+
+

परीक्षा हलमा जबर्जस्ती प्रवेश गरेर शिक्षकमाथि आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १७:३७

६ पुस, काठमाडौं । मंगलबार विहान काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा बीएसडब्लू पहिलो वर्षको आन्तरिकतर्फको ३० अंकको परीक्षा भइरहेको थियो ।

शिक्षक प्रकाश पुडासैनी परीक्षा हलमा थिए । स्नातक दोस्रो वर्षका विद्यार्थी कुवेर जेठारा पनि कक्षाकोठामा प्रवेश गरेपछि उनले बाहिर जान भने । तर जेठाराले मानेनन्, बरु शिक्षक पुडासैनीसँग विवाद गर्न थाले ।

त्यसपछि अर्का शिक्षक आएर जेठारालाई परीक्षा हलबाट बाहिर निकाले । त्यसपछि फेरि कक्षाकोठामा प्रवेश गरेका जेठाराले आफूमाथि कुटपिट गरेको शिक्षक पुडासैनीले बताएका छन् ।

‘परीक्षा भइरहेका बेला बाहिरको व्यक्तिलाई बस्न दिने कुरा भएन । निस्कनुस् भन्दा घटेको घटना हो’ शिक्षक पुडासैनीले भने ।

जेठाराले शिक्षक पुडासैनीलाई आक्रमण गरेपछि क्याम्पस हल्ला भयो । क्याम्पस प्रमुखले शिक्षक पुडासैनी, अरु शिक्षकहरु र जेठारालाई पनि बोलाए । छलफलका क्रममा धेरै शिक्षककहरुले जेठाराले गल्ती गरेको बताए ।

त्यसपछि उनी बाहिर निस्कने बहानामा उठे र पानी राख्ने जगले शिक्षक पुडासैनीलाई पुनः हिर्काएर फरार भएका पुडासैनीले बताए ।

आक्रमणबाट शिक्षक पुडासैनीको टाउकोमा चोट लागेको छ । काठमाडौं मोडल अस्पतालमा उपचारका लागि लगिएका पुडासैनीको टाउकोमा तीनवटा टाँका लगाइएको छ ।

रत्न राज्य क्याम्पसका आंशिक प्राध्यापक पुडासैनीले स्नातक तहमा ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यू) पढाउँछन् । आक्रमण गर्ने जेठारा रत्नराज्य क्याम्पसको अनेरास्ववियूमा आवद्ध विद्यार्थी हुन् । उनी शिक्षकलाई आक्रमणपछि शौचालयको झ्यालबाट भागेका छन् ।

उनी किन परीक्षा हलमा बस्न खोजेका थिए भन्ने अहिलेसम्म नखुलेको शिक्षक पुडासैनीले बताए । क्याम्पसका स्ववियू उपसभापति श्रीकृष्ण उप्रेतीले क्याम्पसमा नहुनुपर्ने घटना भएको बताए । ‘नघट्नुपर्ने घट्ना घटेछ । संगठनसँग जोडिएको कुरा भएकोले आवश्यक छानवीन गर्छौं ।’

उनले यस विषयमा क्याम्पस प्रमुख र प्राध्यापकहरुसँग छलफल गर्ने पनि बताएका छन् ।

शिक्षक पुडासैनी कुटिएपछि क्याम्पसका प्राध्यापकहरुले विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्नलाई गल्ती अनुसारको कारबाही नभएसम्म पढाउन नसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?