+
+

हिमाल हेर्दै भगवतीको दर्शन गर्न कालिञ्चोक (फोटोफिचर)

भरतबन्धु थापा भरतबन्धु थापा
२०७८ पुष ३ गते २०:१५

कुरी बजारभन्दा केही माथि रहेको केबलकारको स्टेशन बिहान ५ बजे नै खुल्ने गर्दछ । सूर्य उदाएको मनोरम दृश्य हेर्न तथा बिहानको पूजा अर्चना गर्न सहजताको लागि बिहानै केबलकार बिहानै खोल्ने व्यवस्था मिलाइएको हो ।

यो मेरो दोस्रो कालिञ्चोक यात्रा हो । पहिलोपटक यात्रा तय गर्दा कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्ने मौका मिलेन । कालिञ्चोकमा अत्यधिक हिउँ परेको कारण कुरी बजारसम्म पुगेर यात्राको बिट मारिएको थियो । तर गएको हप्ता भने कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्ने अवसर प्राप्त भयो । काठमाडौँबाट सहजै पुग्न सकिने आकर्षक गन्तव्य भएर पनि कालिञ्चोक पुग्नका लागि मैले धेरै वर्ष कुर्नुपर्‍यो ।

आन्तरिक पर्यटकको प्रमुख रोजाईमा रहेको स्थान हो- कालिञ्चोक । कालिञ्चोक धार्मिक पर्यटन तथा सुन्दर दृश्यका लागि प्रख्यात रहेको छ ।

संघीय राजधानीदेखि १ सय ४४ किलोमिटर दूरीमा रहेको कालिञ्चोक दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दूरीमा रहेको छ । हिउँदको समयमा हिउँ खेल्न, मन्दिर दर्शन र दृश्यावलोकन गर्न आउने पर्यटकहरूले कालिञ्चोक आन्तरिक पर्यटकको आकर्षक गन्तव्य स्थल बनेको हो ।

कुरी बजारबाट कालिञ्चोक भगवतीको मन्दिर पुग्न झण्डै एक घण्टा उकालो उक्लिनुपर्छ । उकालो बाटो हिंड्न सक्नुहुन्न भने केबलकारको विकल्प पनि छ । कुरी बजारदेखि कालिञ्चोक भगवती मन्दिरभन्दा केही तल नै टुंगिने केबलकार यात्राका लागि तपाईंले पाँच सय रुपैयाँ तिरेर पाँच मिनेट यात्रा गर्नुपर्नेछ ।

३८४२ मिटरको उचाइमा रहेको मन्दिरमा विशेष गरी शुक्रबार र शनिबार भक्तजनको घुइँचो लाग्ने गर्दछ । आन्तरिक पर्यटकलाई लक्षित गरेर राजधानी केन्द्रित विभिन्न ट्राभल कम्पनीहरूले बस तथा जिपको प्याकेज राखेका छन् । यी सुविधाले कालिञ्चोक जान थप सहज बनाएको छ ।

कोभिडको कहर

कोभिडको असर कालिञ्चोकमा पनि कम्ति छैन । पर्यटकले भरिएर होटल पाउन मुस्किल हुने कालिञ्चोकमा अहिले भिडभाड कम भएको स्थानीय व्यवसायीहरु बताउँछन् । यसअघि शुक्रबार र शनिबार मोटरसाइकल र बोलेरो गाडीहरूको ताँतीले कुरी बजार भरिने गथ्र्यो । तर कोभिड पछि भने त्यति साह्रो अवस्था छैन ।

जाडोमा बाहिर हिउँले ढपक्क कुरी बजार ढाक्दा चिसो अत्यधिक बढ्छ । त्यसैले यस क्षेत्रमा खुलेका होटलका कोठा काठले बारेर बनाइएका छन् । कालिञ्चोक आउने पर्यटकहरूलाई चिसो नहोस् भनेर कुरीमा रहेका अधिकांश होटलले रातको समयमा क्याम्प फायरको समेत व्यवस्था मिलाउने गरेका छन् ।

कुरी बजारभन्दा केही माथि रहेको केबलकारको स्टेशन बिहान ५ बजे नै खुल्ने गर्दछ । सूर्य उदाएको मनोरम दृश्य हेर्न तथा बिहानको पूजा अर्चना गर्न सहजताको लागि बिहानै केबलकार बिहानै खोल्ने व्यवस्था मिलाइएको हो ।

