+
+

अर्थतन्त्र : रेमिट्यान्स घटेको घट्यै, चालु खाता घाटा २ खर्ब पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते २१:२८

२९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिनामा अर्थतन्त्रका धेरै सूचक नकारात्मक देखिएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७८ साउनदेखि कात्तिकसम्मको अर्थतन्त्रको स्थितिबारे एक अध्ययनमा रेमिट्यान्स आप्रवाह घट्ने क्रम निरन्तर देखिएको छ भने शोधानान्तर तथा चालु खाता घाटा पनि बढेको छ । विदेशी मुद्राको सञ्चिती घटेको छ भने मूल्यवृद्धि चाहिँ तोकिएको ६ प्रतिशत सीमाभन्दा तल देखिएको छ ।

राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिक महिनासम्मको तथ्यांकमा आन्तरिक कर्जाको वृद्धिदर भने राम्रो देखिएको छ । तर बैंक तथा वित्तीय संस्थामा पर्याप्त निक्षेप संकलन नहुँदा लगानी योग्य रकमको अपर्याप्तता देखिएको छ ।

राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बढ्दो आयातका कारण बाह्य क्षेत्र दबावमा परेको बताउँछन् । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत वस्तु आयातमा केही कडाइ गरे पनि त्यसको अर मंसिर महिनाको तथ्यांकमा देखिने र त्यतिबेला अर्थतन्त्रका केही सूचकमा सुधार हुने राष्ट्र बैंकको अपेक्षा छ ।

कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०५ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मुद्रास्फिति ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको थियो ।

कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७३ प्रतिशत रहेको छ ।

२०७७ कात्तिकको तुलनामा २०७८ कात्तिकमा घ्यू तथा तेल, यातायात, माछा तथा मासु, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २९.११ प्रतिशत, १२.३६ प्रतिशत, १०.९१ प्रतिशत, १०.७० प्रतिशत, १०.३० प्रतिशत र १०.२४ प्रतिशत देखिएको छ ।

सुधारिएन रेमिट्यान्स

नेपाली अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने रेमिट्यान्स घट्ने क्रम कात्तिकमा पनि सुधार भएन । साउनमा १८ प्रतिशतले घटेको रेमिट्यान्स मूख्य सिजन दशैंमा समेत ८ प्रतिशत हाराहारीले घटेको थियो । कात्तिकमा पनि पुनः ७.५ प्रतिशतले घटेको छ ।

साउनदेखि कात्तिकसम्म ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ जुन गत आर्थिक वर्षको यसै अवधिमा भन्दा ७.५ प्रतिशतले कम हो । आर्थिक वर्ष ०७७/०७८ को साउनदेखि कात्तिकसम्म ३ खर्ब ३७ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

यस वर्षको कात्तिकमा ७३ अर्ब रुपैयाँ र असोजमा ८४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

यो वर्षको साउनदेखि कात्तिकसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या बढेर ९६ हजार ३ सय ८२ पुगेको केन्द्रीय बैंकले जनाएको छ । यसैगरी, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत वर्ष भन्दा २४९.१ प्रतिशतले बढेर ५९ हजार ७२३ पुगेको छ ।

शोधानान्तर र चालु खाता दुबै घाटामा

बढ्दो आयातको असर चालु खाता तथा शोधानान्तर स्थितिमा देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु खाता २ खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १९ अर्ब १ करोड रुपैयाँले बचतमा रहेको थियो ।

कात्तिक महिनामा शोधनान्तर स्थिति समेत १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको कात्तिकमा शोधनान्तर स्थिति १ खर्ब १० अर्ब ६५ करोडले बचतमा थियो ।

मुलुकको चालु आय र व्ययको विवरण देखाउने खाता नै चालु खाता हो । यो खातामा वस्तु आयात/निर्यात, सेवा आयात/निर्यात, रेमिट्यान्ससहितका ट्रान्सफर भएको रकमसहित मुलुकलाई प्राप्त आय र व्यय दुवैको हिसाब राखिन्छ ।

मुलुकको आय बढ्दा चालु खाता नाफामा देखिन्छ भने व्यय बढ्दा घाटामा देखिन्छ । त्यस्तै नेपाल भित्रने रकम र नेपालबाट बाहिरिने रकमबीचको अन्तर नै शोधनान्तर स्थिति हो । शोधनान्तर स्थिति घाटामा जानुको मतलब नेपालबाट बढी रकम विदेशिएको छ भन्ने हो । आयात बढ्ने तर त्यसको अनुपातमा रेमिट्यान्स नभित्रिँदा र निर्यात नबढ्दा सोधनान्तर स्थिति घाटामा जाने गर्छ ।

विदेशी मुद्राको सञ्चिती कमजोर

पछिल्ला दिनहरुमा नेपालमा विदेशी मुद्राको सञ्चिती पनि लगातार घटिरहेको छ । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिती २०७८ कात्तिक मसान्तमा १२ खर्ब ४४ अर्ब ८५ करोडमा झरेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिती २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा १० अर्ब ४७ करोडमा झरेको छ ।

कर्जा लगानी बढ्यो, बढेन निक्षेप

कात्तिक महिनामा पनि बैंकहरुमा लगानी योग्य रकम (तरलता) समस्या निरन्तर देखिएको छ । कर्जा लगानी वृद्धि भए पनि सो अनुपातमा बैंकहरुले निक्षेप संकलन गर्न सकेका छैनन् ।

कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.९ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३२.२ प्रतिशतले बढेको छ ।

यस अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ८.६ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ११.६ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १३.९ प्रतिशतले बढेको छ ।

कात्तिक मसान्तमा भने बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप १७.२ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?