+
+

फुलकोर्ट बैठक : उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रिया थाल्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १७:४८

२९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले देशभरका उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेशी व्यवस्थापनको गृहकार्य थालेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबाहेकका सबै न्यायाधीशहरुको बुधबारको पूर्ण बैठकले त्यसका लागि अध्ययन गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ । निर्णयको प्रति हस्ताक्षरका लागि प्रधानन्यायाधीश जबरासमक्ष पठाइएको सर्वोच्च अदालत स्रोतले बतायो ।

‘बुधबारको पूर्ण बैठकले जिल्ला अदालत र उच्च अदालतमा गोला प्रक्रिया शुरु गर्नका लागि कुनकुन नियमावलीमा कसरी संशोधन गर्न आवश्यक छ भन्नेबारेमा अध्ययन गर्न प्रशासनमा निर्देशन दिने निर्णय गरेको छ’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘उनीहरुले दिएको प्रतिवेदनका आधारमा नियमावली संशोधन अघि बढाइ गोला प्रक्रिया शुरु गर्ने कानूनी तयारी हो ।’

स्रोतका अनुसार, न्यायाधीशहरुले उच्च र जिल्ला अदालतहरुमा माघको पहिलो सातादेखि गोला प्रक्रिया शुरु गर्न सकिने आँकलनका साथ तयारी थालेका छन् ।

न्यायाधीशहरुले गोला प्रक्रियाको शुरुवातका लागि उच्च अदालत र जिल्ला अदालत नियमावलीमा गर्नुपर्ने संशोधनका बारेमा छलफल गरेका थिए । उच्च अदालतमा धेरै न्यायाधीश हुने हुनाले सर्वोच्च अदालतमा जस्तै इजलास गठनका लागि गोला प्रक्रिया गर्नुपर्छ र फेरि मुद्दा छान्न अर्को गोला तान्नुपर्छ ।

तर जिल्ला अदालतमा एकजना न्यायाधीशको मात्रै इजलास गठन हुने भएकाले केवल न्यायाधीशले गोला तानेमात्रै पुग्छ । यसबारे न्यायाधीशहरुले निर्णय गरेर त्यो प्रस्ताव प्रधानन्यायाधीशसमक्ष पुर्‍याएका हुन् ।

सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, अझै पनि तल्लो तहका अदालतमा चलखेलको प्रयास गर्न पाइने भएकाले प्रधानन्यायाधीश जबरा तत्काल जिल्ला र उच्च अदालतमा गोला प्रक्रिया शुरु गर्ने विषयमा अनिच्छुक छन् । तर उनको सचिवालयले यसबारे कुनै औपचारिक धारणा सार्वजनिक गर्न चाहेन ।

सर्वोच्च अदालत स्रोतले भन्यो, ‘उहाँकै कारण तल्लो तहका अदालतमा गोला प्रक्रिया अघि बढ्न नसके अरु न्यायाधीश र नेपाल बार एशोसिएसनसँग समेत थप द्वन्द्व हुने सम्भावना छ । हेरौं कसरी प्रक्रिया अघि बढ्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?