+
+
कांग्रेस पदाधिकारी: :

देउवाको बहुमत छ, तर सजिलो छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते २०:१५

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापति दोहोरिएका शेरबहादुर देउवालाई पदाधिकारीमा बहुमत जुटेको छ । १३ मध्ये सात पदाधिकारी उनको प्यानलबाट निर्वाचित भएका छन् ।

उपसभापति पूर्ण खड्का, सहमहामन्त्रीहरू भिष्मराज आङ्देम्बे (जनजाति), महालक्ष्मी उपाध्याय डिना (महिला), महेन्द्र यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम) र किशोरसिंह राठौर (खसआर्य) देउवा प्यानलबाट विजयी भएका हुन् । कोषाध्यक्ष मनोनित हुने भएकाले देउवाले अझै पदाधिकारी बढाउन सक्छन् ।

तर सभापति पछिको कार्यकारी पद महामन्त्रीमा भने देउवा निकट उम्मेदवारले जित्न सकेनन् । दुईमध्ये एक महामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई देउवाले छोडेका थिए । सिटौला समूहबाट उम्मेदवार बनेका प्रदीप पौडेल र देउवा समूहका डा. प्रकाशशरण महत महामन्त्री बन्न सकेनन् ।

पौडेल र महतलाई डा. शेखर कोइराला प्यानलका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्माले पराजित गरे । सभापतिको सहयोगी पद मानिने उपसभापतिमै देउवाका उम्मेदवार बिजय गच्छदारले जित्न सकेनन् । गच्छदार, शेखर प्यानलबाट उम्मेद्वार बनेका धनराज गुरुङसँग दुई मतले पराजित भए ।

अर्थात्, ८ मध्ये ५ सहमहामन्त्री जितेकाले पदाधिकारीमा देउवाको बहुमत देखिएपनि उपसभापति र महामन्त्रीमा इतर समूहका नेताहरू निर्वाचित भएका छन् । शेखरको प्यानलबाट उपसभापति गुरुङ र महामन्त्री थापासँगै सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट बद्री पाण्डे र दलित क्लस्टरबाट जीवन परियार निर्वाचित भए । उपसभापति र महामन्त्रीसहित चार पदाधिकारी शेखर प्यानलबाट आएका छन् ।

सिटौला निकट उमाकान्त चौधरी थारु क्लस्टरबाट समहामन्त्री निर्वाचित भए । यसको अर्थ कांग्रेसको पदाधिकारीमा चार समूहका नेताहरु आएका छन् । देउवा भने समूहै समूहको सभापति बन्न पुगेका छन् । पहिलो चरणमा बहुमत (५१ प्रतिशत मत) पाउन नसकेका देउवाले सभापति बन्न प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको साथ लिएका थिए ।

सभापतिमा उम्मेदवार बनेर ३७१ मत पाएका सिंह, २४९ मत पाएका निधि र २० मत ल्याएका गुरुङसँग देउवाले चार वर्षे कार्यकालमा सहकार्य गर्ने सम्झौता गरेका छन् ।

महाधिवेशन अगाडि नै सिटौलासँग सहकार्य गर्दै एक महामन्त्री र एक सहमहामन्त्री छोडेका थिए । अब डा. शेखरको समूह छोड्दा पनि देउवाले चार नेता (सिटौला, सिंह, निधि र गुरुङ) सँग राजनीतिक निर्णयहरुमा सहकार्य गर्नुपर्नेछ ।

सिटौलासँग १३औं महाधिवेशनबाट देउवाले राजनीतिक निर्णयहरुमा सम्झौता गर्दै आएका छन् । १३औं महाधिवेशनमा सभापतिको प्रतिश्पर्धामा पहिलो चरणबाटै बाहिरिएका सिटौलाले बितेको पाँच वर्ष हरेक राजनीतिक निर्णयमा भाग लिँदै आएका छन् । देउवाले अहिलेको मन्त्रिपरिषदमा पनि सिटौलाको कोटाबाट उमाकान्त चौधरीलाई खानेपानी मन्त्री नियुक्त गरेका छन् ।

अतः पार्टीभित्र संस्थागत भएको समूहहरुसँग समन्वय गर्दै कांग्रेसको नेतृत्व गर्नु देउवालाई सजिलो देखिन्न । आफ्नै नेतृत्वमा कांग्रेसलाई पहिलो शक्ति बनाउने देउवाको आगामी यात्रा ४० प्रतिशत बढी मत पाएका डा.शेखर समूहसँगको सहकार्यले पनि निर्धारण हुनेछ । वरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री डा. शशांक कोइरालाको साथ नपाउँदा पनि डा. शेखरले दोस्रो चरणमा १,८५५ मत पाएका थिए भने देउवाले २,७३३ मत ल्याउँदै जितेका हुन् । रामचन्द्र र शशांकको व्यवस्थापन पनि देउवाका निम्ति सजिलो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?