धार्मिक हिसाबले मात्र नभएर आँखै अगाडि हिमाल र टाकुराहरु हेर्न पाउँदा पर्यटककको मन लोभिन्छ । मन्दिर दर्शन गरिहेका पर्यटक राजु श्रेष्ठ भन्छन्, ‘मेरो यो कालिञ्चोक भगवती यात्रा चौथो पटकको हो ।

हिमाल हेर्दै भगवती दर्शन

धार्मिक आस्था मात्र होइन, प्राकृतिक सुन्दरताले पनि भुरीपूर्ण स्थान हो कालिञ्चोक । जनविश्वासअनुसार काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभाभगवती र अन्य भगवतीसमेत गरेर ७ भगवती दिदीबहिनीमध्ये एक हुन्, कालिञ्चोक भगवती । दोलखामा कालिञ्चोक निस्कनुअघि दोलखा भीमसेनको पनि दर्शन गर्न सकिन्छ । ३ हजार ८ मिटर उचाइमा रहेको यो कालिञ्चोकबाट रोल्वालिङ हिमशृंखला लगायतको मनोरम प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । कालिञ्चोक भगवती मन्दिर परिसरबाट आँखै अगाडि २०० डिग्रीमा गौरीशंकर हिमश्रृंखला देख्न सकिन्छ ।

दोलखाको चरीकोटबाट ६ घण्टाको पैदल दूरीमा पर्छ, कालिञ्चोक । यद्यपि चरीकोटदेखि १७ किमि टाढाको कुरीबजारसम्म कच्ची मोटरबाटो छ । उक्त बाटोमा जीप, मोटरसाइकल चलाउन सकिन्छ । कुरीबजारबाट करिब एक घन्टा पैदल यात्रापछि कालिञ्चोक पुग्न सकिन्छ ।

विप्लप पौडेल- संचालक समिति सदस्य, नेपाल पर्यटन बोर्ड

सरकारले ल्याएको आफ्नो मातहतका कर्मचारीहरूलाई वर्षमा अनिवार्य १० दिनको बिदाको समय दिएर आन्तरिक स्थलहरूमा घुम्न जाने कार्यक्रम तत्कालन कार्यान्वयन गर्नुपर्दछ । यसबाट अहिलेको पर्यटन क्षेत्र केही राहत मिल्नसक्छ भने सुस्ताएको अवस्थामा केही चलायमान पनि हुनसक्छ ।

कोभिडले अहिले सबै क्षेत्र थला परेको छ । बिशेषगरी पर्यटन क्षेत्र निकै प्रभावित भएको छ । यसको अवस्थामा सरकारले केही राहतको कुराहरू ल्याउनुपर्छ । बैंक लगायत केही संस्थाहरूले आफ्ना कर्मचारीहरूलाई बोनस दिँदा विभिन्न स्थानमा घुम्नलाई पेरीत गर्ने खालका कार्यक्रमहरू ल्यायो भने पर्यटन क्षेत्र चलायमान हुनसक्छ र थिलथिलो बनेको पर्यटन क्षेत्रमा राहत दिनसक्छ ।

विदेशमा मात्र नभएर स्वदेशमा समेत नेपालका जति पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार हुनुपर्ने हो त्यति हुन सकेको छैन । यदि विभिन्न तहका सरकार तथा नेपाल पर्यटन बोर्डले नै व्यापक प्रचारप्रसार गर्न सक्यो भने राम्रो हुन्थ्यो । पर्यटकीय स्थलहरूको व्यापक प्रचारप्रसार भयो भने बाहृय तथा आन्तरिक पर्यटकलाई गन्तव्य छान्ने अवसर पनि मिल्ने थियो । आन्तरिक तथा बाहृय पर्यटकले चहलपहल बढ्ने बितिकै सो क्षेत्रमा लगानी पनि बढिरहेको छ ।

यसको ज्वलन्त उदाहरण हो- कालिञ्चोक क्षेत्र । विगत एक दशकअघि सो क्षेत्रमा खान बस्नलाई निकै समस्या रहेको थियो । अहिले कालिञ्चोक क्षेत्रमा दैनिक हजारभन्दा बढी पर्यटकलाई एकै रातमा राख्न सकिने गरी होटल तथा होम स्टेहरू सञ्चालनमा रहेका छन् । यस्तो अवस्थामा राज्यले अलिकति सहज गरिदियो भने पर्यटन क्षेत्र निकै चलायमान हुन्छ जस्तो लाग्छ ।

लेखकको बारेमा
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?