+
+

जसपा केन्द्रीय सदस्य गुप्ता एमाले प्रवेश गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते ९:२२

६ पुस, बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार (आज) कपिलवस्तु आउँदै छन् । विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउनका लागि जिल्लाको बहादुरगञ्जमा आयोजित सभामा सहभागी हुन ओली कपिलवस्तु आउन लागेका हुन् ।

दिउँसो १२ बजेदेखि बहादुरगञ्जमा शुरु हुने सभामा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित अन्य पार्टीका नेता–कार्यकर्तालाई ओलीले पार्टी प्रवेश गराउने एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले बताए ।

एमाले प्रवेश गर्न लागेका गुप्ता विगतमा नेपाली कांग्रेसबाट तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) हुँदै मधेशी जनअधिकार फोरममा रहेका थिए । गत संसदीय निर्वाचनमा उनी कपिलवस्तु-३ मा फोरमबाट उम्मेदवार बनेका थिए तर नेपाली कांग्रेसका अभिषेकप्रताप शाहसँग पराजित भएका थिए ।

०४८ र ०५६ को संसदीय निर्वाचनमा कांग्रेसबाट चुनाव लड्दा पनि उनी पराजित भएका थिए । ०४६ मा बहुदलीय व्यवस्था आएपछि गुप्ता ०४७ मा कांग्रेस प्रवेश गरेका थिए । ०३८ र ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन लडेका उनी त्यतिबेला पनि पराजित भएका थिए । ०३०/३१ साल तिर पञ्चायती व्यवस्थाको वर्गीय संगठन युवक संगठनको जिल्ला सभापति भएर राजनीति सुरु गरेका उनी तत्कालीन जिल्ला पञ्चायत सदस्यमा भने निर्वाचित भएका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवसँग असन्तुष्ट रहेकाले ७३ वर्षीय गुप्ता एमाले प्रवेश गर्न लागेको सो पार्टीका एकजना जिल्ला नेताले बताए । ‘पार्टीभित्र गुप्ता पक्ष र संस्थापन पक्षबीच लामो समयदेखि मतभिन्नता र असन्तुष्टि छन्,’ ती नेताले अनलाइनखबरसँग भने ।

ओली सोमबार साँझ नै काठमाडौंबाट रुपन्देही आइसकेका छन् । उनी एमाले रुपन्देहीका नेता गोपाल रानाको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा बसेका छन् । अध्यक्ष ओली १० बजेपछि मणिग्रामबाट भैरहवा–लुम्बिनी हुँदै बहादुरगञ्ज पुग्ने एमाले नेता पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?