेले भने, ‘कांग्रेसमा चाहिं सभापति बाहेकका दोस्रो पुस्ताले उनलाई स्वेच्छाचारी बन्नबाट रोक्न सक्छन् कि भन्ने झिनो आश अझै छ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4